Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 19th

बगलेककी पद्मा

E-mail Print
राजु नेपाल- खप्तड आउने जानेहरूको भोजन र बसोबासस्थल बनेको डोटीको बगलेक बजारस्थित उसको होटलले दुई दसक पचाइसकेको छ। काइँली छोरी पद्मा जन्मँदा उसले यो होटल बसेको घरको जग हालेको थियो। उमेरका भगौटे सेना ऊ अर्थात् सोही होटलको साहु वीरबहादुर आज पनि बटुवासँग रक्सीको सुरमा सेना छँदाको क्षणलाई सम्झेर गफिन्छ।
 
रत्नसमशेर भन्ने मेजर थिए उसको। ब्यारेकका मेसको खाना पकाउने निहँुमा झगडा पर्दा तरकारी पकाउँदाको तातो डाडुले साथीको टाउकोमा टुटुल्कै उठाइदिएछि घरतिर कुलेलम ठोकेको थियो। सेनाले पक्डेला भन्ने डरले छ महिना साथीभाइसँग मुम्बईमा बस्यो। पछि स्वास्नीको मायाले घर फर्कियो। बुढ्यौलीले सुक्दै गएको शरीर, हरेक दिन नछुट्ने सुफी रक्सीले सधैं गन्हाउने मुख र लटपटिने बोली वीरबहादुर खत्रीका विशेषता नै हुन्। अझै पनि सेनामा छँदाको ठूला-ठूला गफ दिन छाडेको छैन उसले।
ऊ आर्मीमा भर्ती हुँदादेखि भागुन्जेलसम्मको कहानी चिनेजानेका सबैमा कन्ठै छ। बाबु गपिँ्कदा पद्मा र उसकी आमा भान्छामा उनले अब बोल्ने कुरा भट्भटाइरहेकी हुन्छे। मानौं वीरबहादुर कुनै स्त्रि्कप्ट रटेर बोलिरहेको छ।
डोटीको बगलेक। एउटा सानो बजार। सदरमुकामबाट तीन घन्टा ठाडै उकालिएर बगलेकमा लामो सास तान्न पाइन्छ। हिउँदमा जसोतसो भारी ओसार्न गाडी जान्छ, बर्खामा त उही हो पद्मा र उसकी आमाले भरिया लगाउनैपर्छ। खप्तड जानेहरूको यहाँ एकछिन थकाइ नमेटी पाइला नै सर्दैन। 'यस् वेलकम हजुर' भन्नमा जति नै सुफी पेले पनि वीरबहादुरलाई केहीले रोक्दैन। हुन त पठ्ठी छोरी देखेरै पनि यायावरहरूको घुइँचो हुन्छ उसको होटलमा। हुन पनि उसकी पठ्ठी छोरी पद्माको रूपरङ र बोलीबचन सबैलाई लठ्ठ पार्ने खालको छ।
बगलेकमा धेरै पसल त कहाँ छन् र! जम्मा चार-पाँच वटा पसल मात्र। गाउँका दिदीबहिनीहरू तरकारी र अनाजसँग नुन-तेल साट्न यहीँ आउनुपर्छ। पुरुषहरू प्रायः सबै भारतस्थित मुम्बई कमाउन जाने गर्दछन्। केही पुरुषहरू सेनामा, काहीँ अलिअलि पढेको भए जागिर खोज्न शहरतिर लाग्छन्। मुम्बईबाट केही पैसा लिएर आएपछि दिनभरि घाममा बसेर तास खेल्दै गफिनेहरूको पनि कमी छैन त्यहाँ। गाउँमा मर्दा-पर्दा पुरुषभन्दा महिलाकै संख्या बढी देखिन्छ, युवाहरू भेट्नै मुस्किल। पढाइ-लेखाइमा भने खासै मोह राख्दैनन् यहाँका मानिसहरू।
खप्तड घुम्न आएको एक खैरे वीरबहादुरको होटलमै थला परेको छ। गोडा मर्किएकाले सदरमुकाम झर्न पनि ऊ अशक्त छ। पद्माले एकपटक रेडक्रसले दिएको प्राथमिक उपचारको तालिम लिएकी थिई। कोही बिरामी पर्दा सारोगारो टार्न उसैको गुहार माग्नुपर्छ। अविवाहित छोरीले पराई मर्दको गोडा छुनुहुन्न भन्ने यहाँको रितीरिवाजकै कारण खैरेको गोडा मिच्ने काम वीरबहादुरकै भागमा परेको छ।
वीरबहादुरले गफमा जति नै फुर्तीफार्ती देखाए पनि कामकाजमा खासै मेलोमेसो ल्याउँदैन। सुफीले टिल्ल उसको सास खैरेलाई सहिनसक्नु छ। बेला-बेला उँघेर मर्किएको खुट्टामा पीडा थपिदिँदा खैरे चिच्याउँछ। पद्माकी आमा त्यो देखेर परैबाट गाली गर्दै भन्छे, 'टिल्ल परेका छ्यौ, भोलि यिनै खैरे आउन छाडे भने खाउला जाँड!'
'म सक्दिनँ! धेरै निहुँ नखोज नत्र त्यही बुलाकीमा दाम्लो लगाएर थाममा बाँधिदिउँला।' वीरबहादुर रिसाउदै उठ्छ र बाहिर मेचमा आएर बस्छ।
'मेरो बुलाकीले तिम्लाई रक्सी धोक्न त रोकेको छैन नि?' पद्माकी आमा नाकमा झुन्डिएको बुलाकी हल्लाउँदै कराउँछे।
'भो-भो आमा नकराऊ! मै गरिदिम्ला मालिस।' पद्मा आमालाई थुमथुमाउँछे र खैरेको गोडा मालिस गर्नतिर लाग्छे।
वीरबहादुरका पाँच छोरी। तीन जनाको बिहे भइसक्यो। साइँली छोरी झिंग्राना आर्मी पोस्टका आर्मीसँग बिहे गरेर धनगढी बस्छे। एक छोराकी आमा साइँली शारीरिक रूपमा सारै कमजोर र अशक्त छ।
वीरबहादुर बेला-बेला खैरेको खुट्टा मालिस गरिरहेकी छोरीलाई हेरिरहन्छ। 'यही खैरेसँग भागे हुन्थ्यो नि काइँली।' मनमनै यस्तै सोचेर बसिरहेको छ ऊ। फेरि सोचाइमा डुब्छ, 'साइँला ज्वाईंसँग यसको बिहे गरिदिन पाए नि हुन्थ्यो नि, बिचरा साइँली पनि अशक्त छे। ज्वाईं जागिरमा दौडनैपर्छ, छोरा स्याहार्ने मान्छे नि हुन्थ्यो।' आफ्नै छोरीको सौता भएर गइदिए हुन्थ्यो भन्ने सोच्नसमेत पछि पर्दैन ऊ।
कान्छी छोरी उमा टाढाको गाउँमा एसएलसी दिएर बसेकी छे। उमेरले बीस पुगेकी पद्माको बिहे वीरबहादुरलाई घाँडो भएको छ। अरू छोरीहरू भागेरै गए। पद्मालाई पनि यहीँ खान आउने आर्मी पोस्टका आर्मीले भगाए हुन्थ्यो भन्ने सोचाइ बारम्बार आइरहन्छ उसको मनमा।
खाना खान आएका आर्मीलाई पालैपालो बिहे भए नभएको सोध्न कहिल्यै छुटाउँदैन वीरबहादुर। पद्मा आजित छे आफ्नो बाबुसँग। कम बोल्ने, रुखो व्यबहार कसैसँग पनि नगर्ने स्वभावकी पद्मालाई आफ्नो बैंस र बाबु दुवैसँग अस्वाभाविक असन्तोष छ। कारण साठ्ठी वर्ष पुगेकी आमा र होटल हो। उविना न त आमा एक्लै काम गर्न सक्छिन्, न त होटल नै चल्न सक्छ।
बंैसमा जिस्कने रहर कसलाई हुन्न र! अरूको अँगालोमा बाँधिएर प्रेमबाट प्राप्त हुने रोमाञ्चको अनुभूति सँगाल्ने रहर कसलाई हुन्न र! तर पद्मा कामको चटारोले उसको आफ्नो कल्की बैंसलाई कतै फुलेको अनुभूति गर्न पाएकी छैन।
पद्माको शिष्ट व्यवहारले सबैको मन जितेको छ। पोहोर एक खैरे त लठ्ठै परेको थियो र भनेको पनि थियो, 'म तिमीलाई स्विजरल्यान्ड लैजान चाहन्छु।' 'के भर छ र यिनीहरूको' उसले यस्तै सोचेर त्यो प्रस्ताव लत्याएकी थिई।
'खालमा जम्न जानु रे।' पल्लो पसलेकी फुच्ची वीरबहादुरलाई बोलाउन आइपुग्छे। आज पल्लो पसलले च्यांग्रा काटेकाले तास खेलाउने पालो पनि आज उसैको छ। तल गाउँबाट तास खेल्ने जुवाडेहरूको एक हुल अघिदेखि नै तम्तयार छ। सुफीका बोतलहरू जुवाडेका लागि तयार छन्। आएका पाहुनाहरूलाई होहल्ला र असुविधा नहोस् भनेर तास खेल्नेहरूका लागि बेग्लै कटेरो बनेको छ। स्याउलाले छाना छाएको कटेरोमा लेकका दाउरामा आगोको घान लाग्छ।
च्यांग्राको मासु र सुफीमा वीरबहादुरहरू तासमा मस्त झुम्मिने गर्छन्। यो यिनीहरूको दिनचर्या नै हो। बटुवा होस् या टुरिस्ट, उनीहरूको खानपान र बसोबास मिलाउन महिलाहरू नै सिपालु छन्।
'पद्मा शहर जा, नत्र यो जेलाहा बाबु तेरो निम्ति अभिशाप बन्नसक्छ।' आमाले कैयांैपटक पद्मालाई सम्झाइसकेकी छिन्। 'बहिनीको जस्तो एसएलसी पढेको भए म उहिल्यै कहाँ पुग्थे! आफूले त मात्र सात किलास पढियो।' पद्माको विस्मात यही छ।
पद्माले साइँली दिदीको बिहेअघि होटलमा खासै हेर्नुपर्दैनथ्यो। काम गर्नुपर्छ भनेर बाउले स्कुल छोडाएदेखि पद्मा न त स्कुल जान पाई न त साथीभाइसँग भेट्न। उसले देखेको भनेको डोटी हो तर दिदी धेरै बिरामी हुँदा दिदीलाई हेरविचार गर्न धनगढीसम्म दुईपटक गएकी छ ऊ।
शहर जाने र ठूलो मान्छे बन्ने चाहाना अंकुराउँदै भाँचिदै गरे। कत्तिले के सपना देखाए, बत्तीले के रहर उब्जाए ऊ बस हेर्दै र सुन्दै मात्र रही। उसलाई थाहा छ कहिले न कहिले त नयाँ जिन्दगी सुरु गर्नु छ। तर कसरी? ऊ नभए होटल चल्दैन। चले पनि बूढी भएकी आमाको हाड न छाला हुन्छ। बाबुको के भर रक्सीले ज्यान खाइसकेको छ। पद्मालाई हिजोआज रातदिन यस्तै कुराले निर्घात पिटिरहन्छ। सोचमग्न बनाइरहन्छ। किंकतर्व्यविमूढ छे ऊ।
प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

शनिबार