Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 19th

मृत लेखकको कथन

E-mail Print

खगेन्द्र संग्रौला- टारेर नटारिने त्रू्कर नियतिसित सम्झौता गर्दै एकरत्ती पश्चात्ताप नगरी निस्पृह भावले म स्वीकार गर्छु- म एक मृत लेखक हुँ। लेखनमा जिउँदो छँदा वा जिउँदो छु भन्ने व्यर्थको अभिनय गरिरहँदा मेरो सादा नाम खगेन्द्र संग्रौला थियो। त्यो अब मृत खगेन्द्र संग्रौला भयो। मेरो मृत्यु र रोलाँ बार्थका दृष्टिमा लेखकको मृत्युमा ठूलो अन्तर छ। बार्थको लेखक रचना टुङ्गिएपछि मर्छ। र, त्यो मृत लेखक आफ्नो रचनाको व्याख्या र प्रतिरक्षा गर्ने हक र हुतीबाट च्यूत हुन्छ। रचनाको नियतिको निर्धारण पाठकले गर्छ, मृत लेखक केवल मूक दर्शक बन्छ। तथापि रोलाँ बार्थ दयालु छन्। उनी लेखकलाई किस्ताकिस्ता गरेर मर्ने छूट दिन्छन्। एउटा रचनामा मृतक भएको लेखक अर्को रचना गर्न जीवितै रहन्छ। तर मेरो मृत्यु आंशिक होइन। यो थोक मृत्यु हो, यो समग्र मृत्यु हो, यो अन्तिम मृत्यु हो। म मृतकबाट अब केही पनि लेखिने छैन। कदाचित् लेखियो नै भने पनि त्यो स्वर्गीय स्वप्निल स्मृतिको जस्तै स्वर्गीय विप्निल विस्मृतिको नाममा लेखिने छ।

 
नयाँको जन्म र पुरानोको मृत्यु सततः परिवर्तनशील जगत्को अकाट्य नियम हो। पुरानो मरेर आफूले ओघटेको ठाउँबाट नपन्छिई नयाँलाई उभिने ठाउँ हुँदैन। नयाँ र झर्झराउँदो लेखकले जन्म लियो, म पुरानो र रुग्ण लेखकलाई मार्‍यो र खाली ठाउँमा ऊ सगर्व विराजमान भयो। यो कालातीत सनातनको विस्थापन र कालजयी नूतनको स्थापना हो। ऊ विजयोत्सवको दुन्दुभी बजाउँदै अस्तित्वमा आयो र शंखको एकोहोरो टुँसँगै उसले मलाई अनस्तित्वतिर चलान गर्‍यो। आखिर जीवन भन्नु नै आउनु र जानुको अनन्त कथा न हो।
ऊ जन्मिनुअघि नै मलाई कसोकसो आफ्नो मृत्युको पूर्वाभाष भइसकेको थियो। इन्द्रियहरु शिथिल हुँदै गएका थिए। संवेगहरु शुष्क हुँदै थिए। संवेदन ग्रन्थीमा लय र लचकताको पारो झर्दै थियो। र, स्मृति-शृंखला क्षतविक्षत भइरहेको थियो। न मेरो चिन्तनमा नवीनता बाँकी थियो न त सिर्जनामा स्पन्दन नै। र, म केवल जिउँदो हुनुको वृथा अभिनय गरिरहेको थिएँ। मलाई कतै शून्यमा सुस्ताउन र विस्मृतिको गर्तमा विलीन हुन उत्कट इच्छा थियो। तर आफूमा इच्छा मरणको सामर्थ्य नहुँदा कालातीत लेखकको औतारमा म घिटीघिटी निरर्थक जीवन बाँचिरहेको थिएँ। भाग्यवश ऊ जन्म्यो र मेरो जराजीर्ण लेखकीय जीवनको टन्टै खलास भयो।
ऊ को हो? ऊ कसरी जन्म्यो? उसको अन्वेषण, उसको आविष्कार, उसको कृति र उसको कीर्तिको कथा र गाथा के हो? प्रिय पाठकगण, जीवनको नाटकमा घटित यो चामत्कारिक विषयलाई नाटकीकरणको पोयोमा बुन्दै अब म भन्दै जान्छु।
मृत औतारमा म आफ्नो पूर्व जुनीको पिँडीमा बसिरहेको थिएँ। अगाडि टेबुलमा नयाँ र युगान्तकारी पुस्तक थियो। भनुँ भने न भूतो न भविष्यति खालको अनुपम पुस्तक † पुस्तक हेर्दै म कृतज्ञता प्रकट गरिरहेको थिएँ- हे नवजात पुस्तक † धन्य हो तेरो स्रष्टा जसले मलाई क्लेशपूर्ण र जीर्ण अस्तित्वबाट मुक्त गरिदियो। यस्तैमा एउटा युवक आइलाग्यो। उसले मेरा चरण स्पर्श गर्न खोज्यो। म हत्तपत्त तर्किएँ।
'को हौ र यो मृत लेखककको पिँडीमा के कति कामले आयौ?' युवकलाई विना भलाकुसारी मैले सोधेँ।
'म हजुरको दर्शनार्थी र भिक्षार्थी हुँ।' दासवत् लबजमा युवकले भन्यो।
'युवक, यो मृतकको दर्शन गरेर केको भिक्षा?' म टकटकिएँ।
युवकले कारुणिक स्वरमा दर्शन र भिक्षाको अभिप्राय खुलायो। ऊ रहेछ बरा शिक्षाको डिग्रीधारी एक बेरोजगार युवक। र, सम्पादकद्वारा उपेक्षित र प्रकाशकद्वारा तिरष्कृत एक अप्रकाशित लेखक। उसको कष्टसाध्य यत्नबाट अनेक पाण्डुलिपि तयार भएछन्। तर छापिदिने उदारमना गुणग्राही कोही भएनछ। लेखेर बाँचुन्जेल शानदार नाम र लक्कु दाम अनि मरेपछि अमरत्व प्राप्त गर्ने उसको दुर्दम धोको रहेछ। तसर्थ आफ्ना दमित इच्छाहरु पूरा गर्ने जादूगरी सूत्रको खोजीमा मेरा चरण स्पर्श गर्न आएको रहेछ ऊ।
'तिमी गलत ठाउँमा आयौ, युवक †' मैले सम्झाएँ। 'जो आफैँ मृतक हो उसले भिक्षार्थीलाई के दिनसक्छ?'
'मृतक' शब्द सुनेर ऊ त्यसैत्यसै चकित र विस्मित भयो। उसले ट्वाँ परेर म मृतकलाई अलिबेर अपलक हेर्‍यो। अस्तित्वमा सशरीर उपस्थित छ र खुरुखुरु बोल्दैछ। तैपनि भन्छ- म मृतक हुँ † ऊ झनै जिल् पर्‍यो। म मृतकले भनेँ- 'कुरो साँचो हो। म मर्नु तैपनि सशरीर देखिनु र बोल्नु उत्तरआधुनिक रहस्य हो। मृत आधुनिकहरुबाट यो रहस्यको अर्थ कदापि खुल्दैन।'
युुवकले हडबडाउँदै पुनः मेरा चरण स्पर्श गर्न खोज्यो।
'युवक †' मैले पुनः सम्झाएँ, 'म मृतकका चरण स्पर्श गर्नु व्यर्थ छ।'
'तब म कसका चरण स्पर्श गरुँ त ज्यू?' याचक मुद्रामा युवकले हात मल्यो।
'जिउँदा लेखकका,' मैले भनेँ।
'को हुन् त ती जिउँदा लेखक, दाज्यैज्यू?'
'ती हेरु यी हुन्।' जिउँदा लेखकको नाम मैले देखाएँ। त्यो गरिमामय नाम हो श्री राजेन्द्र थापा। 'सुन युवक †' मैले भनेँ, 'यी जन्मे र म मरेँ।'
'यी केमा जन्मे ज्यू?' युवकले खुल्दुली पोख्यो।
'यी खेलौनामा जन्मे।'
युवकले टेबुलबाट खेलौना टपक्क टिप्यो। उसले बाहिरी गातामा अङ्कित देखाउन र देखिनका लागि स्तन र भगसिवाय केही नभएकी सुभगेको तस्बिर एकाग्र दृष्टिले हेर्‍यो। र, मुग्ध दृष्टिले एक टकले हेरी नै रह्यो। अनि सोध्यो, 'यो खेलौनामा के छ ज्यू?'
'नवीन दृष्टि र उत्तम कृतिको परख गर्ने अद्वितीय प्रतिभा भएका भूमिका लेखक जगदीश घिमिरेले भनेका छन्- यसको सौन्दर्य र मर्म बु‰न यो पढ्नैपर्छ। सुन युवक, तिनको दिव्य कथनमाथि मेरो अगाध विश्वास छ। तैपनि किञ्चित् धृष्टतासाथ म भन्छु- यो खेलौनामा रस छ।'
'कस्तो रस?'
'लिङ्गरस र भगरस।'
'नवरसमध्ये यो कुन रस हो ज्यू?'
'जिज्ञासु युवक, रस जगत्मा यो नवीनतम एवं अनुपम आविष्कार हो। यो दशरस हो। यो जाज्ज्वल्यमान् रसका मुखेन्जी नाथे नवरसहरु मिति गुजि्रएका ओखतीतुल्य हुन्। ती त कालातीत रस हुन्।'
बालकले मनमोहक खेलौना खेलाएझैँ युवकले मुसार्दै र सर्सरी पाता पल्टाउँदै खेलौना खेलायो। र, मुहुनीमय खेलौनामा दृष्टि स्थिर गरेर उसले घुटुक्क थुक निल्यो।
'दाज्यै, यसमा अरु के छ?' युवकले कौतुकमय प्रश्न मतिर तेर्स्यायो।
'यसमा लिङ्गको भयानक नर्तन छ र छ भगको उत्पात चुरिफुरी। र कर्पोरेट बजारमा नै त यो मारामार बिकिरहेछ।'
'अनि यसको प्रयोजन?' खेलौना छातीमा टाँसेर युवक बोल्यो।
'प्रयोजन उदात्त छ।' मैले बुझाउन खोजेँ। 'विरलाकोटी लेखक राजेन्द्र थापामा नारी जीवनप्रति असीम सहानुभूति छ। पितृसत्ताद्वारा खेलौना बनाइएकी नारीको दुरावस्था देखेर लेखकको द्रवीत हृदय सहस्र चिरा परेको छ। र नै त बडो मङ्गलकारी मुद्रामा लेखक भन्छन्- यो खेलौना सेक्सको न्यायोचित एवं मनोवैज्ञानिक व्यवस्थापनको अचुक अस्त्र हो। र हो यो सेक्स शिक्षाको अत्युत्तम पाठ्यसामग्री पनि। लिङ्गको बेलगाम नर्तन र भगको असह्य तृष्णाको उत्पाती चित्र खिचेर लेखक यी सबै प्रयोजनलाई साकार रुप दिन कटिबद्ध छन्। बुझ युवक † नवीन युगको महान् लेखकमा हुनुपर्ने दृढ लेखकीय प्रतिबद्धता त यस्तो पो हो † हेर त, साधन कस्तो अनि साध्य कस्तो †'
युवक म मृत लेखकको मृत कथन सास रोकेर सुनिरहेछ। उसमा श्री थापाजस्तै नवयुगको भव्य लेखक बनेर नाम, दाम र अमरत्व आर्जन गर्ने लालसा बढ्दो छ। ऊ सोध्छ, 'दाज्यै, लिङ्गरस र भगरसको यो अजस्र प्रवाहमा अरु विशिष्टता के छ?'
'युवक † दशौँ रसको विशिष्टताको ज्ञाता म होइन। म त केवल मृतक हुँ, प्रेततुल्य कालातीत र अप्रासङ्गिक। यसका ज्ञाता लिङ्गरस र भगरसका प्रखर एवं मुखर पारखी भूमिका लेखक जगदीश घिमिरे र यी रसद्वयका गुणग्राही अनुमोदक बैरागी काइँला हुन्। जाऊ र तिनलाई सोध।'
'दाज्यै †' खेलौनालाई म्वाइ खान खोज्दै युवकले बिन्ती बिसायो, 'यो खेलौनाको महत्तामाथि यी दुई महारथीले पारेको प्रकाश हेर्न पाए कस्तो हुन्थ्यो †'
'सुन,' बिन्तीको प्रत्युत्तरमा मृत लेखक बोल्यो, 'प्रकाश प्रस्तुत छ। रसपारखी भूमिका लेखकले खेलौनालाई क्रान्तिकारी डकुमेन्ट्री उपन्यास भन्ने अलङ्कारले विभूषित गरेका छन्। अनि उनले यसलाई सेक्स जगत्मा नयाँ मान्यताको क्रान्तिकारी प्रतिपादन भन्न पनि भ्याएका छन्। उता झनै रसपारखी बैरागी काइँलाले यसलाई मनोविश्लेषणात्मक आख्यानमा वीपी कोइरालापछिको भयंकर आँटिलो चेष्टा भन्ने दामी पगरी गुथाइदिएका छन्।'
'ए..' कुरा घत परेर होला, युवकले ल्याप्प ओठ चाट्दै मुन्टो हल्लायो।
यहाँनेर युवकलाई म मृतकले सोधेँ, 'युवक, जगदीश र बैरागीलाई तिनका दुर्लभ उपाधिसहित तिमी चिन्छौ?'
युवकले दुईचोटि सकारसूचक र दुईचोटि नकारसूचक भावले मुन्टो हल्लायो। तसर्थ युवकका चित्तको अन्यौलको कुहिरोलाई पन्छाइदिन मैले फर्माएँ, 'सुन, लेखकको तहगत सोपानमा यी दुई मनीषि उपल्लो दर्जामा पर्छन्।'
'मतलब, दाज्यै?'
'मतलब के भने युवक, मदन पुस्कार विजेता जगदीश लेखकीय सोपानका खुट्किलामा साहित्यिका सेक्सन अफिसर हुन्। र, बैरागी काइँला हुन् समस्त साहित्यिक कुलका कुलपति र लेखकीय सोपानका खुट्किलामा साहित्यका मुख्य सचिव। लेखनाथीय नीति वचनलाई थोरै संशोधन गरेर भन्ने हो भने युवक, बडाले जो दियो वाणी हुन्छ त्यो सर्वसम्मत। उसो त भूमिका लेखकले यो रसदार खेलौना सर्वग्राह्य हुनसक्ने भविष्यवाणी नै गरेका छन्।'
'ए...ए...' कुराको रसमय चुरो बुझेर होला, युवक मुसुक्क हाँस्यो। र, उसले अर्को जिज्ञाषा टेबुल गर्‍यो, 'अनि दाज्यैज्यू, उबेलाका बीपी र अचेलका थापाको दाँजो कसरी सम्भव भयो?'
यहाँनेर म मृत लेखकलाई सीके लालको टिप्पणीको याद आयो। कुलपति बैरागीको मन्तव्य पढेर मुख बिगार्दै तिनले भनेका थिए, 'यी बैरागीले कि त बिपीका मनोविश्लेषणात्मक आख्यान पढेकै छैनन् वा पढेर बुझेका छैनन् वा खेलौना पढ्दै नपढी यिनले कुलपतिको व्यासासनमा बसेर अन्तर्यामी दृष्टिले बिपी र राजेन्द्रका कुम जोडिदिएका हुन्। यो एउटाको उग्र अवमूल्यन र अर्काको उग्र अधिमूल्यन हो।'
लालवाणी सुनेर म मृत लेखक झसङ्ग भएँ। लाग्यो, यिनको टिप्पणीमा केही दम पो छ कि? तर तत्क्षण मलाई ज्ञानोदय भयो, सीके लाल पनि त आखिर मृत लेखकै हुन्। यी मृतक आख्यानलाई आदर्श र मर्यादाको मानकले जोख्न खोज्छन्। त्यो बित्थाको कालातीत मानक हो, उपयोग मूल्य निखि्रएर पत्रु भएको मानक।
लालवाणीबाट म पन्छिन खोजेँ तर त्यसले आफ्नै छायाँले झैँ मलाई पछ्याइरह्यो। र, पूर्व जुनीको स्मृति मलाई गाँज्न आइलाग्यो। त्यो स्मृतिले भन्यो- बिपी लज्जालुु थिए। त्यसैले त तिनले यौन मनोविश्लेषणलाई सामाजिक मर्यादाको आवरणभित्र राख्न खोजे। तिनले यौनप्रधान साहित्यमा सौन्दर्य रसको जलप लगाउन यथाशक्य यत्न गरे। तिनमा रमरम नै भए पनि साहित्यको आत्मिक उन्नयन र रुचि परिष्कारको भूमिकाको आग्रह थियो। तर यी उहिलेका कुरा हुन् जो खुइलिएर गइसके। रस महलका पारखी दृष्टियुक्त जगदीशद्वारा 'क्रान्तिकारी' घोषित राजेन्द्र थापा मानक भञ्जक हुन्। लज्जा र मर्यादा एवं सौन्दर्य र सुवासजस्ता साहित्यका कालातीत मानकको एक्काइसौँ शताब्दीमा के काम? काम छ त केवल ताण्डवकारी लिङ्ग गाथाको र अराजक भग गाथाको। म मृत लेखक भन्छु, मृत बिपीका मनोविश्लेषणात्मक आख्यानहरु स्वयं मृतक हुन्। जे जीवन्त छ त्यो केवल खेलौना हो। खेलौना मानक भञ्जनको गर्भबाट जन्मेको जीवनको कुरुपीकरण, विरुपीकरण र विद्रूपीकरणको उत्कृष्ट नमूना हो। यौन साहित्य सिर्जनाको साधनामा निजामति लेखक बिपी उर्ध्वमुखी थिए, जङ्गी लेखक राजेन्द्र अधोमुखी हुन्। तसर्थ बिपी आफ्ना कृतिसहित सर्वाङ्ग मृतक हुन्, राजेन्द्र खेलौनाको जाज्वल्यमान रसप्रवाहमा चम्किएका युगान्तकारी लेखक हुन्। यसको अकाट् प्रमाण जगदीशद्वारा प्रदत्त शानदार अलङ्कार र बैरागीद्वारा प्रदत्त उदारतायुक्त अनुमोदन हो। भाग्यमानीका भुतै कमारा भनेको यही त होला।
लालवाणीमा झुन्डिएर अतीतको स्मृतिमा म मृतक बहिकिएँछु। यो मौका छोपेर भिक्षार्थी युवक खेलौनामा डुबेछन्। यसो हेर्छु त मेरीबास्सै, युवकको अनुहार खेलौनाको आभाद्वारा एक तमासले आलोकित र पुलकित छ।
'कस्तो लाग्दैछ, युवक?' ठट्ट्याइलो स्वरमा सोधेँ।
'रस अमृततुल्य छ, दाज्यै।' मुख मिठ्याउँदै युवकले भन्यो।
भन्ने र सुन्ने कुरा सकिएझैँ मेरो पूर्व जुनीको पिँडीमा अलिबेर सन्नाटा छायो। अनि निधार मुजा पार्दै युवकले जिज्ञासाको अर्को पत्र पल्टायो। 'खेलौनाबारे अरु केही मीठो-मसिनो कुरा बाँकी छ कि दाज्यैज्यू?'
'युवक, यो दिव्योपदेशको क्रान्तिकारी कथा र अमर गाथा भनेर कहिल्यै सकिँदैन।'
'तथापि थप केही अमूल्य सुन्नपाए हुँदी..' युवकले हात जोड्यो।
'सुन युवक,' म मृतक भन्न थालेँ, 'जेको पनि पृष्ठभूमि इतिहास हुन्छ। खेलौनाको पनि छ।'
'त्यो पृष्ठभूमिमा के छ दाज्यैज्यू?'
'त्यो पृष्ठभूमिमा नीलोचोली छ र आगो छ।'
'यी चोली र आगो के हुन् ज्यू?'
'यी पुराना कालजयी कृति हुन्। यिनका छद्मभेषी रचनाकार हुन् गोर्खाल्याण्डका सुवास घिसिङ। यी घिसिङ लिङ्गरसीय एवं भगरसीय लेखनमा राजेन्द्र थापाका जनक, अग्रज र प्रेरक हुन्। राजेन्द्रको आजको क्रान्ति सुवासले पहिल्यै छेडेका थिए। म सम्झन्छु, त्यो क्रान्तिले नेपाली शब्द संसारमा सानोतिनो उथलपुथल मच्चाएथ्यो। क्रान्तिको यो फाँटमा सुवास शिशु र सिकारु हुन्, राजेन्द्र हुन् बयस्क र पारङ्गत। सुवासले रसक्रान्ति अधुरै छाडेका थिए। सुवासको बिँडो थाम्दै राजेन्द्रले अहिले छलाङ मारे। रस जगत्मा सुवास लिङ्गरस र भगरसको सपाट वर्णनमा सीमित थिए। राजेन्द्रले यसमा नयाँ आयामा थपेका छन् र नौलो क्षितिज उघारेका छन्। राजेन्द्रको लेखनमा नवीन रसचेतनाको नूतन उद्घोष छ, यसमा शानदार शास्त्रार्थ छ, यसमा घतलाग्दो अर्ती-उपदेश छ। र नै त यो खेलौना नीलो चोली र आगोलाई फिका तुल्याउँदै आफ्ना मौलिक विशिष्टताहरुले विपुल छ।'
घडी हेर्दै युवकले आग्रह गर्‍यो, 'दाज्यै, म सभक्ति राजेन्द्रपथमा लाग्न आतुर छु। म नाम, दाम र अमरत्व आर्जन गर्ने तृष्णा तृप्त गर्न चाहन्छु। आज्ञा होस् दाज्यैज्यू, मैले अब के गर्नुपर्ला?'
'गर्नुपर्ने कुरा तीनवटा छन्,' म मृत लेखकका मुखारविन्दबाट आज्ञा फुर्‍यो, 'युवक, तिमी खेलौनाको भाग दुई लेख। त्यसमा यीभन्दा सबल, सशक्त, ऊर्जाशील र क्रियाशील लिङ्ग र भगहरुको निर्माण गर। त्यसमा खेलौना एकलाई माथ गर्ने गरी लिङ्ग नर्तन र भग छम्छम्को जादूगरी छटाको चमत्कार सिर्जना गर। बस्, यो हो पहिलो काम।'
'दाज्यै, अनि दोस्रो?'
'दोस्रो काम हो सुयोग्य पात्रका हातबाट भूमिका लेखाऊ।'
'दाज्यै, भूमिका शिरोमणि प्राडा गोविन्दराज भट्टराईबाट लेखाए कसो होला?'
'हुँदैन, युवक। त्यो काम लाग्दैन। खेलौनाको लिङ्ग एवं भगरसीय चेतनाको डसाइबाट सके यी गोविन्दको उत्तरआधुनिक चेतना मूर्च्छा पर्‍यो होला। यस अर्थमा यी गोविन्द पनि त मृत लेखक हुन्। फेरि, यी गोविन्द न लेखन जगत्का पृरस्कृत सेक्सन अफिसर हन् न त यी साहित्यिक कुलका कुनै पति नै हुन्। तसर्थ यी लेखकीय सोपानका केवल खरिदार हुन्। युवक, खरिदार नाथेको भूमिकाले रसमार्गी कृतिमा केको चमक थप्छ?'
युुवकले लामो सुस्केरा हाल्यो। अनि कन्सिरी कन्याउँदै सोधनी गर्‍यो, 'अनि प्राडा अभि सुवेदीको भूमिका नि ज्यू?'
'त्यो पनि काम लाग्दैन।' जीवन्त लेखक बन्न चाहने युवकलाई म मृत लेखकले सम्झाएँ। 'हेर, अभि साहित्यमा जीवनका दृश्य र अदृश्य, छूटप्राप्त र निषिद्ध, यौन र अर्थ, धर्म र राजनीति सबै क्षेत्र र पत्रको यथार्थ उजागर हुनुपर्ने उदार आग्रह राख्छन्। अभि साहित्यका विषयहरुमा पर्दाप्रथालाई मान्दैनन्। तर अभि पनि बिपीजस्तै लज्जालु छन्। यी साहित्यमा सौन्दर्य र मर्यादाका कुरा गर्छन्। यी पनि आत्मिक उन्नयन र रुचि परिष्कारको जिरह गर्छन्। पुरस्कारविहीन र पदहीन अभि लेखकीय सोपानका हदै भए नायक सुब्बा हुन्। यी पनि मृत लेखकै हुन्। युवक, मृत लेखकले जीवित लेखकका कृतिको भूमिकामा के लेख्छ?'
युवकले झन् लामो सुस्केरा हाल्यो।
'उसोभए दाज्यै, ती सुयोग्य लेखक को हुन् जसको भूमिकाले कृतिलाई शोभा र शान दिन्छ?'
'युवक, ती रसजगत्का क्रान्तिद्रष्टा र लेखकीय सोपानका सेक्सन अफिसर श्री जगदीश घिमिरे हुन्। म मृत लेखक ठोकेर भन्छु युवक, खेलौना एकपछि खेलौना दुईमा भूमिका लेख्ने ल्याकत भएका एकमात्र जीवन्त लेखक श्री घिमिरे नै हुन्।'
'ज्यू ज्यू,' कुरा बुझेर युवकले नाक मुसार्दै मुन्टो हल्लायो। 'अनि तेस्रो कुरा दाज्यैज्यू?'
'तेस्रो कुरा हो, साहित्यिक कुलका कुलपतिको अनुमोदन।'
'बस्, बस्।' युवक हौसियो। 'यति भए चीज बन्छ हैन, दाज्यैज्यू?'
'बन्छ युवक। तीन लाखको थैलो लिएर पाण्डुलिपि लिन ङिच्च हाँस्दै रसपारखी प्रकाशक तिम्रो घरदैलोमा धाउँछ। अनि अरु लाखहरु लुतुलुतु आइरहन्छन्। सञ्चारमा प्रचारबाजीको धूलो उड्छ। प्रोफेसर र प्राडा, कवि र लेखक, नाट्यकर्मी र सिनेकर्मी, आदि र इत्यादि लिङ्गरस र भगरसबाट निर्मित कृतिको महात्म्य गाउन लाम लाग्छन्। ज्वलन्त उदाहरण राजेन्द्र थपाको खेलौना तिम्रा नाकैअगाडि छँदैछ। यो मृतकवाणी ध्यानले सुन युवक, थापाको खेलौनामाथि अव विद्यावारिधीको लहर चल्नेछ। हेरिराख, यसले सत्यनारायण व्रतकथाको ठाउँ लिन कत्ति बेर छैन। भन त युवक, पीडित गोमा ब्राह्मणीहरुको उद्धारकर्ता र मुक्तिदाता इहलोकमा योबाहेक अरु के छ?'
युवक बाटो लाग्न उठ्यो।
'दाज्यै, मेरो भविष्यबारे एक वचन....'
'क्रान्तिकारी राजेन्द्रपथमा समर्पित होऊ, जगदीशका चरण स्पर्श गरेर भूमिका लेखाऊ, कुलपति वैरागीको मूल्यवान् अनुमोदन प्राप्त गर। बस्, युगान्तरको कोशेढुङ्गाका निर्माता राजेन्द्र थापापछि कुनै जीवित लेखकको भविष्य उज्ज्वल छ भने त्यो तिम्रै हो, युवक।'
युवकले कृतकृत्य हुँदै निहुरिएर बिदाइ चरण स्पर्श गर्न खोज्यो। तर्किन खोज्दै म मृत लेखकले भनेँ, 'आशीर्वाद छ युवक, रसमय राजेन्द्रपथको सदा जय होस् †'

प्रतिक्रियाहरू (13)add comment
0
Satik Sharma: ...
खगेन्द्रले लेख मार्फत मपाइत्वको पराकाष्टा उतारेका छन् | यद्दपि घुमाएर लेख्न खोजेका छन्, मृत लेखकको उपमा दिएर, खोपीको देउता हुन खोजेका छन् | याद रहोस, साहित्यका विभिन्न रंग हुने गर्छन , सबै लेखकले मार्क्सवादी चेतनाले भरिभराउ गरिबका कथा मात्रै लेख्दैनन | कसैले लिङ्ग को बारेमा लेख्छन, कोहि ब्यङ्ग गरेर लेख्छन , अरु लाखौ विभिन्न बिषयमा लेख्छन | हरेश नखानुस संग्रौला जी - मार्क्सवादी चेतनाले भरिभराउ गरिबका कथा लेख्ने गोलमटोल ठेक्का तपैले पाउनु भएकै छ |
2

April 15, 2013
भोट: -1
0
Tirtha Acharya: ...
April 15, 2013
भोट: +5
0
नवराज सुबेदी : ...
खेलौना पढे पछि यस्तो लग्यो, कुनै जमानामा अश्लिल साहित्यका रत्न "युधीर थापा" भनेका यिनै राजेन्द्र थापा हुन्।
4

April 15, 2013
भोट: +21
0
parameshor shakya: ...
sahityakar lekhak khagendra sangraula jyule swayam ghosana garnu bhayako mrityu baran pachhiko mritakbani prachanda path,rajendra path hundai khagendra pathma puge jasto lagyo.rachanama ullekhit yubakle aba kun bato rojlan?khelaunale lekhaklai mrit ghosana garna badhya parekai ho ta?lekhko saili aakarsak chha.
6

April 16, 2013
भोट: +1
0
Sanjib Pokhrel: ...
Sangaula-jilaai patrikale kina thaau dinchhan, maile ahilesamma bujhna sakeko chhaina. huna ta Rakhi Sawantlaai pani mediale thaau dinchhan. tyastai hola ni, haina?
7

April 17, 2013
भोट: -7
0
abhisek: ...
saahitya samaajko darpan ho. yaun bisayama lekhdai lekhnu hunna vanne hoina tara avibyaktiko euta saili huncha. sista tarikaale grahya hisaabma pani teslai pes garna sakincha ni. anyatha blue film ra feature filmma vinnata nai kina hunthiyo ra? dubailai eutai ratioma rakhera herine thiyo ni hoina ra? tesaile yes articlema khagendra sangraulale je vannu vayeko cha, tyo 100 % sahi cha.
8

April 17, 2013
भोट: -3
0
Bishnu pokhrel: ...
Sanraula ji ko lekh ramro 6 ra hun6 pani tara wakyako antim ma purnabiram lai kina 1uta dharmako prachar tira jodeko ho? Kripya prasta paridinuhola
9

April 18, 2013
भोट: -1
0
Umesh Dhital: ...
हाम्रो समाजमा यौनको बिषयमा खुलेर कुरा नभइरहेको, यौन शिक्षाको अभाव रहेको आदि जस्ता कारणले सो अभाव केहि हद सम्म भएपनि ‘खेलौना’ उपन्यासले पुर्ति गर्ने विश्वास उपन्यासकारले राखेको देखिन्छ । तर मलाई के लाग्छ भने जसरी बिषयबस्तुलाई प्रस्तुत गरिएको छ त्यसको प्रभावले यौन शिक्षाको दिलाउने भन्दा यौन सम्बन्धि र्दुघटना निम्त्याउन सक्नेछ । ननिम्त्याओस् म आशा गर्छु तर ननिम्त्याउला म विश्वास गर्न सक्दिन ।
10

April 20, 2013
भोट: +0
0
runlolarun: ...
if you hate khagedra sangraula's article...don't read it at first,as simple as that...DON'T HATE HIM JUST ITS COOL TO HATE SOMEONE FAMOUS.
11

April 23, 2013
भोट: +0
0
durga baral: ...
khagendra sangraula jee ra mohan baidhya ekai hun.afle j gare ni hune aru le gare birodh garne.kunai chiz lai pani sahi nabhanne,afai matra buddhijibi bhanne..ani ek dui wata chotilo sabda ko prahar garera tesailai RAJNEETI ya SAHITYA..bhanne....
12

April 23, 2013
भोट: +1
0
durga baral: ...
haina euta kura maile kaile bujhna sakina ho.sahitya bhaneko sabai manche le bujhne sada bhasama lekhine gahakilo lekh ho jasto lagthyo tara khagendra haru jasta la pani sahityakar ko sangya diyeko ma,ma kasko birosh garau?janta ko ya uni jastai buddhijibi ko?
13

April 23, 2013
भोट: +1

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

शनिबार