Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 24th

पहिलो ओलम्पियनको सम्मान

E-mail Print
प्रकाश तिमल्सिना, काठमाडौं, वैशाख ९ - ओलम्पिकमा पहिलो पटक नेपाली झण्डा फहराएका खेलाडीमध्ये एक नामसिंह थापाका लागि आइतबारको दिन विशेष रह्यो। ५ दशकअघि जापानमा सम्पन्न ओलम्पिकमार्फत नेपालले विश्व खेलकुदको सबभन्दा ठूलो मेलामा सहभागिता यात्रा सुरु गरेको थियो।
पहिलो पटक जापानी भुमीबाट ओलम्पिक यात्रा थाल्दा थापासहित ६ खेलाडीले नेपालको प्रतिनिधित्व गरेका थिए। उनीसँगै भिमबहादुर गुरुङ, रामप्रसाद गुरुङ र ओमप्रसाद पुनले बक्सिङ तथा गंगाबहादुर थापा र भुपेन्द्र सिलवालले एथलेटिक्समा प्रतिस्पर्धा गरेका थिए।
एथलेटिक्सका दुई धावक नेपालबाट ओलम्पिक खेल्न जापान गएका थिए भने बाँकी चार बक्सर हङकङबाट जापान पुगेका थिए। वेलायती सेनामा कार्यरत चार बक्सरलाई तत्कालिन नेपाली खेल प्रशासनले पत्ता लगाई नेपालको तर्फबाट सहभागि गराएको थियो।
हङकङबाट ओलम्पिक खेल्न नमिल्ने भएकाले ब्रिटिस आर्मीकै पहलमा आफूहरुले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने मौका पाएको थापा सम्झन्छन्। 'ओलम्पिकबारे हामीलाई थाहा थिएन। हाम्रो आर्मीबाटै पहल भएर जापान पुगेका थियौं।'
वर्षमा एक/दुई पटक स्वदेश आउदा घरपरिवार र आफन्तबाहेकलाई पत्तो नहुने थापाको यसपालीको नेपाल भ्रमण पत्रकार र क्यामराबाट घेरियो। नेपाल बक्सिङ संघले नेपाल आएको मौका पाएर थापालाई आइतबार सम्मान गर्दा धेरै खेलप्रेमी पहिलो ओलम्पिक यात्राबारे थप रोचक पक्षसँग जानकार भए। यसअघि ६ खेलाडीले १९६४ ओलम्पिकमा नेपालका तर्फबाट खेलेको जानकारी भएपनि नेपाली खेल प्रशासनसँग दुई म्याराथन धावक थापा र सिलवालबाहेकको नामसमेत थिएन। आइतबार थापाको सम्मानपछि उनैबाट बाँकी तीन बक्सरबारे जानकारी भएको थियो।
टोकियोको रिङमा भिड्ने सबै चार खेलाडी हङकङबाट जापान पुगेका कारण उनीहरुका विषयमा स्वदेशमा धेरै चर्चा भएन। चार बक्सर एउटै कम्पनीका भएकाले एकअर्कासँग राम्रो परिचय भएपनि उनीहरुले एथलेटिक्सका थापा र सिलवालसँग जापानमै भेटेका थिए। 'ओलम्पिक भिलेजमा हामी सँगै बसेका थियौं। बिहान हामी अभ्यासमा जान्थ्यौं। उनीहरु पनि आफ्नै अभ्यासका लागि जान्थे,' ओलम्पिक सहभागिता स्मरण गर्दै थापाले भने, 'बेलुका सबै थाकेर आउँथ्यौं। खासै कुरा हुन पाउदैनथ्यो। ओलम्पिक पछि हामी सधै हङकङ गयौं। उहाँहरु नेपाल फर्कनु भयो। त्यसपछि कहिल्यै भेट भएन।'
सिलवालको गत बर्ष र थापाको केही बर्षअघि निधन भएको थियो। बक्सर मध्ये पुनको निधन भइसकेको छ भने भीमबहादुर सम्पर्कविहिन छन्। अर्का बक्सर रामप्रसाद गुरुङ चितवनमा रहेको थापाले बताए। थापाले रामप्रसाद गुरुङसँग चैत १७ मा धेरै बर्षपछि भेट हुँदा साह्रै आनन्द लागेको सुनाए। 'पल्टनमा सँगै थियौं। अवकाश पछि भेट भएको थिएन,' उनले भने, 'अस्ति पोखरामा भेट भयो। आनन्द लाग्यो। पुरानो साथी भेट्दा त्यसै रमाइलो हुँदो रहेछ।'
६७ बर्षिय थापा आउदो एक/दुई वर्षमा सधैका लागि स्वदेश फर्कने योजनामा छन्। 'अब बुढ्यौली लाग्यो। श्रीमतिलाई लिएर केही बर्षमा स्वदेश बस्ने गरि आउँछु होला,' उनले भने। थापाका चार छोरी र एक छोरा छन्। श्रीमती र साइली छोरीका साथ थापा हाल हङकङमा बस्दै आएका छन्।
स्याङ्जाको मनकामना गाविस बलेउमा जन्मिएका थापा ८ बर्षको उमेरमा ब्रिटिस आर्मी बाबुसँग मलेसिया गएका थिए। १९५९ मा १३/१४ बर्षको उमेरमा ब्वाइज कम्पनी ब्रिगेड अफ गोर्खाजमा भर्ती भएका उनी १९६२ मा ब्रिटिस आर्मी भर्ती हुँदै हङकङ पुगेका थिए। भर्ती भएबाट बक्सिङको अभ्यास सुरु गरेका उनले आर्मीको आन्तरिक र हङकङ उपनिवेशबाट केही प्रतियोगिता खेले।
नेपालबाट पठाएको पोशाक लगाएर मार्च पास गरेको सम्झना अझै ताजा रहेको बताउँने थापाले आफ्नो बाउट पनि बिर्सेका छैनन्। 'ओलम्पिक खेल्दा १८ बर्षको थिए। म ५१ केजीमा भिडेको थिए। पहिलो बाउट अमेरिकन अश्वेतसँग पर्योे। उनी ३३ बर्षका र अघिल्लो ओलम्पिकका कास्य पदक विजेता रहेछन्, उनले स्मरण गरे, 'तर, दुर्भाग्य म उनीसँग हारे। हाम्रो टोलीबाट ओमप्रसाद पुनले पहिलो बाउट जितेका थिए।'
पचास बर्षअघि देशको प्रतिनिधित्व गर्दा र त्यहि कारणले अहिले सम्मान पाउँदा खुसीको सिमा नरहेको थापाले बताए। १९८६ मा आर्मीबाट अवकाश लिएका थापा त्यसपछि केही समय स्वदेश फर्केर राप्तीमा एरिया वेलफेयर अफिसरको रुपमा काम गरे। तीन बर्षपछि १९९२ मा पुनः हङकङ फर्केर सक्युरिटी कम्पनीमा काम थालेका थापाले २०१० मा त्यहाँबाट पनि अवकाश लिइसकेका छन्। बुटवल ट्रफिक चोकमा घर बनाएका थापा अब नेपाल फर्केने र बक्सिङ संघले आवश्यक सम्भि्कए अनभुव साट्ने बताउँछन्। 'मलाई नेपालको बक्सिङबारे धेरै थाहा छैन। युवा पुस्ता निकै आएका छन् भन्ने सुनेको छु,' उनले भने, 'आफ्नो अनुभव साट्नुपर्छ। राष्ट्र र जिल्लालाई उकास्नुपर्छ भन्ने लागेको छ।'
आर्थिक हिसाबले कमजोर भएपनि हृदयको धनी हुनुपर्नेमा जोड दिदै थापाले भने, 'आफूलाई कमजोर सोचेर निराश हुने काम छैन। हिम्मत राख्नुपर्छ, गर्न नसक्ने केही छैन।'
प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता