Sunday 23 Chaitra, 2076 | April 05, 2020
Menu

सचिवले जिविसको निर्देशन टेरेनन्

  • शुक्रबार १७ माघ, २०७०
  • मदन ठाकुर
  • DISQUS_COMMENTS
(0 votes)
रौतहट- जिल्ला विकास समितिले गाउँमै गएर कार्य सम्पादन गर्न पटक–पटक निर्देशन दिएपछि रौतहटका अधिकांश गाविस सचिवले अटेरी गर्दै आएका छन्। सशस्त्र द्वन्द्व र मधेसको सशस्त्र भूमिगत समूहको निरन्तर चेपुवामा परेपछि गाउँबाट विस्थापित सचिवहरू अहिले पनि सदरमुकामबाटै कार्यसम्पादन गरिरहेका छन्। यहीबीच कतिपयले सदरमुकाम गौरमै घर बनाएका छन् र घरमै सेवाग्राहीलाई बोलाएर काम गरिदिन्छन्।

स्थानीयका अनुसार गरुडा तथा कटहरियाका सचिव गाउँमा आउँदैनन्। गाउँको कार्यालयमा सचिव नभेटिने हुनाले सानातिना काम गराउन पनि सदरमुकाम नै पुग्नुपर्ने बाध्यता रहेको सेवाग्राही बताउँछन्। गरुडाका सचिव शिवपूजन यादवले पतौरा र विर्ती प्रस्टोका गाविसको समेत जिम्मेवारी रहेकाले प्रर्याप्त समय दिन नसकेको बताए। उनले तीनवटै गाविस कार्यालयमा आवश्यकताअनुसार नियमित गइरहेको दाबी गरेका छन्। 
गरुडाका मनोज चौधरीले एउटै व्यक्तिलाई दुई वा त्यसभन्दा बढी गाविसको जिम्मेवारी दिइँदा कार्यसम्पादन चुस्त हुन नसक्ने बताए। सचिवको अनुहार गाविस कार्यालयमा देख्नै मुस्किल परेको गरुडा उद्योग वाणिज्य संघका अध्यक्ष कन्थमनि जयसवालले बताएका छन्। 
संग्रामपुर गाविसका सचिव सुनील ठाकुरले नियमित रूपमा कार्यालयमा हाजिर गरेको देखिए पनि कार्यालयमा बसेको कहिल्यै नदेखिएको स्थानीय बताउँछन्। 'गाविस सचिव कार्यालयमा आउँदैनन्, उनले प्राविधिक सहायकमार्फत काम गराइरहेका छन्,' स्थानीय रामएकवाल साहले भने, 'यहाँका सचिवले गौरमै कार्यालय सञ्चालन गरेका छन्। ठाकुरले तेजापाकड गाविस समेत हेर्नुपर्ने भएकाले दुवैमा आलोपालो गरेर गइरहेको बताए। 
मदनपुर, कटहरिया, र लौकाहा गाविस हेर्दै आएका सचिव जयनारायण श्रीवास्तव गौर नगरपालिकाको स्टोर प्रमुख पनि हुन्। उनले सबै कार्यालयको काम नगरपालिका कार्यालयबाट गरिरहेका छन्। उनी गाउँमा नदेखिएको महिनौं भएको स्थानीय बताउँछन्। 
श्रीवास्तवले अहिलेसम्म गाउँ परिषदसमेत गराउन सकेका छैनन्। उनी कार्यालयमा नआउँदा विकास निर्माण लगायतका काम प्रभावित भएको र सेवाग्राहीले सास्ती बेहोर्नुपरिरहेको बलुवा मदनपुरका ब्रह्मदेव यादवले बताए।
गेडही गुठी, गम्हरिया पर्सा, जयनगर, पोठियाही, लौकाहा, गंगापिपरा लगायतका सचिवले पनि जिल्ला सदरमुकाम तथा आफ्नो घरमा बसेर कार्यालयको काम गरिरहेका छन्। केहीले झोलामा सामग्री बोकेर सेवाग्राही जहाँ भेट्यो, त्यहींबाट काम गरिदिन्छन्। 
कतिपय सचिवले गाविसको काम प्रावधिक सहायकलाई लगाएर आफ्नो व्यवसाय वा निजी काम भ्याइरहेका छन्। प्राविधिक सहायकले कागजमा लेखिदिने र गाविस सचिवले सहीछाप गरिदिने प्रवृत्ति बढेको सेवाग्राही बताउँछन्। गाविस जनप्रतिनिधिविहीन हुनाले सचिवले मनोमानी गरिरहेको उनीहरूको भनाइ छ। कार्यालयमा उपस्थित हुन अनुरोध गरे सचिवले उल्टै धम्की दिने गरेको सेवाग्राहीको गुनासो छ। 
जिल्लाका ९६ गाविसमध्ये उत्तरी क्षेत्रका गाविस कार्यालय भने नियमित रूपमा खुल्ने गरेको पाइएको छ। अन्य क्षेत्रका कार्यालय प्राय बन्द भेटिन्छन्। 'दिनमा एक/दुई घन्टा खुले पनि कार्यालय सहयोगी मात्र भेटिन्छन्,' संग्रामपुरका सोभिलाला साहले भने। 
गंगापिपरा गाविसका तत्कालीन सचिव रामवृक्ष राउतलाई भूमिगत समूहले हत्या गरेपछि सचिवहरू सदरमुकामकेन्द्रित भएका हुन्। वीरेन्द्र गुप्ता र राजदेव मुखिया अहपरणमा परेका थिए। गुप्ताका साथै शिवपूजन यादव, राधेकृष्ण मिश्रलगाय सचिवको घरमा बम विस्फोट भएको थियो। अहिले हिंसात्मक गतिविधि कम भए पनि राजनीतिक दलहरूले अनावश्यक दबाब तथा धम्की दिने हुनाले गाउँमा काम गर्न असहज बनेको गाविस हकहित संरक्षण केन्द्र रौतहटका अध्यक्ष वीरेन्द्रप्रसाद गुप्ताले बताए। उनले स्थानीय निकायको चुनाव नहुन्जेलसम्म गाविस सचिवलाई कार्यालयमा गाह्रो पर्ने बताए। 
स्थानीय विकास अधिकारी वसन्त भन्डारीले अनुगमन गर्ने र सचिव गाविस कार्यालय नगएको पाए कडा कारबाही गर्ने बताए।