Sunday 23 Chaitra, 2076 | April 05, 2020
Menu

सँगै सरुवा माग्दैनन् दम्पती

(1 Vote)
काठमाडौं- पति सुदूरपश्चिम, पत्नी पूर्वतिर। पत्नी राजधानी, पति मध्यतिर। निजामती सेवामा कार्यरत दम्पतीलाई सँगै बस्ने, बालबच्चा स्याहार्ने अवसरै नहुने! निजामती सेवा ऐन, २०४९ दोस्रो संशोधनले आम दम्पतीको यो समस्या बुझेर नयाँ व्यवस्था ल्याइदियो– सकम्भर पतिपत्नी दुवैलाई एउटै कार्यालय, नभए पनि नजिकैको कार्यालयमा सरुवा दिने।

आश्चर्य मान्नुहोला, ऐनको यति राम्रो व्यवस्था गरे पनि अहिलेसम्म कार्यान्वयन नै भएको छैन। कारण, प्राय दम्पती सँगै कार्यालयमा सरुवा माग्नै आउँदैनन्।
'पारिवारिक जीवन र सन्तानको हेरचाह राम्रो होस् भनेर सरकारले यस्तो व्यवस्था ल्यायो,' प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले नागरिकसँग भने, 'तर पाएसम्म सुगम नछाड्ने प्रवृत्तिले यो व्यवस्था काम लागेन।' 
घरपायक सरुवाका नाममा राजधानीमै थुप्रिने प्रवृत्तिसमेत चिर्न ल्याइएको ऐनले आम दम्पतीलाई प्रभावित गर्न नसकेको उनले बताए।
राजधानीकेन्द्रित कर्मचारीको संख्या घटाउन र सकेसम्म दम्पतीलाई टाढा बस्नु नपर्ने अवसर सिर्जना गर्ने आशय ऐनको भए पनि अधिकांश दम्पती यस्तो माग गर्नै आउँदैनन्।
'अधिकांश कर्मचारीको उद्देश्य राजधानीमै बस्ने रहेकाले यहाँ कर्मचारीको चाप बढी हुन्छ, काम थोरै हुन्छ,' सचिव बाँस्कोटाले भने, 'जिल्लामा काम भ्याई–नभ्याई हुन्छ, तर कर्मचारी हुँदैनन्।'
निजामती ऐन २०४९ को दफा १८ को छैठौं परिच्छेदमा 'रिक्त पद मिलेसम्म निजामती सेवाको राजपत्र अनंकित श्रेणीमा कार्यरत कर्मचारीको पतिपत्नी दुवै सरकारी सेवामा भए एउटै जिल्लामा पठाइने' उल्लेख छ।
छोराछोरीको शिक्षाको निहुँमा राजधानी नछाड्ने प्रवृत्ति निरुत्साहित गर्न पनि सरकारले दुर्गम क्षेत्रमा कर्मचारी पठाउँदा शिक्षाको समेत व्यवस्था गरेको बाँस्कोटाले जानकारी दिए।
निजामती सेवाअन्तर्गत धेरै कर्मचारी कार्यरत रहेकामध्ये सामान्य प्रशासन मन्त्रालय मातहत निकायमा पनि पतिपत्नी सँगै सरुवा गर्ने व्यवस्था कार्यान्वयनमा आउन नसकेको मन्त्रालयका प्रवक्ता दिनेश थपलियाले जानकारी दिए।
'जिल्ला र गाउँमा कसरी धेरैभन्दा धेरै कर्मचारी पठाएर जनतालाई सहज सेवा प्रदान गर्न सकिन्छ भनेर यो व्यवस्था ल्याइएको हो,' उनले नागरिकसँग भने, 'कर्मचारीमा अलिकति कमाएपछि राजधानीमै घर जोड्ने, त्यतै सरुवा मिलाउने प्रवृत्ति छ, अनि कसरी कार्यान्वयन गर्ने?'
थपलियाका अनुसार पहिले महिला कर्मचारीको संख्या कम भएकाले यस्तो व्यवस्था प्रभावकारी हुने आँकलन गरिए पनि हाल महिलाहरुलाई आरक्षण दिइएको र संख्या बढेकाले ऐन कार्यान्वयन असहज भएको हो। जिल्लामा गए एउटै कार्यालय, नभए पनि नजिकैको कार्यालयमा सरुवा गरिदिने व्यवस्था आम कर्मचारीकै प्रवृत्तिले अलपत्र भएको हो।
'कर्मचारीमा आफू जिल्लामा रहे पनि पति वा पत्नीमध्ये एकजना राजधानीमै रहोस् भन्ने चाहना हुन्छ,' उनले भने, 'यही प्रवृत्तिले ऐनको यो व्यवस्था अलपत्र भएको हो।'
'दुर्गममा कर्मचारी पठाउन प्रोत्साहन मिलोस् भनेर यो व्यवस्था गरिए पनि हालसम्म दुर्गममा श्रीमान–श्रीमती सँगै काम गर्नेको संख्या खासै छैन,' उनले भने, 'कसरी दुर्गममा धेरैभन्दा धेरै कर्मचारी खटाउन सकिन्छ भन्नेमा सरकार संवेदनशील भएर छुट्टै व्यवस्था गर्ने वा यसलाई कडाइसाथ लागू गर्नुपर्छ।'
दुर्गममा जान चाहने श्रेणीविहीन कर्मचारी पतिपत्नीलाई नै एउटै कार्यालयमा सरुवा दिने व्यवस्था गरिए पनि यस्तो सरुवा माग्नेको संख्या खासै नभएको सामान्य प्रशासन मन्त्रालयका सहसचिव महेन्द्र गुरागाईं बताउँछन्। 
'कर्मचारीमा सकेसम्म राजधानी छाड्न नपरे हुन्थ्यो भन्ने सोच छ,' उनले भने, 'अन्तरनिकाय (मन्त्रालय) सरुवा माग्न सामान्य प्रशासन मन्त्रालयको सहमति चाहिन्छ, तर यसरी श्रीमान–श्रीमती जिल्लामा एकै ठाउँमा सरुवा माग्न खासै कोही आउँदैनन्।'