24 Jestha, 2077 | June 06, 2020
Menu

चौध महिनादेखि सचिवले तलब भत्ता दिएनन्

(0 votes)
गौशाला- महोत्तरी जिल्लाको गोनरपुरा गाउँ विकास समितिका सचिवले कार्यालय सहयोगीलाई विगत १४ महिनादेखि तलब भत्ता नदिएको खुलासा भएको छ। गोनरपुरा गाविसका सचिव जीवछ मिश्रले सो कार्यालयमा कार्यरत कार्यालय सहयोगी रामदयाल पासवानलाई विगत १४ महिनादेखि तलब भत्ता नदिएको पीडित पासवानले बताए।

सचिव मिश्रले आफूलाई २०६९ साल मङ्सिर महिनादेखि नै तलब भत्ता नदिएको पासवानको गुनासो रहेको छ। आफू २०४८ साल मङ्सिर २९ गतेदेखि सो गाविसमा अनवरत रुपमा सेवा गर्दै आए पनि गाविस सचिव मिश्रले विभिन्न बहान देखाउँदै आफूलाई तलब भत्ता नदिएको उनको भनाइ छ। 
सचिवसँग तलब भत्ता माग्दा आज दिन्छु, भोलि दिन्छु भन्दै आलटाल गरेको उनले बताए। आफूले पाउनुपर्ने तलब भत्ता दिलाइदिन जिल्ला विकास समितिसमेतमा सप्रमाण निवेदन दिँदा त्यहाँबाट पनि कुनै पहल नभएको उनले गुनासो गरे। रासस