Sunday 23 Chaitra, 2076 | April 05, 2020
Menu

नौ महिनामा चार सचिव

  • सोमबार २७ माघ, २०७०
  • महेश्वर चामलिङ राई
  • DISQUS_COMMENTS
(0 votes)
उदयपुर- जिल्लाको सबैभन्दा बढी घरधुरी र जनसंख्या तथा क्षेत्रफलको हिसाबले ठूलो मानिएको रामपुर ठोक्सिलामा नौ महिनामा चारजना सचिव फेरिएका छन्। दुई–तीन महिनामै सचिव फेरिने गरेका कारण कामकाजमा असहज भएको स्थानीयको गुनासो छ। 
त्यहाँ कार्यरत सचिव केशव आचार्यमाथि विभिन्न आरोप लगाउँदै गाविसवासीले एक वर्षअघि सरुवाको दबाब दिएपछि उनलाई जिल्ला विकास समितिले सदरमुकाम झिकाएको थियो। ०६९ फागुन २० गते जिविस झिकाइएका उनको ठाउँमा अर्का सचिव लोकेन्द्र कार्कीलाई कार्यभार दिइयो। महिना दिनपछि गाविस पुगेका कार्कीले कामकाजको राम्रो भेउ नपाएको भन्दै स्थानीयले विरोध गरेपछि ०७० भदौ २ गते उनलाई मैनामैनीमा सरुवा गराको छ। 
उनको सरुवापछि खाली हुन पुगेको ठाउँमा विशाल सुन्दासलाई खटाइएको थियो। गाविसको कामकाज राम्रो बुझिनसक्दै सुन्दास पनि ०७० माघ ३ गते अर्कैतिर सरुवा गराइएपछि जनताले गाविसबाट पाउनुपर्ने सेवा सन्तोषजनक हुन नसकेको स्थानीयको गुनासो छ। सुन्दास पूर्व गाविस सचिव आचार्यले यसअघि गरेका काम कारबाहीसँग सम्बन्धित विषयमा स्थानीयसँग बिबाद भएपछि काम गर्ने वातावरण नै नभएको भन्दै पछि हटेको बताइएको छ। सुन्दासपछि अहिले माधव खतिवडालाई सचिव खटाइएको छ। उनलाई माघ १३ गतेदेखि हाजिर हुनेगरी खटाइएको जिविस प्रशासन शाखाका नायव सुब्बा श्याम सुन्दासले बताए। 
पूर्व सचिव आचार्यको विषयमै विवाद हुँदा सुन्दाससँग गाउँ परिषद् गर्ने विषयमा स्थानीय राजनीतिक दलका प्रतिनिधि र गाविसवासीसँग कुरा नमिलेको बताइएको छ। अन्य गाविस सचिव नटिक्नुको कारण पनि आचार्यकै कामकारबाही रहेको बताइन्छ। सचिवको स्थायी व्यवस्थापन हुन नसकेकै कारण पुस मसान्तभित्र अनिवार्य रुपमा गाविसको परिषद सक्नुपर्ने मन्त्रालयको निर्देशन भए पनि हुन नसकेको स्थानीय बताउँछन्। 
छोटो अवधिमा सचिव पटक–पटक बदलिने गरेका कारण धेरै कामकाजमा कठिनाइ आउने गरेको स्थानीय कांग्रेस गाउँ सभापति जयप्रसाद सुवेदीले बताए। सचिव नियमित उपस्थित नहुँदा गाविसमा रहेका कुनै पनि कर्मचारी नियमित बस्न छाडेका छन्। गाविसमा सचिव, खरिदार, मुखिया एक–एक र महिला तथा बालबालिका विकेन्द्रकरण कार्यक्रम (डकाउ) तथा स्थानीय सुशासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसिडिपी) गरी पाँच कर्मचारी छन्। तर, सचिव अनुपस्थित रहेका दिन कुनै कर्मचारी कार्यालय नबस्ने भएकाले सेवाग्राही त्यसै फर्कनुपर्ने अवस्था आउने गरेको स्थानीय चक्र राईले बताए।
सचिवबाट हुने दैनिक कामकाज, नागरिकता सिफारिस, नाता प्रमाणित, जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्ध विच्छेदलगायत व्यक्तिगत घटना दर्ता तथा मालपोत रसिदजस्ता आधादर्जन काम सबै रोकिने गरेको उनले बताए। 
जनसंख्या धेरै भएकाले दैनिक सयभन्दा बढी सेवाग्राही आउने गरेका छन्। तर, सचिव अनुपस्थित हुँदा पूरै काममा कठिनाइ हुने गरेको दीपक राईले बताए। अरुभन्दा पनि व्यक्तिगत घटना दर्ता र नागरिकताको सिफारिस सचिव नहुँदा बढी अड्कने काम हो। जग्गा नामसारी गर्नुपर्ने समस्या लिएर गाविस पुगेका वयानसिंह राईले सचिव नभएका कारण साता दिनपछि काम गर्नुपरेको गुनासो गरे। 
अधिकृतस्तरको सचिवको दरबन्दी स्वीकृत रहेको उक्त गाविसमा आचार्य खरिदार तहका सचिव थिए। कार्की, सुन्दास र खतिवडा तीनैजना नासुस्तरका हुन्। सदरमुकाम गाईघाटदेखि ६० किलोमिटर पूर्व (टाढा) पर्ने भएकाले सचिवको अभावमा सदरमुकाममा गर्नुपर्ने कामका लागि समयमा सिफारिस पाउन नसक्दा खर्च र समय दुवै बढी लाग्ने गरेको दुखेसो स्थानीयको छ। 
स्थानीय विकास अधिकारी गोपाल अधिकारीले नियतवश नभएर कर्मचारी अभावमा सचिवको स्थायी व्यवस्थापन गर्न कठिनाइ हुने गरेको बताए। अघिल्लो समय विभिन्न आरोप लागेर सचिव सरुवा गर्नुपरेको र त्यसपछि सचिवहरुको समायोजनमा समय लागेकाले ठोक्सिलालाई सचिव व्यवस्थापन गर्न ढिला भएको उनको भनाइ छ।