Sunday 23 Chaitra, 2076 | April 05, 2020
Menu

कर्मचारी अख्तियारमा, कार्यालय रित्तै

  • मङ्गलबार २५ चैत्र, २०७०
  • सन्तोष सिंह
  • DISQUS_COMMENTS
(0 votes)
सुनसान जिल्ला शिक्षा कार्यालय। सुनसान जिल्ला शिक्षा कार्यालय। तस्बिरः सन्तोष
सर्लाही– जिल्ला शिक्षा कार्यालय धाउने सेवाग्राहीको काम अहिले दिनभरि कार्यालय रुँघ्नु र बेलुकी रित्तै हात घर फर्किनु भएको छ। अख्तियारलाई बयान दिन राजधानीतिर लागेका कर्मचारी उतै डेरा जमाएर बसिदिएपछि सेवाग्राहीको काम अड्किएको छ।

समाचार सार

  • भ्रष्टाचार आरोपमा बयान दिन काठमाडौं गएका कर्मचारी कारबाहीबाट बच्न उतै डेरा जमाएर बसेपछि सर्लाही जिल्ला शिक्षा कार्यालय दुई महिनादेखि सुनसान छ। सेवाग्राहीको काम दिनभरि कार्यालय रुँघ्नु र बेलुकी रित्तै हात घर फर्कनु भएको छ
कार्यालय सहायक बिहान १० बजे जिल्ला शिक्षा अधिकारीको कोठा खोलिदिएर घर फर्कन्छन्। फाँटवाला कर्मचारी कोही हुँदैनन्। मानिसको चहलपहल घट्दै गएपछि कार्यालय टोलका कुकुर जम्मा हुने थलो बनेको छ।
कर्मचारी नहुँदा जिल्लान्तर सरुवाका लागि एक वर्षअघि शिक्षा कार्यालयमा बुझाएको फाइल अलपत्र परेको नुवाकोटमा कार्यरत शिक्षक रामसेवक गोसाईले बताए। ‘एक महिनायता लगातार कार्यालय धाएको धायै छु तर कहिल्यै कर्मचारी भेटिएनन्,' उनले दुखेसो गरे।
जिशिका, सर्लाहीबाट अनुमति लिएका कतिपय विद्यालय सञ्चालनमै नरहेको पत्ता लागेपछि अख्तियारले छानबिन सुरु गरेको छ। शिक्षा कर्मचारीकै संलग्नतामा विद्यालय सञ्चालकले अनुदान रकम दुरुपयोग र शिक्षक कोटा खरिदबिक्री गरेको उजुरी अख्तियारमा परेको छ। उजुरीमाथि अनुसन्धानक्रममा शंकास्पद विद्यालय सञ्चालकको बयान जिल्लामै लिएको अख्तियारले कर्मचारीको पहिलो चरणको बयान भने हेटौंडास्थित क्षेत्रीय कार्यालयमा लिएको थियो। दोस्रो चरणको बयान दिन काठमाडौँ गएका कर्मचारी कारबाहीबाट बच्न उतै डेरा लिएर लुकेको स्रोत बताउँछ।
फाँटवाला कर्मचारी नहुँदा काम प्रभावित भएको जिशिकाका नासु दीपकराज काफ्लेले बताए। अन्य कर्मचारी नहुँदा भर्खरै सरुवा भएर आएका लेखाअधिकृत प्रमोद तिमल्सिना सेवाग्राहीको गुनासो सुनेर दिन कटाउँछन्। ‘कार्यालयमा आएदेखि काम गर्न पाएको छैन,' उनले भने, ‘पुराना कर्मचारी छैनन्, हामी नयाँलाई के गर्ने, थाहै छैन।'
दुई महिनादेखि कर्मचारी नआउँदा वैशाखबाट सुरु हुने शैक्षिक सत्रसमेत प्रभावित हुने भएको छ। विद्यालयमा पाठ्यपुस्तक पठाउने काम प्रभावित भएको प्राविधिक सहायक सुनीलकुमार कुसवाहले बताए। ‘विद्यालय निरीक्षकले प्रतिवेदन तयार गरी पठाएका छैनन्,' कुसवाहले भने– ‘प्रतिवेदन नदिएसम्म रकम निकासा र पाठ्यपुस्तक पठाउन मिल्दैन।' विद्यालय निरीक्षक पनि अख्तियारको छानबिनमा छन्। जिशिकामा कार्यरत २६ जनामध्ये ३ कार्यालय सहयोगी र दुई नयाँबाहेक अन्य सबै कर्मचारी अख्तियारको छानबिनमा तानिएको जिशिअ राजकुमार विश्वकर्माले बताए। कर्मचारीले काठमाडौंमा तारेख धाइरहनुपरेकाले कार्यालयको काम प्रभावित भएको उनले जानकारी दिए।