Monday 12 Falgun, 2076 | February 24, 2020
Menu

ब्लग

रोकिने भो ब्याटको जादू

(0 votes)
अहिले मुलुक चुनावी चटारोमा छ। त्यसैले जताततै जितहारको आँकलन व्याप्त छ। जब मैदानमा जित र हारको गणित हाबी हुन्छ, त्यहाँ मान्छेको भलाद्मीपन स्वतः पराजित हुन्छ। जसरी पनि जित्नैपर्ने दबाबले कसैलाई भलाद्मी बनेर बस्न निश्चय नै दिँदैन। त्यसैले यो बेला धेरै भलाद्मीहरुले आफ्नो अडान छोडिरहेका छन्।
राजु अधिकारी

अधिकारी नेपाल रिपब्लिक मिडियाको झापा संबाददाता हुन्। Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
तर यो सत्यको अपवाद हो क्रिकेट। सायद त्यही भएर यसलाई भलाद्मीहरुको खेल भनिएको होला। भन्नेहरु त जर्ज बर्नाड शाको शब्द सापटी लिएर यसलाई 'मुर्खहरुले खेल्ने र महामूर्खले हेर्ने खेल' पनि भन्छन्। तर, बर्नाड शा बाँचीवर्ती रहेर अहिलेको क्रिकेट हेर्ने अवसर पाएका भए सायदै उनले यस्तो भन्ने थिए। बरु उनी पनि यसबेला क्रिकेट खेलका ठूला फ्यान भनेर चर्चामा आउँथे होलान्। 
यही भलाद्मी खेललाई धेरैले चासो राख्नेल हैसियतमा उकाल्न विश्वका धेरै खेलाडीहरुले आ–आफ्नो समयमा उच्च योगदान गरेका छन्। वर्तमान युगमा क्रिकेटलाई धेरैको प्रिय बनाउन योगदान गर्ने खेलाडीहरुको सूचीमा पहिलो लहरमै आउने नाम हो, सचिन तेन्दुलकर। भारतका यी स्टार ब्याट्सम्यानले क्रिकेटबाट शनिबारदेखि बिदा लिएका छन्। अब ५० ओभरवाला होस् या पाँच दिने टेष्ट वा टी ट्वान्टी, कुनै पनि फर्म्याटको खेलका लागि भब्य मैदानमा भारतीय टोली उत्रँदा जर्सी नम्बर १० लगाएर ब्याटको जादु देखाउने सचिन हुनेछैनन्। एक से एक प्रतिभाशाली खेलाडीहरु जन्माउने भारतीय टोलीले सचिनको अभाव गहिरोरुपमा महसुस गर्ने निश्चित छ, मैदानमा होस् या टेलिभिजनको पर्दामा, साँस थामेर क्रिकेट हेर्ने पारखीका लागि त्यो सबैभन्दा खल्लो क्षण हुनेछ। 
२२ गज लामो क्रिजमा सचिनले २४ वर्ष बिताए। यस अवधिमा क्रिजको वल्लो छेँउ र पल्लो छेँउ कुदिरहँदा उनले रनमात्रै बनाएनन्, त्यसको पहाड नै खडा गरिदिए। जस्तै महान बलरहरुलाई पनि उनको ब्याटले यो अवधिमा कायल पारेको छ। सफल पाकिस्तानी बलर अब्दुल कादिर हुन् वा अष्ट्रेलियाली स्पिनर शेन वार्न नै किन नहुन्, सचिनले उनीहरुलाई सपनामा पनि दुःख दिने गरेको उनीहरुले नै बताउँदै आएका छन्। १६ वर्षकै उमेरमा अन्तर्राष्ट्रिय मैदानमा ओर्लिएका फुच्चे सचिनलाई बल फाल्दा कादिरले 'यो बच्चाले मेरो बल के थाम्ला' भन्ने सोचेका थिए रे। उनको पहिलो बललाई सचिनले बाउण्ड्रीतर्फ पठाउँदै चौका बनाए। कादिर हाँसे। अर्को बल फाले त्यो पनि चौका नै भयो। अर्को बल फ्याँकिसक्दा कादिर कायल भइसकेका थिए, किनभने त्यो बललाई अम्पायरले 'सिक्स' को सिग्नल दिइरहेका थिए। कादिर एक्ला होइनन्, जसले सचिनको ब्याटका कारण ठूलो परेशानी खेप्नु परेको थियो। शेन वार्नले शारजहाँ मैदानमा सचिनले बललाई गरेको धुलाई सपनामा पनि देख्‍ने बताएका थिए। 

उनीहरुलगायत अरु धेरै दिग्गज बलरहरुलाई हैरान बनाउँदै सचिन क्रिजमा जम्दा दर्शकहरु त्यहाँ उनको ब्याटिङमात्रै हेर्दैनथे, ब्याटिङ नामको जादु पनि हेर्थे। क्रिकेटका लागि अब त्यो जादु केवल रेकर्डेडमा मात्रै उपलब्ध हुनेछ, लाइभ हुनेछैनन्। वान डे होस् या टेष्ट, उनले खडा गरेको रनको पहाड थुपार्न समकालीन् अरु खेलाडीबाट तत्कालका लागि असम्भव छ। कीर्तिमानहरुको ओइरो लगाउने सचिन यसबेला आफूले बनाएको त्यही रनहरुको उच्च शिखरमा छन्। जसले उनलाई 'महान' को सूचीमा दर्ज गरेको छ। 
सचिनलाई कीर्तिमानले मात्रै महान बनाएको होइन। किनभने फगत कीर्तिमान मात्रै उनको ध्येय थिएन। 'कीर्तिमान'का लागि मरिहत्ते गर्नेहरु धेरै भएको यो संसारमा सचिन ती विरलाकोटी मान्छेमा पर्छन्, जसले जे गरे पनि कीर्तिमान हुने अवस्थामा आफूलाई उभ्याएका छन्। अर्थात् उनले कीर्तिमानलाई पछ्याउनुपर्ने अवस्था छैन, बरु कीर्तिमानचाहिँ उनको पछिपछि लाग्ने अवस्था आयो। वान डे र टेष्टमा गरी भर्खरैमात्र ३४ हजार रन पूरा गरेका उनले तिनै खेलमा क्रमशः ४९ र ५१ गरी शतकको पनि शतक बनाएका छन्। आफ्नो करिअरमा ४ सय ६३ वटा वान डेमा १८ हजार ४ सय २६ रन जोडेका उनको टेष्ट यात्रा शनिबार २ सयौं क्याप जित्दै रोकिएको छ। भारतमा क्रिकेटका 'भगवान' मानिने यी विनयी खेलाडीको जीवन आफैंमा प्रेरक र उत्साहबर्द्धक पुस्तक पनि हो। त्यसो त सचिन ब्याटमा मात्रै नभइ, बलिङ विभागका पनि एक समयका भरपर्दा खेलाडी थिए। एक दिवसीयमा मात्रै पनि १ सय ५४ विकेट लिएका उनी टिमको संकटका सारथी थिए। खासगरी सौरभ गांगुलीको कप्तानीका बेला अपजसिया मानिने अन्तिम ओभरमा बल समातेर उनले टोलीलाई जिताएका पनि छन्। 
यी तमाम उपलब्धिहरु सचिनले एउटा खेलाडीमात्रै भएर प्राप्त गरेका होइनन्। असाधारण उपलब्धिका लागि मान्छे आफैं पनि असाधारण त्याग, मिहेनत र लगावको पर्याय बन्नैपर्छ। कीर्तिमानहरुको पहाडमा उभिएर समकालीन सबैलाई धेरै पछि छोड्दा पनि उनको हँसिलो अनुहारमा घमण्डको उपस्थिति लेसमात्र पनि छैन। छ भने उही रन बनाउने भोक र त्यसको प्राप्तिमा डटिरहने जुझारुपन उनको शरीरको भाषाले हरदम बोलिरहन्छ। सचिन आफ्नै टोलीका खेलाडीका लागि आदर्श र प्रेरणा थिए। तर, आफू तिनै खेलाडी झैं नेटमा कडा अभ्यास गर्ने, उनैलाई आदर्श ठान्ने नयाँ खेलाडीको कप्तानी निर्देशन अक्षरशः पालना गर्ने र सबैसँग विनयी भावमा पेस हुने उनको शैली पनि प्रेरक छ। एक दिवसीय खेलमा उनले बनाएको २ सय रनको कीर्तिमान २ सय १९ रन बनाएर तोडेका वीरेन्द्र सहवागले भनेझैं सचिन एउटा महान खेलाडीमात्रै होइनन्, महान मान्छे पनि हुन्। लामो अनि सबैभन्दा सफल खेल जीवन बिताएका उनको विवादरहित छविले पनि यसको पुष्टि गर्छ। 
क्रिजमा उभिएको ब्याट्सम्यान हत्तपत्त त्यहाँबाट बाहिरिन मन गर्दैन। बलरले जोडदार अपिल गर्दा पनि थाहै नपाएझैं गरी अम्पायरको निर्णय पर्खिन्छ। सचिन यसको पनि अपवाद हुन्। यदि आफू 'आउट' भएको लागेको छ भने अम्पायरले निर्णय नदिइकनै काखीमा ब्याट बोकेर पेभेलियन फर्कने भलाद्मी पनि हुन् सचिन। कुनै बेला सुनिल गावस्करले देखाउने यो उच्च मानवीय स्वभाव सचिनमा भरपुर थियो। जसका कारण उनले दर्जनौंपटक यस्तो संस्कारित खेल भावना देखाएका छन्। उनको लामो र सफल खेल जीवनको पछाडि यस्तै उच्च मानवीय गुणले धेरै हदसम्म काम गरेको छ। 
बिहानीले सिंगो दिनको संकेत गर्छ भन्ने भनाई सधैं सत्य नहुँदोरहेछ। अझ अनिश्चितताको खेल मानिने क्रिकेटको मैदानमा त यो भनाइमात्रै होइन, ज्यादै दिग्गज मानिनेहरुका अनुमान र विश्लेषणले पनि सजिलै हावा खाँदारहेछन्। सचिनका लागि पनि उनको खेल जीवनको बिहानी सुखद् थिएन। सँगै 'डेब्यु' गरेका साथीहरुले पहिलो खेलमै शतक ठोक्दा उनी भने पहिलो दुई खेलमा शून्यमै आउट भएका थिए। अहिले शतकका बादशाह बनेका उनलाई पहिलो शतक बनाउनै ७९ वटा खेल पर्खनुपर्योन। तर, आफ्नो कर्मप्रतिको उच्च समर्पण भाव, कठोर मिहेनत गरिरहने बानी र मैदानमा रनको वर्षा गराउने भोकले सचिनलाई यो युगकै यत्ति महान खेलाडी बनाइदियो कि उनको निराशालाग्दो प्रारम्भलाई यतिबेला सम्झिन कोही तयार छैन। २४ वर्ष लामो खेल जीवनमा उनले प्राप्त गरेका उपलब्धिहरु नियाल्ने जो कोही पनि उनलाई 'महान' नभनी बस्न निश्चय नै सक्दैन। 
सचिनको यो यात्रा सधैं सुखद् भने रहेन। जब उनी आफ्नो फर्मबाट टाँढिन्थे, अन्य कुरामा 'सन्तुलित' बन्न सक्ने सम्भावना भएका तर क्रिकेटका लागि त्यो काम गर्न कहिल्यै नसक्ने भारतीय न्युज च्यानल र छापाहरु उनीमाथि यसरी खनिन्थे कि मानौं उनका ती सारा योगदानहरु केही हुँदै होइनन्। जब भारतीय क्रिकेट टोली मैदानमा उम्दा देखिन्छ, त्यसबेला प्रशंसाको पहाड खडा गर्न उनीहरुलाई हजार जिब्रा भएका शेषनागले पनि भ्याउँदैनन्। तर, जब भारतीय टोली मैदानमा कमजोर सावित हुन्छ, त्यसबेला उनीहरुले गर्ने–गराउने टिप्पणी यति निर्मम हुन्छ कि बरु मृत्युदण्डको सजाय पनि त्यत्ति पीडादायी हुँदैन होला। यस्ता कैयन् घटनाहरु छन् जसलाई सचिनले सुनेमात्रै। उनले त्यसको प्रतिवाद नै नगरेका त होइनन् तर मौखिक वा लिखितरुपमा भने कहिल्यै गरेनन्। उनले ती आलोचकको मुख आफ्नै ब्याटको जादुयी प्रदर्शनबाट थुनिदिए। 
आफ्नो देशका लागि क्रिकेटको नाममा भए जति सबै कीर्तिमान छोडेका सचिनलाई कम्तीमा अहिले धारे हात लगाउनेहरु छैनन्। किनभने सबै स्वरुपको क्रिकेटबाट उनले सन्यास घोषणा गर्दा आँशु झार्नेहरु बढी छन्। एक जना महान खेलाडी आफ्नो अन्तिम इनिंग्समा ७४ रनको उम्दा पारी खेल्दै बिदा भएका छन्। उनलाई क्रिकेटप्रेमीले महान खेलाडी र असल मान्छेका रुपमा सधैं सम्झिरहनेछन्।