Monday 24 Chaitra, 2076 | April 06, 2020
Menu

ब्लग

मोबाइल फर्काउँदै भनिन् – 'जतन गरेर राख्नु'

(0 votes)
'आशा गरौं दाइ हराएकै मोबाइल फिर्ता पाइन्छ। इमान मै टाट पल्टिएको देश त होइन यो।' बुधबार बिहान मोबाइल फोन हराएको खबर फेसबुकमा पोस्ट गरेलगत्तै साथी किशोर दाहालले दिएको कमेन्टले केही राहत दिए पनि दिनभर पटक पटक डालय गर्दा पनि फोन उठेन। भेटाइन्छ कि भन्ने झिनो आशा हराउँदै गयो। ७ वर्ष पुरानो सीमकार्ड र ३ वर्ष पुरानो मोवाइल सेटको  बजार  मूल्यभन्दा पनि त्यो सँग जोडिएका मेरा यादहरु अमूल्य थिए।
उपेन्द्र लामिछाने

उपेन्द्र लामिछाने २०६१ सालदेखि पत्रकारितामा सक्रिय छन्। नागरिक दैनिकको स्थापनाकालदेखि नै कार्यरत लामिछाने सामाजिक सरोकारका विषयमा दक्षता राख्छन्।

facebook : @upendralamichhane

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
विगत ८ वर्ष तराई क्षेत्रमा काम गर्दा टिपिएका  प्रत्येक  जसो  नम्बरमा कथाहरु जोडिएका थिए। एकान्तको समयमा ती नम्बर नियाल्दा मलाई  सिङगो तराइको  संझना दिलाउथ्यो।  दही बेचेर छोरालाई डाक्टर बनाउने दही बाजे हुन् या  जंगलमा फ्याँकिएका सानी बच्चीलाई शिक्षा दिलाउने शान्ति सुनुवार। बुढेशकालमा एसएलसी पास गर्ने आशबहादुरदेखि मुसाको सिकार गर्ने ब्रम्हदेव माझी सबैको याद त्यही सानो सेटभित्र भरिएको थियो।

बुधबार बिहान घरबाट कार्यलयत तर्फ जाँदैगर्दा त्यहि मोबाइल हराउँदा दु:खी बन्नु स्वभाविक नै थियो। साथीलाई फोन गर्न मोबाइल निकाल्न खोज्दामात्रै हाराएको थाहा पाएको थिएँ। शरीर छामछुम गरेँ। भेटिएन। मोटरसाइकल छेउ लगाएँ। गति नै रोकियो जस्तो लाग्यो।
नजिकैको पसलमा गएर घरमा टेलिफोन गर्न खोजेँ। तर, घरको नम्बर पनि त्यही सेटमै हराइसकेको थियो। हामीले सम्झने बानी गुमाउँदै प्रविधिमा भर पर्न थालेको महसुस भयो।  १९७ मा फोन गरेर घरको नम्बर सोधेँ।  तर, फोन गर्न खोजेको साथीको नम्बर पत्ता लगाउन सकिन। समाचारको खोजीमा निस्केको म मोवाइल हराएलगत्तै एउटै काममा व्यस्त बनेँ। आफ्नै मोबाइलमा संपर्क गर्ने। जति गरे पनि मोबाइल 'इन्गेज' थियो। फेरि गरेँ। कल डाइभर्ट देखायो। आफैँलाई बारम्बार कल गरिरहदाको त्यो स्थिति गजपको थियो।
 
साथीलाई संपर्क गर्न नसकेपछि उसकै घरमा पुगेँ। उसले खबर सुनेपछि चिया खुवायो। मैले कम्प्यूटर खोले र फेसबुकमा मोबाइल हराएको सूचना टाँसे। मोबाइल हराएर एक्लो भएको स्थितिमा फेसबुक खोल्दा थोरै भए पनि राहत भयो।  मोबाइल हराएको सूचनालगत्तै थुप्रैले प्रतिक्रिया दिए। प्रतिक्रियामा मोबाइल फिर्ता हुन सक्ने आशाहरु लेखिए। त्यही आशाबीच साथीको मोबाइलबाट आफ्नै नम्बरमा पटक पटक डायल गरेँ। सम्पर्क हुन सकेन। आशा फेरि धमिलो भयो।

दिनभरको प्रयासमा  पनि संपर्क हुन नसकेपछि साँझपख आशा मारेँ। विकल्पको खोजी नै विकल्प थियो। बिहीबार नयाँ सीम निकाल्ने अनि नयाँ सेट किन्ने। अफिस, घर तर सधै घन्टी बजिरहने  खल्ती सुनसान रह्यो। रिङटोनविनाको जिन्दगी नौलो हुँदो रहेछ। गुमनाम टापुमा बसेको मान्छे जस्तो।
बुधबारको रात अवेरसम्म मोबाइल, मोवाइलमा रहेका तस्बिर, सन्देश, र साथीका नम्बरको याद आइरह्यो।  छिनछिनमा मोबाइलबाटै देश विदेशका समाचार हेर्ने बानी थियो। बुधबार त्यो संभव भएन। साउथ अफ्रिका र भारतको म्याच कसले जित्यो भन्ने पनि पत्तो भएन।
अचानक हराएको मोवाइलप्रति माया जाग्यो । मोबाइलको अगाडि रहेको वीरगन्जकी डोम बालिका राधा मलीको मुस्कान मानसपटलमा छाउन थाल्यो। मलाई लाग्यो मेरो मोवाइलसँग मेरो तराईको याद हरायो। त्यहि पुरानो मोवाइल सम्झेर बसेँ।  
भोलिपल्ट विहान ओछ्यानमा चियासँगै मोबाइल भेटिएको खवर पाउने मान्छेले खवर गरेकी रे!   मैले झ्याल खोलेँ । बाहिर घाम लागेको रहेछ। मन झलमल भयो। तुरुन्तै मोबाइल भेटाउनेको घरमा पुगेँ। घरको बाहिर एक युवती थिइन्। तपाँइकै मोवाइल हो? उनले सोधिन्। हो। मोबाइल दिँदै उनले भनिन् –'जतन गरेर राख्नु।'
उनी  घरभित्र र म घरतर्फ लागेँ। मेरो हातको मोबाइलभित्र त्यही डोम बालिका मुस्कुराइ रहेकी थिइन्। मैले किशोरले गरेको कमेन्ट सम्झेँ। 'मुलुक इमान्दारितामा टाट पल्टिएको हैन'।

मोवाइल भेटिएको खबरपनि फेसबुकमा लेखेँ। साथी भवसागरले कमेन्ट गरिहाले : 'भेटिएर छुट्नु भन्दा छुटिएर भेट्नु राम्रो।'