Friday 1 Kartik, 2076 | October 18, 2019
Menu

ब्लग

नक्कली समाचार सक्कली समाचार

(0 votes)
सन् १९३८ अक्टोबर ३० मा अमेरिकाको कोलम्बिया ब्रोडकास्टिङ सिस्टमले आफ्नो रेडियो स्टेसनबाट एउटा नाटक 'अन एअर' गर्‍यो। एच.जी. वेल्सले लेखेको उपन्यास 'दी वार अफ दी वर्ल्डस्' आधारित रहेर ओरसन वेल्सले निर्देशन गरेको नाटकले त्यहाँ अर्को 'नाटकीय मोड' पैदा गर्‍यो।

ऋषिकेश दाहाल

२०५७ साल देखि पत्रकारितामा सक्रिय ऋषिकेश दाहाल नागरिक दैनिकको स्थापना कालदेखि नै संलग्न छन्। हाल उनी www.nagariknews.com मा कार्यरत छन्। उनलाई Twitter मा www.twitter.com/rishikeshdahal र Facebook मा www.facebook.com/rishug भेट्न सकिन्छ।

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.

दोस्रो विश्वयुद्धको पूर्व सन्ध्यामा प्रसारित नाटकमा 'एलिएन'ले पृथ्वीमाथि आक्रमण गरेको प्रसंग थियो। रमाइलो के भयो भने प्रसारण भएको नाटकलाई सुन्नेहरुले साच्चिकै ठाने। र, सुरु भयो भागा-भाग। रेडियोबाट प्रसारित सामाग्रीले यति धेरै प्रभाव छाड्यो कि त्यही रेडियोबाट 'विश्व ध्वस्त हुन लागेको होइन। कोही पनि आत्तिनुपर्दैन' भन्ने संदेशसमेत् मानिसले पत्याएनन्। आक्रमणको त्रासले मानिसहरु वेपत्तासमेत भए। सडक ठप्प हुने गरी ट्राफिक जाम भयो, मध्य रातमा। रेडियो (मिडिया)बाट प्रसारित सामाग्री 'अचुक अस्त्र' हुन् भन्ने सैद्धान्तिक अवधारणाको शुत्रपात भयो, यसै घटनाबाट।

हिजो (अप्रिल १ २०१४) यस्तै एउटा प्रकरण भयो। अंग्रेजी पत्रिका दी हिमालयन टाइम्सले 'ड्रोनमार्फत् पत्रिका वितरण थाल्ने' समाचार छाप्यो। ब्लग माइसन्सारले 'क्यास अन एड नामक नेपाली आइटी कम्पनीलाई फेसबुकले १ खर्ब रुपियाँमा किन्ने' खबर बनायो। दुबै समाचार झुट्टा थिए। तर, माइसन्सारको समाचार सामाजिक सञ्जालमा यसरी फैलियो कि त्यो समाचार सत्य नै हो। 'वार अफ दी वर्ल्डस्' मा जसरी 'अडियन्स' झुक्किएका थिए धेरै मानिस त त्यसरी नै अप्रिल फूल बनाउन अपलोड भएको समाचारबाट प्रभावित भए। नेपाली कम्पनीलाई एउटा विश्वकै ठूलो सामाजिक सञ्जालले ठूलो धनराशीमा किनेको 'गलत समाचार' साचो समाचारका रुपमा फैलियो। रमाइलो के हो भने समाचारको अन्त्यमा 'यो झुटो समाचार रहेको' प्रष्टरुपमा खुलाइएको थियो। तर, अनलाइनका धेरै पाठक अन्तिम अनुच्छेदसम्म पुगेनन् र विचार बनाउने होडमा दौडिए। यसले फेरि पनि हाइपोडर्मिक निडल/बुलट थ्यौरीको सान्दर्भिकता कायम राख्यो।

पूर्व प्रविधि मन्त्री गणेश साह समाचारबाट प्रभावित हुनेमध्येका एक चर्चित थिए। उनले 'नयाँ पुस्ताले उपलव्धी हासिल गरेको' भन्दै बधाई दिइहाले, फेसबुकबाट। प्रविधि मन्त्री नै एक खर्ब रुपियाँमा नेपाली कम्पनी बिक्री भएको 'फेक न्युज'बाट प्रभावित हुन्छन् भने सामान्य मानिसहरुमा यसको प्रभाव कति गहिरो गरी पर्‍यो होला अनुमान गर्न सकिन्छ। नक्कली समाचार साभार पत्रकारिता गर्नेहरुका लागि पनि गज्जवको विषय थियो। समाचार पोस्ट गर्नेले 'अप्रिल फूल' मनाएको लेख्दा लेख्दै र एक पटक पनि त्यति ठूलो रकममा 'डिल भयो त ?' भन्ने शंकासमेत् नगरी समाचार साभार गर्नेक्रम सुरु भयो।

यो प्रकरणले नेपाली अनलाइनका पाठकहरुका विभिन्नखाले स्वरुपलाई सतहमा ल्याएको छ। एकखाले अनलाइन पाठक सामाग्री दिनासाथ पत्याउन तयार हुन्नन्। समाचार अरुतिर आए-नआएको खोज्छन्। अर्थात् सचेत पाठक। दोस्रोखाले पाठक दुई प्याराग्राफ पढेपछि भावुक हुन्छन् र तत्कालै प्रतिक्रिया जनाइहाल्छन्। न्युज सेयर गरेर पहिलो हुने होडमा हुन्छन् यिनीहरु। तेस्रो पाठकहरु अनलाइनको सामाग्रीमा छिर्दा पनि छिर्दैनन्। यिनीहरु सामाजिक सञ्जालमा आएका प्रतिक्रियाकै आधारमा सामाग्रीमाथि विचार बनाउँछन् र विद्वता छाट्न थाल्छन्।

'अप्रिल फूल' समाचारमा यी तीनैखाले अनलाइन पाठकहरु सक्रिए थिए। सचेत पाठकले यो सामाग्री 'मुर्ख बनाउन'का लागि तयार भएकोमा निश्चित भए। उनीहरुले यो सामाग्री अरुलाई सेयर गरेर मुर्ख बनाउने प्रयास पनि गरे। अथवा 'अप्रिल फूल हो है' भनेर जानकारी दिए। दोस्रो थरीले प्रारम्भिक अंशबाट आफूलाई प्रभावित बनाए। बुलेट थ्यौरीले यो वर्गका पाठक सबैभन्दा बढी प्रभावित भए। यिनीहरुले मिडियाको संदेशलाई विस्तार गर्न सघाए। तेस्रो वर्गका पाठक 'कौवाले कान लग्यो' भन्दै कानतिर हातै नपुर्‍याइ दगुर्न थाले। र नक्कली समाचार भाइरलका रुपमा सक्कली समाचार झै फैलियो। सामाजिक सञ्जालको भूमिका यसमा सबैभन्दा धेरै रह्यो। समाचारमा मानिसको भिडकै कारण हुनुपर्छ 'माइसन्सार'ले ढिलै भएपनि समाचार 'फेक हो' भनेर पहिलो अनुच्छेदमै सूचना जारी गर्‍यो।

यति हुँदा हुँदै पनि यो प्रकरणको अर्को सबैभन्दा महत्त्वपूर्ण पाठ के हो भने: नेपालीहरु उन्नती चाहन्छन्। प्रगतिप्रति उनीहरुको लगाव छ। बहकाइमा समाचार सेयर गरेकै भएपनि यो प्रकरणले दिएको शिक्षा भने यही हो।