Tuesday 25 Chaitra, 2076 | April 07, 2020
Menu

ब्लग

म, क्रिकेट र विश्वकप सपना

(0 votes)
सन् १९८५। नेपालमा टेलिभिजन प्रसारण सुरुआतको वर्ष। यो त्यही समय हो, जतिबेला टेलिभिजनसँग मेरो पहिलो चिनजान भयो।
भास्कर ज्ञवाली

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
हजुरबा–हजुरआमा बनारस बस्नुहुन्थ्यो। हामी पाल्पाको तानसेन बस्थ्यौं। दसैंतिहार, जाडो वा अलि लामो बिदा हामीलाई बनारस जाने अवसर हुन्थ्यो। यसपटक भने फरक अवसर थियो– फुपूको बिहे। हजुरबा–आमासँगै काका पनि बनारसमै बस्नुहुन्थ्यो। काकाले घरमा टेलिभिजन ल्याउनुभएको रहेछ। बाकसजस्तो ठूलो। काँचको पर्दामा सजीव आकृतिहरू। टेलिभिजनले एकैसाथ आश्चर्य र रमाइलो दियो, हामी दंग पर्‍यौं।
भारतमै बसेर पढेकाले क्रिकेट काकाका लागि सोखको विषयमात्रै थिएन, उहाँको चासो र चिन्ता हेर्दा पढाइकै एक अभिन्न पाटोझैंथियो। १९८३ मा विश्वकपको उपाधि जितेपछि भारतभर क्रिकेटको क्रेज ह्वात्तै बढेको थियो। क्रिकेट हेर्नकै लागि त्यो टेलिभिजन ल्याइएको थियो। टेलिभिजनमा धेरैजसो क्रिकेट नै चलिरहन्थ्यो।
मलाई क्रिकेटको जोडघटाऊ त के, एबिसिडी पनि आउँदैनथ्यो। काकाले टेलिभिजनमा च्यानल बदल्नुभन्दा मलाई क्रिकेट नै सिकाउने सूर कस्नुभयो। त्यतिबेला मिनी विश्वकपसरहको बेन्सेन एन्ड हेजेज वर्ल्ड च्याम्पियनसीप अफ क्रिकेट अस्ट्रेलियामा भइरहेको थियो। पूरै प्रतियोगिता अवधिभर उहाँले मलाई सँगै राखेर क्रिकेटसँग परिचित गराउनुभयो।
काका भारतीय क्रिकेट टोलीको फ्यान हुनुहन्थ्यो। गुरुकै प्रभावले हुनुपर्छ, भारतीय टोली मेरो पनि पहिलो रोजाइको बन्न पुग्यो, अहिलेसम्म पनि भारतीय टोलीकै फ्यान हुँ। यसको अर्को कारण पनि छ– त्यतिबेला प्रतियोगिता भारतले नै जितेको थियो। मैले भर्खरै सिकेको क्रिकेटको मैले थाहा पाएको पहिलो विजेता थियो, भारत।
सुनील गावस्कर, कपिल देव, रवि शास्त्री, अमरनाथजस्ता अब्बल खेलाडीहरू भारतीय टोलीमा थिए। म्यान अफ द सिरिज भएर रवि शास्त्रीले अडी कार हात पारे। मलाई क्रिकेटको सम्मोहनले छोयो। दुई सातामै क्रिकेटसँग म यसरी बाँधिएँ कि बनारसबाट फर्कंदा बाबाले एउटा क्रिकेट ब्याट किनेर नदिई सुखै पाउनुभएन।
अब दर्शकबाट क्रिकेट खेलाडी हुने दिन आए। ब्याट र बल भएपछि घरकै आँगनमा घोचा ठड्याएर आफूलाई गावस्कर भएको महसुस गर्न थाल्यौं। पछि आँगन सानो हुन थाल्यो, साथीहरू जुटेर टुँडिखेल पुग्न थालियो।
तानसेनमा पहिल्यै पनि क्रिकेट लोकप्रिय रहेछ। दाइ–काकाहरूले क्रिकेट खुब खेल्थे रे। उहाँहरूसँग भएको ब्याट, प्याड र स्टम्प माग्यौं। टुँडिखेलमा क्रिकेटको पिच बनाएर नियमित क्रिकेट खेल्न थाल्यौं। पाल्पामा क्रिकेटले पुनर्जीवन पाएको र मैले क्रिकेट सिकेर खेल्ने थालेको समय लगभग एउटै हो। त्यतिबेला पुनर्जीवन पाएको क्रिकेट कहिल्यै मुर्झाएन। पाल्पामा क्रिकेट अहिले निकै लोकप्रिय छ।  निरन्तर क्रिकेट प्रतियोगिताहरू भइरहेका छन्।
भारतमा भएका द्विपक्षीय सिरिजहरू दूरदर्शनमा हेरेर हुर्कंदै गर्दा नेपालमा क्रिकेटको अवस्थाबारे छेउटुप्पो थाहा थिएन। थाहा हुने र याद राख्नुपर्ने गरी नेपालमा क्रिकेटको विकास भएको पनि थिएन।
क्रिकेटमा एसियाली राष्ट्रहरूको भूमिका बढ्दै गयो। क्रिकेटलाई घर–घरमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका टेलिभिजनकै थियो। क्रिकेटमा सचिन तेन्दुलकर, ब्रायन लारा, इन्जमाम उल हक, वकार युनुस, सनथ जयसूर्या लगायतको युग सुरु भएको थियो। विस्तारै मेरो क्रिकेट हिरोको स्थान सुनील गावस्करबाट सचिन तेन्दुलकरले लिए। समयसँगै क्रिकेटको लोकप्रियता बढ्यो, मेरो लगाव पनि बढ्दै गयो।
नेपालमा क्रिकेटको लोकप्रियता मात्र चुलिएन, नेपाली क्रिकेटको स्तर पनि स्मरणयोग्य ढंगले बढ्यो। सन् २००० मा श्रीलंकामा आयोजित यु–१९ विश्वकपमा नेपाल सहभागी भयो। क्रिकेटमा भाग्यको साथ निकै महत्त्वपूर्ण मानिन्छ, खेलाडीको मिहिनेतसँगै भाग्यले पनि नेपाललाई साथ दियो। पहिलोपटकको सहभागितामै नेपाल सुपर लिगसम्म पुग्यो। सुपर लिगमा पुगेपछि नेपाली क्रिकेटले विश्वभरबाट प्रशंसा बटुल्यो। जसले म जस्ता असंख्य क्रिकेटप्रेमीलाई एउटा नयाँ सपना देखायो– अब नेपाली टोली पनि कुनै दिन विश्वकप खेल्न सक्छ। शक्ति गौचनले सचिन तेन्दुलकरलाई बलिङ गरेको हेर्ने पाइन्छ।
न्युजिल्यान्डमा आयोजना भएको सन् २००२ को यु–१९ विश्वकपमा पनि नेपालले भाग लियो। यस प्रतियोगितमा नेपाली टोलीले पाकिस्तान र बंगलादेशलाई पराजित गरेर …जायन्ट किलर' को उपनाम कमायो। नेपालको विश्वकप खेल्ने आशालाई थप बल भने २००४ को यु–१९ विश्वकपले पुर्‍यायो। यस विश्वकपमा नेपालले दक्षिण अफ्रिका जस्तो टोलीलाई पराजित गरेर सनसनी मच्चायो।
मैले क्रिकेट खेल्न भने छाडिसकेको थिएँ। विद्यार्थीबाट जागिरे भएपछि क्रिकेट छुटेको थियो। क्रिकेटप्रतिको लगाव भने झनै चुलिइरहेकै थियो।
यसैबीच एउटा अवसर आयो– कान्तिपुर टेलिभिजनमा खेलपत्रकारका रूपमा काम गर्ने। यसले क्रिकेटप्रतिको मेरो रुची र व्यावसायिक जीवनलाई जोडिदियो।
नेपाली राष्ट्रिय टोलीको जिम्मा श्रीलंकाली पूर्वक्रिकेटर रोय डायसको हातमा थियो। एक समयका निकै चर्चित ब्याट्सम्यान डायसको प्राथमिकतामा पनि नेपाली टोलीलाई विश्वकपमा पुर्‍याउनु थियो। उनकै पालामा नेपाली यु–१९ टोलीले विश्वकपको प्लेट च्याम्पियनसिप जित्यो। नेपाली क्रिकेटप्रेमीका लागि यो निकै ठूलो पुरस्कार थियो। सन् २००६ को यसै यु–१९ विश्वकपमा भने न्युजिल्यान्डमाथि १ विकेटको रोमान्चक जितसँगै नेपाल विश्व क्रिकेटको नक्सामा स्थापित भयो। उमेर समूहमा जित्ने बानी बसालेको नेपाली टोलीले डायसको पालामा विश्वकपमा सहभागिता जनाउने दिशामा भने खासै ठूलो उपलब्धि हासिल गर्न सकेन।
अहिले समय फेरिएको छ। क्रिकेटमा एकदिवसीयसँगै ट्वान्टी–२० को लोकप्रियता बढ्दो छ। नेपाली क्रिकेट पनि विश्वकप लक्ष्य नजिकै पुगेको छ। रोय डायसको समयमा तिखारिएको नेपाली टोली उनकै देशमा जन्मेका पुबुदु दासानायकेको हातमा छ।
यसै वर्ष बर्मुडामा भएको आइसिसी डिभिजन ३ को विजेता हुँदै नेपालले डिभिजन २ मा खेल्ने मौका पाएको छ। डिभिजन २ मा नेपालले अन्तिम चारमा स्थान बनाउन सके नेपाल अर्को वर्ष न्युजिल्यान्डमा हुने २०१५ को विश्वकपका लागि छनोट हुनेछ।
यससँगै अहिले दुबईमा सञ्चालन भइरहेको आइसिसी विश्वकप छनोटमा पनि नेपालले भाग लिने मौका पाएको छ। यस प्रतियोगितामा माथिल्लो ६ मा पर्न सके मात्र पनि नेपाल अर्को वर्ष बंगलादेशमा हुने विश्वकप ट्वान्टी–२० मा भाग लिन छनिनेछ।
नेपालले विश्वकपमा सहभागिताको सपना देखाएको १२ वर्ष हुन थाल्यो। भनिन्छ, १२ वर्षमा खोला पनि फर्कन्छ। अहिले सपना बदलिएर यथार्थ नजिक देखिँदैछ। कतिलाई अझै सपना हो कि भन्ने भ्रम हुनसक्छ, तर होइन। नेपाली क्रिकेट टोली विश्वकप दैलोको संघारमा छ। पाइला उठिसकेका छन्, अब टेकिन मात्र बाँकी छ।
नेपालले विश्वकप क्रिकेट खेलेको दृश्य मस्तिष्कमा घुमिरहँदा भर्खरै टुटेर गएको एउटा सपनाको माया लागेर आउँछ। शक्ति गौचनले भारतविरुद्ध बलिङ त गर्लान् तर उनको बलिङ फेस गर्न सचिन तेन्दुलकर मैदानमा हुने छैनन्। किनभने मेरा क्रिकेट हिरो सचिन अहिले २५ वर्षे क्रिकेट करिअरका अन्तिम खेल खेलिरहेका छन्।