Friday 29 Kartik, 2076 | November 14, 2019
Menu

प्रवास

कतारमा नेपाली गीतको प्रतिस्पर्धा हुने

(0 votes)
दोहा– परदेश रहेकाहरूमा देशप्रतिको माया, मोह, आत्मीयता कस्तो हुन्छ? उनीहरू देश कस्तो छ र कस्तो बनोस् भन्ने चाहन्छन्?
कतारमा रहेका नेपालीहरूले यी भावना गीतमार्फत अभिव्यक्त गर्ने भएका छन्।
यी विषयमा प्रवासी नेपालीलाई आफ्ना भावना उजागर गर्ने अवसर दिन अन्तर्राष्ट्रिय कलाकार मञ्च कतारले राष्ट्रिय गीत लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ।मञ्चले गीतका लागि मुख्य शर्त नै सम्पूर्ण विश्वभर बस्ने नेपालीको भावना समेट्ने गरी आफ्नो मातृभूमिलाई माया गर्ने प्रवासी नेपालीको भाव बोकेको हुनुपर्ने भनिएको छ। मञ्चले निर्धारण गरेको समयसम्म आइपुगेका गीतलाई निर्णायक मण्डलले उत्कृष्ट १० को छनोट गरी सर्वोत्कृष्ट गीत छान्न वरिष्ठ गीतकार कृष्णहरि बराल समक्ष पठाउने छ।
ती गीत नेपालका ख्यातिप्राप्त संगीतकारमार्फत संगीत भर्न लगाई कतारमा श्रमरत कलाकारले गाउने र मञ्चकै कलाकार समावेश गरी म्युजिक भिडियो तयार गर्ने मञ्चका अध्यक्ष भबिन्द्र तमाङले बताए।
उनका अनुसार उत्कृष्ट गीतलाई मञ्चले १ हजार ५ सय कतारी रियाल (४० हजार रुपैयाँ) पुरस्कार र प्रमाणपत्र प्रदान गर्नेछ। यो प्रतियोगिताको संयोजन सञ्चारकर्मी निराजन भण्डारीले गरेका छन्। मञ्चमा हाल कतारमा सक्रिय कलाकारितासँग सम्बन्धित आधा दर्जनभन्दा बढी संस्था आबद्ध छन्।