Sunday 1 Mangshir, 2076 | November 17, 2019
Menu

प्रवास

नेपाली समुदाय लक्षित चोरी बढ्यो : बेलायती प्रहरी

  • आइतबार ३० चैत्र, २०७०
  • चिरन शर्मा
  • DISQUS_COMMENTS
(0 votes)
अल्डरशडट- ग्रेटर रश्मुर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी चोरी बढेको बेलायती प्रहरीले जनाएको छ। ग्रेटर रश्मुर नेपाली कम्युनिटीले गत शुक्रबार अल्डरशट प्रिन्सेस हलमा नयाँ वर्ष २०७१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै स्थानीय प्रहरी इनिस्पेक्टर तथा प्रबक्ता म्याथ्यु रिभेजले भने, ‘नेपाली समुदायलाई लक्षित गरी गरगहना चोरीको घटनामा वृद्धि भएको छ। 
हालसम्म नेपाली पीडित भएको १९ वटा यस्ता घटना प्रहरीले अनुसन्धान गरिरहेको उनले जनाकारी दिए। विभिन्न संघ संस्थाको परिचयपत्र देखाइ घर प्रवेश गरेर लुट्ने प्रवृति देखिएको छ,' उनले भने, ‘अपरिचित कसैलाई पनि ढोका नखोल्नुहोस्।’ 
पछिल्लो समयमा नेपाली समुदायको बाक्लो बस्ती रहेको अल्डरशट, फानव्रो, क्याम्ब्रोली, हन्स्लो, फेलथाम, पलब्मस्टेट क्षेत्रमा सुन चोरीको घटना वृद्धि भएको प्रहरीले जनाएको छ। यदि कसैसँगको टेलिफोन वार्ता शंकास्पद लागेमा ९९९ मा तुरुन्त खवर गरे अपराधी पक्रन सहयोग पुग्ने बताइयो। आवश्यकता परे दोभाषेको समेत व्यवस्था गरिएको प्रहरी अधिकारीले बताए।
यसरी चोरी हुने क्रममा रश्मूर इलाका मात्र नभएर इग्ल्यण्डको दक्षिणपूर्वी क्षेत्रमा बसोबास गर्ने एसियन समुदाय निशाना बन्ने गरेको जानकारी दिँदै उनले स्थानीय प्रहरीले त्यस्ता अपराधी पत्ता लगाउन कुनै कसर बाँकी नराख्ने रिभेजले बताए। उनले आवश्यकता परे अन्यत्रबाट स्रोत जुटाएरै भए पनि त्यहाँका बासिन्दालाई सुरक्षा दिने प्रतिबद्धता व्यक्त गरे। उनले रश्मुर सधैं सुरक्षित रहेको दाबी पनि गरे।
कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीले सबैलाई नयाँ बर्षको शुभकामना दिए। नेपाली भाषा र संस्कृतिको जर्गेना गर्न नेपाली समुदायले बेलायतमा खेलेको भुमिकाको उनले प्रशंसा गरे। कार्यक्रममा बोल्दै कम्युनिटीका अध्यक्ष रिटायर्ड मेजर टिकेन्द्र देवानले युवा पिढीमा लागुऔषधको लत बढ्दै गएको बताए। आफ्ना परिवारका सदस्यसमेतलाई निगरानीमा राख्न अविभावकलाई उनले आग्रह गरे। लागूऔषध प्रयोग गर्दा कयौं नेपाली युवाहरु अहिले बेलायतको जेलमा जीवन बिताइरहेको उनले जानकारी दिए। 
कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योगेन क्षेत्री, एनआरएन युकेका पूर्वअध्यक्ष डमर घले, जीव बेलबासेलगायतकाले नयाँ वर्ष २०७१ को शुभकामना दिए। कार्यक्रममा नेपाली भाषासंस्कृति झल्कने विभिन्न नृत्य प्रस्तुत गरिएको थियो।