Friday 1 Kartik, 2076 | October 18, 2019
Menu

प्रवास

लोकसभा चुनाव २०१४ : 'गोर्खाल्याण्ड'को गोलचक्कर

  • मङ्गलबार २ बैशाख, २०७१
  • बेनुपराज भट्टराई
  • DISQUS_COMMENTS
(0 votes)
लोकसभा चुनाव २०१४ : 'गोर्खाल्याण्ड'को गोलचक्कर
इलाम - अधिकार मागेर पाइन्छ कि खोसेर? यसको जवाफ स्थान, परिवेश र सन्दर्भपिच्छे फरक हुन्छ। कसैले मागेर भन्छन् कसैले खोसेर। दार्जिलिङ क्षेत्रका लाखौं नेपाली भाषीले 'अधिकार'कै रुपमा व्याख्या गर्दै दशकौंदेखि चाहिरहेको छुट्टै राज्य 'गोर्खाल्याण्ड'को सन्दर्भ पनि यस्तै छ।
एक सय नौ बर्षदेखि छुट्टै राज्य 'माग्दा' नपाएपछि लोकसभा सदनबाट 'खोसेर' लिनुपर्ने गोर्खे नेताको निर्क्यौल छ। १६ औं लोकसभा चुनाव आउन एक दिन बाँकी रहँदा 'गोर्खाल्याण्ड' मुद्दाले फेरि दार्जिलिङ तातेको छ।
असमलाई छुने सुनकोश नदीसम्मको भूभागलाई 'गोर्खाल्याण्ड' बनाइनुपर्ने दार्जिलिङ क्षेत्रका नेपालीभाषीको माग हो। पश्चिम बंगालमा हुँदा भाषा, संस्कृति, कला, रहनसहन केही नमिलेको भन्दै बेग्लै राज्यमा बस्न पाउनुपर्ने उनीहरुको जिकिर छ। तर, भारतमा २८ वटा राज्य कायम भइसक्दा र तेलेङ्गना जन्मिने निश्चित भइरहँदा 'गोर्खाल्याण्ड' बन्ने छनक छैन। यसो हुनुलाई 'बंगाल र केन्द्रको' खेल भन्ने गोर्खे नेता चुनावको मुखमा 'खोसेर नलिई गोर्खाल्याण्ड नहुने' टुंगोमा पुगेका हुन्।
पाँच सय ४५ सदस्य रहने लोकसभामा बिहिवार पश्चिम बंगालसहित ११ राज्यमा एक सय २६ सिटका लागि मतदान हुँदैछ। पाँचौं चरणको चुनावमा दार्जिलिङसँगै कुचबिहार, अलिपुरद्वार, जलपाइगुडीमा पनि मतदान हुनेछ। तर, बंगालका ४१ सिटमध्ये धेरै चर्चा र चासो दार्जिलिङकै छ। एउटै सिट भए पनि महत्वपूर्ण मानिएको दार्जिलिङबाट चुनाव जित्न तीन 'हेभीवेट'सहित सबै उम्मेद्वार लालायित छन्। तृणमूल कँग्रेसका भाइचुङ भुटियाबाहेक सबैको मुद्दा घुमिफिरी 'गोर्खाल्याण्ड राज्य' मैं केन्द्रित छ।
'गोर्खाल्याण्ड मागेको यत्तिका बर्ष भयो तर पाइएन, हेरेको हेर्‍यै हुनुपर्‍यो,' स्वतन्त्र उम्मेद्वारी दिएका बुद्धिजीवी डा. महेन्द्र पी लामा भन्दैछन्, 'अब लोकसभामैं बौद्धिक लडाईं गर्नसक्दा मात्र छुट्टै राज्य पाइन्छ, नत्र फेरि हेर्‍याहेर्‍यै।' आफूले जिते 'गोर्खाल्याण्ड'निम्ति दिल्लीमा लड्ने, बंगालबाट विभाजन हुन तर्क पेश गर्ने र एकातिर सरकार अर्कोतिर दार्जिलिङ राखेर नेपालीभाषीको चाहना पूरा गर्ने लामाको बाचा छ। चुनाव मिति नतोकिइ उम्मेद्वारी दिएका उनले डेढ सय सभामा यस्तै बोलेका छन्।
बंगालमा झण्डै ३० बर्ष शासन गर्ने मार्क्सवादी कम्युनिष्ट पार्टीबाट उठेका समन पाठक 'गोर्खाल्याण्ड' मुद्दामा झन् अडिग देखिन्छन्। 'भारतमा लाखौं नेपालीभाषी बस्छौं तर पहिचान छैन, कहिले विदेशीको दर्जा दिँदै नंग्याइन्छ,' दार्जिलिङ क्षेत्रलाई छुट्टै राज्य कायम गराउन मरिमेट्ने दोहोर्‍याउँदै पाठक भन्दैछन्, 'वाममोर्चा बंगालको पुरानो पार्टी हो, पुरानोको बोली धेरै बिक्छ, मलाई जिताए नेपाली भाषीको दिन फिर्छ।' पाठकको अभियानलाई पार्टी पोलिट्व्युरो नेता सिताराम यचुरीले सघाउँदैछन्।
नेपालीभाषीको भोट तान्दै चुनाव जितेर लोकसभामा पुग्न चाहने गोर्खे नेताले 'गोर्खाल्याण्ड राज्य जन्माउने' बाचा गरे पनि सजिलो छैन। गर्भमैं नबसेको छुट्टै राज्यबारे चुनाव अघिबाटै विरोध हुँदैछ। कँग्रेस अध्यक्ष तथा बंगाल मुख्यमन्त्री ममता ब्यानर्जीले नेपाली भाषीको भोट झार्न पहिल्यैदेखि 'सेलिब्रेटी' उम्मेदवार खोजिरहेकी थिइन्। त्यसमा उनले भुटियालाई रोजिन्। तिनै भुटियालाई काँध हाल्दै ब्यानर्जीले चौरस्ताबाट भनिन्, 'मेरो ज्यान जाओस् तर बंगालबाट दार्जिलिङ अलग्गिन दिन्नँ।'
ब्यानर्जीको बोली गोर्खे नेतालाई सह्य हुने कुरै भएन। अघिल्लो चुनावमा आफ्नो पार्टीको समर्थनले भारतीय जनता पार्टीका अगुवा नेता जसवन्त सिंहलाई जिताएका र यसपल्ट सोही पार्टीका उपाध्यक्ष एसएस अहलुवालियालाई जिताउन खोजिरहेका बिमल गुरुङ चर्किइहाले। 'बंगाल ममताको पेवा होइन, हामीले उसको जमिन मागेको होइन भूमि चाहेको हो,' गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष गुरुङ उत्तिकै गड्गडाए, 'बंगाल टुक्रिन अब धेरै दिन लाग्दैन, छुट्टै राज्यमा बस्ने नेपालीभाषीको चाहना छिट्टै पूरा हुन्छ।'
जनमत धेरै भएको मानिने मोर्चाको समर्थन पाएर उम्मेद्वारी दिएका अहलुवालिया गुरुङको हौसलाले उत्साहित छन्। पार्टी अध्यक्ष तथा भावी प्रधानमन्त्री भनिँदै आएका नरेन्द्र मोदीले 'गोर्खे वीर पुरुष हुन्, भारत निर्माणमा गोर्खेको योगदान ठूलो छ, गोर्खेको चाहना हामी पूरा गछौं' भनेपछि पञ्जावी अहलुवालिया नेपाली भाषीप्रति समर्पित देखिन्छन्। 'मैंले जितेपछि गोर्खेका १० जातिलाई अनुसूचित जनजातिको मान्यता दिँदै गोर्खाल्याण्ड बनाउँछु,' उनी भन्दैछन्, 'सरकार हाम्रै बन्छ, गरेर देखाउँछौं।'
'गोर्खाल्याण्ड' जन्माउने नाममा गोर्खे जातिको भावना बेचिरहेको भन्दै 'अधिकार' र 'सहुलियत'को अर्थ खुट्याउनुपर्ने आवाज पनि उठ्दैछ। 'छुट्टै राज्य दिने कुरा कुनै व्यक्तिको हातमा हुँदैन, भोट फकाउन झुटो आश्वासन दिइँदैछ, यो त अधिकारमा पर्छ,' कँग्रेस नारी संगठन नेतृ ननिता गौतम भन्छिन्, 'कतिपय उम्मेद्वारले पानी, बिजुली, सडक, शिक्षामा सहुलियत दिने भन्नु हुँदैन, यी त नागरिकका अधिकार हुन्।' भाजपाका अहलुवालिया हराउन कँग्रेसले पुराना नेता सुवास घिसिङको साथ पाएको छ।
भारतमा कुनैबेला आँटी र निडर गोर्खे नेताको छबि बनाएका उनै घिसिङले ५ अप्रिल १९८० का दिन 'गोर्खाल्याण्ड' शब्द सुरु गरेको इतिहास छ। भारतमा पहिचानका आधारमा राज्य जन्माउन संघर्ष हुन थालेपछि दार्जिलिङ क्षेत्रमा घिसिङले गोर्खेका नामबाट 'गोर्खाल्याण्ड' राज्य हुनुपर्ने आवाज उठाएका थिए। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा नामको पार्टीमार्फत सन् १९८६ देखि ८८ सम्म उनै घिसिङले चलाएको रक्तपातपूर्ण गोर्खाल्याण्ड आन्दोलनले छुट्टै राज्य जन्मिएन, बरु १२ सय मानिसको ज्यान गयो।
'गोर्खाल्याण्ड' मागेकै कारण चर्चा कमाएका घिसिङले त्यत्तिका मानिसको ज्यान जाँदासमेत छुट्टै राज्य कायम गराउन सकेनन्। अहिले उनी ब्यानर्जीका विश्वासपात्र हुन्। उनले बंगाल र केन्द्र सरकारसमक्ष सीमित अधिकारप्राप्त स्वायत्त निकाय 'दार्जिलिङ गोर्खा पार्वत्य परिषद' मा चित्त बुझाउनुपर्‍यो। परिषद प्रमुख भएर २२ बर्षसम्म एकछत्र राज गरेका घिसिङ सात बर्षदेखि भने 'शक्तिहीन' छन्। यसपल्ट गुमेको साख पल्टाउने कसरतमा रहेका उनी 'गोर्खाल्याण्ड' पक्षधरसँग हार्छन् जित्छन्, हेर्न बाँकी छ।