Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

अर्थ

क्यासिनोलाई भर्‍याङ चढाउँदै सरकार

(0 votes)
क्यासिनोलाई भर्‍याङ चढाउँदै सरकार
काठमाडौं- लामो समयदेखि बक्यौता र रोयल्टी तिर्न अटेर गर्दै आएका क्यासिनो सञ्चालकलाई सरकारले फेरि भर्‍याङ चढाउने तयारी गरेको छ। काठमाडौं र पोखरामा रहेका १० क्यासिनो (भलै तीमध्ये तीनवटा बन्द भइसकेका छन्) शुक्रबारबाट अवैध भइसकेका छन्। यसअघि सरकारले थपिदिएको १५ दिनको म्याद (चैत २१) भित्र पुरानो बक्यौता, चालु आर्थिक वर्षको रोयल्टी र जरिवाना तिर्नुपर्नेमा सबै सञ्चालक कानमा तेल हालेर बसेका थिए।
क्यासिनो नियमावली २०७० को दफा ३७ (१) मा 'नियमावली प्रारम्भ हुँदाका बखत क्यासिनो सञ्चालन गर्न इजाजतपत्र प्राप्त कम्पनीले नियमावली प्रारम्भ भएको मितिले चार महिनाभित्र इजाजतपत्रका लागि निवेदन दिनुपर्ने' उल्लेख छ। त्यसैगरी (२) मा 'उपनियम (१) बमोजिमको म्यादभित्र निवेदन नदिए वा दिए पनि नियमावली बमोजिम इजाजतपत्र नपाए नियमावली प्रारम्भ हुनुअघि दिइएका इजाजतपत्र स्वतः खारेज भएको मानिने' पनि उल्लेख छ। 
क्यासिनोले बक्यौता तिर्न चार महिना थपिएको दोस्रो म्याद चैत ७ मा सकिएको थियो। त्यसपछि नियमावली संशोधन गरेर फेरि १५ दिनका लागि एक मौका दिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्य पुनः अर्को १५ दिन थप्ने तयारीमा लागेका छन्। उनले अब सोमबार बस्ने मन्त्रिपरिषद बैठकमा ती क्यासिनोलाई थप १५ दिनको म्याद दिन प्रस्ताव लाने बताइसकेका छन्। 
'ऐननियममा प्रष्ट हुँदाहुँदै पनि स्वतः खारेज भएका क्यासिनोलाई पर्यटन मन्त्री आफैं भर्या ङ चढाइरहेका छन्,' सम्बद्ध स्रोतले शनिबार नागरिकसँग भन्यो, 'कर पनि नतिर्ने र राज्यलाई चुनौती दिने क्यासिनो सञ्चालकलाई यसरी उन्मुक्ति दिइरहनुको कारण के हो? यो मन्त्रीलाई नै थाहा होला।'
पुरानो बक्यौता उठाउने जिम्मेवारी पाएको अर्थ मन्त्रालय पनि यो विषयमा मुकदर्शक बनिरहेको छ। अर्थले क्यासिनोहरूबाट आर्थिक वर्ष २०६२/६३ देखि २०६९/७० सम्मको बक्यौता ६६ करोड ५३ लाख १० हजार रुपैयाँ उठाउनुपर्छ। तर, अर्थ यो जिम्मेवारीबाट पन्छिँदै आएको छ। 
त्यसमाथि आठ क्यासिनो प्रत्येकको भागमा चालु आर्थिक वर्षको रोयल्टी ४ करोड र जरिवाना १ करोड २० लाख गरी ५ करोड २० लाख जोड्दा ४१ करोड ६० लाख पनि छ। यति सबै (१ अर्ब ८ करोड १३ लाख १० हजार रुपैयाँ) चुक्ता गर्न सके भनेमात्र उनीहरूको अनुमतिपत्र (लाइसेन्स) नवीकरण हुनेछ। 
पर्यटन मन्त्रालयले भने चालु आर्थिक वर्षबाट नयाँ क्यासिनो दर्तादेखि पुरानाको नवीकरण र रोयल्टीसम्बन्धी सबै जिम्मेवारी पाएको छ। हालसम्मको सबै बक्यौता तथा चालु आर्थिक वर्षको रोयल्टी र जरिवाना चुक्ता नगर्ने क्यासिनो सञ्चालनमा रोक लगाउनका लागि आवश्यक कारबाही गर्न पर्यटनले यसअघि नै गृह मन्त्रालयलाई पत्राचार गरेको थियो। 
'तर अवैध भइसकेका क्यासिनोमा ताल्चा लगाउन गृह प्रशासनले कुनै चासो दिएको छैन,' स्रोतले भन्यो, 'राज्यलाई कर नतिरी क्यासिनो व्यवसाय गर्न पाइन्छ भने अन्य व्यवसाय पन अब त्यसैगरी चलाए हुन्छ।'
खिलराज रेग्मीको सरकार हुँदा 'कर्मचारीको सरकारले किन जोखिम मोल्नु' भन्दै क्यासिनोलाई एकैचोटि थप चार महिना म्याद दिइएको थियो। त्यसपछि निर्वाचित सरकार आएपछि अब पक्कै केही होला भन्ने अनुमानमा रहेका पर्यटन मन्त्रालयका अधिकारीहरू मन्त्री आचार्यको 'चर्तिकला' बाट तीनछक परेका छन्। 
'सरकार लाचार भयो, सात–आठम महिना म्याद दिँदा त टेरपुच्छर नलाउने क्यासिनो सञ्चालकले अब १५ दिन थपेर बक्यौता तिर्छन् भन्ने एकरति विश्वास छैन,' मन्त्रालयका एक अधिकारीले भने, 'यसैगरी १५–१५ दिन म्याद थप्दै जानु लाजमर्दो कुरा हो। अवैध सञ्चालन गरिरहने क्यासिनो सञ्चालकसँग डराउने सरकारबाट सर्वसाधारणले के आश गर्ने?' 
एक दशकभन्दा बढी समय क्यासिनोमा काम गरेका मजदुर नेता कृष्ण पाण्डेले 'क्यासिनो सञ्चालकहरू सकेसम्म अझै लुटेरै खाने दाउमा' रहेको बताए। 'सञ्चालकहरूको बानी बिग्रिसक्यो,' उनले भने, 'आफू कमाउँछन, तर राज्यलाई कर, रोयल्टी तिर्दैनन् अनि मजदुरलाई तलब पनि दिन ढिलाइ गर्छन्।'
क्यासिनो सञ्चालकलाई सरकारले कर छलीअन्तर्गत तुरुन्त कानुनी दायरामा ल्याउनुपर्ने उनले बताए। 'हामी सारा मजदुरको माग यही हो,' उनले भने, 'सधें सजिलो बनाइदे, म्याद थप्दे भन्दै सरकारलाई झुलाउने क्यासिनो सञ्चालकको उद्देश्य हो।'
यसअघि क्यासिनो व्यवसायीहरूको संगठन क्यासिनो एसोसिएसन अफ नेपाल (क्यान) का अध्यक्ष किशोर सिल्वाले न्यूनतम तीन महिनादेखि एक वर्ष थप अवधि पाए सबै बक्यौता चुक्ता गर्ने बताएका थिए। 
सिल्वालले त्यसो भने पनि सरकारले यसअघि नै उनीहरूलाई धेरै पटक महिनौंको म्याद दिइसकेको थियो। चार महिना थपिएको म्याद चैत ७ मा सकिए पनि कुनै क्यासिनो सञ्चालकले बक्यौता तिरेनन्। तर, लगत्तै मन्त्रिपरिषदले १५ दिन म्याद थपिदिएको थियो। यसको अन्तिम दिन शुक्रबार (चैत २१) पनि सकिइसकेको छ। 
पुरानो बक्यौताअनुसार क्यासिनो नेपाल (हाल क्यासिनो माजोङ) को सबैभन्दा बढी २६ करोड ६८ लाख, क्यासिनो फूलबारीको १६ करोड ८ लाख ६० हजार, अन्ना १५ करोड २६ लाख ८० हजार, रोयल ४ करोड ९५ लाख, एभरेस्ट १ करोड ७१ लाख ८० हजार, भेनस ३५ लाख, र्या१ड ३३ लाख ३० हजार, तारा (हाल स्टार) को २९ लाख र पोखरा ग्रान्डको ८ लाख २० हजार रुपैयाँ छ। यीमध्ये क्यासिनो सांग्रिला, पोखरा ग्रान्ड र फूलबारी बन्द छन्। 
पर्यटन मन्त्री आचार्यलाई यसबारे बुझ्न सम्पर्क गर्दा उनको मोबाइल स्विच अफ थियो भने क्यानका अध्यक्ष सिल्लावले मोबाइल उठाएनन् र मेसेज पठाउँदा पनि जवाफ दिएनन्।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।