Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

अर्थ

उदाउँदो सहर

(0 votes)
उदाउँदो सहर
बागलुङ- २०४८ चैत २४ गते बागलुङमा पहिलोपटक ट्रक आउँदा विकासको फड्को मारेको अनुभूति गरेका स्थानीयबासी अहिले राष्ट्रिय गौरवको आयोजनामध्ये दक्षिणमा कालीगण्डकी करिडोर र पश्चिममा मध्यपहाडी लोकमार्गले विकासको ढाँचा परिवर्तन गर्दा गर्व गरिरहेका छन्।



दुई दशकमा बागलुङले मुहार मात्र फेरेको छैन, विकासका हरेक स्वाद चाखिसकेको छ। ऐतिहासिक पृष्ठभूमिमा उभिएको बागलुङमा शिक्षा, स्वास्थ्य, पर्यटनको क्रमिक विकास भइरहेको छ। प्रविधि, व्यापार, उद्योग, होटल, बैकिङ, विद्युतलगायतको द्रुत विकासले बागलुङ बजारलाई उदाउँदो सहरको रुपमा स्थापित गरिसकेको छ। भारतीय र ब्रिटिस सेनालगायत अन्य मुलुक गएकाहरुले ठूलो मात्रामा पठाउने पैसाका कारण रेमिटेन्स जिल्लाको परिचय बनाएको बागलुङ आर्थिक क्षेत्रमा नयाँ पहिचान बनाउने अवसरको खोजीमा छ। बागलुङ नगरपालिका र आसपास जस्तै जिल्लाका अन्य क्षेत्रले पनि फड्को मारिरहेका छन्। बागलुङसँग गर्व गर्ने कुरा धेरै छन्। 
जिल्लालाई मोटरबाटोले बाँकी देशसँग जोडेपछि स्थानीय अर्थतन्त्रको रुप फेरिएको साहित्यकार तथा अन्वेषक प्रेम छोटा बताउँछन्। अति विकट बागलुङलाई मोटरबाटोले जोडेपछि धेरै कुरा सहज भयो। मोटर आउनुअघि नै २०३८ सालमा स्थानीय काठेखोलाबाट बिजुली निकालेर बालेपछि बागलुङवासीले विकासको अनुभव गरेको छोटाको अनुभव छ। 'बिजुली र सडक नै विकासको आधार रहेछ, बिकट मानिएको जिल्लालाई त्यसपछि परिवर्तित आँखाले हेर्न थालियो,' उनले भने।
विकासले पाइला टेकेको २ दशकमै बागलुङले उदीयमान सहरको रुप लियो। २००८ सालमा हस्तलिखित पत्रिका सहीबाटो प्रकाशन भएको बागलुङ सदरमुकाममा अहिले ३ वटा दैनिक, त्यत्ति नै साप्ताहिक पत्रिका र ३ वटा एफएम छन्। गलकोटमा एउटा पत्रिका र एफएम छ। अलि बिकट खरवाङमा पनि एउटा एफएम छ। बुर्तिवाङमा २ वटा एफएम र एउटा पत्रिकाले स्थानीयलाई सुसूचित गराइरहेका छन्। २०४० सालततिर बागलुङमा भूतपूर्व भारतीय लाहुरेलाई पेन्सन बाँड्न आएका भारतीय सेनाका कर्णेल डानियलको प्रयासमा डिस एन्टेना राखेर टिभी हेरेका बागलुङवासी अहिले केबल र डिटिएचमार्फत विश्व गतिविधिमा अपडेट हुन्छन्। सदरमुकाममा खुलेको धवलागिरि टेलिभिजन च्यानलमार्फत स्थानीय खबर र मनोरञ्जन लिन्छन्। 
२०२८ सालमै धौलाश्री साप्ताहिक प्रकाशन गरेका विदुर खड्का भन्छन्, 'विकट बागलुङलाई विकासले घेर्दै छ। देशका अरु सहरमा पहिला विकास पुगे पनि बागलुङ तिनलाई आत्मसात गर्दै स्थापित हुँदैछ।' उनको भनाइमा अञ्चल सदरमुकाम र पोखरा नजिक भएकाले हरेक विकास बागलुङले छिटो पाउने गरेको छ।
बागलुङबासीलाई २ दर्जन बैंकले सेवा दिइरहेका छन्। आधुनिक बैंकहरु ग्रामीण क्षेत्रमा पनि पुगेका छन्। २०४६ सालमा पर्यटकलक्षित होटल हिलभ्यू खुलेको बागलुङमा अहिले २ सय होटल छन्। 
२०१७ सालमा पाल्पाबाट आएका २ जना कम्पाउन्डरले स्वास्थ्य सेवा दिएको यो ठाउँमा २००७ सालमा अमेरिकी डाक्टर आएर स्वास्थ्य शिविर राखेर सेवा दिएका थिए। बागलुङमा २०१७ सालतिरै डा. सच्चेकुमार पहाडीले पहिलो डक्टरको रुपमा सेवा दिएका थिए। त्यसपछि डा. राघवप्रसाद धितालले २०३४ सालतिर स्वास्थ्य क्षेत्रमा सम्झनयोग्य सेवा दिएको स्थानीय बताउँछन्। सदरमुकाममा अहिले २२ चिकित्सकसहित सय शैऒ्ढयाको सुविधासम्पन्न अञ्चल अस्पताल छ। निजी अस्पताल, पोलिक्लिनिक र औषधी पसल पनि खुलिरहेका छन्।
१९९८ सालमा गुल्मीबाट आएका कृष्णप्रसादले स्थानीय ३४ युवालाई पढाएको साहित्यकार प्रेम छोटा बताउँछन्। 'शिक्षामा त्यसअघि नै बागलुङ अगाडि थियो,' उनले भने। १९७६ पुस ९ गते सरकारी भाषा पाठशाला खुलेको थियो। विद्यामन्दिर हाइस्कुल १९९७ मा खुलेपछि शिक्षाको पहुँच बढ्यो। संस्थागत रुपमा २००३ सालमा विद्यामन्दिर पुस्तकालय खुलेपछि धेरैले शिक्षामा अवसर पाए। बागलुङको शिक्षा क्षेत्रमा ओमप्रसाद गौचन र मेघकुमार वैद्यको नाम सबैले सम्झने छोटाको भनाइ छ। २०१९ साल भदौ २ गते महेन्द्र क्याम्पस खुलेपछि उच्च शिक्षा पनि सहज भयो। अहिले दर्जनौं कलेज र निजी विद्यालय छन्। 
'भानुभक्तअघिका कवि वीरशाली पन्तको जन्म भएकाले जिल्ला साहित्यिक क्षेत्रमा पनि अगाडि छ,' छोटाले भने। मोतिमण्डलीमा बसेका लक्ष्मीदत्त पन्त 'इन्दु'देखि थुप्रै साहित्यकार बागलुङले जन्माएको छ। अहिलेसम्ममा बागलुङले सय हाराहारी कृतिकार जन्माइसकेको छोटाले जानकारी दिए। 
२००७ सालअघि यसको प्रशासनिक र आर्थिक केन्द्र पाल्पा थियो। २००८ साल फागुन ७ गते पाल्पाबाट मुक्ति पाएपछि स्वायत्त बनेको बागलुङ अहिले आफैं आर्थिक केन्द्र बनेको अधिवक्ता काजी गाउँले श्रेष्ठ बताउँछन्। यहाँको आर्थिक कारोबार राजधानीदेखि पोखरा, वीरगन्ज, बुटवल, भैरहवा र भारतसम्म फैलिएको छ। 'बागलुङ बजारबाट धवलागिरिका विभिन्न जिल्ला र गाउँमा सामान पुग्ने र कारोबार हुने क्रम बढ्दो छ,' उनले भने। बागलुङे अर्थतन्त्रको आधार रेमिटेन्स, कृषि, व्यापार, पशुपालन र जागिर रहेको उनले बताए। 
श्रेष्ठ प्रथम विश्वयुद्ध समाप्त हुनुअघिनै बागलुङ आर्थिक केन्द्र रहेको बताउँछन्। विसं. १९०० तिरे बागलुङचौरले हटिया बजारको रुप लिइसकेको थियो। १९५३ अघि नै बागलुङचौरमा भन्सार रहेको देखिँदा यो उतिबेलै व्यापारिक केन्द्र रहेको देखिन्छ। '२०१६ सालअघिसम्म कालिगण्डकी किनार हुँदै भोट र मधेसको व्यापार हुन्थ्यो। तिब्बतबाट डोल्पा हुँदै नुन आउँथ्यो। बागलुङबाट अनाज तिब्बत जान्थ्यो,' श्रष्ठले भने। मुस्ताङको दाना र टुकुचे वस्तु विनिमयको केन्द्र थियो भने त्यसको शाखाको रुपमा बागलुङमा काम हुन्थ्यो।
बागलुङ अञ्चलकै सदरमुकाम भएकाले यहाँ तीव्र रुपमा विकासका खाका कोरिँदै छन्। सम्भावना प्रशस्त छ। बागलुङको पर्याय धेरै छ। त्यसैले भनिन्छ, 'बागलुङ भाग्यमानी छ।' सुन्दर पहाडी जिल्ला बागलुङको पहिचान थपिँदै र अग्लिँदै छ। नेपालको नक्सासँग मिल्ने यसलाई नेपालभित्रको सानो नेपाल पनि भन्ने गरिन्छ। करिब ३ लाख जनसंख्या रहेको बागलुङको क्षेत्रफल १ हजार ७ सय ८४ वर्ग किलोमिटर छ। 
यसलाई झोलंुगे पुलको जिल्ला पनि भनिन्छ। सदरमुकाम र आसपासका गाउँ जोड्ने अग्लोदेखि बलेवा र पर्वतको कुस्मा जोड्ने यान्त्रिक पुल यहीँ छ। पर्वतको पाङ र बागलुङको रामरेखा जोड्न अर्को अग्लो पुल बनाउन सर्वेक्षण भइरहेको छ। बजारदेखि भकुण्डेसम्म केबलकार निर्माण गर्ने सोच अघि आएको छ। बुट्टे नली पनि जिल्लाको पहिचान हो। लघु जलविद्युत निर्माण धेरै भएको बागलुङले गाउँमा लघुजलविद्युत उत्पादन गर्दै सहरलाई उज्यालो बेचिरहेको छ। शालिग्राम जिल्लालाई दुई वर्षअघि देशकै सफा र सुन्दर सहर घोषणा गरिएको थियो। 
यहाँ दर्जनभन्दा बढी प्रख्यात धार्मिकस्थल छन्। सदरमुकामको कालिका भगवती मन्दिर, अमलाचौरको भैरवथान, कुश्मिशेराको जमिनीश्वर, बोबाङको ढोरपाटनताल बराह, विहँुको रामकोट मन्दिर, कुँडुलेको तिरुपति बालाजी, सर्कुवा र जैदीको थन्थापी माई, देविस्थान गाविसको देविस्थान, तित्याङको शिवालय, बाटाकाचौरको सत्यवती, राजकुतको नृसिंह, घुम्टेको सिद्देश्वर मन्दिरका साथै सदरमुकामको ज्ञानोदर बुद्ध विहार र निरहेघाटको जंगेश्वर मन्दिर यहाँका प्रमुख धार्मिक गन्तव्य हुन्।
सदरमुकामसँगैको भकुण्डे गाउँदेखि ३६ कोष टाढा ढोरपाटन शिकार आरक्षसम्म पर्यटनका सम्भावना कोरिन थालेको छ। ग्रामीण भेगको सोरठी, सिस्नो खोस्ने, मारुनी र थाली नाचदेखि सहरको जोगी, सिकारी, भदौरे, नागनागिना, घोडे, कटुवाल, हनुमान र बास्सा नाँचले सांस्कृतिक पक्षको महŒव बढाएको छ। सालैजो, यानीमाया, लालुमायै, हाइगोरी, झाम्रे, रेलिमाई, निरमाया ठूली, सुनमयाँली, बारुलै, रेरेरे साँहिलो, नामी रलै, नैना रेशम, तिम्लाई मालुम छैन थेगोका लोकसंगीतले पनि बागलुङ सांस्कृतिक पक्षमा धनी रहेको पुष्टि गर्छ। झाम्रे गीतको उद्गमस्थल नै बागलुङ रहेको अन्वेषक प्रेम छोटा बताउँछन्। १८७४ मा बलेवा नेपानेका मनवीर खत्री र राङखानीका गोराया श्रीषले सर्वप्रथम झाम्रेगीत सुरु गरेको छोटाले बताए। 
धार्मिक, साँस्कृतिक, पर्यटकीय रुपमा जति धनी छ, बागलुङ स्थानीय उत्पादनमा पनि उस्तै छ। लोक्ताबाट बनेको नेपाली हाते कागजले देशविदेशमा ख्याति कमएको छ। ताराखोला, तमान, बुंगादोभानमा बन्ने हाते कागज अहिले विस्तारै अन्य गाउँमा फैलिएको छ। अमरभूमि, जलजलाबाट सुरु भएको बुट्टे नली अहिले सदरमुकाममा पनि बन्छ। गजाङ लौरोमा कलात्मक बुट्टा भरेर ख्याति कमाएपछि यो बागलुङको कोसेली भएको छ। 
पाण्डवखानी, बुंगादोभान, निसी र रणसिंहकिटेनीमा बन्ने राडीपाखीको विदेशमा समेत माग छ। तारा, अर्गल, अमरभूमि, नरेठाँटी, हरिचौर, जैदी, रेस, निसी, मल्म, दमेकमा पाइने स्लेट ढुंगा जिल्लाबाहिर निर्यात हुन्छ। कुश्मिशेरा, अमलाचौरको कार्भिङ ढुंगाको माग उस्तै छ। बोबाङ, ताराखोलाको आलु सिंगापुर निर्यात हुन्छ। भुस्कात, ताराखोलामा उत्पादन हुने भाँगोले चट्नी/अचार पारखीलाई स्वाद पुर्या एको छ। खुंखानीमा रहेको तामाखानी, खुँगामा रहेको फलामखानी, सिसाखानी गाविसको सिसाखानी सम्भावनाका स्रोत हुन्। खर्वाङ, काडेवास, गलकोटका असला माछादेखि अर्गानिक उत्पादन च्याउ, टिमुर, सिस्नु, लसुन, सिमी, बोडी पनि जिल्लाका पहिचान हुन्। सोली, डाला, नाङ्लाका लागि उस्तै प्रख्यात छ बागलुङ।
युरोप, अमेरिकादेखि खाडी मुलुकसम्म पुगेका युवाले पठाउने रेमिटेन्सले पनि बागलुङ चिनिँदै गएको छ। धेरै रेमिटेन्स आउने जिल्लामध्ये पर्ने बागलुङका धेरै गाउँ रेमिटेन्स भिलेजमा रुपान्तरण भएका छन्। 
चीन र भारत जोड्ने कालीगण्डकी करिडोर र पूर्व पाँचथरको चियोभन्ज्याङ र पश्चिम बैतडीको झुलाघाट जोड्ने मध्यपहाडी लोकमार्ग बागलुङ हुँदै जाने हुँदा भविष्यमा 'ट्रान्जिट'मार्फत फड्को मार्ने ध्याउन्नमा यो सहर छ।

बागलुङलाई पर्यटकीय गन्तव्य बनाउनुपर्छ

बागलुङ उद्योग वाणिज्य संघ स्थापनाको ५० वर्ष पुरा भएको छ। विभिन्न आरोहअवरोह पार गर्दै संघले पर्यटन तथा व्यवसाय प्रवर्द्धन, कर, व्यावसायिक शिक्षा लगायतका कार्यक्रमलाई अघि बढाउँदै आएको छ। स्वर्ण जयन्तीको अवसरमा विभिन्न कार्यक्रमहरु अघि सारेको छ। संघको मातहतमा २२ वटा वस्तुगत संघ स्थापना भएका। संघको गल्कोट र बुर्तिबाङमा समेत इकाई खुलेका छन्। स्थानीय उत्पादनको बजारीकण, यहाँका पर्यटकीय गन्तव्यको प्रचारप्रसार सहित कला संस्कृतिको संरक्षण गर्न चैत्राष्टमी मेलाको अवसरमा पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा बाग्लुङ महोत्सव २०७० आयोजना गरिएको छ। महोत्सवलगायत बाग्लुङको आर्थिक समृद्धिको विषयमा उद्योग वाणिज्य संघ बाग्लुङका अध्यक्ष बसन्तकुमार श्रेष्ठसँग नागरिकले गरेको कुराकानीः
बागलुङ महोत्सव गर्नुको उद्देश्य के हो?
बागलुङ जिल्लालाई पर्यटकीय गन्तव्य बनाउने हाम्रो मुख्य उद्देश्य हो। अहिले चौथो पटक महोत्सव गर्दैछौं। पर्यटन व्यवसायको प्रवर्द्धन, कृषि मेला प्रर्दशनी, स्थानीय उत्पादनसहित यहाँका पर्यटकीय स्थलको प्रचारप्रसारमा हामी केन्द्रित भएका छौं। जिल्लाको भविष्य पर्यटन, कृषि, माइक्रोहाइड्रो, उद्योगधन्दा, लघु उद्यमसँग जोड्न चाहन्छौं। यीनको व्यवसायी प्रवर्द्धन गर्नुनै महोत्सवको उद्देश्य हो। महोत्सवमा २ सय ५० स्टल मध्ये ४० बढी स्टल स्थानीय उत्पादनका छन्।
महोत्सवको आकर्षण केके रहेका छन्?
महोत्सवमा स्थानीय कला संस्कृति उजागर गर्न विभिन्न झाँकी, घाटु, हनुमान, भदौरे, सोरठी, सिस्नु खोस्ने खेल लगायतका नाच प्रस्तुत गरिने छ। बाग्लुङ कालिका मन्दिरको दर्शन, सस्तो मूल्यमा हेलिकप्टरबाट बाग्लुङ सहित धौलागिरीका पर्यटकीय स्थलको अवलोकन, हस्तकला, कृषि जडिबुटीको प्रर्दशनी, राष्ट्रिय कलाकारबाट सांगीतिक कार्यक्रम प्रस्तुत गरिनेछ। कालीगण्डकी नदीमा पाइने शालिग्राम, अस्ट्रिच चरा, फोटो प्रर्दशनीको अवलोकनको व्यवस्था मिलाइएको छ। १७ इभेन्टमा रमाइलो मेला लगायत छन्। 
हरेक वर्ष हुने महोत्सव मेलाले स्थानीयलाई के फाइदा पुग्छ?
जनताले पर्यटनको बारेमा महत्व नबुझ्दासम्म पर्यटकीय स्थल भए पनि स्वदेशी तथा विदेशी पर्यटकको आगमनको सम्भावना न्यून हुन्छ। चैत्राष्टमी मेलाको अवसरमा आयोजना गरिएको मेला महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्यायउँदै यहाँका पर्यटकीय गन्तव्यको प्रचारप्रसार स्थानीय उत्पादनको बजारीकण हुन्छ। सेतो छाला भएका विदेशीलाई मात्र पर्यटक भन्ने गलत संस्कारको अन्य गर्नकोलागि पनि यसले टेवा पुर्याहउँछ। बाहिरी जिल्ला, ग्रामीण क्षेत्रबाट बजारमा आए पनि आर्थिक गतिविधि बढ्छ। यहाँको व्यापार व्यवसायमा वृद्धि हुन्छ। पैसा भएर पनि खर्च गर्ने अवसर नपाएकाहरुले आफ्नो रुचिअनुसार महोत्सवबाट फाइदा लिन सक्छन्। 
बागलुङको पर्यटन प्रवर्द्धन र विकासको लागि मुख्य योजना के छ?
पर्यटनको लागि पूर्वाधार निर्माण, हस्पिटालिटी र प्रचारप्रसारलाई मुख्य प्राथमिकता बनाउनु पर्छ। पर्यटन विकासको मुख्य प्रवेशद्वार हो।
बाग्लुङमा रहेको मुलुककै एकमात्र ढोरपाटन सिकार आरक्ष, घुम्टे लेक, गाजाको दह, भकुण्डे लगायतका विभिन्न पर्यटकीय स्थल भए पनि 'ट्रेकिङ रुट'को अभावले समस्या सिर्जना भएको छ। बाग्लुङदेखि ढोरपाटनसम्म 'ट्रेकिङ रुट' निर्माण गर्न सके ढोरपाटनमा सिकार गर्न आउने पर्यटक हेलिकप्टर चार्टर गरेर नभई ट्रेकिङ गर्दै ढोरपाटन पुर्या उन सके जिल्लाले धेरै आर्थिक फाइदा लिन सक्छ। यहाँ रहेका धार्मिक तथा प्राकृतिक सौन्दर्यताको प्रचारप्रसार गर्नु आवश्यक छ। जिल्लाका गहनालाइ सेल गर्न नसकेको कारण विदेशी आउन सकेका छैनन्। यसमा राजनीतिक नेतृत्व जिम्मेवार हुन आवश्यक छ। 
बाहिरबाट आउने पर्यटकलाई व्यहाँका स्थानीयले गर्ने आत्मीय व्यवहारले समेत प्रभाव पारेकोले आतिथ्यमा समेत ध्यान दिनु पर्छ। गाउँगाउँमा होम सेटलाई समेत विस्तार गर्नु पर्छ। 
बागलुङमा लगानीको क्षेत्र के के छन्?
बागलुङको भविष्य र उत्पादनको पहिचान गर्नु जरुरी छ।
अब हामीले दुरगामी सोच राखेर योजनावद्ध आर्थिक विकासको लागि लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ। बागलुङ रेमिटेन्सले चलिरहेको छ। पर्यटनका विकासका लागि यहाँका कुनै निकायले पनि त्यती चासो दिएको देखिदैन। पर्यटन क्षेत्र, होटल व्यवसाय, जलस्रोतमा लगानीको प्रचुर सम्भावना छ। कृषि र पशु क्षेत्रको आधुनिकीकरण गर्न लगानीको खाँचो छ। मागअनुसारको उत्पादनमा लगानी गर्न सकिरहेका छैनौं। कफी, नेपाली हाते कागजको उत्पादनलाई बढाउन सकिन्छ। यहाँ भित्रिने करोडौं रेमिटेन्सको उपयुक्त क्षेत्रमा लगानी गर्नु आवश्यक छ। घर—घरमा लघु उद्यमी निर्माण गर्दै रोजगारीको सिर्जना गर्दै उत्पादनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरसम्म पुर्यारउनु पर्छ । यहाँका उत्पादन गरेका वस्तु निर्यात गर्ने व्यवस्था मिलाउनु पर्छ। 
संघले स्वर्ण जयन्ती मनाइरहँदा के कस्ता योजना अघि सार्नुभएको छ त?
पचास वर्षमा प्रवेश गरेको अवसरमा वर्षभर कम्तीमा महिनामा एक कार्यक्रम पर्ने गरी १२ कार्यक्रम तय गरेका छौं। मेला महोत्सवसहित व्यवसायीहरुका लागि कर शिक्षा र राजस्व सम्बन्धी कार्यक्रम, विभिन्न विद्यालयमा फर्निचर वितरण, बाग्लुङ बजारमा सिसी क्यामेरा जडान, लोकतान्त्रिक चोकमा स्तम्भ निर्माण, रक्तदान, साहित्यिक कार्यक्रम, पर्यटकीय स्थलको प्रचार लगायत छन्।
बाग्लुङ उद्योग वाणिज्य संघको ५० वर्षे इतिहासलाई के काम भए?
संघको पाँच दशकको इतिहासमा यहाँको व्यापार व्यवसाय संस्थागत भएको छ। संघको माताहतमा यहाँ २२ वटा वस्तुगत संघको उदय भएको छ। जिल्लाको गल्कोट र बुर्तिबाङमा उद्योग इकाई स्थापना भएका छन्। व्यवसायी हकहितसहित थुप्रै सामाजिक उत्तरदायित्व सहितका काम गर्दै अहिले स्वर्ण जयन्ती मनाउन पाउँदा संस्थापकदेखि पूर्व अध्यक्षहरुको योगदान महत्वपूर्ण रह्यो । यो अवधिमा मुख्य व्यवसायीको हकहितको सुरक्षाका लागि काम गर्दै व्यवसायीका समस्या समाधान गर्दै र समय सुहाउँदो व्यवसायलाई बढावा दिएका छौं। सामाजिक उत्तरदायित्वलाई आत्मसात गरेर अगाडि बढ्ने काम भइरहेको छ।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।