15 Chaitra, 2076 | March 28, 2020
Menu

सामुदायिक विद्यालयमा छात्रा बढी

(0 votes)
रामेछाप-कुनै समय थियो, विद्यालयमा छात्रा न्यून हुन्थे। अभिभावकमा छोरालाई मात्र पढाउनुपर्छ भन्ने धारणा थियो। तर, रामेछाप जिल्लाका सामुदायिक विद्यालयको तथ्यांकले यो धारणामा परिवर्तन आएको देखाएको छ। अधिकांश सामुदायिक विद्यालयमा छात्रभन्दा छात्राको संख्या बढी छ।
बालकक्षामा छात्र बढी भए पनि समग्रमा छात्राको संख्या अधिक रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। कार्यालयको तथ्यांकअनुसार कुल विद्यार्थीमध्ये ३५ हजार ८ सय ८६ छात्रा र ३३ हजार ३ सय ४५ छात्र छन्। यो तुलनात्मक रूपमा चार प्रतिशतले बढी हो। यद्यपि संस्थागत विद्यालयमा भने छात्र नै बढी छन्। १ हजार ६८ छात्रको तुलनामा छात्रासंख्या ७ सय ५८ छ। 
सरकारले पछिल्लो समय बालिकाशिक्षालाई प्रोत्साहनस्वरूप आरक्षणलगायत व्यवस्था गरेपछि सामुदायिक विद्यालयमा छात्रासंख्या बढेको जिल्ला शिक्षा अधिकारी युवराज पौडेलले बताए। ग्रामीण भेगमा सञ्चालित साक्षरता कक्षाले अभिभावकमा ल्याइदिएको चेतनाका कारण शिक्षामा छोराछोरीबीचको विभेद अन्त्य गर्न भूमिका खेलेको प्रतिक्रिया दिए। उनले भने, ‘अहिले छात्रामा पढाइ पूरा गर्नुपर्ने आवश्यकताबोध भएकाले नियमित विद्यालय आउँछन्।' 
तथ्यांकअनुसार प्रावि तहमा १६ हजार २ सय ५७, निमाविमा ९ हजार ५ सय ५८, माविमा ५ हजार ५८ र उमाविमा १ हजार ३ सय ८१ छात्रा छन्। छात्रको हकमा यही संख्या क्रमशः १५ हजार ७ सय ८७, ८ हजार ५ सय ६१, ४ हजार ६ सय १३ र १ हजार ६७ छ। क्याम्पस तहमा पनि छात्राले नै छात्रलाई उछिनेका छन्। बालकक्षामा भने छात्र ३ हजार ३ सय १७ हुँदा छात्रा ३ हजार २ सय ९२ जना छन्। जातीय आधारमा हेर्दा पनि आँकडाले छात्रासंख्या नै बढी देखाउँछ। 
अभिभावकमा छोरीलाई समान व्यवहार गर्नुपर्ने चेतनाबोधले यो आँकडा बढाएको देख्छन्, मानेडाँडा मावि पिङ्खुरीका प्रधानाध्यापक रामहरि दाहाल। मन्थलीस्थित सहिद स्मृति बहुमुखी क्याम्पसका प्रमुख गुन्जबहादुर श्रेष्ठ भने संस्थागत विद्यालयको पढाइ राम्रो हुने विश्वासमा छोरालाई यता र छोरीलाई सामुदायिक विद्यालय पठाउँदा संख्या बढेको बताउँछन्।