Friday 23 Jestha, 2077 | June 05, 2020
Menu

उत्तरपुस्तिका हेर्न दिनू भन्ने निर्देशन अलमलमा

  • मङ्गलबार १० बैशाख, २०७०
  • रुबी रौनियार
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं - सर्वोच्च अदालतले दुई वर्षअघि विद्यार्थीले चाहे आफ्नो उत्तरपुस्तिका हेर्न पाउनु पर्ने भनी त्रिभुवन विश्वविद्यालयलाई दिएको निर्देशन अझै विश्वविद्यालयले कार्यान्वयन गरेको छैन। दुई वर्षअघि शंकरदवब कलेजका विद्यार्थीले आफूले प्राप्त गरेको अंक चित्त नबुझेपछि सूचनाको हक प्रयोग गर्दै आफूले लेखेको उत्तरपुस्तिका हेर्न पाउनुपर्ने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
सोही रिटमा सुनुवाइ गर्दै सर्वोच्चले त्रिभुवन विश्वविद्यालयलाई विद्यार्थीले चाहे उत्तरपुस्तिका हेर्न दिनू भनी निर्देशन दिएको थियो। परीक्षा नियन्त्रण कार्यालय (पनिका)बल्खुका नियन्त्रक चिरन्जीवी शर्माका अनुसार पनिकाले तीन महिनाअघि नै यसै वर्षदेखि विद्यार्थीलाई उत्तरपुस्तिका देखाउनका लागि कार्यविधि बनाएर त्रिविमा पठाए पनि विश्वविद्यालयले कुनै प्रतिक्रिया नदिएको बताए। पनिकाले विद्यार्थीको अध्ययन गर्ने तहको परीक्षाको नतिजा प्रकाशन भएको मितिदेखि एक वर्षभित्र आफ्नो उत्तरपुस्तिका हेर्न पाउने माग गर्नुपर्ने, त्यसका लागि केही निश्चित रकम तिर्नुपर्ने, विद्यार्थीले आफ्नो उत्तरपुस्तिकाको नम्बरको तुलना अन्यसँग गर्न नपाइने , सार्वजनिक गर्न नपाइने र कपी चेक गर्नेको नामसमेत गोप्य राख्नुपर्ने विषयमा कार्यविधि बनाएको नियन्त्रक शर्माले बताए। 'पनिकाले यस वर्षदेखि उत्तरपुस्तिका विद्यार्थीलाई हेराउने भन्दै सबै तयारी गरिसकेको छ,' शर्माले नागरिकसँग भने, 'त्यही भएर वैशाखभित्र सबै तहको नतिजा प्रकाशन गर्ने क्रममा छौं।' उनले थपे, 'तर त्रिविले कार्यकारीमा छलफलको विषय नै नबनाएकाले समस्या भएको छ।' शर्माका अनुसार कुनै पनि सम्बन्धित विषयविज्ञले गरेको प्राज्ञिक निर्णय नै अन्तिम निर्णय हुने र त्यसमाथि कसैले पनि प्रश्नचिन्ह खडा गर्न नपाइनेसमेत कार्यविधिको मस्यौदामा प्रस्ताव गरिएको छ। त्रिविका उपकुलपति हिराबहादुर महर्जनले पनिकाले उत्तरपुस्तिका देखाउनेबारे कार्यविधिको प्रस्ताव पठाए पनि त्यसमाथि कुनै छलफल नभएको प्रष्ट पारे। 'पनिकाले पठाएको कार्यविधि प्राज्ञिक परिषदमा छ ,' उपकुलपति महर्जनले भने, 'अहिले प्राज्ञिक परिषदमै भएकाले कार्यकारी परिषदमा छलफलको विषय बन्न सकेको छैन। ' ल क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति एवं त्रिवि सभाको सदस्य गुणराज अचार्यले सूचनाको हकअनुसार विद्यार्थीले आफूले लेखेको उत्तरपुस्तिका हेर्न पाउनुपर्ने विचार व्यक्त गरे। 'त्रिविले अझै पनि कार्यकारीमा उत्तरपुस्तिका हेर्ने विषयमा एजेन्डा नै बनाउनुले नियत खराब भएको बुझिन्छ ,' आचार्यले भने, 'त्रिविको परीक्षा प्रणालीमा सुधार ल्याउन उत्तरपुस्तिका यस वर्षदेखि देखाउनैपर्छ।' शंकरदेव कलेजका स्ववियु सदस्य प्रकाश भुजेलले सूचना पाउने सबै नागरिकको अधिकार भएकाले हरेक विद्यार्थीले आफूले लेखेकोबारे जानकारी पाउनुपर्ने जनाए। 'दुई वर्षअघि हाम्रो कलेजका विद्यार्थी ४,५ विषयमा फेल भए,' भुजेलले भने, 'सोही विषयमा हामी सबै विद्यार्थी मिली बृहत छलफलबाट उत्तरपुस्तिका हेर्न पाउनुपर्ने भनी सूचना आयोगमा निवेदन र अदालतमा मुद्दा हालेका थियौं।' उनले थपे, 'त्रिविले हामीलाई उत्तरपुस्तिका देखाउने निर्णय कार्यान्वयन नगरी अदालतको निर्णयलाई उपहास गरेको छ।' विद्यार्थीलाई उसले लेखेको उत्तरपुस्तिका हेर्न पाउने अधिकार दिए उनीहरुमा अत्मविश्वास बढ्ने सूचनाको हकका लागि नागरिक अभियानका कार्यकारी निर्देशक टंकराज अर्यालले बताए। 'त्रिविले आफ्नो परीक्षा प्रणालीमा सुधार ल्याउन र कर्मचारी तथा उत्तरपुस्तिका जाँच गर्ने शिक्षकलाई जिम्मेवार बनाउन उत्तरपुस्तिका देखाउने निर्णय छिट्टै लागु गर्नुपर्छ,' अर्यालले भने, 'विद्यार्थीले आफूले लेखेको विषयबस्तु हेर्न पाए गल्ती थाह पाई थप सुधार गर्न बल मिल्छ।'