Thursday 13 Kartik, 2077 | October 29, 2020
Menu

कला

नेपाली रंगमञ्चमा 'रशोमन' आउँदै

(0 votes)
नेपाली रंगमञ्चमा 'रशोमन' आउँदै
काठमाडौं - कालजयी सिनेमा 'रशोमन' नहेर्ने र यसबारे नसुन्ने फिल्मप्रेमी सायदै होलान्। सन् १९५० मा रिलिज भएको यो जापानी सिनेमाबाट संसारकै धेरै फिल्मकर्मी र कलाकर्मी प्रभावित छन्। नेपालका रंगकर्मी सुनील पोखरेल पनि किन अछुतो रहन्थे।
सुनीलले 'रशोमन'लाई नेपाली नाटकका रुपमा मञ्चन गर्दैछन्। जापानका लेखक र्‍युनोसुके अकुतागावाको लघुकथा 'रशोमन'मा आधारित भई जापानकै आकिरा कुरोसावाले सन् १९५० मा सिनेमा बनाएका थिए। उक्त लघुकथालाई फे र माइकल क्याननले अंग्रेजी नाटकमा समेत रुपान्तरण गरेका थिए। सुनीलले त्यही नाटकलाई नेपालीमा अनुवाद गरेका हुन्।
आगामी चैत २८ देखि अनामनगरको मण्डला थियटरमा नियमित मञ्चन हुने 'रशोमन'लाई सुनीलले सन् १९८५ तिरै नेपालीमा अनुवाद गरेका रहेछन्। 'दिल्लीको नेसनल स्कुल अफ ड्रामामा पढ्ने बेला थुप्रै नाटक नेपालीमा अनुवाद गरेको रहेछु,' सुनीलले बुधबार नागरिकसँग भने, 'मण्डलाका राजन खतिवडाले नाटक गरिदिनुपर्‍यो भनेपछि पो यो रशोमन याद आयो।' नेपाली 'रशोमन'मा पात्र र परिवेश नेपालकै बनाइएको छ।
एक लडाकुको हत्याको रहस्य पत्ता लगाउने कथा 'रशोमन'मा छ। हत्याको बारेमा लडाकुकी पत्नी, लडाकुको आत्मा, डाँकु र दाउरेले चार फरकफरक गवाही सुनाउँछन्। चारमध्ये कुन गवाही सत्य हो? त्यसको चिन्तन र निर्णय गर्ने जिम्मेवारी दर्शकलाई छाडिन्छ।
नाटकको मञ्चन सुरु हुँदा रिहर्सल करिब एक महिना चलिसक्नेछ। 'रशोमन'का लागि गरिएको तयारी अहिलेसम्मकै लामो भएको सुनील सुनाउँछन्। 'विगतमा चारपाँच दिनकै रिहर्सलमा नाटक तयार पार्थ्यौं, यसपालिजस्तो गृहकार्य पहिले गरेका थिएनौं,' सुनीलले सुनाए, 'फिल्ममा सबैले हेरिसकेको कथालाई नाटकमा प्रस्तुत गर्न सजिलो छैन। यसैका लागि प्रशस्त तयारी गरेका हौं।'
बुधबार मण्डला थियटरमा सुरेश चन्द र प्रवीण खतिवडाले उसुका ज्याक गुरुसँग खुकुरी फाइट सिक्दैथिए। ज्याकले नाटकमा दुइटा खुकुरी फाइट कम्पोज गरेका छन्। 'फाइटमा उसुको शैली झल्किन्छ तर पूरै फाइट उसुकै स्टेपमा आधारित छैन,' ज्याकले भने, 'फाइटमा नेपालीपन त चाहियो नि।'
'रशोमन'मा जापानी सामुराई फाइट छ। तर, सुनीलले आफ्नो नाटकमा नेपालकै युद्धकला प्रदर्शन गर्न खोजेका छन्। तरवारको सट्टा खुकुरी प्रयोग गरिएको छ। कलाकारले रिहर्सलमा जस्तै नाटकमा पनि सक्कली खुकुरी नै नचाउनेछन्। 'काठको खुकुरीले नाटकमा मज्जा आउँदैन, त्यसैले सक्कली खुकुरी ल्याइएको हो, कलाकारहरुले सावधानीपूर्वक चलाउनेछन्,' सुनीलले भने।
करिब डेढ घन्टा लामो हुने नाटकमा निशा शर्मा, सुरेश चन्द, राजकुमार पुडासैनी, सरिता गिरी, प्रवीण खतिवडा, विजय बराल, प्रदीप चौधरी र विपीन कार्कीले अभिनय गर्नेछन्। उनीहरु अहिले नाटकको स्त्रि्कप्ट अध्ययनमा व्यस्त छन्। विजय र प्रदीपबाहेक सबै कलाकार गुरुकुलकै हुन्।
सुनीलले 'रशोमन' फिल्म थुप्रैपटक हेरिसकेका छन्। नाटक गर्नलाई फेरि हेर्दैछन्। तर, उनले 'रशोमन'को कुनै पनि नाट्य रुपान्तरण भने हेर्न पाएका छैनन्। 'दिल्लीमा कुनै समूहले यसको मञ्चन गरेको थियो रे। निकै तारिफ सुनेको थिएँ, तर त्यतिबेला म काठमाडौंमा थिएँ, हेर्न पाइनँ,' सुनीलले सम्झे।
नेपाली परिवेश भएकोले भेषभूषा नेपाली नै हेर्न पाइनेछ। नाटकका पात्रहरुले राणाकालीन पोशाक पहिरिनेछन्। सुनीललाई सबैभन्दा बढी समस्या भएको सेट डिजाइनमा हो। कारण दिन्छन्, 'लोकसन थुप्रै छन्, त्यसैले मल्टिपल सेट चाहिन्छ।' नेसनल स्कुल अफ ड्रामाकै 'प्रोडक्ट' विमल सुवेदीले 'रशोमन'को सेट डिजाइन गर्दैछन्।
नाटक मञ्चन सुरु भएपछि पुस्तकको रुपमा प्रकाशन गर्ने योजना प्रस्तुतकर्ता आरोहणको छ। तर, पुस्तकमा जापानी पात्र र परिवेशकै नाटक छापिनेछ। पुस्तकमा तस्बिरहरु चाहिँ नेपाली नाटककै हुनेछन्। आरोहणले यसअघि 'स्काँपाको दाउपेच'लाई 'चतुरेको दाउपेच'का रुपमा टेलिसिरियल बनाएको थियो। त्यस्तै 'अ डल्स हाउस'लाई नेपालीमा 'पुतलीको घर'का रुपमा मञ्चन गरेको थियो। पुस्तकमा भने दुवै नाटकलाई सक्कली परिवेशमै छापेको थियो।
'सत्यको खोजमा आधारित भएकोले रशोमन नाटक सर्वकालीक छ, नेपालमात्र होइन जहाँ पनि यो नाटक सधैं सान्दर्भिक हुन्छ, त्यही भएर यसलाई अहिले देखाउन लागेको हुँ,' सुनीलले तर्क दिए। 'रशोमन'पछि शिल्पी र थियटर भिलेजमा देखाउने गरी दुइटा नाटक निर्देशन गर्ने उनको सोच छ। 'स्त्रि्कप्ट लगभग तयार छन्,' उनले भने, 'केटाहरु तयार छन्, म पनि तयार छु।'

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।