Sunday 16 Chaitra, 2076 | March 29, 2020
Menu

कला

‘फिटकिरी एउटा सस्पेन्स'

(0 votes)
‘फिटकिरी एउटा सस्पेन्स'
काठमाडौं– आफूद्वारा निर्मित फिल्म ‘फिटकिरी'को रिलिज जति नजिकिँदैछ, निर्माता अर्जुन कुमारको ढुकढुकी त्यति नै बढ्दैछ। शुक्रबार रिलिज हुन लागेको फिल्मले दर्शकको मन जित्छ भन्नेमा त उनी विश्वस्त छन्। सिर्फ फिल्मलाई सोचेजस्तो धेरैभन्दा धेरै हलमा चलाउन सकिन्छ कि सकिँदैन भन्नेमा चाहिँ उनको चिन्ता छ।
‘द युगदेखि युगसम्म' र ‘चपली हाइट'पछि अर्जुनले निर्माण गरेको ‘फिटकिरी' तेस्रो फिल्म हो। उनले यस फिल्ममार्फत् रंगकर्मी अनुप बराललाई निर्देशनमा डेब्यु गराएका छन्। सहकार्य गर्नुअघि उनले अनुपसँग ६ महिना संगत गरेका थिए।
‘लामो संगतपछि मैले उहाँलाई अभिनेताको रुपमा एउटा अर्कै फिल्म खेलाउने निर्णय गरेको थिएँ, तर पछि त्यो फिल्म बनेन,' अर्जुनले सुनाए, ‘यो ‘फिटकिरी'को स्त्रि्कप्ट तयार भएपछि टिमको सबैसँग सल्लाह गरी उहाँलाई निर्देशनकै जिम्मा दिने निर्णय भएको हो।'
रंगमञ्चबाट आएकाले अनुपमा कलाकारका अभिनयलाई बु‰ने र सदुपयोग गर्ने क्षमता पाएका छन् अर्जुनले। ‘फिल्मको अभिनय पक्ष परिपक्व देखिनुमा अनुपजीकै योगदान छ,' उनले भने, ‘फिल्मका सानासाना कुरामा पनि मिहेनत गरेका छौं। त्यो दर्शक आफैंले थाहा पाउनेछन्।' 
‘फिटकिरी'लाई नेपाली बजारले धान्नसक्ने बजेटभित्रै तयार पार्ने सोच निर्माता अर्जुनको थियो। यही विषयमा कहिलेकाहीँ निर्देशक अनुपसँग आफ्नो मतभिन्नता पैदा भएको उनी अवगत गराउँछन्। ६० देखि ८० लाख रुपैयाँसम्म राम्रो फिल्म बनाउन सके लगानी उठ्ने उनको बुझाइ छ।
अहिलेसम्म ‘फिटकिरी'को अस्ट्रेलिया, हङकङ, कोरिया र फिनल्यान्डमा बिक्री भइसकेको छ। फिल्मको एक तिहाई लगानी विदेशबाट उठिसकेको दावी अर्जुन गर्छन्। अमेरिका र बेलायतमा फिल्म बिक्री हुन बाँकी छ। 
अर्जुनले ‘फिटकिरी'को निर्माणमा सुमित मैनालीलाई पार्टनर बनाएका छन्। सुमितको सहयोगले आफ्नो बोझ हल्का भएको उनी बताउँछन्। ‘अहिले फिल्मको प्रचारप्रसारमा हामी दुईजना बाँडिएर हिँड्न पाएका छौं, सजिलो भएको छ,' उनले भने।
फिल्म निर्माणमा आउनुअघि अर्जुन गीतसंगीतमा थिए। दस वर्षअघि ‘रमाइलो छ यो साँझ' गीतबाट ख्याति कमाएका उनले ‘चपली हाइट'का लागि कम्पोज गरेको ‘आऊ तिमी' हिट लिस्टमै थियो। अहिले ‘फिटकिरी'मा पनि उनले ‘छातीमा किला' र ‘देउसी' गीत कम्पोज गरेका हुन्।
सौगात मल्ल, दिया मास्के, निश्चल बस्नेत, शान्ति गिरी लगायतको मुख्य भूमिका रहेको ‘फिटकिरी'को पटकथा फिल्म समीक्षक यज्ञसले लेखेका हुन्। फिल्ममा फिटकिरी शब्दसँग कस्तो सम्बन्ध छ? धेरैले अर्जुनसँग यही जिज्ञासा राख्ने गरेका छन्। उनी सबैलाई एउटै जवाफ दिने गर्छन्, ‘फिल्मको सस्पेन्स फिल्म हेरेर थाहा पाउँदा नै राम्रो होला।'