Sunday 16 Chaitra, 2076 | March 29, 2020
Menu

सधैं मिठा हुँदैन बितेका पल

(0 votes)
सधैं मिठा हुँदैन बितेका पल
बितेका पललाई फर्केर हेर्नु भनेको आफूलाई मूल्यांकन गर्नु हो। गल्तीहरुलाई नदोहोर्‍याउने र राम्रा कामलाई निरन्तरता दिने प्रेरणा बितेका पलले दिन्छ।

  • फिल्म:  वितेका पल
  • रेटिङ:  रेटिङ
  • निर्देशक:  सुरज सुब्बा नाल्बो
  • लेखक:  सुरज सुब्बा नाल्बो
  • निर्माता:  राजेश घतानी र क्रिश रिजाल
  • कलाकार:  केकी अधिकारी, अविनाश गुरुङ, बाबु बोगटी आदि
फिल्म समीक्षा: 'बितेका पल'मा निर्देशक, कलाकार र छायाकारले आफ्नो प्रतिभा देखाउन खोजेका हुन्। तर उनीहरुका कमजोरी चाहिँ बढी छरप्रष्ट भएको छ।

निर्देशक सुरज सुब्बा नाल्बोले आफ्नो निर्देशन रहेको छैटौं फिल्म दर्शकमाझ ल्याएका छन्, जसको नामै छ 'बितेका पल'।
दर्जनौं फिल्मका पटकथा लेखेका र ६ वटा फिल्म निर्देशन गरिसकेका सुरजले आफूलाई कति सुधारे, कति बिगारे? यो जवाफ 'बितेका पल'मा पक्कै खोज्न सकिन्छ। निर्देशकको सामर्थ्य उसले परिकल्पना गर्ने क्यान्भास कति फराकिलो र रंगीन छ, त्यसमा निर्भर रहन्छ।
निर्देशकले आफ्नो क्यान्भास जति फराकिलो बनाउन सक्यो, त्यति नै धेरै दर्शक बाँधिने हुन्। फिल्मसँग सम्बन्धित यान्त्रिक ज्ञानमात्र होइन समाज, भूगोल, राजनीति, इतिहास र मनोविज्ञानजस्ता जीवनसँग सम्बन्धित पक्षहरुमा पनि उसको दरिलो पकड हुनुपर्छ। अनि मात्र उसको परिकल्पनामा दर्शक रमाउन सक्छन्।

निर्देशकले यी सबै पक्ष वा तत्त्वहरु आफ्नो फिल्ममा पात्र र घटनाहरुमार्फत् उतार्ने हुन्। 'बितेका पल'मा निर्देशक सुब्बाले पात्रहरु त उभ्याएका छन्। तर, तिनीहरुबाट समाज, भूगोल वा सम्बन्धित मनोविज्ञान पस्किन सकेका छैनन्। जसले गर्दा निर्देशकको परिकल्पनाको आयतन साँघुरो लाग्छ।
फिल्म अँध्यारो हलभित्रको विशाल पर्दामा प्रदर्शन गरिन्छ। यसमा कलाकारको प्रतिभामात्र होइन कमजोरी पनि उजागर हुन्छ। त्यहीभएर कलाकार, निर्देशक र अरु प्राविधिकले फिल्ममा काम गर्ने हो भने आफ्ना कमजोरीलाई हटाउन आवश्यक छ। 'बितेका पल'मा निर्देशक, कलाकार र छायाकारले आफ्नो प्रतिभा देखाउन खोजेका हुन्। तर उनीहरुका कमजोरी चाहिँ बढी छरप्रष्ट भएको छ।
फिल्म भनेको दृश्य माध्यम हो। निर्देशक सुब्बाले 'बितेका पल'मा यो तथ्यलाई आत्मसात गरेको देखिँदैन। फिल्मका धेरैजसो दृश्य कुनै दुई पात्रको भलाकुसारीमै सीमित भएको छ। फिल्ममा घटनाहरुको एरेन्जमेन्टबाट कथानकको विकास देखाउनुपर्छ, संवाद त सकेसम्म कम लेखिनुपर्छ।
कथाको घनत्व बाक्लो बनाउन निर्देशकको परिश्रम पुगेको छैन। कथा खँदिलो नभएकोले पात्रहरु बाटो बिराएका यात्रु भएका छन्। लेखकले बाटो बिराएपछि पात्रहरु बरालिन्छन्। यसर्थ फिल्ममा निर्देशक सुब्बाको लेखन पनि जम्न सकेको छैन।
फिल्मको कथा तीन मुख्य पात्र नुमा (केकी अधिकारी), अभि (अविनाश गुरुङ) र रायन (बाबु बोगटी)को त्रिकोणात्मक द्वन्द्वमा उभिएको छ। सबै पात्र एकअर्कासँग खुसी छैनन्। त्यसो हुनुको कारण पनि खुलाइएको छ। तर, पात्रहरुले भोगेको त्यो 'टेन्सन' हलको पर्दामै सीमित हुन्छ। दर्शकदीर्घासम्म आइपुग्दैन।
पात्रलाई आँसु झार्न लगाइदैमा, कारुणिक संवाद बोल्न दिँदैमा र उदास संगीत बजाइँदैमा दर्शकको संवेदनालाई छुन वा रुवाउन सकिँदैन। पात्रले झेलेका घटना र अनुभवहरुसँग एकाकार गराउँदै लगेमा मात्र दर्शकमा संवेदना जगाउन सकिन्छ। तर, ती घटनाहरु विश्वसनीय हुनैपर्छ।
'बितेका पल'मा नुमाले यति आँसु बगाउँछे, मानौं त्यो दार्जिलिङलाई बगाउन काफी छ। ऊ जतिसुकै रोइकराइ गरे पनि उसको संवेदनाले दर्शकलाई छुँदैन। फिल्महरुमा यसरी नै कृत्रिम आँसु बगाउँदै जाने हो भने केकीले 'आँसुकुमारी' उपनाम पाउने सम्भावना प्रवल छ।
ओभरएक्टिङ कस्तो हुन्छ भन्ने उदाहरण केकीले यसमा दिएकी छन्। उनले आफ्नो उर्जाको फजुल खर्च गरेकी छन् भने अविनाशले चाहिँ उर्जा देखाउनै सकेका छैनन्। कारुणिक दृश्यहरुमा उनको 'एक्सप्रेसन' सपाट छ। अभिनयमै निरन्तरता दिने हो भने उनले आफूलाई परिपक्व बनाउनु त पर्छ नै आफ्नो 'फिजिकलिटी'लाई पनि बदल्नुपर्छ। अभिनयको मामिलामा बाबु बोगटी तुलनात्मक रुपले संयमित देखिन्छन्।
फिल्ममा 'क्यारेक्टराइजेसन'को अभ्यास गरिएको छैन। अभिलाई दार्जिलिङको लोकप्रिय कलाकार बताइन्छ। तर, उसलाई विनियोजन गरिएका दृश्यहरुबाट यो पुष्टि हुँदैन। दार्जिलिङ र ऊबीचको सामाजिक सम्बन्ध नकेलाइएकोले यस्तो भएको हो।
पात्र कि चेप्टो (फ्ल्याट) हुन्छ कि गोलाकार (राउन्ड)। गोलाकार पात्र नै रोचक मानिन्छ। किनभने यो बहुआयामिक हुन्छ। क्यारेक्टराइजेसन वा चरित्र चित्रणको अभावले नुमा, अभि, रायनजस्ता पात्र गोलाकार हुन सकेका छैनन्।
'बितेका पल'का धेरैजसो दृश्य संवादप्रधान हुनुको कारण निर्देशक तथा लेखक सुब्बाले फिल्मको 'ड्रामाटिक स्ट्रक्चर'लाई बुझ्न नसक्नु हो। संसारभर फिल्मकर्मीहरुले विभिन्न खाले 'ड्रामाटिक स्ट्रक्चर'मा आधारित भई फिल्म बनाएका हुन्छन्। कसैकसैले कुनै पनि सिद्धान्त पालन नगरेका हुनसक्छन्। तैपनि उनीहरुका फिल्ममा एउटा 'स्ट्रक्चर' वा दृश्यहरुको 'कोरियोग्राफी' भने पाइन्छ।
निर्देशक सुब्बासँग पात्रहरु छन्। नाटकीय घुम्तीहरु छन्। तर, ती घुम्तीको सिर्जना कसरी भयो? विश्वास दिलाउनलाई दृश्यहरुको पर्याप्त विनियोजन गरिएको छैन। फिल्ममा कथामात्र भएर पुग्दैन, त्यसलाई प्रमाणित पनि गरिनुपर्छ। दर्शकलाई सूचना मात्र दिएर पुग्दैन विश्वास पनि दिलाउन सक्नुपर्छ भन्ने त चलन नै छ।
'बितेका पल'को कथा सन् २००६ को भनेर उल्लेख गरिएको छ। तर उक्त समयलाई बुझाउने वा सम्झना गराउने दृश्य, प्रप्स वा साउन्ड भने फिल्ममा छैनन्। बरु फिल्मका पात्रले सन् २००६ मा उपलब्ध नभइसकेका डिजाइनका स्मार्टफोन प्रयोग गरेका छन्।
फिल्मको छायांकन कलात्मक छैन। छायांकन टोलीले 'सट साइज' र 'एंगल' छनोटमा रचनात्मकता देखाउन सकेका छैनन्। फ्रेमिङ गर्दा फोटोग्राफीको आधारभूत सिद्धान्त 'गोल्डेन कम्पोजिसन'लाई पूरै बेवास्ता गरिएको छ। फिल्ममा 'डच एंगल' अर्थात् 'छड्के खिचाइ'को हालीमुहाली छ।
सामान्यतया 'डच एंगल'लाई पात्रको मानसिक असहजपन बुझाउन प्रयोग गरिन्छ। केही दृश्यहरुमा यो अर्थपूर्ण पनि लाग्छ। तर, सामान्य दृश्य पनि यही एंगलमा खिचिएको छ। यसखाले यान्त्रिक दुरुपयोगले विम्ब होइन मानसिक यातनाको निर्माण भएको छ।
फिल्मको अधिकांश छायांकन दार्जिलिङमा गरिएको हो। तर, दार्जिलिङको जीवन यसमा गायब छ। निर्देशक सुब्बाले दार्जिलिङलाई सुटिङ लोकेसनमात्र ठान्दा यस्तो भएको हो। जबकि, दार्जिलिङ सहर पनि आफैंमा एउटा पात्र हुनसक्थ्यो।
निर्देशक सुरज सुब्बा र उनको टोलीले अब्बल दर्जाको कला देखाउन सकेका भए 'बितेका पल' अवश्य मिठा पल हुन्थ्यो। तर निर्देशकले 'क्रियटिभ स्ट्रेन्थ' बढाउने भिटामिन नखाएकाले यो हुन पुगेको छ, फगत तीता पल!

दीपेन्द्र लामा

२०५७ सालबाट पत्रकारिता सुरु गरेका दीपेन्द्र लामा नागरिक दैनिकमा स्थापना कालदेखि आवद्ध छन्। उनी नेपाल चलचित्र समीक्षक समाजका उपाध्यक्ष हुन्।

फेसबुक: http://facebook.com/dipendralama