Friday 23 Jestha, 2077 | June 04, 2020
Menu

दर्शकले पाउनसक्छ मोक्ष

  • आइतबार २६ माघ, २०७०
  • दीपेन्द्र लामा
  • DISQUS_COMMENTS
(0 votes)
दर्शकले पाउनसक्छ मोक्ष
निर्देशकको अभिव्यक्तिको माध्यम हो फिल्म। तर, विडम्बना धेरैजसो फिल्ममा निर्देशकको अभिव्यक्ति ओठमै सीमित हुन्छ। त्यस्तो अवस्थामा फिल्मले दर्शकसँग कि त संवाद नै गर्दैन, गरे पनि एकतर्फी मात्र। 'मोक्ष' फिल्मले चाहिँ दर्शकसँग दुईतर्फी संवाद गर्छ। किनभने निर्देशक प्रवीण श्रेष्ठले 'मोक्ष'लाई ओठको मात्र होइन आत्मा र हृदयदेखिकै अभिव्यक्ति साबित गरिदिएका छन्।
  • फिल्म:  मोक्ष
  • रेटिङ:  रेटिङ
  • निर्देशक:  प्रवीण श्रेष्ठ
  • लेखक:  प्रज्ञान थापा र राजन कठेत
  • निर्माता:  सुनिल मानन्धर
  • कलाकार:  कोशिस क्षेत्री, बेनिशा हमाल, विक्रम सिंह, मनीष गोदार, दीपेश भण्डारी, वसन्त भट्ट, शेखर चापागाईं, दुर्गा बराइली, रश्मी भट्ट, सपना श्रेष्ठ, विशाल ढुंगाना आदि

दृश्य–माध्यम भएकोले फिल्ममा देखाएर बुझाउने हो, भनेर होइन। फिल्मको यो 'ड्रामाटिक एक्सपोजिसन' विधि अपनाउन निर्देशक प्रवीण सफल भएका छन्। उनले कुनै भाषण वा नारावाजी नगरीकनै अपांगता भएकाहरुको कष्टप्रद जीवनप्रति सहानुभूति जगाइदिएका छन्। फिल्म विधाको शक्तिको पूर्ण उपभोग गर्न उनी चुकेका छैनन्। 
निर्देशकको जीवनमा आंशिक रुपले आधारित भनिएको फिल्म 'मोक्ष'मा संगीतलाई करियर बनाउन चाहने चार युवाको कथा छ। मुख्य पात्र कोशिस एउटा झडपमा परेपछि बाँकी जीवन ह्विलचियरमा बिताउन बाध्य हुन्छ। एउटा घटनाले उसको जीवनमा कस्तो परिवर्तन ल्याइदिन्छ? फिल्मले खोतल्छ। 
मानवीय सम्बन्धहरुको न्यायपूर्ण विवेचना गरिएको छ 'मोक्ष'मा। यी सम्बन्धहरु फिल्मको कथालाई गतिशील बनाउने 'लुब्रिकेन्ट' ठहरिएका छन्। फिल्मभरका पात्रहरुको आपसी सम्बन्धलाई छुट्टाछुट्टै केलाउने प्रयास गरिएको छ।
कोशिस (कोशिस क्षेत्री) र उसको बुबा (वसन्त भट्ट)को सम्बन्धको संरचना अत्यन्त मार्मिक र स्वाभाविक छ। बाउछोराबीच द्वन्द्व त छ। त्यसका बावजुद दुवै एकअर्कालाई प्रेम पनि गर्छन्। उनीहरुको द्वन्द्व एउटा उचाइमा पुग्छ, फेरि थचारिन्छ।
कोशिस र स्मृति(बेनिशा हमाल)को प्रेम–सम्बन्ध चलनचल्तीको भन्दा फरक छ। मेलोड्रामा र आदर्शबाट मुक्त उनीहरुको सम्बन्ध यथार्थसँग नजिक लाग्छ। उनीहरु एकअर्कालाई प्रेम गर्छन् तर परिस्थिति र बाध्यताले आफूहरुको सम्बन्धलाई आदर्शवान बनाउँदैनन्।
चार युवाहरु एउटा उदाहरणीय मित्रतामा गाँसिएका छन्। उनीहरु ब्यान्डलाई स्थापित गरेर करियर बनाउने लक्ष्यमा एकजुट छन्। तर, संगीतलाई नै जिन्दगी ठान्ने उनीहरु एउटा घटनापछि विचलित हुन्छन्। र, गुजारा चलाउन 'सपना'बाट ब्युँझिन्छन्।
युवाहरु भावनामा बहकिने स्वभावका हुन्छन्। 'मोक्ष'का सबै मुख्य पात्रहरु युवा छन्। उनीहरुमा जोश बढी होश कम हुन्छ। र, उनीहरुलाई स्मृतिको बुबा(शेखर चापागाईं)ले उड्नअघि हिँड्न सिकाउन खोज्छ। जीवनलाई हृदय होइन दिमागले नियन्त्रण गर्नुपर्छ भन्ने अडान स्मृतिको बुबाको हुन्छ र फिल्ममा उसकै 'मस्यौदा' पारित हुनपुग्छ।
'साइलेन्स' वा मौनतालाई फिल्ममा प्रभावशाली तत्व मानिन्छ। संवादभन्दा संवादहरुबीचको मौनताले बढी संवेदना जगाइरहेको हुन्छ। 'मौनता'मै दर्शकले सास फेर्न 'स्पेस' पाउँछ। 'मोक्ष'मा मौनताको संयोजन सशक्त छ, जसले गर्दा संवेदनाको प्रवाहमा कुनै अवरोध सिर्जना भएको छैन।
धेरैजसो नेपाली फिल्ममा एउटा पात्रको 'कन्फ्लिक्ट' अरु पात्रहरुसँग मात्र भएको देखाइन्छ। अर्थात् 'कन्फ्लिक्ट' एउटामात्र तहको हुन्छ। 'मोक्ष'मा चाहिँ कोशिसले भोग्ने 'कन्फ्लिक्ट' तीन तहमा सिर्जिएको छ। 
उसको पहिलो तहको 'कन्फ्लिक्ट' आफैंसँग छ। आफ्नो शरीर, सोचाइ र भावुकतासँग उसको ठूलो 'कन्फ्लिक्ट' छ। साथीहरु, प्रेमिका र परिवारसँगको उसको 'कन्फ्लिक्ट'लाई दोस्रो तहको मान्न सकिन्छ। उसको तेस्रो तहको 'कन्फ्लिक्ट' चाहिँ समाज र भौतिक वातावरणसँग छ। तीन तहको 'कन्फ्लिक्ट'ले फिल्मको 'ड्रामाटिक स्ट्रक्चर'लाई खँदिलो बनाइदिएको छ।
सांगीतिक विषयसँग जोडिएको फिल्मका गीत–संगीत आनन्ददायी हुने अपेक्षा सबैले गर्छन्। निर्देशक प्रवीणको पृष्ठभूमि संगीत नै भएकोले होला 'मोक्ष'मा यो अपेक्षाले न्याय पाएको छ। गीतहरु मेलोडियसमात्र छैनन्, संवेदनाको 'ग्राफ'अनुसार संगीतको 'प्याटर्न' परिवर्तन गर्दै लगिएको छ। पात्रहरुको 'इमोसनल जर्नी'लाई संगीतले साथ दिएको छ।
अभिनय पक्ष पनि फिल्मको उपलब्धि बनेको छ। चारै कलाकार कोशिस क्षेत्री, विक्रम सिंह, दीपेश भण्डारी र मनीष गोदारले अभिनयमार्फत् आफ्नो चरित्र र आफूलाई स्थापित गरेका छन्। कोशिस नेपाली फिल्मका लागि एक 'सरप्राइज गिफ्ट' भएका छन्। दुर्घटनापछि आफ्नो शरीरमा आएको परिवर्तनलाई उनले अनुहारमा छर्लङ्ग उतारिदिएका छन्।
'मोक्ष'मा 'नन–लिनियर' कथावाचन छनोट गरिएको छ। अकस्मात हिँड्न नसक्ने अवस्थामा पुग्दा कोशिसलाई ठूलो विस्मात हुन्छ। विगतभन्दा बिल्कुल उल्टो स्थितिमा पुग्दा सायद जोकोहीले पुराना दिनसँग आफूलाई तुलना गर्नथाल्छ। यो मनोविज्ञान र फिल्मको 'नन–लिनियर' कथावाचनबीच आत्मीयता झल्किन्छ। 
कोशिस र स्मृतिको अन्तिम भेट, कोशिस र साथीहरुको विछोड अनि कोशिस र बुबाबीचको हातपातवाला दृश्यको निर्माण अत्यन्त परिपक्व छ। ती दृश्यलाई फिल्ममा निकै सुन्दर ढंगमा खिचिएको छ। निर्देशकको प्राविधिक दक्षताले लेखकद्वय प्रज्ञान थापा र राजन कठेतको सिर्जनशीलतालाई उचालिदिएको छ।
फिल्मको अन्त्य पनि परम्परागत छैन। फिल्मको अन्त्य जुन विन्दुमा गरिएको छ, त्यो विन्दुले पात्रहरुको जीवनमा अर्को अध्याय सुरुवात हुने संकेत दिन्छ। त्यसैले फिल्मको 'ओपन इन्डिङ' सुहाएकै छ। फिल्म सकिन्छ तर फिल्ममा उठाइएको मुद्दाको बहस सकिँदैन।
'पहिलो हाफ'का दृश्यहरु नवीन र मौलिक छन्। तर, तिनलाई तुरुन्तै एउटा कथानकमा बाँध्न सकिएको छैन। 'चरित्र स्थापित'गर्नमै फुटेज खेर गएको छ। 'दोस्रो हाफ'मा चाहिँ दृश्यहरु यसरी भौतारिएका छैनन्।
कोशिसले 'खुला आकासमा' गाएपछि पाएको रातारातको लोकप्रियता 'अर्ग्यानिक' देखिएको छैन। ऊ पपुलर भएको बुझाउन जोडिएका दृश्यहरु घिसिपिटी भएर यस्तो देखिएको हुनसक्छ। सायद, फिल्मको कथामा यो प्रसंग नै आवश्यक देखिँदैन।
फिल्ममा लेखक र निर्देशकको 'सेन्स अफ ह्युमर'को भरपूर सदुपयोग भएको छ। कुनै पनि दृश्यमा जबरजस्ती हँसाउन खोजिएको छैन। 'ट्वाइटेल ह्युमर'को संक्रमणबाट फिल्म मुक्त छ। 

एक हुल अभिनेता, दुई लेखक र एक निर्देशकको प्रतिभालाई 'मोक्ष'ले खुलेरै उजागर गरिदिएको छ। यस्तै फिल्म बन्दै गए दर्शकले एकदिन अवश्य मोक्ष प्राप्त गर्नेछन् ।