Thursday 13 Kartik, 2077 | October 29, 2020
Menu

आशा जगाउने 'झोले'

(1 Vote)
आशा जगाउने 'झोले'
हलहरुमा 'झोला' फिल्मले दर्शक रिझाइरहेकै बेला अर्को फिल्म 'झोले' रिलिज भएको छ। नाम सुन्दा यादव भट्टराईको 'झोला' र दीपेन्द्र के खनालको 'झोले' उस्तैउस्तै लाग्छ। तर कथा, पात्रहरु र फिल्ममेकिङको क्राफ्टका आधारमा यी दुई फिल्मबीच आकाश–पातालको अन्तर छ।

  • फिल्म:  झोले
  • रेटिङ:  रेटिङ
  • निर्देशक:  दीपेन्द्र के खनाल
  • लेखक:  शान बस्नेत
  • निर्माता:  टेकेन खड्का
  • कलाकार:  दयाहाङ राई, प्रियंका कार्की, ए गुरुङ, शंकर आचार्य, शिशिर राणा आदि।
विदेश गएर पैसा फलाउन चाहने निम्नमध्यम वर्गीय आकांक्षालाई 'झोले'ले सम्बोधन गर्छ। 'झोला' चाहिँ सय वर्षअघिको नेपालले भोगेको सती प्रथामा आधारित छ। तर, सय वर्षको फरक भए पनि दुवै फिल्म हेर्दा लाग्छ, नेपालीहरु उतिकै संघर्षरत् छन् र संघर्षको स्तरमा पनि वृद्धि भएको छैन।
एउटा झोला बोकेर आफ्नो सपनालाई पछ्याउने युवाहरुको प्रतिनिधित्व 'झोले'मा हर्के (दयाहाङ राई)ले गर्छ। विदेश जाने कागजपत्र ऊसको झोलाभित्र हुन्छ। ती कागजपत्रमै उसको आशा अड्किएको छ। त्यसैले उसलाई आफ्नो झोला प्यारो लाग्नु स्वाभाविक हो।
आफू बन्धक बनेकोमा भन्दा आफ्नो झोला हराएकोमा ऊ आत्तिन्छ। भेटेजति पात्रलाई झोला खोजिदिन आग्रह गर्छ, मानौं झोला हरायो भने उसको जीवन बेकार छ। कथाका संयोगहरु कस्ता छन् भने झोलाले गर्दा नै उसले नानाथरी हन्डर खानुपर्छ।
'प्लुरल प्रोटागोनिस्ट' वा समानान्तर नायक भएको फिल्म हो यो। यसमा हर्के र रिया (प्रियंका कार्की) दुवै प्रोटागोनिस्टका रुपमा परिचालित भएका छन्। दुवैका उद्देश्य, दुवैका समस्या, दुवैका संघर्ष र दुवैले चाल्ने कदम उही हुन्छन्। त्यही भएर उनीहरु 'प्लुरल प्रोटागोनिस्ट' हुन्। नायक–नायिका होइनन्। नेपाली फिल्ममा यस्तो खाले नायकत्व कमै भेटिन्छ।
फिल्मको अन्त्य एक हदसम्म नाटकीय छ। तर, अतिनाटकीय हुनबाट पनि जोगिएको छ। रिया र हर्केको सम्बन्ध जुन उचाइमा चुलिएको थियो, त्यसलाई सुरक्षित अवतरण गराउन निर्देशक खनाल सफल देखिन्छन्। यद्यपि घरभित्र थुनिएका बेला रिया र हर्केको सम्बन्धलाई कसिलो बनाउन रचनात्मक कसरत गर्ने ठाउँ अझै थियो।
लिनियर स्ट्रक्चरमै कथा सम्प्रेषण गर्ने 'झोले'को सबैभन्दा बलियो पक्ष भनेको यसको कथामा झुन्डिएको गह्रुँगो 'टेन्सन' हो। हर्के र रियामात्र होइन भंगेरी डन (ए गुरुङ), अंगुर (शिशिर राणा), इन्स्पेक्टर (शंकर आचार्य)जस्ता पात्रहरु पनि 'टेन्सन'मा गाँजिएका छन्। यस्तो टेन्सनले फिल्म वा साहित्यमा दर्शक र पाठकलाई पकडमा राख्न मद्दत गर्छ। 'झोले'मा पनि त्यही टेन्सनले दर्शकलाई फिल्म हलमै बसिरहन प्रेरित गर्नसक्छ।
फिल्मको कथाको डिजाइनलाई तुलनात्मक रुपमा उपलब्धिमूलक मान्न सकिन्छ। कथालाई पटकथामा विकास गर्ने प्रक्रियामा केही कमजोरी देखिए पनि यसको कथामा ताजापन छ। कथाको अनिकाल भोगिरहेको नेपाली फिल्म क्षेत्रलाई यसले राहत दिएको छ। 
फिल्ममा कलाकार छनोट चित्तबु‰दो छ। सबै कलाकार आफ्ना भूमिकामा सुहाएका छन्। प्रियंकाले नगरवधु रियाको चरित्रलाई मिहेनतका साथ उतारेको महसुस हुन्छ। उनले बोलीचाली र शरीर दुवै भाषालाई पात्रको चरित्रअनुकूल बदलेकी छिन्। दयाहाङ र ए गुरुङको अभिनय पनि सहज लाग्छ।
फिल्मका सिक्वेन्सहरु आकर्षक छन्। तर 'सिक्वेन्स'हरुको जोर्नी बलियो छैन। यसले गर्दा घटनाहरुको आपसी सरोकार प्रष्ट हुन पाएको छैन। जस्तो कि, एउटा चरणमा हर्के र अंगुरबीच हिमचिम हुन्छ। अर्को चरणमा अंगुरको घर जान हर्के तयार हुन्छ। यी दुई चरणलाई जोड्न हर्के अंगुरको घरमा जान किन मञ्जुर भयो भन्ने दरिलो कारण चाहिन्थ्यो।
फिल्ममा एउटा सट वा एउटा फ्रेम पनि अनावश्यक हुनु हुँदैन। 'झोले'मा अंगुर र हर्के मादक पदार्थमा झुमेका कतिपय सटहरु अनावश्यक छन्। सटहरु दोहोरिनाले फिल्मको रिदम बिथोलिएको छ। त्यतिबेला निर्देशक र दृश्य सम्पादकको उपस्थिति नै देखिँदैन। ती सटहरुलाई छाँट्न सकिन्थ्यो। बरु त्यतिको समय दुईबीचको सम्बन्ध बुन्नलाई खर्चिनुपर्थ्यो। यस्तो गल्ती निर्देशक खनाल र पटकथा लेखक शान बस्नेतले 'भिजिलान्ते'मा पनि गरेका थिए।
फिल्मका अधिकांश दृश्य अंगुरको घरभित्र बित्छ। तर अंगुरको घर कस्तो ठाउँमा छ? सुनसान छ कि छैन? घरअगाडिको बाटोमा मान्छेहरु कतिको ओहोरदोहोर गर्छन्? कथाले यी प्रश्नको जवाफ खोज्छ। 
घरका केही 'लङ सट' खिचेर देखाउन सकिएको भए यस्तो प्रश्न उठ्ने थिएन। निर्देशक र क्यामेराम्यानको ध्यान यति सानो तर अनिवार्य पक्षमा किन गएन? अचम्म लाग्छ। यस्तै गल्ती निर्देशक खनालले 'चपली हाइट'मा पनि गरेका थिए। घरलाई कसरी स्थापित गर्ने भन्ने बु‰न हलिउडको कुनै हरर फिल्म हेरे पुग्छ।
पात्रलाई चिनिने भनेको उसको 'एक्सन'ले हो, 'सोच'ले होइन। फिल्ममा हर्के पात्रको 'मनोलग' एक प्रकारको 'ओभर एक्सपोजिसन' लाग्छ। पात्रले के सोच्छ भन्ने कुरा निर्देशकले दृश्यमै उतारेर देखाउन सक्नुपर्छ। 'मनोलग'को सहारा लिनु बहादुरी होइन।
तैपनि तडकभडक खर्च नगरी सन्तोषजनक फिल्म बनाउन सकिन्छ भन्ने उदाहरण 'झोले' हो। थोरै पात्र, सीमित लोकेसन र सानो क्यानभासमा नेपाली फिल्म बनाउनु नै अहिलेको बुद्धिमानी हो भन्नेहरुले यो फिल्म पक्कै रुचाउनेछन्। निर्देशक खनालले 'झोले'लाई लगभग 'चपली हाइट'जस्तै किफायती बनाएका छन्।
एउटा डार्क कमेडी फिल्ममा हुनुपर्ने तत्व यसमा छ। पात्रहरु दुःखमा पर्दा दर्शकलाई हाँस उठ्नसक्छ। कुत्कुताउने संवाद र कलाकारहरुको लयात्मक तालमेलले 'झोले'को कमेडी सन्तुलित बनेको छ। नेपाली फिल्म सुधि्रन खोज्दैछ भन्ने आशा यसले जगाएको छ। निर्देशक खनालको पनि अहिलेसम्मको उत्कृष्ट फिल्म हो यो।
दीपेन्द्र लामा

२०५७ सालबाट पत्रकारिता सुरु गरेका दीपेन्द्र लामा नागरिक दैनिकमा स्थापना कालदेखि आवद्ध छन्। उनी नेपाल चलचित्र समीक्षक समाजका उपाध्यक्ष हुन्।

फेसबुक: http://facebook.com/dipendralama