Thursday 8 Ashwin, 2077 | September 24, 2020
Menu

टर्रो र गुलियो फिटकिरी!

(0 votes)
टर्रो र गुलियो फिटकिरी!
संक्रमणबाट गुज्रिरहेको छ काठमाडौं शहर। यहाँका वायु, ध्वनि, पानी र दूध संक्रमित हुनु ठूलो मुद्दा रहेन। यहाँ त मानवता नै संक्रमणमा गइसकेको छ।
  • फिल्म:  फिटकिरी
  • रेटिङ:  रेटिङ
  • निर्देशक:  अनुप बराल
  • लेखक:  यज्ञश
  • निर्माता:  अर्जुन कुमार, सुमित मैनाली
  • कलाकार:  सौगात मल्ल, दिया मास्के, शान्ति गिरी, निश्चल बस्नेत, अनुप बराल आदि।

त्यसैले शहरलाई संक्रमणबाट मुक्त पार्ने उपाय र साधनहरुको सधैं जयजयगान गरिन्छन्।

अहिले शहरका हलहरुमा संक्रमणनिरोधक अर्थात् एन्टिसेप्टिक अर्थ बोकेको 'फिटकिरी' प्रदर्शन भइरहेको छ। फुटपाथमा बेचिने 'फिटकिरी' मल्टिप्लेक्समा उक्लिएको छ, फिल्मको रुपमा। रंगकर्मी अनुप बराल र समीक्षक यज्ञश क्रमशः निर्देशक र लेखक भएकाले यसलाई नामअनुसार नै फिटकिरी मानिएको थियो। आफ्नो क्षेत्रमा स्थापित नामहरुले तयार पारेको फिल्मले यस क्षेत्रका संक्रमणलाई पखाल्न मद्दत गर्नेछ भन्ने विश्वास धेरैको छ।

एक खतरानक अपहरणकारीलाई प्रहरीले के–कस्ता अनुसन्धान र तिकडम अपनाएर आफ्नो फन्दामा पार्छन्? फिल्म 'फिटकिरी'ले सस्पेन्स थ्रिलर शैलीमा पाना पल्टाउँदै जान्छ। धनका लागि शहरलाई संक्रमित पार्ने एउटा 'किटाणु'को सफाया गर्ने लक्ष्य मुख्य पात्र जीवन (सौगात मल्ल)को हुन्छ। त्यसैले फिल्मको नाम विम्बात्मक मान्न सकिन्छ। भलै फिटकिरी शब्दको ठोस सान्दर्भिकता कथामा अर्कै छ।

नाटक र फिल्म अलगअलग विधा हुन्। दुवैका रचनाविधान र प्रविधिविधान एकअर्कासँग पूरै मिल्दैन। त्यसैले राम्रो नाटक गर्नेले फिल्म पनि राम्रै बनाउँछ भन्ने ग्यारेन्टी हुँदैन। त्यस्तै नाटक गर्नेले फिल्मको काम गर्नै सक्दैन भन्ने पनि होइन।

अनुप बराल फिल्म निर्देशनमा होमिने बित्तिकै यस्ता तर्कवितर्कको उठान शहरका 'बैठक' र 'कचहरी'हरुमा भइसकेको थियो। लगभग २५० को संख्यामा फैलिएका नेपालका तथाकथित अजासु (अति जान्ने सुन्ने) रंगकर्मी, फिल्मकर्मी तथा मिडियाकर्मीलाई 'फिटकिरी'को तीव्र प्रतीक्षा हुनुको कारण यही बहसको छिनोफानो गर्नलाई थियो। उनीहरु 'फिंगर क्रस्ड'कै मुद्रामा थिए।

कुनै नाम चलेका रंगकर्मीले फिल्म निर्देशन गरे भन्दैमा उच्च अपेक्षा राख्न मिल्दैन। नाटक र फिल्मबीच थुप्रै समानता पनि होलान्। तर, गहिराइमा खोतल्ने हो भने दुई विधाबीच उत्तर–दक्षिणको अन्तर भेट्न सकिन्छ। त्यसैगरी नामुद समीक्षकले लेख्दैमा फिल्म स्तरीय हुन्छ भन्ने ग्यारेन्टी हुँदैन। फिल्मको समीक्षा लेख्नु र पटकथा लेख्नु अलगअलग जिम्मेवारी हुन्। फेरि बिर्सनै नहुने कुरा के हो भने, फिल्म भनेको लेखक होइन निर्देशकको माध्यम हो।निर्देशक, कलाकार, छायाँकार, सम्पादक र साउन्ड डिजाइनरसम्म पुग्दा लेखकले दिएको पटकथा सुध्रिन पनि सक्छ, बिग्रिन पनि सक्छ।

रंगमञ्चको अनुभवले निर्देशक अनुप बराललाई ध्वनि, रङ र प्रकाशसँग खेल्न सजिलो भएको होला। 'फिटकिरी'मा यी तीन पक्षको संयोजन परिपक्व र रोमाञ्चक छ। कुनैकुनै ठाउँमा ध्वनिको मिक्सिङ गर्न हतार गरिएको भान पनि हुन्छ। तर, प्रकाश र रङले फिल्मका कथा र पात्रहरुका मनस्थितिलाई उचालेका छन्।

अनुपका नाटकहरुको विशेषता भनेको पोस्ट मोडर्न, कस्मेटिक र ग्लसी देखिनु हो। एउटै पात्रलाई लोकल र ग्लोबल बनाउन सक्नु अनुपको खुबी हो। 'फिटकिरी'मा जीवन (सौगात) र रुपा (दिया मास्के)लाई यस्तै पात्रका रुपमा उभ्याउन खोजिएको छ।

'फिटकिरी'को प्लट खस्रो भए पनि प्याकेजिङ चिल्लो छ। यसमा निर्देशकको 'पेन्टिङ सेन्स' समेत बेलाबेला प्रकट हुन्छ। पात्रहरुलाई दिइएका संवादका लागि लेखक यज्ञश तारिफयोग्य छन्। संवाद यथार्थपरक त छ नै। व्यंग्य र दर्शनको मिश्रणले यो आयामिक पनि सुनिन्छ।

जीवनको भत्किँदै गरेको घर र खण्डित हुँदै गरेको परिवारलाई परिपूरक बनाइएको छ। यो प्रतीकात्मकता प्रशंसनीय छ। धेरैजसो नेपाली फिल्ममा आर्ट डाइरेक्टरको काम खाली ठाउँ भर्ने र भनेको सामान तयार पार्नमै सीमित हुने गर्छ। 'फिटकिरी'मा भने दुई आर्ट डाइरेक्टर हितमान गुरुङ र शिलासा राजभण्डारीको उपस्थिति कलात्मक प्रमाणित भएको छ। फिल्मका प्रत्येक फ्रेमलाई 'आई फ्रेन्ड्ली' बनाउन उनीहरुले 'प्रप्स'लाई 'इन्स्टलेसन आर्ट'कै स्तरमा व्यवस्थित गरेका छन्।

पुरुषोत्तम प्रधानको छायांकन अघिपछिभन्दा संयमित छ। अनावश्यक 'अड एंगल' र चलायमान सट 'शेकी क्याम'बाट यो मुक्त छ। सट साइजहरुमा विविधता पस्किन उनी सफल देखिन्छन्। फ्रेमिङ सन्तुलित छ। क्रेन सटहरु तर्कसंगत छन्।

फिल्ममा जीवनलाई जस्तोसुकै खतरा मोल्नसक्ने प्रहरीको रुपमा चिनाउन खोजिएको छ। आत्महत्या गरेको कुनै अपरिचित पात्रको घरमा उक्लिएको दृश्य राख्नुको कारण सायद उसको यही चरित्रलाई स्थापित गर्न हो। तर, यो दृश्य फिल्मको कथाभित्र सान्दर्भिक छैन।

कथामा चाहिनेभन्दा बढी 'घुम्ती' घुसाइएको छ। एउटा गोप्यताको प्रभाव बलियो हुन नपाउँदै अर्को गोप्यता भंग हुँदै जान्छ। जीवनले एउटा दृश्यमा भन्छ, 'घुमाए...दह्रो घुमाए।' वास्तवमा फिल्मको कथालाई खलपात्र होइन निर्देशक र लेखकले नै दह्रो घुमाएका हुन्।

अनुसन्धानमा खटेको जीवन र भूमिगत रहेको अपहरणकारी दुवैको चरित्र स्थीर छैन। कहिले निकै चलाख लाग्छन् त कहिले निकै मुर्ख। रुपाले सुरेन्द्र(अनुप बराल)लाई पेस्तोल हान्दा गोली पहिल्यै झिकिसकेको दृश्य अत्यन्तै घिसिपिटी छ। अंग्रेजी, हिन्दी र नेपाली थुप्रै फिल्मले थोत्रो बनाइसकेको दृश्य 'क्रियटिभ' भनेर चिनिएका अनुप र यज्ञशले समावेश नगरेको भए हुन्थ्यो।

जीवन र सुरेन्द्रबीचको मुसाबिरालो खेदाइ पनि अलि छाँट्न सकिन्थ्यो। सुरेन्द्रको जुन हविगत हुन्छ, त्यसले पनि त्यस्तो महसुस गराएको हुनसक्छ। फिटकिरीको स्वाद टर्रो हुन्छ। 'चपली हाइट'का निर्माता अर्जुन कुमारले बनाएको 'फिटकिरी'मा चाहिँ टर्रो र मिश्रीको गुलियो स्वाद मिसमास छ। 'फिटकिरी'ले फिल्म विधाका विभिन्न संक्रमणको उपचार गर्ने प्रयास अवश्य गरेको छ। तर, ऊ आफू पनि संक्रमित चाहिँ छ।

 

 

दीपेन्द्र लामा

२०५७ सालबाट पत्रकारिता सुरु गरेका दीपेन्द्र लामा नागरिक दैनिकमा स्थापना कालदेखि आवद्ध छन्। उनी नेपाल चलचित्र समीक्षक समाजका उपाध्यक्ष हुन्।

फेसबुक: http://facebook.com/dipendralama