2 Kartik, 2076 | October 19, 2019
Menu

कला

गामबेसीका गीतकार

(0 votes)
गामबेसीका गीतकार
काठमाडौं- आइतबार राति काठमाडौंको याक एन्ड यती होटलमा जब गायक रामकृष्ण ढकाल आफ्नो तेस्रो एकल साँझमा हार्मोनियम बजाउँदै गीत गाइरहेका थिए, त्यही बेला गीतकार क्षेत्रप्रताप अधिकारी अस्पतालमा मृत्युसँग संघर्ष गर्दै थिए। ढकालले सुगम संगीतका श्रोताहरुसँगै नयाँ वर्षलाई स्वागत गरे तर त्यो अवसर अधिकारीले पाएनन्।
नेपाली सुगम संगीतलाई लोकप्रिय बनाउन योगदान दिएका एक गीतकार अधिकारीको ७१ वर्षको उमेरमा आइतबार राति निधन भयो।
नारायण गोपालले २०३५–३६ सालतिर गाएको 'म त लालीगुराँस भएछु' अधिकारीले रचेका मध्ये सबैभन्दा लोकप्रिय गीत हो। नेपाली संगीत र मनोविज्ञानमा लालीगुराँसको विम्ब स्थापित गर्न यो गीतको ठूलो भूमिका रहेको नकार्न सकिँदैन। दिव्य खालिङद्वारा संगीतबद्ध उक्त रचनाबाटै अधिकारीको गीतिकारिता चर्चामा आएको थियो।
नारायण गोपाललाई भनेर अधिकारीले अर्को गीत रचेका थिए, 'जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ, सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ।' तर, नारायण गोपालको निधन भएर गीत त्यत्तिकै बसेको थियो। गायिका अरुणा लामा उनको दोस्रो रोजाइमा परिन्। गीत रेकर्ड गर्नै नपाई अरुणा पनि बितिन्। त्यसपछि गीत रामकृष्ण ढकालको भाग्यमा पर्यो ।
ढकालले २०५६ सालमा निस्किएको आफ्नो एल्बम 'आरोह'मा उक्त गीत समावेश गरेका छन्। रोचक प्रसंग जोडिएको उक्त गीत अधिकारीको जीवनसँगै मेल खाने ठान्छन् गायक ढकाल। ढकालले अधिकारी बितेको समाचार आइतबार कार्यक्रम सकिएपछि आधा रातमा मात्र थाहा पाए। आइतबार उक्त गीत गाउन नपाएकामा उनलाई पछुतो लागेको छ। भन्छन्, 'नत्र क्षेत्र दाइलाई एउटा अविस्मरणीय सम्मान हुन्थ्यो।'
१९९९ मा तनहुँको मिर्लुङ गाउँस्थित हावापानी भन्ज्याङमा जन्मिएका अधिकारी 'गामबेसीका कवि' भनेर पनि चिनिन्थे। २०२४ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कविता प्रतियोगितामा उपविजेता बनेका उनको पहिलो कृति 'रहर लागेर' सोही वर्ष छापिएको थियो। २०३४ सालमा उनले 'गामबेसीका गीत' नामक संग्रह पनि निकाले।
साझा यातायातमा २०१९ सालतिर कन्डक्टर भएर काम थालेका उनी २०४४ सालमा शिक्षा तथा संस्कृति सहायकमन्त्री भए। २०४३ सालको चुनावमा तनहुँबाट निर्वाचित उनले त्यसअघि साझा प्रकाशनको अध्यक्ष भएर ११ वर्ष काम गरेका थिए।
बच्चु कैलाशको गाएको 'तिमीले त होइन' गीतसमेत रचेका अधिकारीलाई शनिबार साँझ हृदयघात भएपछि गंगालाल हृदय केन्द्रमा भर्ना गरिएको थियो। चिकित्सकहरुले उनलाई आइतबार राति ८:१४ मा मृत घोषित गरेका थिए। उनको शव अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान धोबीघाटस्थित नेपाल कलेज अफ म्यानेजमेन्टमा राखिनेछ। कलेजका संस्थापक थिए उनी।
योगेश्वर अमात्यले गाएको पपगीत 'क्या बोर भयो' बाट युवा पुस्तामाझ परिचित गीतकार अधिकारीले २०६५ साल मंसिरमा आफ्नो शरीर धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दान गरेका थिए। त्यसैले मंगलबार श्रद्धाञ्जली सभा सकिएपछि उनको शवलाई धरान लगिने परिवार स्रोतले जनाएको छ। उनकै इच्छाअनुसार छोराहरुले कुनै धार्मिक कर्मकाण्ड नगर्ने निर्णय लिएका छन्। अधिकारीका जेठा छोरा अजर नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व गोलकिपर हुन् भने कान्छा छोरा अमन पूर्व फुटबलर तथा सञ्चारकर्मी।

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।