Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

कला

छोरी करिश्मा आमा करिश्मा

  • २२ चैत्र, २०७०
  • सन्तोष रिमाल
  • DISQUS_COMMENTS
(1 Vote)
छोरी करिश्मा आमा करिश्मा
जीवनको २१ वर्ष अभिनेत्री करिश्मा मानन्धर आमाको अभिभावकत्वमा रहिन्। २१ वर्षदेखि छोरी कवितालाई अभिभावकत्व प्रदान गरिरहेकी छन्। आफू हुर्किएको २१ वर्ष र छोरी हुर्काएको २१ वर्षबीच करिश्मा आकाश–पाताल फरक पाउँछिन्।
'म जस्तोमा पनि एड्जस्ट गर्थे, किनभने परिस्थिति त्यस्तै थियो। कवितालाई कुनै कुरासँग सम्झौता गरेर मजस्तो 'समझदार बच्चा' बन्नुपरेन,' उनी आफ्नो र छोरीको बाल्यकाल तुलना गर्छिन्।
उनी सानै छँदा बाबु बिते। एक्ली आमाले निकै संघर्ष गरेर करिश्माका दिदी–बहिनीलाई हुर्काइन्। कविता जन्मिँदा करिश्मा सफल हिरोइन थिइन्, बाबु विनोद मानन्धर नामी व्यापारिक घरानाका थिए। आफ्नी आमाको बाल्यकाल कवितालाई कथाजस्तो लाग्थ्यो, सुन्दा आँखा रसाए पनि व्यहोर्न नपरेको।  
करिश्मा ललितपुरको सामान्य परिवारमा जन्मिइन्। आर्थिक अभाव सामना गर्दै। त्योभन्दा ठूलो, बाबुको अभाव सामना गर्दै। बाबु बितेपछि मामाघरमा बिताएको क्षण उनलाई अलिअलि हेक्का छ। बहिनीसँग भेट्दा उनीहरू मामाघरमा बिताएको बाल्यकाल सम्झेर खुब रमाइलो मान्छन्। उनीहरूलाई सबैभन्दा सुन्दर क्षण त्यही लाग्छ। 'त्यो विकट गाउँमा धेरै चिजको अभाव थियो, तर त्यसले जीवनको सौन्दर्य घटाएन। लग्जरी नै अविस्मरणीय र रमाइलो हुन्छ भन्ने मलाई लाग्दैन,' करिश्मा भन्छिन्।
उनले बानेश्वरको रत्न राज्यलक्ष्मी स्कुलमा पढिन्। उनको पढाइप्रति चिन्ता गर्ने कोही भएन। पतिको निधनपछि परिवारसँग छुट्टिएर बसेकी आमालाई छोरीको पढाइभन्दा गुजाराको चिन्ताले बढी पिरोल्थ्यो। छोरीहरूले समयमा खान पाए/नपाएको बाहेक उनकी आमाको अर्को चिन्ता हुन्थ्यो, बाटो काट्दा होस गर्छन् कि गर्दैनन्।
करिश्मालाई पढाइभन्दा स्कुलमा आयोजना हुने सांस्कृतिक कार्यक्रमले आकर्षित गर्थ्यो। यसो गर, यसो नगर भन्ने कोही थिएन। जे भने पनि पत्याउने आमाको आँखा छल्दै उनी नाचगानमा तिखारिइन्। आठ कक्षा पढ्दापढ्दै फिल्म खेल्न पाइन्। त्यही दिनदेखि औपचारिक पढाइ गुमाइन्। हिरोइन भएको छोटो समयमै फिल्म निर्माता विनोदसँग विवाह गरेर गसिप बन्नबाट जोगिइन्।
बिहे गरेर गएको घरमा उनलाई कुनै कुराको कमी भएन। गर्भवती भएको थाहा पाएपछि लन्डन बस्ने नन्दहरूले गर्भावस्थाको हेरचाहसम्बन्धी पुस्तक पठाइदिए। के खाने, के नखाने, के गर्ने, के नगर्ने विज्ञहरूको सुझावअनुसार हुने भयो। करिश्माको हेरचाहमा सारा खटिन्थे। सुविधासम्पन्न वातावरणमा उनले छोरी जन्माइन्।
आमाले एक्लै दुईवटा बच्चा हुर्काए पनि करिश्माले भने एक्ली छोरीलाई पूरा समय दिन सकिनन्। नातिनी हुर्काउने जिम्मा आमाकै काँधमा छाडेर उनी सुटिङमा खटिन थालिन्। राति अबेर सुटिङ सकेर सिधै माइत जान्थिन्। छोरीलाई आफूसँगै सुताउँथिन्। बिहान घर गएर परिवारसँग भेट्थिन्। फेरि सुटिङमा निस्कन्थिन्।
'छोरी पाँच वर्ष नहुन्जेल मलाई साह्रै गाह्रो भयो। मैले उसलाई पर्याप्त समय दिन सकिनँ,' उनी भन्छिन्, 'छोरी अस्पतालमा हुँदा म काममा काठमाडौंबाहिर जानुपर्थ्यो। यस्तो बेला स्टे्रस त हुन्थ्यो तर आमा र पतिले सहयोग गर्दा काममा अवरोध पुग्दैनथ्यो।'
आफ्नो व्यस्त र अस्थिर जीवनशैलीका कारण छोरीले धेरै स्कुल चहार्नुपरेको ठान्छिन् करिश्मा। उनलाई यसले फाइदै पुगेजस्तो लाग्छ। 'थरीथरीको अनुभवले पनि पढाइले जस्तै ज्ञान नै बढाउँछ नि, हैन?' आफूले पनि पढेर भन्दा परेर धेरै सिकेको उनी बताउँछिन्।
मिक्की स्कुल र सेन्ट जेभियर्समा पढेपछि छोरीलाई करिश्माले आफूसँगै अमेरिका लगिन्। कविता आठ कक्षा पुगेपछि करिश्मालाई नेपाल फर्किन मन लाग्यो, सँगै ल्याइन्। जुन किसिमले अमेरिकामा कविताको 'ग्रोथ' भइरहेको थियो, त्यो करिश्मालाई चित्त बुझिरहेको थिएन।
छोरीलाई ९ र १० कक्षा शुभतारा स्कुलमा पढाइन्। आठ कक्षामै 'बच्चा कसरी हुर्काउने' भन्ने शिक्षा दिने अमेरिकी स्कुलबाट नेपाली स्कुलमा पढ्न आउँदा छोरीलाई सहज नभएको चाल पाइन् करिश्माले। 'उसलाई यता एड्जस्ट हुन गाह्रो पर्‍यो। ऊ ९ कक्षामा पढ्ने भए पनि १० कक्षाका विद्यार्थीसँग विचार मिल्ने देखेर उनीहरूसँग बस्ने व्यवस्था मिलाएँ,' यतिबेलासम्म करिश्माले बुझिसकेकी थिइन्– कम्तीमा स्कुलसम्मको अध्ययन स्वदेशमै पूरा गराउनुपर्ने रहेछ।
कवितालाई भने फेरिएको जीवनशैली 'जर्क' लागिरहेको थियो। उनी होस्टलको बाथरुममा गएर करिश्मालाई फोन गर्थिन्। र, आफ्ना असहजताको बेलिविस्तार लगाउँछिन्। देशकै सुविधासम्पन्नमा गनिने स्कुलमा समेत कविता धेरैतिर खोट देख्थिन्।
कक्षा कोठा वातानुकूलित थिएन। आकाशमा बादल मडारिएको देखेपछि करिश्मा न्यानो लुगा र तातो खानेकुरा बोकेर छोरीको होस्टल जान्थिन्। कवितालाई भने यतिले पुग्दैनथ्यो। घरको कुकुरलाई सँगै नलगे न जाडो हुन्थ्यो न खाना रुच्थ्यो।
अनुशासनमा राख्ने स्कुलको नियम उनलाई दर्दनाक लाग्थ्यो। 'एसएलसीमा यति प्रतिशत अंक ल्याउनुपर्छ' भन्दै स्कुलले पढाइमा लदाउने प्रवृत्ति त उनलाई अनौठोमात्र होइन साह्रै बोझिलो लाग्यो।
'यो एसएलसीको यत्रो त्रास किन?' कविता बेलाबखत आमालाई प्रश्न गर्थिन्।
'मैले के भनेर उसलाई सम्झाउने, आफूसँग त एसएलसीको जाँच दिएको अनुभव नै छैन। तैपनि यो रेगुलर जाँचजस्तै हो भन्ने ठानेर नर्भस नभईकन देऊ भन्थेँ,' एसएलसी दिएको छैन भन्दै करिश्माले विद्यार्थीलाई त्रस्त तुल्याउने परीक्षा पद्दतिको विरोध गरिन्।
उनले छोरीलाई यति अंक ल्याउनैपर्छ भनेर कहिल्यै दबाब दिइनन्। पास गरे बैंकक घुमाउने 'टि्रट' सुनाएर हौसलामात्र दिइन्। 'पास हुनेबित्तिकै आफ्नो वचन पूरा गरेँ। ऊसँगको त्यो यात्रा अविस्मरणीयमा पर्छ,' करिश्मा भन्छिन्। त्यसअघि छोरीसँग नायगरा फल्स घुम्दा उनलाई लागेको थियो, 'यो धर्तीको सबैभन्दा प्यारो मान्छेसँग सबैभन्दा सुन्दर ठाउँमा छु।'
काठमाडौंमा ए लेभल पढ्दै गर्दा कविताले अमेरिकाका साथी मिस गर्न थालिन्। उतै पढ्ने इच्छा गरिन्। त्यो बुझेपछि करिश्माले तुरुन्तै त्यसको व्यवस्था मिलाइन्। 'उसको यो साथीहरूसँग रमाउने बेला हो। रोक्नु उचित होइन भनेर पठाएँ,' छोरीको इच्छामा अंकुश लगाउन उनले जानेकी छैनन्। आफ्नी आमाले दिएको स्वतन्त्रता करिश्मालाई साह्रै प्यारो छ। त्यसैले छोरीको स्वतन्त्रता खोस्ने पक्षमा छैनन्। 'म कवितालाई आफ्नो उद्देश्यको बच्चा बनाउन चाहन्न, उसकै विवेकले, उसैले चाहेजस्तो बनोस्,' उनी भन्छिन्।
छोरी समाजको आदर्श होस् भन्ने कामना भने उनी सधैं गर्छिन्। आफ्नी आमाले जस्तो संस्कार सिकाइन्, कश्मिाले छोरीलाई त्यही संस्कार हुबहु दिइन्। 'आमाले दिएको दुई चिजचाहिँ मैले उसलाई दिइनँ। गाली र पिटाइ,' पिटेर र हप्काएर बच्चालाई असल बनाउन सकिन्छ भन्नेमा उनलाई कुनै विश्वास छैन।
बिहान उठ्नेबित्तिकै करिश्मा ‰यालबाट आमाको घर चिहाउँछिन्। आमालाई सन्चै देखेपछि स्काइपमा छोरीको प्रतीक्षा गर्छिन्। दुवैबाट आफूले दिएको भन्दा बढी माया पाएको महसुस गर्छिन्। 'आमा र छोरी दुवैले मलाई पो सम्झाउँछन्। उनीहरूसँग आफ्नो लागि कुनै  गुनासो हुँदैन, मेरो लागि माया र परामर्शमात्र हुन्छ,' आमा र छोरीको भूमिका आफूलाई फापेको बताउँदै उनी आफ्नो जीवनलाई 'सुपरहिट' दाबी गर्छिन्।

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।