22 Chaitra, 2076 | April 04, 2020
Menu

लम्बिँदैछ रुघाखोकी

(0 votes)
लम्बिँदैछ रुघाखोकी
काठमाडौं-’रुघाखोकी औषधि खाए ७ दिन, नखाए एक सातामा निको हुन्छ' भन्ने बहुप्रचलित भनाइ गलत साबित भएको छ। सामान्य मानिने र सातादिनमै निको हुने रुघाखोकीले अचेल हप्तौंसम्म दुःख दिन्छ।
निको भएको केही दिनमा फेरि बल्भि्कएर घरिघरि हाच्छिउँ गर्दै हिँड्नुपर्छ। कतिलाई त ओछ्यानै पार्छ।

यसको मतलब रोगसँग लड्ने मान्छेको क्षमता कमजोर हुँदै गएको हो कि भाइरस आफैं बलियो हुँदै गएको?

सरुवा रोग विशेषज्ञहरू भाइरस बलियो हुँदै गएकाले नै रुघाखोकी लम्बिएको बताउँछन्। चिकित्सकीय भाषामा बुझाउनुपर्दा उनीहरू यसो भन्छन्, ‘बदलिँदो मौसम र बढ्दो वातावरणीय प्रदूषणसँगै भाइरसले आफ्नो प्राकृतिक रूप परिवर्तन गरेकाले सामान्य ठानिएको रुघाखोकीले पनि महिनौं थला पार्न सक्छ।'

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. मानसकुमार बनर्जीका अनुसार कडा प्रकृतिको मानिने एच१एन१ प्रजातिका भाइरससमेत सामान्य भाइरससरह समुदायमा फैलिएको छ। रुघाखोकी जटिल हुनुको कारण यो पनि एउटा हो। ‘ठूलो असर नपार्ने भएकाले पहिले रुघाखोकीमा डाक्टरहरूको चासो कम थियो,' उनले नागरिकसँग भने, ‘अहिले सावधानी नअपनाए यही भाइरसले धेरै दिनसम्म असर देखाउन थालेको छ, भाइरसकै कारण मृत्युदर पनि बढ्न थालेको छ।'

टिचिङ अस्पतालका वरिष्ठ फिजिसियन डा. जगदीशप्रसाद अग्रवालले ४/५ दिनमै निको हुने रुघाखोकी ७/१० दिनसम्म लम्बिन थालेको बताए। रोगप्रतिरोध क्षमता कमजोर हुनेहरूमा त यो अझ धेरै दिन लम्बिएको अनुभव उनले सुनाए। समान्यतया इन्फ्लुएन्जा, कोरोना, रेस्पेरिटीजस्ता भाइरसले मौसमी रुघाखोकी गराउँछन्।

‘पहिले रुघाखोकी भनेपछि सिटामोल औषधि, तातो र झोलिलो खानेकुरा खाएर आराम गर्न सल्लाह दिन्थ्यौं, अहिले धेरैलाई एन्टिबायोटिक्स दिँदा पनि हप्तौं निको हुँदैन,' डा. बनर्जीले भने।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासैनी रुघाखोकी भनेर लापरबाही गर्नेहरू, वृद्ध, बालबालिका, गर्भवती, मधुमेह, एचआइभी र मिर्गौला प्रत्यारोपण गरेकाहरू बढी सचेत हुनुपर्ने समय आएको बताउँछन्। ‘प्रतिरोध क्षमता कमजोर हुँदा त भाइरसले जटिल समस्या नै ल्याउने गरेको छ,' उनले थपे।

स्वाइनफ्लु भनिने एच१एन१ बाट मात्रै सन् २०१४ मा नेपालमा चारजनाको ज्यान गइसकेको छ। ‘तीमध्ये धेरैले विशेष ख्याल पुर्या'उन नसकेको देखिन्छ,' उनले भने, ‘रुघाखोकी मात्रै भनेर लापरबाही गर्नुभएन।' हालसम्म १० जनामा एन१एन१ पुष्टि भएकोमा थप एकजना नर्भिक अस्पतालको भेन्टिलेटरमा छन्। यसबाहेक भाइरसको प्रकृति किटान नगरी रुघाखोकीको लक्षणका आधारमा मात्र उपचार भइरहेकाहरूको कुनै लेखाजोखा छैन।

चिकित्सकहरूका अनुसार मौसमी रुघाखोकीको संक्रमणले निमोनिया गराएर औसत ५ प्रतिशतको ज्यान लिने गरेको छ। मानव जीवनमै चुनौती दिनेगरी करोडौंको ज्यान लिने महामारी यस्तै भाइरसले नै गराएका हुन्। सन् १९१८ मा झन्डै एक करोडको ज्यान लिएको स्पेनिस फ्लु, १९५७ मा ४० लाखभन्दा बढीको ज्यान लिएको एसियन फ्लु, १९६८ मा ५० लाखको ज्यान लिएको हङकङ फ्लु र पछिल्लोपटक सन् २००९ मा देखिएको बर्डफ्लु तथा एच१एन१ एउटै जातिका भाइरस हुन्।

समयसँगै भाइरसले आफ्नो स्वभाव र स्वरूप परिवर्तन गर्ने भएकाले नेपालमा पनि यस्तै परिवर्तन भएको हुनसक्ने विज्ञहरूको भनाइ छ। ‘भाइरस कसरी परिवर्तन हुँदैछ भन्ने थाहा पाउन यसको बानी र प्रकृतिलाई निरन्तर निगरानीमा राख्नुपर्छ,' डा. बनर्जीले भने, ‘हामीकहाँ यस्तो अध्ययन कम छ, अहिले रुघाखोकी लम्ब्याउने भाइरस पुरानै हो कि नयाँ भन्नेसम्म अध्ययन भएको छैन।' नेपालमा प्रयोगशाला भए पनि परीक्षण गर्ने जनशक्ति अभावमा भाइरसको प्रकृति परिवर्तन भए/नभएको बृहत अध्ययन हुन नसकेको उनले बताए।

डा. मरासैनी भने एच१एन१ पुष्टि भएका १० मध्ये चारजनाको ज्यान जानुले भाइरसको स्वरूप परिवर्तन भएको संकेत मिल्ने औंल्याउँछन्। ‘त्यसैले यसमा बढी सचेत हुनुपर्ने अवस्था आएको छ,' उनले भने, ‘रुघाखोकी लाग्दा निच मारेर बस्नुपर्ने अवस्था छैन, लामो समय निको नभए राम्ररी जचाउनैपर्छ।'

भाइरसको प्रकृति र रोगअनुसार मृत्युदर फरक हुन्छ। बर्डफ्लुले अन्य देशमा रोग लागेकामध्ये ६० प्रतिशतको मृत्यु गरायो। इन्डोनेसियामा रोग लागेकामध्ये ८० प्रतिशतको ज्यान लियो। यस आधारमा भाइरस यस्तै हुन्छ भनेर ढुक्क बस्न नमिल्ने डा. बनर्जी बताउँछन्। सन् २००९ मा ०.१ प्रतिशत मृत्युदर भएको एच१एन१ ले सन् २०१२/१३ मा भारत आइपुग्दा स्वरुप परिवर्तन गरिसकेको थियो। त्यतिबेला यसबाट हुने मृत्युदर पहिलेभन्दा बढी थियो। अहिले नेपालमा देखिएको एच१एन१ भाइरस पनि ‘संवेदनशील' भएको चिकित्सकहरूले बताएका छन्। 

कुन भाइरसले कुन उमेर समूहमा आक्रमण गर्छ, कुन क्षेत्रमा बढी देखिन्छ र कुन समयमा स्वरुप फेर्छ भन्ने यसको अध्ययनबाट मात्र थाहा हुन्छ। एन्फ्लुएन्जा–ए भाइरस सुरुमा स्पेनिस फ्लुका रूपमा आउँदा यसले युवाको ज्यान लिएको थियो। प्रतिरोध शक्ति कमजोर भएका, वृद्ध, बालबालिका र गर्भवतीमा भने खासै असर पारेन। जबकि अन्य प्रजातिका भाइरसको असर ठिक उल्टो देखिएको छ। 

प्रदूषण पनि कारण
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका विशेषज्ञ डा. जितेन्द्रमान श्रेष्ठका अनुसार वातावरण प्रदूषण र धुलो–धुवाँले पनि रुघाखोकी लम्ब्याएको हो।

‘वातावरण परिवर्तन भएपछि भाइरसले पनि आफूलाई त्यसैअनुसार परिवर्तन गर्न थाल्छ,' उनले भने, ‘यसले रोगको प्रकृति नै फेरिन्छ।' अहिले राजधानीको बढ्दो प्रदूषण र धुलो–धुवाँको प्रकोपबीच खोकी, एलर्जी, रुघा लम्बिनुको कारण यही भएको उनले बताए।

मौसमी रुघाखोकीका रूपमा देखिने यस्ता भाइरसले सुरुमा माथिल्लो श्वासप्रश्वास प्रणालीमा संक्रमण गर्छ। विस्तारै श्वासप्रश्वास प्रणालीको तल्लो भाग फोक्सोमा असर गर्न थाल्छ र निमोनिया गराएर ज्यानै लिनसक्छ। समयमा पहिचान र व्यवस्थापन नगरे रोग जटिल हुँदै जान्छ। 

संसारमा स्वरुप परिवर्तन गरिरहने भाइरसको विशेष उपचार छैन। सुरुमा केही औषधि बने पनि विस्तारै भाइरसले स्वरुप परिवर्तन गरेपछि ती निष्प्रभावी भएका थिए। दोस्रो पुस्तामा टाँमी फ्लु नामको औषधि आएको थियो। यसले भाइरस किटान भइसकेको र उच्च जोखिमको समूहमा सुरुमै खाँदा फैलिनबाट रोकिएको पाइएको छ।

‘स्वाइन हैन सिजनल फ्लु'

तीन वर्षअघि नै सिजनल फ्लु (मौसमी रुघाखोकी) मा परिणत भइसकेको एच१एन१लाई ‘स्वाइन फ्लु' भन्न नमिल्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका इपिडिमियोलोजिस्ट डा. जितेन्द्रमान श्रेष्ठ बताउँछन्। ‘स्वाइन फ्लु भन्न सुँगुरबाट सिधै मान्छेमा सर्ने र मान्छेबाट मान्छेमा नसर्ने भाइरस हुनुपर्छ,' उनले भने, ‘अहिले एउटा मान्छेबाट अर्कोमा पनि सरिरहेको छ।'
सन् २००९ मा पहिलोपटक देखिएको एन१एन१ प्रजातिको भाइरस सुँगुरमा पनि देखिएकाले त्यसैबाट सरेको आशंकामा स्वाइनफ्लु भन्न थालिएको थियो। ‘तर यो संसारमा धेरैपटक महामारी गराइसकेको ‘इन्फ्लुएन्जा टाइप १' को नयाँ प्रजाति पुष्टि भएको छ,' डा. श्रेष्ठले भने, ‘तत्कालै स्वाइन फ्लु हैन भनिएको थियो, तर सुरुमा त्यही भनिएकाले कसैले सच्याएनन्।'
महिला कामदार खाडी पुग्नुमा कर्मचारी दोषी

महिला कामदार खाडी पुग्नुमा कर्मचारी दोषी

काठमाडौं-नेपाली महिला कामदारमाथि अमानवीय व्यवहार बढेका कारण दुई वर्षदेखि खाडीमा महिला रोजगारी प्रतिबन्धित गरिए पनि सरकारी कर्मचारीकै सहयोगमा धेरै महिला त्यता पुगेको व्यवसायीले आरोप लगाएका छन्।

सिन्दुरमा रङ्गियो थिमी (फोटो फिचर)

सिन्दुरमा रङ्गियो थिमी (फोटो फिचर)

मध्यपुर थिमी नगरपालिका क्षेत्रका बासिन्दाले मंगलबार बिहान हर्षोल्लासका साथ सिन्दुरजात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन्। एक अर्कालाई रङ लगाउँदै जात्रालु अगाडि बढ्दा थिमी सहर सिन्दुरमा रङगिएको छ।

धार्मिक यात्रामा ज्ञानेन्द्र शाह

धार्मिक यात्रामा ज्ञानेन्द्र शाह

धरान– धार्मिक यात्राको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार धरान आइपुगेका छन्। सिमराबाट समर्थकहरूका साथ आएका उनलाई स्वागत गर्न उनका शुभचिन्तकहरू फूलमाला लिएर सडक किनारमा उभिएका थिए।

बागमती स्नान कार्यक्रम,यसरी नुहाउँदैछन् मुख्य सचिव

बागमती स्नान कार्यक्रम,यसरी नुहाउँदैछन् मुख्य सचिव

काठमाडौ-प्रदूषणले मृत भइसकेको बागमती नदी ब्युँताउने प्रयासमा लागेका मुख्य सचिव लीलामणि पौडेलसहितका उच्च अधिकारी सोमबार बिहान गुह्येश्वरी घाटमा नुहाउँदै छन्। त्यही बेला प्रधानमन्त्री सुशील कोइराला बागमती सफाइ अभियानमा समर्थन जनाउँदै...

डढेलोका कारण बास छाड्दै जनावर

डढेलोका कारण बास छाड्दै जनावर

रौतहट – गर्मीको सुरुवातसँगै डढेलोको प्रकोप देखिन थालेको छ। पश्चिमा तातो हावासँगै फैलँदो डढेलोले जंगली बोटविरुवा मात्र नभई जनावरहरुसमेत प्रभावित भएका छन्। जंगली जनावरहरु डढेलोबाट जोगिन वस्ती आसपास भट्किन थालेका...

अन्तर्राष्ट्रिय अवार्ड जित्‍ने केशाको जीवनकथा

अन्तर्राष्ट्रिय अवार्ड जित्‍ने केशाको जीवनकथा

काठमाडौं- केशा परियार (केशाकुमारी दमिनी) को संघर्षको कथा सुन्दा यस्तो लाग्छ, मानौं उनी मुक्तिनाथदेखि कालीगण्डकीमा बग्दै आएको एउटा ढुंगा हुन्, जो कालीगंगा फलेवासमुनि आइपुग्दा शालिग्राम बनेर निस्किइन्।

लागुऔषध प्रयोगकर्ता दोब्बर

लागुऔषध प्रयोगकर्ता दोब्बर

काठमाडौं-नेपालमा ६ वर्षभित्र कडा प्रकृतिको लागुऔषध प्रयोगकर्ता ९८ प्रतिशतले बढेको खुलेको छ। केन्द्रीय तथ्यांक विभागले गरेको अध्ययनमा यस्तो तथ्य देखिएको हो। केन्द्रीय तथ्यांक विभागको अध्ययनअनुसार नेपालमा ९१ हजार ५ सय ३४...

भारतीयको रेकर्ड तोड्दै गिनिजमा सफल भए कृष्ण

भारतीयको रेकर्ड तोड्दै गिनिजमा सफल भए कृष्ण

काठमाडौं – कुनै पनि शब्दलाई उल्टोबाट तीब्र गतिमा उच्चारण गर्दै नेपाली युवा कृष्ण पाण्डेले गिनिज वर्ल्ड रेकर्ड कायम गरेका छन्। देवदह ५, रुपन्देहीका पाण्डेले एक मिनेटमा ३६ शब्दलाई उल्टोबाट उच्चारण...