3 Ashwin, 2077 | September 19, 2020
Menu

गृहमन्त्रीको 'चाकडी' मोह

(0 votes)
बामदेव गौतम बामदेव गौतम
काठमाडौं- गृहमन्त्री वामदेव गौतमले यही चैत १२ गते हल्चोकस्थित सशस्त्र प्रहरी बल प्रधान कार्यालय निरीक्षणमा जाँदा 'चेन अफ कमान्ड' नछाड्न निर्देशन दिएका थिए। भनेका थिए, 'चाकडी गरेर अगाडि जान खोज्नु हुन्न, समस्या भए कमान्डरमार्फत आओस्।'

उनै गृहमन्त्री दस दिनपछि धुलिखेल पुगेर भिन्न रूपमा प्रस्तुत भए। उनले महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश खरेल आफूलाई भेट्न मन्त्रीक्वार्टर र सिंहदरबार नआएको भन्दै सार्वजनिक कार्यक्रममै आलोचना गरे। खरेलले नभेट्नुको कारण खोज्दै उनले भने, 'मलाई भेट्दा स्वाभिमान गिर्छ भन्ने ठानेका छन्।'
चेन अफ कमान्डअनुसार आपतकालीन वा गम्भीर अवस्थाबाहेक नीति–निर्माण गर्ने मन्त्रालयको नेतृत्व सम्हालेका व्यक्तिसँग जिल्ला प्रहरी प्रमुखको औपचारिक सम्पर्क बन्न सक्दैन।
चेन अफ कमान्डप्रति गम्भीर गृहमन्त्रीलाई जिल्ला प्रहरी प्रमुख भेट्न नआएकामा किन यत्रो रिस?
पूर्व गृहसचिव श्यामप्रसाद मैनाली जिम्मेवारीअनुसार विभागीय मन्त्रीकहाँ जानैपर्ने अवस्थाबाहेक गृहमन्त्रीसँग ठिक्क सम्बन्ध राख्न चाहनु एसएसपी खरेलको राम्रो निर्णय भएको बताउँछन्।
'तोकिएको जिम्मेवारी पूरा भएको छ कि छैन हेर्नेभन्दा मन्त्रीहरूलाई आफ्नो घर धाइरहेको नै मन पर्छ,' उनले आइतबार नागरिकसँग भने, 'नयाँ मन्त्री आउनासाथ व्यक्तिगत रूपमा भेट्नैपर्र्ने संस्कार गलत हो।'
नेपाल प्रहरीका पूर्व एआइजी नवराज ढकालले चेन अफ कमान्ड पालना गर्ने हो भने जिल्ला प्रहरी प्रमुख र गृहमन्त्रीबीच सिधा सम्पर्क आवश्यक नरहेको बताए। 'प्रायः सबै तहका प्रहरी अधिकारी नेताकहाँ धाउँदा फलानोचाहिँ किन आएन भन्ने लागेको हुनसक्छ, यो ऐन–नियमभन्दा संस्कारको विषय हो,' उनले भने, 'पहिल्यैदेखि यस्तै संस्कार विकास भयो, जो सहजै हट्दैन।'
प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०४९ को व्यवस्था पनि गौतमले चाहेजस्तो छैन। गृहमन्त्रीले कुनै जिल्लाको प्रहरी प्रमुखसँग औपचारिक जानकारी लिनुपरे टेलिफोनमा या बोलाएर बुझ्नसक्ने व्यावहारिक पाटो भए पनि गृहसचिवमार्फत मात्रै गृहमन्त्रीले जानकारी लिनसक्ने कानुनी व्यवस्था छ।
संगठन सदस्यको हैसियतले जिल्लाको शान्ति सुरक्षा वा अन्य कुनै विषयमा गृहमन्त्री आफैंले खोजेको अवस्थामा जिल्ला प्रहरी प्रमुखले जानकारी दिनसक्छन्। यसका लागि आफूभन्दा माथिल्लो कार्यालय प्रमुखको स्वीकृति अनिवार्य हुन्छ। 
प्रहरी नियमावली २०१२ को दफा १३ ले प्रहरी कर्मचारीलाई ऐनले दिएभन्दा बढी अधिकार वा अख्तियार प्रयोग गर्न निषेध गरेको छ। प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०४९ अनुसार कुनै जिल्ला प्रहरी प्रमुखको सिधै गृहमन्त्रीसँग सम्पर्क हुनु चेन अफ कमान्डविपरीत हुन्छ।
ऐन र नियमावलीले प्रहरीभित्रको चेन अफ कमान्डमा जिल्ला प्रमुख, अञ्चल, क्षेत्र र प्रधान कार्यालय हुँदै मन्त्रालयसम्म सम्पर्क स्थापित गर्ने व्यवस्था छ। मन्त्रालयमा गृहसचिव जिम्मेवार अधिकारी हुन्। उनीमार्फत नै गृहमन्त्रीले आवश्यक जानकारी लिनसक्ने कानुनी प्रावधान छ।
सोही ऐनको दफा १६ अनुसार जुनसुकै प्रहरी अधिकृतले कर्तव्यको सिलसिलामा पाएको खबर प्रमुख जिल्ला अधिकारीसमक्ष पेस गर्नुपर्ने प्रावधान छ। प्रहरी नियमावलीअनुसार कुनै पनि प्रहरी कार्यालय र त्यसका प्रमुख सिधै गृह मन्त्रालयको नेतृत्वअन्तर्गत पर्दैनन्। नियमावलीले सबै प्रहरी कार्यालय प्रहरी प्रधान कार्यालयको नियन्त्रण तथा निर्देशनमा रहने व्यवस्था गरेको छ। 
नियमावलीको दफा ३२ अनुसार प्रहरी प्रधान कार्यालय र त्यस मातहतका कार्यालयको नियन्त्रण र रेखदेखको अधिकार प्रहरी महानिरीक्षकको हो। शान्ति–सुव्यवस्था कायम राख्ने, मातहत कार्यालयबाट अपराधसम्बन्धी अवस्थाको प्रतिवेदन लिने र प्रहरी–प्रशासनका सबै कामकाजमा सरकारलाई सल्लाह दिने कानुनी अधिकारसमेत नियमावलीले महानिरीक्षकलाई दिएको छ।
प्रहरी नियमावलीअनुसार महानगरीय प्रहरी परिसर काठमाडौंको रेखदेख र नियन्त्रणको जिम्मा महानगरीय प्रहरी आयुक्त कार्यालयको प्रमुखलाई तोकिएको छ।
काठमाडौंका प्रहरी प्रमुख महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुखप्रति जिम्मेवार हुन्छ। सांगठनिक विषयमा जानकारी वा ब्रिफिङ गर्नु परे उसले आयुक्त कार्यालयबाटै गर्नुपर्छ। 
संगठनात्मक संरचनाअनुसार गृहमन्त्रीले गृहसचिवमार्फत काम गराउनुपर्ने मैनाली बताउँछन्। जिल्लाको प्रहरी प्रमुख प्रजिअको मातहत रहने भए पनि मन्त्रीले सिडिओलाई नगनी प्रहरी प्रमुखलाई प्राथमिकता दिने संस्कार रहेको बताउँदै उनले भने, ‘सबै काम सचिवमार्फत हुनुपर्ने हो तर उसको हैसियत पिए बराबर पनि हुन्न। अलि सक्षम सचिव पर्योउ र केही सझाव दिन थाल्यो भने २–४ दिनमै उसको सरुवा भइहाल्छ।'
दैलो धाउने संस्कार
संगठनका भुक्तभोगी भने मन्त्रीको इच्छाअनुसार प्रहरी अधिकृत उनको क्वार्टर वा कार्यालयमा व्यक्तिगत भेटघाटका लागि धाउनुलाई 'चाकडी'का रूपमा परिभाषित गर्छन्।
नीतिबाहिरबाट व्यक्तिगत चाहना पूरा गर्न शक्तिकेन्द्रको दैलो चहार्ने पञ्चायतकालीन संस्कार हो। त्यो बेला एकाबिहानै दैलोमा पुग्नेको संख्या सीमित र गोप्य हुन्थ्यो। २०४६ को राजनीतिक परिर्वतनसँगै सत्ताका केन्द्र छरिएपछि चहार्नुपर्ने दैलो पनि धेरै भए। २०५२ मा प्रहरी संगठनको प्रमुखलाई आफूअनुकूल बनाउने प्रवृत्ति हावी भएपछि संगठनका अधिकारी दैलोप्रति बढी भर पर्न थालेको पाइन्छ।
प्रहरी प्रमुखका आकांक्षीदेखी प्रहरी जवानसम्मलाई दैलो धाउन बाध्य बनाउने प्रवृत्ति वामदेवकै पहिलो कार्यकालबाट सुरु भएको हो। कानुन टेकेर प्रहरी महानिरीक्षक नियुक्त भएका अच्युतकृष्ण खरेललाई हटाएर ध्रुवबहादुर प्रधानलाई प्रहरी प्रमुख नियुक्त गर्ने गौतमको निर्णयले नीतिभन्दा नेताको भरमा वृत्तिविकासको अभ्यास बढेको मान्ने धेरै छन्।
'ठाडो राजनीतिक हस्तक्षेपपछि संगठनका प्रमुख कमजोर हुँदा सम्झौतावादी भए,' नाम उल्लेख गर्न नचाहने एक वरिष्ठ प्रहरी अधिकारीले भने, 'लाभको काम गराउन संगठनका सदस्य कालिजको सुप थर्मसमै बोकेर नेताको दैलो चहार्दाको परिणाम हो यो।'
प्रमुख नै नेताको दैलो धाएको देखेपछि तल्ला तहकाले सिको गर्दै सरुवा, बढुवा र वृत्ति विकासमा लाभ लिए। विस्तारै नेताको घर धाएर फाइदा लिनेको दबदबा हुन थाल्यो। दैलो चहार्ने पुरस्कृत भए, चेन अफ कमान्डमा बस्नेचाहिँ किनारा लाग्दै गए।
मैनालीको अनुभवमा सुरक्षाको जिम्मा लिएर बसेका अधिकारीले जिम्मेवारी पूरा गरे–नगरेको भन्दा आदेश पालना भएको छ–छैन भनेर मूल्यांकन गर्ने संस्कार मौलाएको छ। विभागीय मन्त्रीमा समेत जिम्मेवारीका आधारमा भन्दा सेवामा धाएको आधारमा मूल्यांकन गर्ने प्रवृत्ति रहेको उनले बताए। 'कुनै मन्त्री जिल्ला आउँदा प्लेनबाट झर्नेबित्तिकै प्रहरी प्रमुख र सिडिओ स्वागतमा आए कि आएनन्, अगाडि–पछाडि एस्कर्टिङ छ कि छैन भन्ने आधारमा मूल्यांकन गर्ने परिपाटी छ,' उनले भने। 
व्यक्ति हेरेर निर्णय गर्न थालेपछि संगठनमा हस्तक्षेप बढेको विश्लेषण पूर्व एआइजी ढकालको छ। यसमा दलका नेताको भन्दा संगठनकै सदस्यको बढी दोष रहेको उनी बताउँछन्। संगठनका सदस्यले विश्वास गर्ने उच्च तहका प्रहरी अधिकारी नै आफूअनुकूल निर्णयका लागि नेताको दैलो धाएको देखेपछि तल्लो तहकाले सिको गरेको उनको विश्लेषण छ।


किन हुन्न सुधार?

रवीन्द्रप्रताप शाह प्रहरी प्रमुख भएपछि राजनीतिक नेतृत्वमा पुगेको केही अधिकार संगठनमा तानिएको प्रहरी अधिकारी बताउँछन्। सर्वोच्च अदालतको आदेशअनुसार प्रहरी भर्ना र बढुवामा लोकसेवाको संलग्नतामा सामान्य सिद्धान्त लागू भयो। 
क्षमताअनुसार जिम्मेवारीका लागि पनि नेताको दैलो धाउने वातावरण समाप्त गर्न सरुवाका मापदण्ड बनाइए। प्रस्तावित प्रहरी नियमावलीको मस्यौदाले धेरै हदसम्म प्रहरी संगठनलाई नेतामुखीभन्दा नीतिमुखी बनाउने प्रयास गरेको छ। तर, अहिले त्यो प्रयास पनि गौतमकै टेबलमा पुगेर अड्किएको छ। 
ढकालको मतअनुसार संगठनको नीति निर्माण तहको जिम्मेवारीमा पुगेका प्रहरी अधिकारीले आफूअनुकूल दल विशेषको कार्ड प्रयोग नगर्ने र प्रधानमन्त्री, उपप्रधानमन्त्री, गृहमन्त्रीलगायतकाले चेन अफ कमान्डमा रहेका व्यक्तिबाहेकसँग सिधा सम्पर्क नराख्ने व्यक्तिगत संहिता कायम गर्ने हो भने समस्या समाधान हुन्छ।
'एकैपटक परिर्वतन सम्भव छैन,' उनले भने, 'परिर्वतनको प्रारम्भ माथिल्लो तहका अधिकारीबाट सुरु गर्ने हो भने असम्भव पनि छैन।'
मैनालीको मतअनुसार दलका नेतामा आवश्यकताभन्दा बढी सम्मान र चाकडी खोज्ने बानीका कारण घर–घर धाउने र रिझाउने संस्कारले बढावा पाएको हो। यसको अन्त्य गर्ने हो भने सेवाभन्दा नीतिगत रूपमा कामको मूल्यांकन पद्धति बसाल्नुपर्ने उनले बताए। 
'पुरानो घटना वामदेवजीको मष्तिस्कबाट नहटेको देखियो,' मैनालीले वर्तमान गृहमन्त्रीको कार्यशैली विश्लेषण गर्दै भने, 'बागमतीमा धेरै पानी बगिसक्यो, समयअनुसार आफूलाई बदल्नु उहाँको हितमा हुन्छ।'
महिला कामदार खाडी पुग्नुमा कर्मचारी दोषी

महिला कामदार खाडी पुग्नुमा कर्मचारी दोषी

काठमाडौं-नेपाली महिला कामदारमाथि अमानवीय व्यवहार बढेका कारण दुई वर्षदेखि खाडीमा महिला रोजगारी प्रतिबन्धित गरिए पनि सरकारी कर्मचारीकै सहयोगमा धेरै महिला त्यता पुगेको व्यवसायीले आरोप लगाएका छन्।

सिन्दुरमा रङ्गियो थिमी (फोटो फिचर)

सिन्दुरमा रङ्गियो थिमी (फोटो फिचर)

मध्यपुर थिमी नगरपालिका क्षेत्रका बासिन्दाले मंगलबार बिहान हर्षोल्लासका साथ सिन्दुरजात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन्। एक अर्कालाई रङ लगाउँदै जात्रालु अगाडि बढ्दा थिमी सहर सिन्दुरमा रङगिएको छ।

धार्मिक यात्रामा ज्ञानेन्द्र शाह

धार्मिक यात्रामा ज्ञानेन्द्र शाह

धरान– धार्मिक यात्राको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार धरान आइपुगेका छन्। सिमराबाट समर्थकहरूका साथ आएका उनलाई स्वागत गर्न उनका शुभचिन्तकहरू फूलमाला लिएर सडक किनारमा उभिएका थिए।

बागमती स्नान कार्यक्रम,यसरी नुहाउँदैछन् मुख्य सचिव

बागमती स्नान कार्यक्रम,यसरी नुहाउँदैछन् मुख्य सचिव

काठमाडौ-प्रदूषणले मृत भइसकेको बागमती नदी ब्युँताउने प्रयासमा लागेका मुख्य सचिव लीलामणि पौडेलसहितका उच्च अधिकारी सोमबार बिहान गुह्येश्वरी घाटमा नुहाउँदै छन्। त्यही बेला प्रधानमन्त्री सुशील कोइराला बागमती सफाइ अभियानमा समर्थन जनाउँदै...

डढेलोका कारण बास छाड्दै जनावर

डढेलोका कारण बास छाड्दै जनावर

रौतहट – गर्मीको सुरुवातसँगै डढेलोको प्रकोप देखिन थालेको छ। पश्चिमा तातो हावासँगै फैलँदो डढेलोले जंगली बोटविरुवा मात्र नभई जनावरहरुसमेत प्रभावित भएका छन्। जंगली जनावरहरु डढेलोबाट जोगिन वस्ती आसपास भट्किन थालेका...

अन्तर्राष्ट्रिय अवार्ड जित्‍ने केशाको जीवनकथा

अन्तर्राष्ट्रिय अवार्ड जित्‍ने केशाको जीवनकथा

काठमाडौं- केशा परियार (केशाकुमारी दमिनी) को संघर्षको कथा सुन्दा यस्तो लाग्छ, मानौं उनी मुक्तिनाथदेखि कालीगण्डकीमा बग्दै आएको एउटा ढुंगा हुन्, जो कालीगंगा फलेवासमुनि आइपुग्दा शालिग्राम बनेर निस्किइन्।

लागुऔषध प्रयोगकर्ता दोब्बर

लागुऔषध प्रयोगकर्ता दोब्बर

काठमाडौं-नेपालमा ६ वर्षभित्र कडा प्रकृतिको लागुऔषध प्रयोगकर्ता ९८ प्रतिशतले बढेको खुलेको छ। केन्द्रीय तथ्यांक विभागले गरेको अध्ययनमा यस्तो तथ्य देखिएको हो। केन्द्रीय तथ्यांक विभागको अध्ययनअनुसार नेपालमा ९१ हजार ५ सय ३४...

भारतीयको रेकर्ड तोड्दै गिनिजमा सफल भए कृष्ण

भारतीयको रेकर्ड तोड्दै गिनिजमा सफल भए कृष्ण

काठमाडौं – कुनै पनि शब्दलाई उल्टोबाट तीब्र गतिमा उच्चारण गर्दै नेपाली युवा कृष्ण पाण्डेले गिनिज वर्ल्ड रेकर्ड कायम गरेका छन्। देवदह ५, रुपन्देहीका पाण्डेले एक मिनेटमा ३६ शब्दलाई उल्टोबाट उच्चारण...