22 Chaitra, 2076 | April 04, 2020
Menu

शिविरका नाममा पाठेघर व्यापारः अनुदान असुल्न मनपरी अप्रेसन

(0 votes)
क्षेत्रीय अस्पतालमा दोस्रोपटक अप्रेसन गरेपछि धारापानीकी ओइली बिक छोरीको सहाराले हिँड्दै। तस्बिरः कलेन्द्र सेजुवाल क्षेत्रीय अस्पतालमा दोस्रोपटक अप्रेसन गरेपछि धारापानीकी ओइली बिक छोरीको सहाराले हिँड्दै। तस्बिरः कलेन्द्र सेजुवाल
पाठेघर खस्ने समस्या तीन चरणले बढ्छ, तेस्रो चरणमा मात्र अप्रेसन गरेर फालिन्छ, शिविर चलाउनेहरु भने जुनसुकै चरणका महिलालाई फकाई–फुल्याई अप्रेसन गरिदिन्छन् ग्रामीण महिलाको स्वास्थ्य अवस्था सुधार्ने कार्यक्रम मिलोमतोमा मनपरी ठेक्का लगाइन्छ र शिविर आएकालाई इमोसनल ब्ल्याकमेलिङ गरेर पैसा सोहोरिन्छ

अप्रेसन गराएका अधिकांशको समस्या झन् बल्झन्छ, त्यसपछिको सबै उपचार जिम्मा लिनुपर्ने शिविर आयोजक भने फेरि वास्तै गर्दैन अनुदान रकमको लोभमा शिविर आएका अन्य बिरामीको नामसमेत पाठेघर अप्रेसनमा भराइएर रकम पचाइन्छ


सुर्खेत– रामघाटकी लीलावती चुनाराले पाठेघर खसेका महिलाका लागि मेहलकुना अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर बसेको खबर केही दिनअघि माइकिङबाट सुनेकी थिइन्। तर, कहिलेकाहीँ तल्लोपेट दुख्ने समस्या झेलिरहेकी उनलाई त्यसको कुनै पर्वाह भएन। चुपचाप घरमै बसिरहिन्। छिमेकका महिला हुत्तिँदै मेहलकुना जान थालेपछि भने लीलावतीले आफूलाई रोक्न सकिनन्।
शिविरको अन्तिम दिन २०६९ चैत २३ गते उनी ‘कतै पेट दुखाइ कम गर्ने औषधि पाइहालिन्छ कि’ भन्दै शिविर चलिरहेको मेहलकुना अस्पताल पुगिन्।
‘के हुन्छ ?’ नाम दर्ता गर्नेबित्तिकै एक महिलाले रुखो प्रश्न गरिन्।
‘तल्लो पेट,’ लीलावतीले जवाफ फर्काइन्।
ती महिला र अरू केही व्यक्तिले दुई÷तीन मिनेट सामान्य स्वास्थ्य परीक्षण गरे। उनलाई भनियो, ‘तपाईंको पिसाबथैली र पाठेघरमा समस्या छ, अपे्रसन गर्नुपर्छ।’
लीलावतीले ‘अप्रेसन त नगर्ने’ भनिन्।
उनलाई फकाउन थालियो। ‘यो शिविर तपाईंजस्ता गरिबका लागि मौका हो,’ उनीहरूले भने, ‘अन्यत्र जानुभयो भने चार÷पाँच लाख खर्च हुन्छ, यहाँ त उल्टै हजार रुपैयाँ पाउनुहुन्छ।’
उनीहरूले अझ फुक्र्याउँदै भने, ‘तपाईं भाग्यवानी हुनुहुँदो रहेछ, हामी आजै फर्किने, अलिकति ढिलो आउनुभएको भए छुट्नुहुन्थ्यो।’
उनलाई अप्रेसन गर्दा केही समस्या नहुने भन्दै आश्वस्त पारियो। श्रीमानलाई समेत थाहा नदिएर हिँडेकी ४० वर्षीया लीलावतीले त्यसपछि दायाँबायाँ सोच्नै भ्याइनन्। उनलाई सिधै अप्रेसन कक्षभित्र लगियो।
मेहलकुनाकी कल्पना विक पनि अघिल्लो दिन त्यस्तै परिबन्धमा परिन्। घरअगाडि निःशुल्क स्वास्थ्य शिविर चलेपछि श्रीमानले सल्लाह दिए, ‘सधैं पेट दुख्यो भन्छेस्, जँचाउन जा न त।’
उनले दर्ता किताबमा नाम के लेखाएकी थिइन्, पाठेघरको अप्रेसन गर्ने भन्दै लगिहालियो। उनी ‘अप्रेसन नगर्ने’ भनेर बाहिर निस्किन खोजिन्। तर, प्रयास सफल भएन। ‘मैले तीनचोटिसम्म बाहिर आउन खोजेँ, उनीहरूले छोपेर भित्र लगिहाले,’ ३२ वर्षीया कल्पनाले भनिन्, ‘अन्तिममा श्रीमानलाई समेत फकाएर समात्न लगाए।’
यी दुई प्रतिनिधि पात्र हुन्। सुष्मा कोइराला मेमोरियल ट्रस्टले २०६९ चैत १८ देखि २३ गतेसम्म पूर्वी सुर्खेतको मेहलकुना अस्पतालमा पाठेघर खसेका महिलाका लागि गरेको स्वास्थ्य शिविरमा यस्ता थुप्रै महिलाको ‘जबर्जस्ती’ पाठेघर निकालेको पाइएको छ। मापदण्डविपरीत जथाभावी अप्रेसन गरिँदा अधिकांश महिला झन् ठूलो पीडा बोकेर बाँचिरहेका छन्। कतिपयको फेरि अप्रेसन गर्नुपर्ने अवस्था छ।
नेपाल सरकारको आर्थिक सहयोगमा ट्रस्टले ६ दिनमा २ सय ९७ जनाको अप्रेसन गरेको थियो। विश्व स्वास्थ्य संगठनले एक चिकित्सकले दैनिक बढीमा पाँच शल्यक्रिया गर्न सक्ने मापदण्ड तय गरेको छ। मेहलकुनामा भने दुई डाक्टरले दैनिक सरदर ५० जनाको अप्रेसन गरेका थिए। ट्रस्टले नेपालगन्जमा कार्यरत डा. जितेन्द्र महासेठ र उनका छोरा विनोदलाई करारमा लगेको थियो।
गाउँका सोझासिधा सद्धे महिलाको अप्रेसन गर्नुका पछाडि त्यसबापत पाइने सरकारी अनुदान प्रमुख कारण हो। सरकारले पाठेघर खस्ने समस्याको उपचार तथा शल्यक्रियासम्बन्धी कार्यविधि निर्देशिका (२०६५) अनुसार सुर्खेतलगायत पहाडी जिल्लाका शिविरमा एक अप्रेसनबापत १६ हजार रुपैयाँ अनुदान दिन्छ। बिरामी छनोट (स्क्रिनिङ) बापत छुट्टै रकम दिइन्छ। यस हिसाबले ट्रस्टले मेहलकुनाबाट पाठेघर निकालेबापत करिब ५० लाख रुपैयाँ कमाएको देखिन्छ।
‘मोटो रकम आउने भएपछि अप्रेसन गर्नु नपर्ने महिलाको पनि पाठेघर झिकिएको छ,’ शिविरलाई नजिकबाट नियालेका मेहलकुनाका सामाजिक कार्यकर्ता प्रकाश घर्ती भन्छन्, ‘कतिपयको अप्रेसन नगरे पनि गरेको भनेर संख्या बढाइएको छ।’
अप्रेसनपछि ३ लाख स्वाहा !
रामघाटकी लीलावतीलाई शिविर आयोजकले ‘यहीँ अप्रेसन गर्दा चार÷पाँच लाख रुपैयाँ बच्ने’ प्रलोभन दिएका थिए। तर, भइदियो उल्टो। अप्रेसनपछि थलिएकी उनको उपचारमा करिब तीन लाख रुपैयाँ खर्च भयो। श्रीमान वीरबहादुरले अप्रेसनलगत्तै अत्यधिक रक्तश्राव भई गम्भीर बिरामी भएपछि उपचारका लागि कोहलपुरस्थित मेडिकल कलेज लगे। ‘पाठेघरको अप्रेसनपछि फेरि अर्को अप्रेसन गरेर १५ दिनसम्म अस्पतालमा भर्ना ग¥यौं,’ उपचारका बिल र कागजपत्र देखाउँदै उनले भने, ‘अझसम्म राम्ररी सन्चो भएको छैन।’
डाक्टरले १६ हजारको लोभमा अनाहक अप्रेसन गरिदिँदा आफ्नो धनसम्पत्ति सखाप भएको चुनारा परिवारको पीडा छ। तीन वर्षअघि वैदेशिक रोजगारमा मलेसिया गएका जेठो छोरा दुर्गबहादुरको कमाइ पनि लीलावतीको उपचारमा खर्च भयो। ‘बिरामी भएको थाहा पाउनेबित्तिकै साथीभाइबाट ऋण काढेर २ लाख पठायो,’ उनले भने, ‘त्यसपछि पनि पटक–पटक गर्दै थप एक लाख पठाइसक्यो।’
पेट दुख्ने रोगको औषधि माग्न गएकी श्रीमतीलाई अप्रेसन गरी ‘आधा ज्यान’ पारेपछि वीरबहादुर आक्रोशित छन्। उपचारकै क्रममा उनले डा. जितेन्द्रलाई भेटी प्रशासनमा उजुरी हाल्ने धम्की नदिएका होइनन्। तर, उनले अप्रेसन बिग्रेपछि हुने उपचारको सबै खर्च शिविर आयोजकले तिर्छ भनेर वीरबहादुरलाई आश्वस्त पारे। ‘अहिले केही बिसेक भए पनि अप्रेसन गर्नुअघि जस्तो कामकाज गर्न सक्दिनन्,’ उनले भने, ‘उनीहरूले त आधा ज्यानै बनाएर गए।’ आफ्नी श्रीमतीको पाठेघर नखसे पनि पैसाका लागि अप्रेसन गरिएको उनले बताए।
धारापानीकी ६० वर्षीया आइती विक बुढेसकालमा दोहोरो अप्रेसनको मारमा परिन्। हेक्का भएसम्म उनको आङ खसेको झन्डै ३५ वर्ष भयो। जेनतेन जिन्दगी चलेकै थियो। गाउँका सबै महिला अप्रेसन गर्ने भन्दै हिँडेपछि उनी पनि लौरोको सहाराले पैदल हिँडेर मेहलकुना पुगिन्। ‘रिङ हालेर सन्चो गर्लान् भन्ने सोचेकी थिएँ,’ एक वर्षअघिको पीडादायी दिन सम्झिँदै उनले भनिन्, ‘के गर्नु बाबु ! सोध्दै नसोधी भित्र लगेर अप्रेसन गरे।’
अप्रेसनपछि सन्चो भए त ठिकै हुन्थ्यो। पीडा झन् दोब्बर भयो। अन्ततः उनी एक वर्षपछि चैत तेस्रो साता मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अप्रेसनका लागि भर्ना भइन्। अस्पतालले उनको भल्ट प्रोल्याप्स (अप्रेसनपछि पाठेघर र योनिको पर्खाल तल खस्नु) भएको जनाएको छ। ‘त्यत्रो वर्ष खपेकै थिएँ, पोहोर साल मेहलकुनामा अप्रेसन नगर्नुपर्ने रहेछ,’ पछुताउँदै उनले भनिन्, ‘अप्रेसनपछि झन् दुःख भयो।’
धारापानीकै ४३ वर्षीया ओइली विक मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भेटिइन्। उनलाई उतिबेला शिविर आयोजकले पाठेघरको अप्रेसन भयो भन्दै घर पठाएका थिए। तर, आफ्नो पाठेघर पूरै नझिकिएको एक वर्षपछि मात्र थाहा पाइन्। अस्पताल स्रोतका अनुसार शिविरमा उनको पाठेघरको अप्रेसन गरिए पनि पूरै पाठेघर झिकिएको थिएन। ‘पाठेघरको आधा भाग भित्रै थियो,’ अस्पतालको अप्रेसन कक्षका एक स्वास्थ्यकर्मीले भने, ‘यसले गर्दा उहाँलाई झन् पीडा भएको हो।’
मेहलकुना–२ की मोतिसरा खड्का त अप्रेसनपछि यति कमजोर र आहत भइन् कि आँगनमै लडेर हात भाँच्चियो। पाँच महिनासम्म ओछ्यानबाट उठ्न सकिनन्। ‘कहिलेकाहीँ पेट दुख्ने समस्या थियो, त्यही भएर जँचाउन गएकी थिएँ,’ उनले भनिन्, ‘हत्त न पत्त अप्रेसन गर्दिए, धन्न कालको मुखबाट फर्किएँ।’
मंसिर १४ गते क्षेत्रीय अस्पतालमा फेरि अप्रेसन गराएपछि सन्चो भएको उनले बताइन्। निःशुल्क अप्रेसन भन्दै ट्रस्टले मोतिसराको नाम रजिस्टरमा चढाएर १६ हजार लियो। यता भने उनले थप उपचारमा २५ हजार खर्च गरिन्।

कालापहाड यात्रा

मैनतडाकी वसन्ती विकलाई पाँच वर्षीय काखे बालक माइतीमा छाडेर श्रीमानसँगै कालापहाड (भारत) जान रहर थिएन। कहिल्यै भारत नगएकी उनलाई यसपटक भने बाध्यता आइलाग्यो। अप्रेसन गरेर झन् गाह्रो हुँदै गएपछि उनी गत मंसिरमा भारत गइन्। ‘त्यतै गएर पैसा कमाउनू, उपचार गर्नू भनेर छोरीलाई ज्वाईंसँग भारत पठाएँ,’ आमा तुलसाले भनिन्, ‘दुई नाति–नातिनी मेरो जिम्मा छाडेकी छे।’
उनका अनुसार २३ वर्षीया वसन्ती रिङ हाल्न पाइन्छ भनेर मेहलकुना शिविरमा गएकी थिइन्। त्यहाँ उनी अरू महिलाजस्तै अप्रेसनको सिकार भइन्। अप्रेसन गरेर आएपछि योनिबाट रगत बग्ने, रिंगटा लाग्ने भई शिथिल भएपछि भारत पठाइएको उनले बताइन्।
त्यसो त तुलसा आफैं पनि एक वर्षदेखि थला परेकी छन्। अप्रेसनअघि कहिलेकाहीँ पीडा भए पनि उनी घरव्यवहारको काम सजिलै गर्थिन्। अपे्रसनले भने एक गाग्री पानीसमेत उचाल्न नसक्ने गरी थला परेकी छन्। ‘सन्चो हुन्छ कि भनेर गएकी थिएँ, झन् बिरामी भएर फर्किएँ,’ उनले भनिन्, ‘बुढेसकालमा सारा संसार गुमाएजस्तो भएको छ।’
बर्सेनि कामका लागि भारत जाने उनका श्रीमान् यो वर्ष घरमै छन्। कारण हो– श्रीमतीको स्याहार। पहिले उनी भारत गएर मजदुरी गर्थे, श्रीमती यताको सबै रेखदेख गर्थिन्। शिविरमा पाठेघरको अपे्रसन गरेपछि भने उनले घर छाड्न सकेनन्। ‘पहिला सबै काम गर्थी, अहिले एक गाग्री पानी उठाउन पनि सक्दिन,’ उनले भने, ‘यस्तो अवस्थामा घर छाडेर कहाँ जाने ?’ अप्रेसनले श्रीमती र छोरीको बिजोग भएकोमा उनले पश्चाताप पोखे।
...
स्थानीय भुक्तभोगीका अनुसार मेहलकुना शिविरमा अप्रेसनपछि पीडामुक्त भई सन्तोषको सास फेर्ने महिलाको संख्या अत्यन्तै कम छ। सामान्य स्वास्थ्य नियम र पाठेघर खस्ने समस्याको उपचारसम्बन्धी सरकारले निर्धारण गरेको निर्देशिकाअनुसार काम नहुँदा अधिकांश महिला झन् पीडा खेप्न विवश छन्। शिविरमा आएका ६० वर्षमाथिका थुप्रै महिलालाई सामान्य अवस्थाको महिलाझैं हतारिएर अप्रेसन गरिएको थियो। उनीहरूलाई सामान्य परामर्श पनि गरिएन।
त्यसैमध्येकी एक आइती सम्झन्छिन्, ‘अप्रेसन गरेपछि चौरमा थेचारिदिए। के खाने, के नखाने, के गर्न हुन्छ, के गर्न हुँदैन भनेर सम्झाउन त उनीहरूलाई फुर्सदै थिएन।’ भोलिपल्ट बिहानै उनी घरका लागि हिँडिन्। दुई दिनको पैदल बाटो हिँडेर घर पुगिन्। क्षेत्रीय अस्पतालमा उनीसँगै आएकी कुरुवा भदैबुहारी शशि विक भन्छिन्, ‘राम्ररी सम्झाएको भए दुई÷चार दिन मेहलकुनामै बसेर सन्चो भएपछि घर आए यस्तो हुन्थेन कि ?’
कार्यविधि निर्देशिकाको दफा ५ (३) मा पोस्ट–अपरेटिभ र फलोअप सेवासम्बन्धी व्यवस्था राखिएको छ। उक्त दफामा शल्यक्रिया गरिसकेपछि सात दिनसम्म पोस्ट–अपरेटिभ सेवा दिनुपर्ने, परामर्श तथा स्वास्थ्य शिक्षा प्रदान गर्नुपर्ने र सामान्यतयाः एक महिनामा पहिलो फलोअप जाँच गर्नुपर्ने उल्लेख छ। तर, सरकारसँग आधा करोड लगेर शिविर सञ्चालन गरेको ट्रस्टले सर्वसाधारण महिलाको हकमा कुनै पनि प्रावधान हेक्का राखेन। एक सातासम्म पोस्ट–अपरेटिभ सेवा दिनु त कता हो कता, अप्रेसन सकिएकै दिन शिविर उठायो। परामर्श अभावमा ६० वर्ष कटेका महिला पनि अप्रेसनलगत्तै दुई दिन पैदलै घर गए। लीलावतीका श्रीमान् सम्झिन्छन्, ‘डाक्टरहरू एकै दिन बसेका भए पनि हाम्रो यस्तो बिजोग हुने थिएन।’
सोही दफाको बुँदा (च) मा अप्रेसन गरेका महिलालाई जटिलता भए आवश्यकताअनुसार निःशुल्क उपचारको व्यवस्था अप्रेसन गर्ने स्वास्थ्य संस्थाले नै गर्नुपर्ने उल्लेख छ। मेहलकुना शिविरका पीडितले भने ट्रस्टबाट त्यस्तो सुविधा पाएका छैनन्। अप्रेसनले झन् दुःख दिएपछि बिरामीहरू नजिकको क्षेत्रीय अस्पताल हुँदै कोहलपुरदेखि भारतसम्म पुगेका छन्। अप्रेसन गर्दा हतारिने ट्रस्ट भने उनीहरूको अवस्थाबारे बेखबरजस्तै छ। अरूको कुरा अलग भयो, लीलावतीका श्रीमानले प्रशासनमा उजुरी हाल्छु भन्दा पनि उपचार खर्च पाउन सकेका छैनन्।

पाठेघरका नाममा लुट

सरकारले पाठेघर अप्रेसनमा पैसा दिने भएपछि शिविरका क्रममा गरिएका अरू अप्रेसनलाई पनि पाठेघरको घानमा हालेको पाइएको छ। अप्रेसनमा संलग्न स्थानीय स्वास्थ्यकर्मीले नै यस्तो खुलासा गरेका छन्। मेहलकुना अस्पतालका नर्स विष्णु सापकोटाका अनुसार विशेषगरी सिस्टोसिल र रेक्टोसिल गरिएका बिरामीलाई पाठेघरको अप्रेसन गरेको भनी तथ्यांकमा समावेश गरिएको छ। अप्रेसनपछि चार÷पाँचजना त्यस्ता बिरामी उपचारका लागि आएको उनले बताइन्।
‘उतिबेला अप्रेसन गरिएका केही बिरामी सन्चो भएन भन्दै यहाँ आएका थिए,’ उनले भनिन्, ‘हामीले जाँच गर्दा पाठेघरको अप्रेसन नभई रेक्टोसिल र सिस्टोसिल गरेको पाइयो।’ अस्पतालमै कार्यरत एक सहयोगी कर्मचारी अमृता पुनको सिस्टोसिल गरिए पनि पाठेघरको अप्रेसन गरेको भनी उल्लेख भएको उनले बताइन्।
शिविरमा स्वाभाविकभन्दा बढी महिलाको अप्रेसन भएको देखिनुले यो तथ्यलाई बल पु¥याउँछ। सम्बद्धहरूका अनुसार ६ दिनमा ५ सय ९५ जनाको स्क्रिनिङ गरिएकामा २ सय ९७ जना अप्रेसन गर्नुपर्ने अवस्थामा भेटिनु अस्वाभाविक हो। महिला प्रजनन अधिकार कार्यक्रम (केड) ले सोही वर्ष जिल्लाका ९ स्थानमा ७ सय ४८ महिलाको स्क्रिनिङ गरेकामा ५२ जनालाई मात्र अप्रेसनका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सिफारिस गरेको थियो। ‘पाठेघर पहिलो र दोस्रो डिग्रीमा खसेको छ भने अप्रेसन गर्नुपर्दैन,’ केडका कार्यक्रम अधिकृत दुर्गा विक भन्छिन्, ‘सबै स्तरको बिरामीलाई अप्रेसन गर्नु राम्रो होइन।’
पहिलो र दोस्रो डिग्रीका बिरामी अप्रेसन गर्नुका साथै सिस्टोसिल र रेक्टोसिल गरिएकालाई पनि पाठेघरको अप्रसेन गरेको भनी विवरण भर्नु गलत भएको उनले बताइन्। चैत पहिलो साता मेहलकुनामा गरिएको स्क्रिनिङ शिविरमा आएका महिलाको अवस्थाले पनि गत वर्ष गरिएको शिविरमा महिलाले कति पीडा भोगेका रहेछन् भन्ने पुष्टि हुन्छ। चार सय ४० जनाको स्क्रिनिङ गरिएकामा १५ जना तेस्रो डिग्री (अप्रेसन गर्नुपर्ने अवस्था) का महिला थिए। तीमध्ये १० जना त गत वर्ष अप्रेसन गरिएका थिए।
मेडिकल भाषामा भल्ट प्रोल्याप्स भनिने त्यस्ताखाले बिरामीको अप्रेसन गरेका क्षेत्रीय अस्पतालका वरिष्ठ चिकित्सक डम्बर खड्का शिविरमा हुने कमजोर व्यवस्थापन, बिरामीले आफ्नो स्वास्थ्यप्रति ख्याल राख्न नसक्नुजस्ता कारण समस्या बल्झिने गरेको बताउँछन्। उनका अनुसार मेहलकुना शिविरमा अप्रेसन गरिएका मध्ये केही महिलाको पाठेघर र योनिको पर्खाल खसेको पाइएको छ। ‘अप्रेसनमा भएका कमजोरीका अलावा अरू कारणले पनि हुन सक्छ, त्यतिबेला अप्रेसन गरेका धेरै महिला समस्या लिएर आउने गरेका छन्,’ उनले भने, ‘अल्ट्रासाउन्डको माध्यमबाट परीक्षण गर्दा कतिपय महिलाको पाठेघरको केही भाग भित्रै रहेको पाइयो।’
अप्रेसनमा संलग्न चिकित्सकीय टोलीप्रमुख जितेन्द्र भने यस्ता समस्या निम्तिनुमा महिलालाई दोष दिन्छन्। अप्रेसनमा लापरबाही गर्नुभन्दा अप्रेसनपछि महिलाले आफ्नो स्वास्थ्यमा हेरचाह नगर्दा बल्झिएको हुन सक्ने उनी बताउँछन्। ‘मेरो परिवारमै भाइ–बुहारीको यस्तैखाले अप्रेसन हुँदा त समस्या देखियो,’ उनले आफ्नो तर्क पुष्टि गर्दै भने, ‘गाउँघरमा काम गर्ने महिलाले यसलाई कसरी मेन्टेन गर्न सक्छन् र ?’
शिविरमा निर्धारित मापदण्डअनुसार नै अप्रेसनलगायत काम भएको उनले जिकिर गरे। आफू, छोरा विनोद, डा. अनिल राय र धीरेन्द्र शाह अप्रेसनमा संलग्न भएको उनको भनाइ छ। चारजनाले ६ दिनमा यति अप्रेसन गर्नु ठिकै हो,’ उनले भने, ‘बिरामीको चाप धेरै हुँदा अप्रेसन गर्नु पनि स्वाभाविकै हो।’
यद्यपि, अप्रेसन अवधिमा शिविरमा सहयोग गरेका मेहलकुना अस्पतालका स्वास्थ्यकर्मी भने महासेठका बाबु–छोराले मात्र अप्रेसन गरेको बताउँछन्। ती स्वास्थ्यकर्मीका अनुसार डा. रुपेन गामीले एनेस्थेसियाको काम गरेका थिए। ‘हामी अप्रेसन अवधिमा सधैँ सँगै छौँ,’ एक स्वास्थ्यकर्मीले भने, ‘अप्रेसन त दुईजना डाक्टरले मात्र गरेका हुन्।’
शिविर सञ्चालक सुष्मा कोइराला मेमोरियल ट्रस्टको भनाइ पनि बिरामीको आफ्नै कारणले समस्या देखिएको भन्ने छ। ट्रस्टको नेपालगन्जस्थित कार्यालयका कार्यक्रम व्यवस्थापक रन्जन ढुंगानाले चिकित्सकीय क्षमताअनुसारै अप्रेसन गरिएको बताए। ‘हामीले अनावश्यक रूपमा कसैको अप्रेसन गरेका छैनौं,’ उनले भने, ‘डाक्टरले राम्ररी जाँच गरेरै अप्रेसन गरिएको छ।’ अधिकांश महिला अपे्रसनलगत्तै उकालोओरालो हिँडेकाले असफल भएको सन्देश प्रवाह भएको उनले बताए।
अप्रेसनपछि जटिल अवस्थाका बिरामीलाई नेपालगन्ज मेडिकल कलेजमा उपचारको व्यवस्था गरिएको दाबी गर्दै उनले भने, ‘त्यस्तो कोही बिरामी छ भने आइतबार कोहलपुर पठाइदिनुहोला, हामीबाट राम्रै व्यवहार हुन्छ।’
चिकित्सकका अनुसार पाठेघर पहिलो डिग्री, दोस्रो डिग्री र तेस्रो डिग्री गरी तीन चरणमा खस्छ। पहिलो डिग्रीको बिरामी सामान्य व्यायाम गरी काम गर्दा सावधानी अपनाए सन्चो हुन्छन्। दोस्रो डिग्रीको बिरामीलाई यसका अलावा रिङ राख्नुपर्छ। तेस्रो डिग्रीको बिरामीलाई भने अप्रेसन नै गर्नुपर्छ। यो अन्तिम र जोखिमपूर्ण चरण भएकाले बिरामीको संख्या पनि कम हुने चिकित्सक बताउँछन्।

शिविरका नाममा बर्सेनि करोडौं

सर्वसाधारण महिलाको स्वास्थ्यमाथि गम्भीर खेलवाड हुने अप्रेसन शिविरका लागि सरकारले बर्सेनि करोडौं रुपैयाँ खर्च गर्दै आएको छ। सुष्मा कोइराला मेमोरियल ट्रस्टले मात्र गत आर्थिक वर्ष सुर्खेत, दैलेख र कालिकोटका पाँच स्थानमा स्क्रिनिङ र अप्रेसनबापत क्षेत्रीय स्वास्थ्य निर्देशनालयसँग १ करोड २४ लाख रुपैयाँ माग गरेको छ। स्रोतका अनुसार शिविर व्यवस्थापनमा भएको ‘कम्प्लेन’का कारण निर्देशनालयले हालसम्म भुक्तानी गरेको छैन। लेखाअधिकृत जगत शाह बजेट अभावले ट्रस्टलाई रकम भुक्तानी हुन बाँकी रहेको बताउँछन्।
सोही वर्ष सल्यान, रुकुम, बाँके, बर्दिया, प्युठान, रोल्पा र दाङमा ट्रस्टका साथै कौशल्या मेमोरियल अस्पताल (कोहलपुर) र युनाइटेड हेल्थ केयर प्रालि (नेपालगन्ज) ले शिविर सञ्चालन गरेका थिए। ती जिल्लामा भएका शिविरबापत निर्देशनालयले १ करोड २३ लाख ८२ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ।
आश्चर्य त के छ भने गत वर्ष सरकारले सुर्खेत, दैलेख र कालिकोटबाहेक जिल्लामा शिविरमार्पmत ६ सय ४० महिलाको अप्रेसन गर्ने गरी कोटा निर्धारण गरेको थियो। शिविरमा भने ७ सय ५० को अप्रेसन भयो। ‘जति धेरै अप्रेसन ग¥यो, उति धेरै पैसा पाइने भएपछि लक्ष्यभन्दा बढी प्रगति हुने गरेको छ,’ निर्देशनालयका एक कर्मचारी भन्छन्, ‘शिविर राखेर अप्रेसन गर्नु भनेको त एकातिर महिलाको स्वास्थ्यमाथि खेलवाड, अर्कातिर पैसाको ब्रह्मलुट गराउनु हो।’
कार्यविधि निर्देशिकाबमोजिम सरकारले अस्पतालहरूमा प्रतिअप्रेसन हिमाली जिल्लामा १५ हजार, पहाडी जिल्लामा १३ हजार र तराईका जिल्लामा १२ हजार रुपैयाँ अनुदान दिने गरेको छ। जिल्लास्थित अस्पतालहरूलाई सरकारले सिधै अप्रेसनको कोटा निर्धारण गरेर पठाउँछ। अस्पतालबाहेक क्षेत्रीय स्वास्थ्य निर्देशनालयमार्फत स्वास्थ्य संस्थाहरूले गर्ने शिविरका लागि भने हिमालीमा पाँच हजार, पहाडीमा ३ हजार र तराईमा एक हजार ५ सय रुपैयाँ थप दिइन्छ।
क्षेत्रीय स्वास्थ्यले घटाघटमा शिविर सञ्चालनका लागि स्वास्थ्य संस्था छनोट गरे पनि मिलेमतोमै प्रक्रिया मिलाएर ठेक्का दिने गरिएको छ। गत वर्ष मध्यपश्चिममा शिविर सञ्चालनको जिम्मा पाएका तीन संस्थाले तोकेको दरभन्दा एक सय कममा सम्झौता गरेका थिए। ‘मन्त्रालयदेखि निर्देशनालय हुँदै शिविर सञ्चालन गर्ने स्वास्थ्य संस्थासम्म मिलेमतोमा टेन्डरको काम सकिन्छ,’ स्रोत भन्छ, ‘नत्र करोडौंको कार्यक्रममा एक सय कममा कसरी सम्झौता सम्भव हुन्छ ?’
यस वर्ष सरकारले मध्यपश्चिमका लागि शिविरबाट २ सय ५० महिलाको अप्रेसन गर्ने लक्ष्यसहित २ करोड ९ लाख रुपैयाँ छुट्याएको छ। निर्देशनालयले भने कम्तीमा ६ सय कोटा थप्न माग गरेको छ। पाठेघर खस्ने समस्यासम्बन्धी अप्रेसनमा लामो समयदेखि पकड जमाउँदै आएको सुष्मा कोइराला मेमोरियल ट्रस्ट यसपटक छनोटमा परेन। जाजरकोट र रुकुमका लागि युनाइटेड हेल्थ केयर प्रालि (नेपालगन्ज), सुर्खेत, बर्दिया र कालिकोटका लागि सेवा नर्सिङ होम (धनगढी), प्यठान र दैलेखका लागि कौशल्या मेमोरियल अस्पताल (कोहलपुर), बाँके र मुगुका लागि नेपाल मेडिकल कलेज (कोहलपुर), दाङ, सल्यान र रोल्पाका लागि गोरखा पब्लिक अस्पताल (घोराही) छनोट भएको निर्देशनालयले जनाएको छ।

पाठेघर जोगाउन ठेक्काप्रथा बन्द

गाउँका महिलाको पाठेघर जोगाउन ठेक्का प्रथाबाट ग्रामीण क्षेत्रमा गरिने अप्रेसन शिविर बन्द गर्नुपर्ने प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा क्रियाशीलहरू बताउँछन्। उनीहरूको भनाइमा पाठेघर खस्ने समस्याको अप्रेसनलाई अस्पतालकेन्द्रित गरिनुपर्छ। ‘बरु स्क्रिनिङ कार्य गाउँ–गाउँमा गरिनुपर्छ,’ केडका अधिकृत विक भन्छिन्, ‘अप्रेसन भने सुविधासम्पन्न अस्पतालभन्दा बाहिर गर्नु घातक हो।’
स्तरीय व्यवस्थापनका हिसाबले पनि ग्रामीण क्षेत्रमा गरिने शिविर उपयुक्त छैनन्। एक अध्ययनअनुसार यस्ता शिविरमा तोकिएको मापदण्डबमोजिम सेवा प्रदान हुँदैन। बिरामीको अप्रेसन गर्दा आवश्यक रगतको बेलैमा सुनिश्चितता गरिनुपर्छ। शिविरमा भने त्यस्तो व्यवस्था गरेको पाइँदैन। ‘शिविरमा शल्यक्रियापूर्व र पछिको परामर्श सेवा भएको पाइएन,’ एक कार्यक्रममा प्रजनन स्वास्थ्यबारे प्रस्तुतिमा अधिकारकर्मी दीपक चौहानले भने, ‘यस्ता शिविरमा फलोअप र अप्रेसनपछिको सेवा पनि हुँदैन।’ तोकिएका मापदण्ड तुलनात्मक रूपमा अस्पतालमा सम्भव हुने भएकाले यो सेवालाई अस्पतालबाटै व्यवस्थापन गरिनुपर्ने उनको तर्क छ।
 
महिला कामदार खाडी पुग्नुमा कर्मचारी दोषी

महिला कामदार खाडी पुग्नुमा कर्मचारी दोषी

काठमाडौं-नेपाली महिला कामदारमाथि अमानवीय व्यवहार बढेका कारण दुई वर्षदेखि खाडीमा महिला रोजगारी प्रतिबन्धित गरिए पनि सरकारी कर्मचारीकै सहयोगमा धेरै महिला त्यता पुगेको व्यवसायीले आरोप लगाएका छन्।

सिन्दुरमा रङ्गियो थिमी (फोटो फिचर)

सिन्दुरमा रङ्गियो थिमी (फोटो फिचर)

मध्यपुर थिमी नगरपालिका क्षेत्रका बासिन्दाले मंगलबार बिहान हर्षोल्लासका साथ सिन्दुरजात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन्। एक अर्कालाई रङ लगाउँदै जात्रालु अगाडि बढ्दा थिमी सहर सिन्दुरमा रङगिएको छ।

धार्मिक यात्रामा ज्ञानेन्द्र शाह

धार्मिक यात्रामा ज्ञानेन्द्र शाह

धरान– धार्मिक यात्राको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार धरान आइपुगेका छन्। सिमराबाट समर्थकहरूका साथ आएका उनलाई स्वागत गर्न उनका शुभचिन्तकहरू फूलमाला लिएर सडक किनारमा उभिएका थिए।

बागमती स्नान कार्यक्रम,यसरी नुहाउँदैछन् मुख्य सचिव

बागमती स्नान कार्यक्रम,यसरी नुहाउँदैछन् मुख्य सचिव

काठमाडौ-प्रदूषणले मृत भइसकेको बागमती नदी ब्युँताउने प्रयासमा लागेका मुख्य सचिव लीलामणि पौडेलसहितका उच्च अधिकारी सोमबार बिहान गुह्येश्वरी घाटमा नुहाउँदै छन्। त्यही बेला प्रधानमन्त्री सुशील कोइराला बागमती सफाइ अभियानमा समर्थन जनाउँदै...

डढेलोका कारण बास छाड्दै जनावर

डढेलोका कारण बास छाड्दै जनावर

रौतहट – गर्मीको सुरुवातसँगै डढेलोको प्रकोप देखिन थालेको छ। पश्चिमा तातो हावासँगै फैलँदो डढेलोले जंगली बोटविरुवा मात्र नभई जनावरहरुसमेत प्रभावित भएका छन्। जंगली जनावरहरु डढेलोबाट जोगिन वस्ती आसपास भट्किन थालेका...

अन्तर्राष्ट्रिय अवार्ड जित्‍ने केशाको जीवनकथा

अन्तर्राष्ट्रिय अवार्ड जित्‍ने केशाको जीवनकथा

काठमाडौं- केशा परियार (केशाकुमारी दमिनी) को संघर्षको कथा सुन्दा यस्तो लाग्छ, मानौं उनी मुक्तिनाथदेखि कालीगण्डकीमा बग्दै आएको एउटा ढुंगा हुन्, जो कालीगंगा फलेवासमुनि आइपुग्दा शालिग्राम बनेर निस्किइन्।

लागुऔषध प्रयोगकर्ता दोब्बर

लागुऔषध प्रयोगकर्ता दोब्बर

काठमाडौं-नेपालमा ६ वर्षभित्र कडा प्रकृतिको लागुऔषध प्रयोगकर्ता ९८ प्रतिशतले बढेको खुलेको छ। केन्द्रीय तथ्यांक विभागले गरेको अध्ययनमा यस्तो तथ्य देखिएको हो। केन्द्रीय तथ्यांक विभागको अध्ययनअनुसार नेपालमा ९१ हजार ५ सय ३४...

भारतीयको रेकर्ड तोड्दै गिनिजमा सफल भए कृष्ण

भारतीयको रेकर्ड तोड्दै गिनिजमा सफल भए कृष्ण

काठमाडौं – कुनै पनि शब्दलाई उल्टोबाट तीब्र गतिमा उच्चारण गर्दै नेपाली युवा कृष्ण पाण्डेले गिनिज वर्ल्ड रेकर्ड कायम गरेका छन्। देवदह ५, रुपन्देहीका पाण्डेले एक मिनेटमा ३६ शब्दलाई उल्टोबाट उच्चारण...