22 Chaitra, 2076 | April 04, 2020
Menu

पाठेघर व्यापारः अनुदान असुल्न उमेरै हेर्दैनन्

(0 votes)
सुर्खेत क्षेत्रिय अस्पतालमा दोस्रोपटक अप्रेसनपछि धारापानीकी ६१ वर्षीया आइती विक। तस्बिर: कलेन्द्र सुर्खेत क्षेत्रिय अस्पतालमा दोस्रोपटक अप्रेसनपछि धारापानीकी ६१ वर्षीया आइती विक। तस्बिर: कलेन्द्र
सुर्खेत-छोरीहरूले त भनेकै थिए, ‘आमा! यो उमेरमा अप्रेसन गर्नुपर्दैन।’ बुढेसकालमा बेथा झिकेर सुविस्ताले समय काट्ने इच्छाले अस्पताल पुगेकी ८० वर्षीया टिमोरी खत्री छोरीहरूको करले एकपटक त अप्रेसन नगरी फर्किइन्।



तर, शिविर चलाएर पाठेघर अप्रेसनको व्यापार गर्न पल्केकाहरूले के छाड्थे? 
टिमोरीलाई लाग्यो, छोरीहरूले त मायाले भनेका होलान्, देवतासमान डाक्टरले भन्या के नमान्नू? दुई वर्षअघि मेहलकुना अस्पतालमा सञ्चालित शिविरमा डाक्टरको लहैलहैमा पाठेघर फालेकी टिमोरीसँग अहिले पछुतोबाहेक केही छैन।
खाना आफैं पकाउने फूर्तिली टिमोरी एक वर्षदेखि सम्पूर्ण रूपमा अरूको सहारामा बाँचिरहेकी छन्। 
‘छोरीपट्टीले भनेको मानेको भए यस्तो बिजोग हुने थिएन,’ उनले नागरिकसँग भनिन्, ‘अप्रेसनले झन् थला पार्‍यो, बाँच्नै गाह्रो भयो।’
पाठेघरको अप्रेसन कुन उमेरसम्मकाले गर्नु उपयुक्त हुन्छ, चिकित्सकलाई राम्ररी थाहा हुन्छ। तर उनीहरू अनुदान लिन संख्या बढाउनकै लागि उमेर नहेरी जतिसुकै वृद्धाको पनि फकाई–फकाई अप्रेसन गरिदिन्छन्।

स्वास्थ्यबारे ज्ञान नभएका वृद्धाहरू बुढेसकालमा सुख पाइएला भनेर स्वास्थ्य शिविर गएका हुन्छन्। उनीहरूलाई सम्झाई–बुझाई फर्काउनुको साटो अप्रेसन गरेर झन् सास्ती थोपरिन्छ। 
चिकित्सकका अनुसार बुढेसकालमा ‘मेजर अप्रेसन’ गर्नु निकै जोखिमपूर्ण मानिन्छ। अप्रेसन गर्नैपरे बिरामीको शारीरिक तन्दुरुस्तीका साथै रगत, सुगरलगायत महत्वपूर्ण परीक्षण गर्नुपर्छ। सुष्मा कोइराला मेमोरियल ट्रस्टले भने सामान्य उमेरका महिलालाई जस्तै सरसर्ती स्वास्थ्य परीक्षण गरेर अप्रेसन गरेको मेहलकुनाका स्थानीय स्वास्थ्यकर्मी बताउँछन्।
ट्रस्टले २०६९ चैत १८ देखि २३ गतेसम्म मेहलकुना अस्पतालमा चलाएको पाठेघर खस्ने समस्यासम्बन्धी शिविरमा टिमोरीजस्ता थुप्रै वृद्धाको पाठेघर झिकिएको थियो। अप्रेसन गरिएका एक सय ९७ मध्ये ६६ जना (एकतिहाइ) को उमेर ५० वर्षभन्दा माथि थियो। तीमध्ये ६० वर्ष पार गरेका मात्र २३ जना थिए। 
मैनतडाकी ८५ वर्षीया चम्फा जैशी पनि बाँकी जिन्दगी सुखसँग जिउने लालसाले अप्रेसन गर्न राजी भइन्। ‘उहाँले दुःख दिने पाठेघर फालेपछि सुख हुन्छ कि नानी भनेर सोध्नुभएको थियो,’ उनीसँगै शिविरमा आएकी पार्वती शर्माले भनिन्, ‘नर्सले सुखसँग बाँच्नुहुन्छ बज्यै भनेपछि खुसी भएर अप्रेसन गर्न तयार हुनुभयो।’ शर्माका अनुसार अप्रेसनपछि उनी झन् थला परेकी छन्।
मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. केशर ढकाल महिलाको उमेर ढल्किँदै जाँदा स्त्रीरस उत्पादनमा कमी भई त्यसको असरले पाठेघर खुकुलो हुने बताउँछन्। ‘त्यसैले यो उमेरमा अप्रेसन गर्नु निकै जोखिमपूर्ण मानिन्छ,’ उनी भन्छन्, ‘मेहलकुनामा यस्ता वृद्धाहरूको कसरी, कुन आधारमा अप्रेसन गरियो, थाहा भएन।’ बिरामी छनोट गर्ने क्रममा संख्या बढाउनेतिर ध्यान दिइँदा यस्तो समस्या देखिएको उनी बताउँछन्।
सरकारको सहयोगमा छ दिनसम्म चलेको शिविरमा ट्रस्टले अनुदानको लोभमा अप्रेसन गर्नै नपर्ने र गर्दा जोखिम बढी हुने महिलाको पनि अप्रेसन गरेको पाइएको छ। सरकारले पाठेघर खस्ने समस्या उपचार तथा शल्यक्रियासम्बन्धी कार्यविधि निर्देशिका, २०६५ अनुसार सुर्खेतलगायत पहाडी जिल्लाका शिविरमा एक अप्रेसनबापत १६ हजार रुपैयाँ अनुदान दिन्छ। बिरामी छनोट (स्त्रि्कनिङ) बापत पनि छुट्टै रकम दिइन्छ।
धारापानीकी ६१ वर्षीया आइती विकले अप्रेसन गरेपछि बुढेसकालमा सजिलो हुन्छ भनेपछि हौसिएर तयार भएको बताइन्। शिविरमा गरिएको अप्रेसनले झन् दुःख दिएपछि एक साताअघि क्षेत्रीय अस्पतालमा उनको दोस्रोपटक अप्रेसन भयो। ‘बरु उतिबेलै नगरेको भए अहिले यता पनि आउनुपर्ने थिएन,’ उनले भनिन्, ‘मर्ने बेला के दुःख देख्नुपर्‍यो।’
मेहलकुनाकी टिमोरीका लागि अप्रेसनपछिको जीवन ‘नर्कजस्तै’ भएको छ। अप्रेसनपछि १५ दिन ओछ्यानमै सुतेकी उनी तीन महिनामा अलिअलि हिँड्ने त भइन्, तर कमजोरीले झन् थला परिन्। असार २१ गते चक्कर लागेर लड्दा उनको हात भाँचियो। कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा उपचार गराएपछि अहिले केही सन्चो भएको छ। ‘अप्रेसन नगरेको भए पहिलेजस्तै आफ्नो खाना आफैं त पकाउँथे,’ उनले भनिन्, ‘अब त यताउती हिँड्न मिल्दैन, हात पनि चल्दैन, कसरी खाना पकाउने?’
मेहलकुना अस्पतालका प्रमुख डा. राजेश मण्डल ५० वर्षमाथिका महिलालाई ठूलो अप्रेसन गर्नु जोखिम हुने बताउँछन्। उनको विचारमा यौनकार्य नहुने र अप्रेसन गर्दा जोखिम हुने महिलालाई अप्रेसन गर्नुको साटो सुरक्षा विधि सिकाउँदा लाभदायक हुन्छ। ‘यस्ता महिलालाई सकेसम्म अप्रेसन नगरेकै राम्रो हुन्छ,’ उनी भन्छन्, ‘पैसाका लागि अप्रेसन गर्नु राम्रो होइन।’

दलित महिला धेरै
शिविरमा अप्रेसन गरिएकामध्ये दलित समुदायका महिलाको संख्या अधिक छ। गरिब र विपन्न समुदायका कतिपय महिलालाई ‘पाठेघरको उपचार पनि हुने र भत्ता पनि पाइने’ भनेर शिविरमा लगिएको स्थानीय बताउँछन्। ‘गाउँमा दिदीबहिनीले औषधिसँगै रुपैयाँ पनि दिन्छ भनेपछि म पनि गाडी चढेर गएकी थिएँ,’ मैनतडाकी डिल्ली विकले भनिन्, ‘त्यही एक हजारको आशले अहिले आधा जिउ भएर बाँच्नुपरेको छ।’ अप्रेसनपछि घरको सामान्य कामबाहेक अरू गर्न नसक्ने गरी थला परेको उनले बताइन्।

ट्रस्टले उपचार गरेकामध्ये एक सय पाँचजना (५३ प्रतिशत) दलित समुदायका छन्। महिला प्रजनन् अधिकार कार्यक्रम (केड) की अधिकृत दुर्गा विक निःशुल्क र त्यसमाथि पैसा पाइने भनेपछि विपन्न समुदायका महिला स्वाभाविक रूपमा आकर्षित भएको बताउँछिन्। ‘आयोजकले कतिपय महिलाको गरिबीलाई प्रयोग गरेर अप्रेसन गरेको पाइयो,’ उनी भन्छिन्, ‘हुनेखाने व्यक्तिका महिलामा समस्या भए पनि राम्रो ठाउँमा गएर अप्रेसन गरौंला भन्ने हुन्छ, विपन्न समुदायका महिला भने गाउँमै यस्तो शिविर आएपछि पैसा जोगाउन पनि अप्रेसन गर्न तयार भइहाल्छन्।’




शिविर भन्नासाथ डराउन थाले

मेहलकुनाकी कल्पना विक चैत पहिलो साता घरनजिकै अस्पतालमा भएको पाठेघर खस्ने समस्यासम्बन्धी छनोट शिविर (स्त्रि्कनिङ) मा गइनन्। स्वास्थ्यकर्मीले ‘क्षेत्रीय अस्पतालका राम्रा डाक्टर आएका छन्’ भनेर फकाउँदा उनी पसल बन्द गरेर बसिन्। ‘बिनासित्ति अप्रेसन गरेर दुःख दिन्छन्, किन जाने भनेर म त गइनँ,’ उनले नागरिकसँग भनिन्, ‘अब जति दुःख भए पनि सहन्छु, मर्नलाई अप्रेसन त गर्दिनँ।’
सुष्मा कोइराला मेमोरियल ट्रस्टको अप्रेसनपछि शिविरबाट भाग्ने उनी एक्लो महिला होइनन्। अप्रेसन गरेर झन् दुःख भोगेका र समस्या साँचेर बसेका महिला अचेल यस्तो शिविर भन्नेबित्तिकै झस्किने गर्छन्। डरले उनीहरूलाई समस्या लुकाउन बाध्य तुल्याउँछ।
सामाजिक कार्यकर्ता प्रकाश घर्ती ट्रस्टको अप्रेसन असफल भएको सन्देश गाउँमा फैलिएपछि समस्यामा परेका महिला शिविर आउनै नमान्ने अनुभव सुनाउँछन्। ‘सबैको संघर्षले महिलाहरू यो समस्या निर्धक्क भन्न सक्ने भएका थिए,’ उनले भने, ‘फेरि आएर अहिले अप्रेसन गर्नुपर्छ भनेर लुकाउने अवस्थामा पुगे।’
मेहलकुना–७ की भद्री वली पाठेघर खस्ने समस्याले आक्रान्त छिन्। उनको पाठेघर तेस्रो डिग्रीमा छ। तर, प्रकाशले उनलाई शिविरमा ल्याउन जति प्रयास गर्दा पनि सफल भएनन्। ‘सुरुमा त आउँछु भन्नुभएको थियो,’ उनले भने, ‘पछि–पछि त अप्रेसन गरेपछि झन् दुःख हुन्छ रे भन्दै आउनै मान्नुभएन।’ तीनपटकसम्म प्रयास गर्दा पनि शिविरमा नआएपछि घर जानै छाडेको उनले बताए।
यसको प्रभाव केही समयअघि मेहलकुनामा भएको स्त्रि्कनिङ शिविर पनि देखियो। क्षेत्रीय अस्पताल र महिला प्रजनन् अधिकार कार्यक्रमको आयोजनामा भएको स्त्रि्कनिङ शिविरमा ४ सय ४० महिलामात्र परीक्षणका लागि आएका थिए। अघिल्लो वर्ष भएको शिविरमा भने त्यसको झन्डै दोब्बर ७ सय ४८ जना शिविरमा सहभागी भएका थिए। ‘गाउँमा समस्या भोगेका महिला धेरै छन्,’ घर्ती भन्छन्, ‘तर अप्रेसन गर्दा झन् पीडा हुन्छ भनेर उनीहरू खुल्न चाहँदैनन्।’ गाउँमा परीक्षणमात्र गरी क्षेत्रीय अस्पतालमा अप्रेसन गर्ने भनेर फकाएपछि मात्र केही महिला शिविरमा आउन तयार भएको उनले बताए।
महिला कामदार खाडी पुग्नुमा कर्मचारी दोषी

महिला कामदार खाडी पुग्नुमा कर्मचारी दोषी

काठमाडौं-नेपाली महिला कामदारमाथि अमानवीय व्यवहार बढेका कारण दुई वर्षदेखि खाडीमा महिला रोजगारी प्रतिबन्धित गरिए पनि सरकारी कर्मचारीकै सहयोगमा धेरै महिला त्यता पुगेको व्यवसायीले आरोप लगाएका छन्।

सिन्दुरमा रङ्गियो थिमी (फोटो फिचर)

सिन्दुरमा रङ्गियो थिमी (फोटो फिचर)

मध्यपुर थिमी नगरपालिका क्षेत्रका बासिन्दाले मंगलबार बिहान हर्षोल्लासका साथ सिन्दुरजात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन्। एक अर्कालाई रङ लगाउँदै जात्रालु अगाडि बढ्दा थिमी सहर सिन्दुरमा रङगिएको छ।

धार्मिक यात्रामा ज्ञानेन्द्र शाह

धार्मिक यात्रामा ज्ञानेन्द्र शाह

धरान– धार्मिक यात्राको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार धरान आइपुगेका छन्। सिमराबाट समर्थकहरूका साथ आएका उनलाई स्वागत गर्न उनका शुभचिन्तकहरू फूलमाला लिएर सडक किनारमा उभिएका थिए।

बागमती स्नान कार्यक्रम,यसरी नुहाउँदैछन् मुख्य सचिव

बागमती स्नान कार्यक्रम,यसरी नुहाउँदैछन् मुख्य सचिव

काठमाडौ-प्रदूषणले मृत भइसकेको बागमती नदी ब्युँताउने प्रयासमा लागेका मुख्य सचिव लीलामणि पौडेलसहितका उच्च अधिकारी सोमबार बिहान गुह्येश्वरी घाटमा नुहाउँदै छन्। त्यही बेला प्रधानमन्त्री सुशील कोइराला बागमती सफाइ अभियानमा समर्थन जनाउँदै...

डढेलोका कारण बास छाड्दै जनावर

डढेलोका कारण बास छाड्दै जनावर

रौतहट – गर्मीको सुरुवातसँगै डढेलोको प्रकोप देखिन थालेको छ। पश्चिमा तातो हावासँगै फैलँदो डढेलोले जंगली बोटविरुवा मात्र नभई जनावरहरुसमेत प्रभावित भएका छन्। जंगली जनावरहरु डढेलोबाट जोगिन वस्ती आसपास भट्किन थालेका...

अन्तर्राष्ट्रिय अवार्ड जित्‍ने केशाको जीवनकथा

अन्तर्राष्ट्रिय अवार्ड जित्‍ने केशाको जीवनकथा

काठमाडौं- केशा परियार (केशाकुमारी दमिनी) को संघर्षको कथा सुन्दा यस्तो लाग्छ, मानौं उनी मुक्तिनाथदेखि कालीगण्डकीमा बग्दै आएको एउटा ढुंगा हुन्, जो कालीगंगा फलेवासमुनि आइपुग्दा शालिग्राम बनेर निस्किइन्।

लागुऔषध प्रयोगकर्ता दोब्बर

लागुऔषध प्रयोगकर्ता दोब्बर

काठमाडौं-नेपालमा ६ वर्षभित्र कडा प्रकृतिको लागुऔषध प्रयोगकर्ता ९८ प्रतिशतले बढेको खुलेको छ। केन्द्रीय तथ्यांक विभागले गरेको अध्ययनमा यस्तो तथ्य देखिएको हो। केन्द्रीय तथ्यांक विभागको अध्ययनअनुसार नेपालमा ९१ हजार ५ सय ३४...

भारतीयको रेकर्ड तोड्दै गिनिजमा सफल भए कृष्ण

भारतीयको रेकर्ड तोड्दै गिनिजमा सफल भए कृष्ण

काठमाडौं – कुनै पनि शब्दलाई उल्टोबाट तीब्र गतिमा उच्चारण गर्दै नेपाली युवा कृष्ण पाण्डेले गिनिज वर्ल्ड रेकर्ड कायम गरेका छन्। देवदह ५, रुपन्देहीका पाण्डेले एक मिनेटमा ३६ शब्दलाई उल्टोबाट उच्चारण...