Monday 24 Chaitra, 2076 | April 05, 2020
Menu

शुक्रबार

कोइरालाको कठिन परीक्षा

(0 votes)
कोइरालाको कठिन परीक्षा
अघिल्लो संविधानसभा निर्वाचनको विफलताबाट दलहरूले पक्कै केही सिकेका होलान् भन्ने जनताको अनुमान फेल खाएको छ। दोस्रो संविधानसभा निर्वाचनपछि दलहरूको बीचमा जुन ढंगको बहस प्रारम्भ भएको छ, यसबाट जनता उत्साही होइन, निराश हुने अवस्था सिर्जना भएको छ।

प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीभित्र चर्केको आन्तरिक खिचलोको असर संविधान निर्माण प्रक्रियामा पर्ने प्रस्ट संकेत देखिएको छ। अघिल्लो संविधानसभाले सम्पन्न गरेका कामलाई स्वामित्वमा लिएर बाँकी काम गर्ने प्रतिबद्धतासहित दलहरू कार्यक्षेत्रमा खटिँदा उनीहरूले भनेजस्तै एक वर्षभित्रमा संविधान जारी हुन सक्थ्यो। तर, नयाँ संविधानसभा गठनमा को कतातिर लाग्ने, क–कसको बीचमा गठबन्धन निर्माण हुने टुंगो लागिनसकेकाले संविधान निर्माण गर्ने विषय अहिले पनि पुछारमा परेको छ।

सरकार निर्माण र त्यसका लागि समीकरण बनाउनमै दलका शीर्षस्थ नेताहरूले कडा परिश्रम गर्नुपर्ने अवस्था सिर्जना हुनुले दोस्रो संविधानसभाको यात्रा पनि सहज हुने देखिँदैन। अघिल्लो सभामा दलहरूले गरेका गल्ती र कमजोरीलाई यस पटक नदोहोर्यांउने हो भने संविधान लेख्ने काम सहज ढंगले अघि बढ्न सक्थ्यो। तर, दलहरूको गतिविधि यस पटक पनि पुरानै पाराको हुने स्पष्ट संकेत देखिएको छ। मुख्य दुई दलको अर्जुनदृष्टि प्रधानमन्त्रीको कुर्सीमा परिरहेकाले राजनीति विगतको भन्दा फरक ढंगले अगाडि बढ्दैन कि भन्ने आशंका गर्ने दरिलो आधार तयार भएको छ। ठूलो दल हुनुको नाताले नेपाली कांग्रेसले अहिलेको राजनीतिक 'फ्लोर'लाई जसरी व्यवस्थापन गर्नुपर्छ, त्यसमा थोरैमात्र पनि तलमाथि भयो भने संविधान लेखन धरापमा पर्नेछ। 
संविधानसभा निर्वाचनमा ठूलो दल बनेपछि नेपाली कांग्रेस राजनीतिको केन्द्रबिन्दुमा छ।

नेपालको प्रजातान्त्रिक आन्दोलनलाई पटकपटक अगुवाइ गरेको कांग्रेसलाई संविधानसभामार्फत जनतालाई लोकतान्त्रिक संविधान दिने ऐतिहासिक अवसरको पनि 'लिड' गर्ने सुवर्ण अवसर प्राप्त छ। संविधानसभा कांग्रेसको 'एजेन्डा' थियो भनेर यसका नेताहरूले जनताका बीच धेरै पटक भाषण गरिसकेका छन्। कांग्रेसले लोकतन्त्रको भजनकीर्तन गरेरमात्र सुख पाउनेवाला छैन। यस पटक ऊ लोकतान्त्रिक पद्धति र विधि निर्माणका लागि ठूलो छाती लिएर मैदानमा उत्रिनुपरेको छ। लोकतन्त्रका लागि कांग्रेसले गरेको योगदानबारे अब उसले होइन, समाजका अन्य तह र तप्काका मानिसले पनि गर्वका साथ वकालत गर्ने वातावरण बनाउन कांग्रेस पार्टी र यसलाई नेतृत्व गरिरहेका नेताहरूले बनाउनुपरेको छ।

पटकपटक सत्तामा पुगेर पनि जनतालाई सुशासन र सुखको अनुभूति दिलाउन नसकेको कांग्रेसले यस पटक पाएको अवसर गुमायो भने उसले जनताका बीच गएर माफी माग्ने हक पनि गुमाउनेछ। अघिल्लो संविधानसभामा सशस्त्र विद्रोहबाट शान्ति प्रक्रियामा आएको एमाओवादीको 'साइज' र कांग्रेसको 'साइज' बीच जुन ठूलो अन्तर थियो, त्यसका कारण संविधान बनाउने काममा भूमिका खेल्न सकिएन भनेर उम्कने छुट कांग्रेसलाई थियो। तर, यस पटक कांग्रेस नै 'लिडिङ पोजिसन'मा भएकाले उसले यो या त्यो बहानामा उम्कन पाउँदैन। उसले संविधान निर्माणका लागि स्पष्ट मार्गचित्र छिटोभन्दा छिटो प्रस्तुत गर्न सक्नुपर्छ। 

तर, कांग्रेसभित्र प्रधानमन्त्री को बन्ने निर्क्योल गर्दासम्म यसले अन्य दलसँग संविधान निर्माणका लागि गर्नुपर्ने 'बार्गेनिङ पावर' नै गुमाउला कि जस्तो देखिएको छ। कांग्रेसका शीर्षस्थ नेताहरूले लोकतान्त्रिक दलभित्र विवाद स्वाभाविक भएको भाषण ठोके पनि सत्ताको तातो कुर्सीमा बस्ने आकांक्षा सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलमा एकनासले उम्लिरहेकाले परिस्थिति जटिल बन्छ कि भन्ने अनुमान लगाउन थालिएको छ। सत्ता र शक्तिको हानथापकै कारण टुक्रिएको र भागबण्डासहित जोडिएको पार्टी भएकाले कांग्रेसका नेताहरू सबै एकै पार्टीमा भए पनि एकआपसमा गुटगत मोर्चामा विभाजित भएका छन्। प्रायः सबै दलमा गुट भए पनि कांग्रेसको गुटको हिसाबकिताब सञ्चारकर्मीदेखि सामान्य जनतासम्मले गर्न सक्ने खालको छ।

निर्वाचन लड्दा कसको कति जना उम्मेदवार, निर्वाचनमा विजयी मध्ये ६० प्रतिशत सभापति कोइराला र ४० प्रतिशत देउवाको भन्दै भएको भागबण्डाले बाहिरबाट सिंगो देखिए पनि कांग्रेस आफैँमा दुइटा दलको चरित्र बोकेको पार्टी बनेको देखिन्छ। कांग्रेसले सर्वप्रथम आफूभित्र लागेको गुटगत राजनीतिको 'क्रोनिक' रोगको उपचार खोज्न जरुरी छ। नेतृत्वका लागि पार्टीभित्र वैचारिक बहस जतिसक्दो चर्कनुपर्छ। यसको मतलब आन्तरिक झगडाका कारण जनताको चाहनालाई बन्धक बनाउने छुट कसैलाई हुँदैन। 
कांग्रेस सभापति कोइरालाले ठूलो दलको सभापतिका रूपमा अहिलेको संक्रमणकाललाई कसरी अगाडि बढाउनुपर्छ र व्यवस्थापन गर्नुपर्छ भनेर आफूलाई पुष्टि गर्ने महत्वपूर्ण अवसर प्राप्त गरेका छन्।

प्रधानमन्त्री पदमाथि उनको दाबी जति स्वाभाविक छ, त्यति नै उनले दलभित्र अझ बढी लोकतान्त्रिक अभ्यास गरिनुपर्छ भनेर उठेको आवाजलाई पनि सहज रूपमा लिनुपर्छ। त्यागी नेताको छवि बनाएका सभापति कोइरालाले प्रधानमन्त्री पदका लागि के–के त्याग्नुपर्छ भन्ने बहस कांग्रेसभित्र उठेकाले यति बेला उनको त्यागको पनि परीक्षा हुने अवस्था सिर्जना भएको छ। वरिष्ठ नेता देउवाले सभापति कोइराला प्रधानमन्त्री बन्ने भए आफूलाई कार्यवाहक सभापति दिनुपर्ने माग गरेका छन्।

कांग्रेसभित्र केही समयदेखि उठ्न थालेको एक पदको अवधारणालाई देउवाले यस पटक मूर्त रूप दिने प्रयास गरेका छन्। यो कांग्रेसलगायत अन्य सबै दलले अपनाउने सक्ने हो पार्टीभित्र पद र शक्तिका लागि सधैँ भइरहने झगडाको व्यवस्थापन सहज ढंगले हुने अवस्था सिर्जना हुन सक्छ। कोइराला आफू प्रधानमन्त्री हुने र पार्टीको जिम्मा देउवालाई दिने तथा उपसभापति पौडेललाई सरकारभित्रका भरपर्दा सारथि बनाउने हो भने उनले संविधान निर्माणमा बढी समय दिन पाउनेछन्।

कोइरालाले देशको कार्यकारी पदमा पुग्दा जुन सम्मान र इज्जत पाउँछन्, त्यो भन्दा बढी उनको नेतृत्वमा देशले नयाँ संविधान पाउँदा पाउनेछन्। त्यसैले यस पटक कोही कठिन परीक्षामा छन् भने उनी कांग्रेस सभापति कोइराला नै हुन्। उनले आफूलाई सन्तुलित रूपमा अघि बढाउन सकेनन् भने उनी प्रधानमन्त्री त बन्लान् तर उनको पद उनकै हितैषीले केही महिनाभित्रै उछिट्याइदिनेछन्।

प्रशान्तको सुरमा झुम्यो पोखरा

प्रशान्तको सुरमा झुम्यो पोखरा

आइतवार पोखरा रंगशाला खचाखच भरिएको थियो। सन्दर्भ थियो– 'ल्होछार म्युजिकल फेस्टिभल।' हजारौँ पोखरेली संगीतमा झुम्न तम्तयार थिए। जब इन्डियन आइडल प्रशान्त तामाङ स्टेजमा देखापरे, तालीको गडगडाहटले उनको स्वागत गरियो।

वक्रासन : मिस्टर प्याज पागल!

श्रीमान् गृहस्थको दाहिने कञ्चटमा चोट लागेको थियो। सुकेको रगतको एक धर्काे चिउँडोसम्म आइपुगेको थियो। देब्रे गाला सुन्निएको थियो। श्रीमती गृहिणी श्रीमान्को हालत देखेर आतंकित भई। 'के भो?' उसले सोधी।

मासु र मिलन

मासु र मिलन

नेपालीहरूको ठूलो चाड दसैँ आयो। गरिबगुरुवादेखि सम्भ्रान्तसम्मले दसैँलाई खानपिन, मनोरञ्जन र भेटघाटले रमाइलो बनाउने गरेका छन्। खर्च गच्छेअनुसार गरिएलान्। हरेक सालझैँ यसपालिको दसैँ पनि महँगो भएको छ। रेमिट्यान्सका कारण दूरदराजका...

जहाँ सुनिन्छन् मायाका सुस्केरा

जहाँ सुनिन्छन् मायाका सुस्केरा

प्रेमी–प्रेमिकाको मन उसै पनि अशान्त हुन्छ। मनको माया शरीरसँग टाँसिन खोजिहाल्छ। यस्तो बेला उनीहरू भीडभाडबाट टाढा तर शहरबाट नजिक कतै हराउन चाहन्छन्। केही समयअघिसम्म तन्नेरीहरूका लागि यस्तो गन्तव्यको अभाव थियो।...

'सेलिब्रिटी होइन, क्रिकेटर हुँ म'

'सेलिब्रिटी होइन, क्रिकेटर हुँ म'

नेपाललाई ट्वान्टी–२० विश्वकपमा पुर्याआएपछि पारस खड्कालाई भ्याइ–नभ्याइ छ। कीर्तिपुरमा गएर अभ्यास गर्नु, सम्मान थाप्नु छँदै छ। विभिन्न ठूला हाउस उनलाई ब्रान्ड एम्बेसडर बनाउन दौडधुप गरिरहेका छन्। न्युजिल्यान्डमा अर्को महिना हुने...

हल म्यानेजरका मनोरञ्जन काइदा

हल म्यानेजरका मनोरञ्जन काइदा

मनोरञ्जन गर्न मानिसहरू फिल्म हल जान्छन्। हलमा मनोरञ्जनको चाँजोपाँजो मिलाइदिने म्यानेजरहरू चाहिँ कसरी मनोरञ्जन गर्दा हुन्?

'मिस्टर राइट'को पर्खाइमा

'मिस्टर राइट'को पर्खाइमा

'तिम्रो हात समाइ' बोलको गीतले सांगीतिक क्षेत्रमा लाग्ने आँट कत्तिको दिलाइदियो?शशि रावल- निकै नै। अघिल्लो गीत 'चाहना सकियो, बहाना सकियो'बाट राम्रो चर्चा पाएकी थिएँ। यो गीतबाट मेरो शब्द, संगीत र...

सेक्स स्टेसन

सेक्स स्टेसन

फलानो होटलमा छापा मारेर प्रहरीले यति जोडीलाई आपत्तिजनक हालतमा पक्राउ गर्योआ भन्ने समाचारहरूमा अब कुनै नवीनता छैन। देशका मुख्य शहर र शहरोन्मुख गाउँहरूमा खुलेआम देहसुखको खरिदबिक्री भइरहेको छ। यौनकर्मीहरूले रेडलाइट...