Monday 24 Chaitra, 2076 | April 05, 2020
Menu

शुक्रबार

खुला बजारमा प्रेम

  • शुक्रबार २ फागुन, २०७०
  • अभय श्रेष्ठ
  • DISQUS_COMMENTS
(1 Vote)
हरिभक्त कटुवालको एउटा प्रसिद्ध गीत छ– पोखिएर घामको झुल्का भरि सँघारमा/तिम्रो जिन्दगीको ढोका खोलूँ खोलूँ लाग्छ। यसमा नारायण गोपालले मनहारी स्वर भरेका छन्। प्रेमको आकाशमा कावा खाइरहेका युवा–युवती हप्तौँदेखि यही गीत गुनगुनाएर प्रेम दिवसको ग्रान्ड रिहर्सल गरिरहेका होलान्। 
कति चाहिँ एकअर्कासँग मनको तार जोड्ने सपना देखिरहेका होलान्। सन्त भ्यालेन्टाइन दिवस त प्रेमको पर्दा खुल्ने दिन! 
ठीकै हो, प्रेम मान्छेको जीवनमा सबैभन्दा मिठो खुलदुली हो। सबैभन्दा सुन्दर र अनुपम अनुभूति हो। बारम्बार पढिरहन मन लाग्ने, पानापानामा डुब्न मन लाग्ने उपन्यासजस्तै वा उद्दाम प्रेमको कोमल कविताजस्तै यो अचम्मको कौतूहल हो। यो कोमल अनुभूतिले मान्छेलाई सबैभन्दा ठूलो शक्ति पनि दिन्छ। सन्त भ्यालेन्टाइनले आफ्नै ज्यान जोखिममा पारेर पनि, प्रेमी युवा जोडीको विवाह गराइदिएर महान् काम गरेका हुन्। प्रेम र सृष्टिको संसारमा त्यसलाई सम्झनु र त्यो महान् सन्देशलाई आत्मसात गर्नु सुन्दर कुरा हो। 
तर, आधुनिक युगमा प्रेम र फास्ट फुड उस्तै कुरा हुन्। बजारमा फास्ट फुड सबैभन्दा बढी बिकाउ छ। प्रेमलाई बजारले निर्देशित गर्न थालेपछि यो पनि फास्ट फुडजस्तै तुरुन्तै उपभोग गर्न मिल्ने र जिन्दगीभर पछुताउनुपर्ने विषय बनिदिन्छ। खासमा यस्तो प्रेम प्रेम नभई बेइमानीमा बदलिसकेको हुन्छ। प्रेमका नाममा र प्रेमको प्रतिदानमा संसारमा सबैभन्दा बढी बेइमानी भएको छ। धर्मभीरुहरू ईश्वरलाई सर्वव्यापी मान्छन्। आधुनिक युगमा तिनले बेइमानी 'ईश्वर'भन्दा बढी सर्वव्यापी पाउनेछन्। त्यसैले त यी विषयमा संसारमै सबैभन्दा बढी साहित्य, सिनेमा र कला सिर्जिएका छन्। पूर्वका वेदव्यास, बाल्मीकि, पश्चिमका गेटे, दाँते, शेक्सपियर, मोपासाँ, चेखब, दोस्तोएभ्स्कीदेखि मार्खेज, मिलान कुन्देरा, ओरान पामुकजस्ता समकालीन स्रष्टाका कृति मूलतः प्रेम र बेइमानीकै अनेक आयाममा केन्द्रित छन्।
प्रेमजस्तो चोखो भावना कसरी बजारको बिकाउ वस्तु बनिरहेको छ, सुपरमार्केटहरूमा गएर हेरे पुग्छ। अथवा, अखबारका अर्थपृष्ठहरू पल्टाए पनि हुन्छ। सुपरमार्केटहरूले भ्यालेन्टाइन सप्ताहको प्याकेज सार्वजनिक गरेका हुन्छन्। कुन दिन के दिवस, कुन दिन के जाति दिवस, कुन दिन प्रेम प्रस्ताव दिवस, कुन दिन स्वीकृति दिवस, अन्तिममा भ्यालेन्टाइन दिवस अर्थात् प्रेम दिवस। धन्य, यसलाई अझै मधुमास दिवस नाम दिइएको छैन। तर, त्यसको सुविधा पनि उपलब्ध छ। 
त्यसो त बजारले प्रेमलाई के फरक पार्छ र भन्ने प्रश्न पनि उठाइन्छ। प्रेम बजारको प्रतिस्पर्धामा पुगेपछि त्यसले धेरै फरक पार्छ। प्रेमको मूल्य र मान्यता ध्वस्त हुन्छ। बजारको स्वभावै यस्तो हुन्छ, जहाँ प्रतिस्पर्धा गर्न नसक्नेहरू पतन हुन्छन्। खुला बजारमा प्रतिस्पर्धा हुँदो हो त पाञ्चाल राजकुमारी द्रौपदीलाई धनुर्वीर अर्जुनले होइन, कुनै धनी व्यापारीले उडाइदिन्थ्यो। सिद्धार्थ गौतमकी यशोधरालाई अर्कै तस्करले पटरानी बनाइदिन्थ्यो। बजार अर्थतन्त्रको युगमा पैसा छ, सब थोक यहीँ छ। अमेरिका, युरोप र कहाँसम्म भने स्वर्गसमेत यहीँ छ। पैसा छैन, केही छैन, बाँच्ने अधिकारसमेत छैन। सकिएन कुरा? प्रेममा पनि यही हुन्छ। बजारको स्वभावअनुसार उत्रन नसक्ने मनका धनी, तनका गरिब प्रेमी वा प्रेमिका विस्थापित हुन्छन् र तिनका ठाउँ नयाँले लिन्छन्। यस्तो प्रेम र बेइमानीबीचको दूरी खासै हुँदैन। यस्तै स्थितिमा प्रेमको स्वभाव बर्सन नसकेको बादलजस्तो र बेइमानीको स्वभाव रोकिन नसकेको वर्षाजस्तो हुने हो।
बजारको प्रत्यक्ष निशानामा पर्ने अर्को कुरा हो– नारी अस्मिता। जुन कुरा आकर्षक छ, त्यही बिक्छ। बजारले बिक्ने जति सबैलाई बेचिदिन्छ। नारी सौन्दर्य र कमनीयता बजारका लागि सबैभन्दा आकर्षक वस्तु हुन्। बजारले तिनैलाई बेचिदिन्छ। नभए पुरुषको दारी खौरने ब्लेडमा सुडोल फाल्सा भएकी तरुनीको तस्बिर किन राख्नुपर्थ्यो? कोकाकोलाको सिसीसँग आकर्षक युवतीलाई किन दाँजिन्थ्यो? अलि वर्षअघि रुसी टेनिस सुन्दरी मारिया सारापोभाको 'सेक्स डल' भ्यालेन्टाइन दिवसकै उपहारस्वरूप सार्वजनिक गरियो। अहिले पनि उनी उपभोगवादी संसारका लागि रोलमोडल युवती हुन्। त्यतिखेर त उनी संसारकै एक नम्बरकी महिला टेनिस खेलाडी थिइन्। सुन्दरी त छँदै थिइन्। २५ मिलियन डलर तिर्ने शर्तमा वालमार्ट होल्डिङले सारापोभाकै साइजमा बनाएको 'सेक्स डल'बाट खर्बौं डलर आर्जन गरेको थियो। 'प्रेमी' युवाहरूले पाँच हजार अमेरिकी डलर तिरेर संवेदशील अंग छुनेबित्तिकै ७५ डेसिबलसम्मको यौनउत्तेजक आवाज दिने पुतलीसँग संसर्ग गरेर सारापोभासँग रात बिताएको आत्मरति गरे। बजारले प्रेमलाई उपभोगमा पो सीमित गरिदियो। पे्रमजस्तो कोमल भावनामाथि बजारले यसरी ठट्टा गर्योग।
बजारले नाफाको लोभ जगाउँछ। नाफाको लोभले केसम्म गराउँछ, विदेशी सन्दर्भको एउटा कथा सुनौँ। भेरोनिका सफल व्यावसायिक फोटोग्राफर थिई । उसको प्रेम मोडेल हेक्टरसँग थियो। सुन्दर शरीरको स्वामी हेक्टरलाई चलेको भन्दा धेरै बढी तलब दिएर उसले आफ्नो स्थायी मोडल बनाई। हेक्टरका तस्बिरहरू प्रसिद्ध भए र उच्च मूल्यमा बिके। बिस्तारै उसको शारीरिक आकर्षण घट्दै गयो। तर, भेरोनिकाले आफ्नो बजारमुखी प्रतिभाको विलक्षण परिचय दिई। ऊ हेक्टरको शरीरलाई डेभलपरले पखाल्थी र ठूलो प्रिन्ट पेपरमा सुताएर मानव छाप तयार गर्थी। बिनाक्यामरा तयार यो छाप कति चर्चित भयो भने त्यसलाई अल्टिमेट फोटोग्राफी नाम दिइयो। भेरोनिका धनी भई। ऊ हेक्टरसँग सहवास गर्थी तर व्यावसायिक सम्भावनाप्रति सधैँ सजग रहन्थी। मुनाफा, प्रतिष्ठा र मज्जा हेक्टरको शरीरबाट उसलाई प्राप्त गर्नु थियो। यसर्थ उसले सिल्भर ब्रोमाइडको घोलमा डुबाएर विभिन्न रसायनले विषाक्त हेक्टरको शरीरबाट यस्तो विलक्षण फोटोग्राफ बनाई, जसमा हेक्टर अलग–अलग धातुले बनेको मूर्तिजस्तो देखियो। यसको अत्यधिक प्रयोगका कारण हेक्टरको मृत्यु भयो।
भेरोनिकाले बजारमुखी प्रेम गरी। परिणामस्वरूप प्रेमीको दुःखद् अन्त्य भयो। तर, सच्चा प्रेमलाई बजारले केही लछारपाटो लाउँदैन। यो प्रतिदानरहित हुन्छ। आफूले दिनेमात्र। बदलामा पाउनैपर्छ भन्ने छैन। तसलिमा नसरिनले भिरुंगी सल्केको कवि रुद्रलाई गरेजस्तो प्रेम। अझ कतिले त आफ्नो प्रेमलाई भन्दा जनताको शान्तिपूर्वक बाँच्न पाउने अधिकारलाई प्रेम गरेका हुन्छन्, जसरी भारतको मणिपुरकी कवयित्री इरोम शर्मिलाले गरिरहेकी छन्। जसरी आफ्नो ज्यान जाने शर्तमै अमेरिकी युवती रासेल कोरीले प्यालेस्टिनीको गाँसबासको अधिकारलाई प्रेम गरेकी थिइन्। संसारका सारा सच्चा प्रेमी–प्रेमिकाले गर्ने यस्तै कर्मयोगी प्रेम हो। तिनलाई प्रेम दिवसको शुभकामना!
रेडकर्नर 'नोटिस'मा नेता पनि

रेडकर्नर 'नोटिस'मा नेता पनि

अपराधको विश्वव्यापी सञ्जालमा नेपालीको उपस्थितिलाई सामान्य मान्न सकिन्न। हत्या, ठगी, चोरी तथा अपहरणका मुद्दामा नेपालीहरू दोषी देखिएका छन्। नेपालीहरू स्वदेश तथा विदेशमा अपराध गरी अन्तर्राष्ट्रिय कुख्यातिमा सामेल भएका छन्। 

घोषणापत्रः गफै त हो नि सम्धीजी!

दोस्रो संविधानसभा निर्वाचनमा व्यस्त मुख्य राजनीतिक दलले घोषणापत्र सार्वजनिक गर्ने कर्मकाण्ड पूरा गरेका छन्। निर्वाचनका लागि एक महिनाभन्दा पनि कम समय बाँकी रहँदामात्र उनीहरूले घोषणापत्र बाहिर ल्याउन सके। निर्वाचनको 'असारे...

खरो खरेल

खरो खरेल

नेपाली जनताका नजरमा प्रहरीको छवि खासै गतिलो छैन। यस्तो कटु सत्यका बीच गुलाब दिवसका दिन युवायुवतीले एक प्रहरी अधिकृतलाई १५ सय गुलाब दिए। उनी थिए, एसएसपी रमेश खरेल। यत्तिका तन्नेरीले...

निर्लज्जताको हद

निर्लज्जताको हद

संस्कृतमा एउटा उखान छ– 'एकाम् लज्जाम् परित्यज्य सर्वत्र विजयी भवेत्।' अर्था्त, लाज एउटा त्यागेपछि जे गरे पनि भयो। यहाँ यही लाज पचाउनेका कुरा हुँदै छ। यी लज्जा पचाउने हुन्, संगीतकार...

गजबकी शीला

गजबकी शीला

उमेर उकालो लाग्दै गए पनि जाँगरमा कमी नआएको देखाइदिएकी छिन्, अभिनेत्री प्रिया रिजालले। एनबी महर्जनले निर्देशन गरेको फिल्म 'सकस'मा उनले आइटम नम्बरमा ठुम्का लगाएकी छिन्। छोटो पहिरन लगाएर उत्तेजक भंगीमा...

'स्वस्थ मान्छेलाई सेक्स बढी चाहिन्छ'

'स्वस्थ मान्छेलाई सेक्स बढी चाहिन्छ'

सेक्स के हो?प्रकृतिको वरदान हो। यो सबैलाई चाहिन्छ।प्रेम र सेक्सको सम्बन्ध कस्तो हुन्छ?प्रेममा सेक्सको आफ्नै स्थान  हुन्छ। सेक्सले  आत्मीयता बढाउँछ तर सेक्सकै लागि प्रेम गरिन्छ भन्ने होइन।बिहेपूर्वको सेक्स कति उचित...

प्रशान्तको सुरमा झुम्यो पोखरा

प्रशान्तको सुरमा झुम्यो पोखरा

आइतवार पोखरा रंगशाला खचाखच भरिएको थियो। सन्दर्भ थियो– 'ल्होछार म्युजिकल फेस्टिभल।' हजारौँ पोखरेली संगीतमा झुम्न तम्तयार थिए। जब इन्डियन आइडल प्रशान्त तामाङ स्टेजमा देखापरे, तालीको गडगडाहटले उनको स्वागत गरियो।

'जलकुम्भी' जालमा प्रेम

मनोज घर्तीमगर- प्राकृति सुन्दरताले भरिपूर्ण पोखरा प्रेमीप्रेमिकाका लागि रोमान्टिक शहर हो। जोडीहरू यहाँ बेपर्वाह फेवाताल, बेगनास ताल, शान्ति स्तुपा, सराङकोट, लभ्ली डाँडा, पावर हाउस, फेवा पार्कलगायत ठाउँमा रमाइरहेका हुन्छन्। तर,...