22 Chaitra, 2076 | April 04, 2020
Menu

शुक्रबार

खरो खरेल

  • शुक्रबार ९ फागुन, २०७०
  • शुक्रबार
  • DISQUS_COMMENTS
(1 Vote)
खरो खरेल
नेपाली जनताका नजरमा प्रहरीको छवि खासै गतिलो छैन। यस्तो कटु सत्यका बीच गुलाब दिवसका दिन युवायुवतीले एक प्रहरी अधिकृतलाई १५ सय गुलाब दिए। उनी थिए, एसएसपी रमेश खरेल। यत्तिका तन्नेरीले गुलाबका लायक ठहराएका उनी देशका ठूला 'सेलिब्रिटी' लाग्छन्। उनी जहाँ जान्छन्, त्यहाँको अपराध नगरीमा खैलाबैला मच्चिन्छ। अखबारमा छाउँछन् उनी। गुन्डा र अपराधीको दोहोलो काढ्नेमा गनिएका खरेललाई प्रहरी संगठनभित्र घामड र घमण्डी भन्नेहरूको पनि कमी छैन। खरेलको खरोपनको परख गरेका छन्, राजन नेपाल र केपी ढुंगानाले।


... ... ...

२०४५, चैत 
प्रहरी तालिम केन्द्र महाराजगञ्जमा प्रहरीकै टिमबीच भलिबलको कडा टक्कर चलिरहेको थियो। प्रतिस्पर्धाको मैदानमा थिए– प्रहरीकै सुदूरपश्चिम र तालिम केन्द्र। तालिम केन्द्रलाई दुई सेट हराएर सुदूरपश्चिम बाजी मार्ने दाउमा जति अगाडि बढ्यो, तालिम केन्द्रका प्रमुख धु्रवबहादुर प्रधानको बेचैनी पनि बढ्दै गयो। 
प्रधानको आँखा मैदानमा भन्दा दर्शकको भीडतिर सोझियो। छ फिट अग्लो, कस्सिएको ज्यान भएको, दर्शकदीर्घामा बसेका एक ठिटोमा पुगेर प्रधानको नजर टक्क अड्डियो। 'ए यसलाई मैदानमा छिरा,' प्रधानले त्यही ठिटोतिर औँला देखाउँदै सहयोगीलाई आदेश दिए। उनी सरासर मैदानमा आएर बल थामे। तालिम केन्द्रको टिमले सुदूरपश्चिमलाई ३–२ को हार चखायो। प्रधान दंग भए। 
'ल, यसको नाम सिटरोलमा भर्, अबदेखि यो हाम्रो टिमको खेलाडी भयो।' 
त्यो बेला तालिम केन्द्रको प्रमुखको आदेश सर्वोपरि थियो। प्रधानको आदेश तत्काल पालना भयो। सिट रोलमा लेखियो– 
नाम : रमेश खरेल, पदः प्रहरी जवान। 
... ... ... 
२०७०, फागुन
खरेल आएपछि काठमाडौँका गुन्डा भागाभाग।
प्रहरीलाई कसम खुवाउँदै खरेल। 
भेट्न आएका गुन्डालाई खरेलले खोरमा हाले। 
एक हप्तामा ५० गुन्डा पक्राउ।
रोज डेमा खरेलले १५ सय गुलाब पाए। 
दोहोरिएर काठमाडौँ प्रहरीप्रमुखको रूपमा खरेल काठमाडौँ आएपछि सञ्चारमाध्यमका समाचारका शीर्षकमा उनले कब्जै जमाए। टेलिभिजन र रेडियोका प्राइमटाइमका कार्यक्रम, संवाद, छापा माध्यमका महत्वपूर्ण पेजमा उनी छाए। यतिमात्रै कहाँ हो र? 'खरेल आए, अब चैँ काठमाडौंमा रहेका अपराधीको दोहोलो काढिने भयो,' बिहानीपख चियापसलहरू र बेलुकीपख मदिरालयहरूमा हुने गफमा पनि उनी जोडिए। 
६७ हजार सदस्य भएको संगठनको एक सदस्य हुन् खरेल। ७५ जना वरिष्ठ प्रहरी उपरीक्षकमध्ये एक। यही हो, उनको वास्तविक पदीय हैसियत। उनी त्यही पद बोकेर जहाँ जान्छन्, त्यहाँको अपराध नगरीमा तरंग किन आउँछ? प्रधानको आदेशमा जवानका रूपमा प्रहरी संगठनमा छिरेको त्यो ठिटोले यो २५ वर्षमा त्यस्तो के चाहिँ गरे, जसले उनी अखबारका हेडलाइनदेखि भट्टी र चियापसलका गफसम्ममा छाए? 
... ... ... 
काभ्रे, खरेलथोकका बहिदार हरिप्रसाद खरेलका कान्छा छोरो। बाल्यकाल विद्यालयको होस्टेलमै बित्यो उनको। २०३६ सालमा लेबोरेटरी स्कुलबाट एसएलसी दिएसँगै उनी लागे अमृत साइन्स क्याम्पस (अस्कल) तिर। अस्कलको यात्रा आईएससी कटेसँगै सकियो। बीएससीतिर जाने आँट गरेनन् र लागे त्रिचन्द्र कलेजतिर। त्यहाँबाट उनले बीए सक्काए।
विद्यालयको कडा अनुशासन अनि बिहानबिहानैको पिटीले बनाएको गठिलो शरीरसँगै उचाइको पनि साथ पाएका उनी कलेज जीवनमा बिस्तारै खेलतिर तानिए। उनको रोजाइमा परे, भलिबल र ह्यान्डबल। दुवै खेलका उनी राष्ट्रिय खेलाडी भए। 
खरेलथोकका खरेल कोही सेनातिर थिए, कोही प्रहरीतिर। उनका काका अच्युतकृष्ण खरेल प्रहरी संगठनमा थिए। कडा स्वभाव अनि गुन्डा तह लगाउन आफैँ भिड्ने तत्परताले अच्युतकृष्ण चर्चामै थिए।
खेलाडी खरेल रंगशालामा जाँदा रूपक शर्मा, अच्युतकृष्ण खरेलको छवि देख्दा लोभिन्थे। राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने क्रममा राजेन्द्रबहादुर सिंहलगायत प्रहरी अधिकृतसँग परिचय भए पनि उनमा प्रहरीमा भर्ना हुने उत्सुकता भने थिए। उनको सपना त सेनाको सेकेन्ड लेफ्िटनेन्ट हुने थियो।
'सेनाको टोलीबाट पनि भलिबल खेलेको थिएँ, सेनामै जान्छु भन्ने सपना पनि थियो,' खरेलले अतीत सम्झन्छन्, 'त्यो बेला राणा, शाह लगायतहरूको सेनामा बढी नै दबदबा थियो। मेरो प्रयास सफल भएन।'
त्रिचन्दको पणइ। ठमेलको रंगिन दुनियाँबाट उनी टाढा बस्न सकेनन्। खेलाडी भए पनि समयको कुनै अभाव थिएन। ठमेलतिर बरालिन्थे। चुरोटसँगै बिस्तारै मदिरातिर पनि लहसिए उनी। युवा उमेर, हट्टाकट्टा ज्यान। डाङडुङमा साथीहरूले उनकै साथ खोज्थे। उनी पनि आफ्नो गठिलो ज्यानको मजैले सदुपयोग गर्थे।
राष्ट्रियस्तरको खेलाडी नै भए पनि त्यो बेला खेलक्षेत्र न भरोसाप्रद थियो, न आकर्षक। खेलमा नाममात्रै थियो, दामको गुञ्जाइश थिएन। खेलाडी बन्नु भनेको केवल सोखको परिपूर्ति थियो। 
यता, खरेल बरालिँदै गए। 'छोरा बिग्रने भयो,' उता खरेलथोकमा चिन्ता बढ्दै थियो। खेलसँगको सम्बन्धले उनलाई अकस्मात् प्रहरी संगठनसँग जोड्यो। परिवार हर्षित भयो।
'म प्रहरी भएपछि परिवार असाध्यै खुसी भयो,' खरेल सम्झन्छन् 'बरालिएर बिग्रने भयो भन्ने चिन्तामा थिए घरका मान्छे। प्रहरी भए पनि लौ अब जागिरे भयो भनेर आमा साह्रै खुसी हुनुभयो।'
ज्यान रहेसम्म त हो खेल जीवन। खेलाडीका रूपमा, प्रहरी जवान पदमा खरेल कति समय टिक्थे र? उनका लागि संगठनभित्रै अर्को बाटो खुल्दै थियो।
त्रिचन्द्रबाट बीए पास गरे। त्यही बेला प्रहरीमा प्रहरी निरीक्षकको भर्ना खुल्यो। तर, उमेरले पो धोका दिने हो कि भन्ने आशंकाका बीच जन्ममितिका आधारमा उमेरको गणना गर्दा भ्याए। साथीहरूसँगै मिलेर उनले आवेदन दिए। ज्यान गठिलो थियो नै, स्वास्थ्य परीक्षण कटाइहाले। लिखित, अन्तरवार्ता हुँदै सबै परीक्षा कटाएर उनी लागे १४ महिने तालिमतिर।
उनी प्रहरी निरीक्षकमा भिड्दा मुलुकमा पञ्चायत राज थियो। २०४६ माघ २९ गते तालिम सकाएर बाहिरिँदा उनको काँधमा प्रहरी निरीक्षकको फुली थियो भने देशले बहुदलको ताज पहिरिसकेको थियो। 
२५ वर्षीय प्रहरी सेवा यात्रामा दुई वर्षअघि उनको काँधमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी ) को फुली चढ्यो। 
... ... ... 
प्रहरी तालिम सक्षम अधिकृत बनाउन होइन, आफूभन्दा माथिल्ला तहकाले जे भन्यो, त्यसमा 'हस्' भन्ने बानीको विकास गराउन केन्द्रित थियो र छ। दिएको आदेश पालना गर्ने, सवालजवाफ नगर्ने। जसले यसको अनुकरण गर्योन, ऊ असल प्रहरी। 
तालिमबाट खरेलले 'हस् हजुर' मात्रै होइन, 'किन हजुर' भन्न पनि सिके। सायद त्यसैको प्रतिफल हो, २५ वर्षको अवधिमा उनी प्रमुख भएर गएको कार्यालयहरूको सूची लामै भए पनि पूर्ण कार्यकाल भने कहीँ पनि बिताएनन्। 
'सबैभन्दा लामो कार्यकाल ११ महिना बिताएको कास्की प्रमुखको हो ' कार्यालय प्रमुखका रूपमा बिताएका ठाउँ र समय सम्झँदै उनले भने, 'सबैभन्दा छोटो जनसेवामा। २८ दिन।' 
उनी जहाँ पुग्थे, अधिकांश ठाउँमा आफूभन्दा माथिल्लो प्रहरी अधिकारीको टाउको दुख्न सुरु भइहाल्थ्यो। नहोस् पनि किन? प्रहरी निरीक्षक हुँदा नै उनले एसपीको पोल खोलेर संगठनमा हंगामा जो मच्चाएका थिए। बिस्तारै संगठनभित्र खरेल अरुचिका पात्र बन्दै गए। 
कार्यालय प्रमुख बनेको एक घण्टामै उनलाई त्यहाँबाट लखेट्न राजनीतिक दबाब सुरु भइहाल्थ्यो। चल्तापूर्जा मान्छे त्यस अभियानमा थपिन्थे। 'पर्सामा गएको एक घण्टामै मलाई सरुवा गर्न राजनीतिक दाउपेच सुरु भइसकेको थियो,' उनले तितो अनुभव सुनाए, 'तर, स्थानीयको समर्थनमा १० महिना बिताएँ। बढुवा भएपछि सरुवा भयो।' 
संगठनभित्र 'घामड प्रहरी'को परिचय बनाए पनि संगठनबाहिरको दृश्य भने बिस्तारै फेरिँदै थियो। खरेल बिस्तारै आम नागरिकका आँखामा चढ्दै थिए। 'खरेल त खतरा छ रे,' अपराधको दुनियाँमा उनको त्रास फैलँदै थियो।
... ... ... 
चार वर्षअगाडि जिल्ला प्रहरी कार्यालय सिराहाको प्रहरी प्रमुखमा खरेलको सरुवा हुँदा सशस्त्र समूहको दबदबा थेगिनसक्नु थियो। अपहरण, असुली, चन्दा माग, हत्या, यस्तै–यस्तै घटनाको बाहुल्य थियो। सिराहामा खरेलको प्रवेशसँगै दृश्य बदलियो। समाचार आउन थाले– 'सशस्त्र समूहका नाइके प्रहरी मुठभेडमा मारिए।' यसरी मारिनेका संख्या बढ्न थाले। १, २, ३, ४, ५, ६, ७...।
काठमाडौँमा पक्राउ परेका सशस्त्र समूहका एक नेतालाई जिल्ला सारेर सिराहा लैजाने क्रममा जब बीचैमा ती मारिए, खरेल विवादमा तानिए। पहिलो संविधान सभामार्फत सत्ताको केन्द्रमा प्रभाव बढाएका मधेसवादी दल सबै खरेलको विपक्षमा उभिए । सत्ताधारी दलले दबाब थेग्न सकेन र खरेल सरुवामा परे।
साँच्चीकै जानाजान हत्या गरेकै हो त उनले? 
'हैन, मुठभेडमा मारिएका हुन्,' खरेलले सहज रूपमा उत्तर दिए, 'हतियार बोकेको व्यक्ति प्रहरीसँग भिड्न आएपछि प्रहरीले पनि राज्यले दिएको हतियार चलाउँछ नै। त्यसमा हामी पनि पर्न सक्छौँ, उतातिरको हतियारधारी पनि पर्न सक्छ।'
काठमाडौँबाट नियन्त्रणमा लिएर लगिएका व्यक्ति कसरी मुठभेडमा मारिए त? 'उनी प्रहरीको हतियार खोसेर भाग्न खोज्दै थिए, प्रहरी कारबाहीमा परे,' खरेलले भने।
खरेल प्रहरी भएको स्थानमा मारिनेहरूको संख्या बाक्लै भए पनि उनैले चलाएको गोलीबाट भने अहिलेसम्म कसैको ज्यान गएको छैन रे।
'पत्याउनुस्, मैले गोली हानेर अहिलेसम्म कसैको ज्यान लिएको छैन,' खरेलले दाबी गरे।
... ... ... 
प्रहरी प्रमुख रमेशचन्द ठकुरीको बहिनीज्वाइँ ठमेलमा रक्सी खाएर बबाल गरेकै आधारमा रातभरि प्रहरी हिरासतमा बसे। क्यासिनोमा छिरेर जुवा खेलेको अभियोगमा राजतन्त्रमा बल भएकै बेला पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंह प्रहरी खोरमा पुगे। प्रहरी भर्नामा सहयोग गर्नुपर्योभ भन्दै नजराना बोकेर प्रहरी कार्यालयका प्रमुखलाई भेट्न पुगेका सुनीलकुमार श्रेष्ठ र कृष्णप्रसाद जाती पक्राउ परे। 
तीन वर्षअगाडि महानगरीय प्रहरी परिसर काठमाडौँमा भएका यस्तै अपत्यारिला शृंखला सार्वजनिक भए। त्यहाँको प्रमुख थिए खरेल। 
गुन्डागर्दीविरुद्धको अपरेसन, क्यासिनो छिर्ने नेपालीमाथीको कडाइ, मनोरञ्जन व्यापारको नाममा नग्न नृत्य गराउने डान्सबारहरूमा भएको प्रहरीको छापा र कामदार नभई सञ्चालकमाथि कारवाही। प्रहरीको कारबाहीको शृंखला बढ्दै गयो। खरेल सर्वसाधारणबीच चर्चाको विषय बन्दै गए। 
तर, उनको व्यक्तिगत अनुभव भने बेग्लै छ। 'मेरो जीवनको सबैभन्दा तितो अनुभव काठमाडौँ परिसरको प्रहरीको त्यही कार्यकाल हो,' उनी भन्छन्, 'त्यहाँ बिताएको आठ महिना साह्रै सकसपूर्ण भयो।'
उनलाई राष्ट्रिय चर्चामा ल्याउने त्यो कार्यकाल कसरी तितो भयो? उनले रहस्य खोले, 'त्यो बेलाको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुखसँग मेरो कार्यशैली मिलेन। उहाँलाई महिना बितेपछि नजराना बुझाउनुपर्ने रहेछ। त्यो मबाट हुने कुरा भएन। त्यसैले काम गर्न साह्रै सकस भयो।'
खरेल तत्कालीन संगठन प्रमुख ठकुरीसँग पनि उस्तै तितो सम्बन्धका कारण काठमाडौँ प्रहरी प्रमुखको पहिलो कार्यकाल तितो भएको बताउँछन्। उनीसँग 'वेभलेन्थ' नै नमिलेको उनको ठम्याइ छ। वेभलेन्थ नमिल्दा घाटा उनैलाई भयो। सर्वसाधारणवाट वाहवाही कमाए पनि ठकुरीले निकालेको बढुवा सूचीमा उनको नाम अटेन। खरेल एसपीमै थन्किए। त्यही झोकमा एक महिना बिदामा बसेर उनी काठमाडौँबाटै बिदा भए।
काठमाडौँपछि प्रमुखको रूपमा पर्सा पुगेका उनले फुली नपाउँदाको नकारात्मक प्रभाव काममा देखिएन। काठमाडौँको वाहवाही त्यता सर्योो। 
'पर्सा प्रहरी प्रमुखको रूपमा काम गर्दा धेरै आनन्द आयो। अहिले पनि त्यहीँको वातावरण सम्झन्छु। सहयोगीका रूपमा पाएका प्रहरीहरू सम्झन्छु,' अनुहार उज्यालो बनाउँदै उनले पर्साको कार्यकाल सम्भि्कए।
जहाँ खरेल पुग्छन्, त्यहाँ वाहवाहीमात्रै होइन, विवाद पनि पुग्छ। खरेल प्रमुख भएको ठाउँमा विवाद नभएको, उनको सरुवाको माग नभएको कमै होलान्। आफूभन्दा माथिल्लो तहका प्रहरी अधिकारीसँग मनमुटाव सामान्य भइहाल्यो। नेताहरूका आलोचनाका बाढी आउँछन्। 
आखिर किन त?
'मेरो विरोध गर्नेहरू अपराधमा कुनै न कुनै रूपमा जोडिएका बदमासहरू नै हुन्,' उनी ठोकुवा गर्छन्, 'तस्कर, गुन्डा नाइके अनि उनीहरूसँग जोडिएका नेताले विरोध गर्दैमा म डराउँदिनँ। खरेल थोकको पानी खरै छ।'
... ... ... 
प्रहरी निरीक्षकको बर्दी पाएसँगै उनको मनमा पलाएको सपना हो– संगठन प्रमुखको फुली। अहिलेको ३० वर्षीय सेवा अवधिको प्रावधान नै कायम रह्यो र उनी नियमित बढुवामा परे भने खरेल पाँच वर्षपछि सपनाको निकट पुग्ने पक्का छ। तर, सपना पूरा होला त?
'मेरो सपना प्रहरी प्रमुख हुने नै हो। तर, अहिले आएर कतै हुन्न कि भन्ने शंका पनि लाग्छ,' उनले भने, 'आईजीपी नै हुन सकिनँ भने पनि असल प्रहरी नै बनेर संगठनबाट बिदा हुनेछु भन्नेमा भने कुनै शंका छैन।'
... ... ... 
२०७५ वैशाख 
प्रहरी महानिरीक्षक रमेश खरेल।
सम्भव छ त?

अरूका नजरमा खरेल

रमेश खरेल मेरो मातहतमा बसेर काम गरेका व्यक्ति हुन्। उनी व्यावसायिक, अनुशासित र निष्ठावान् छन्। उनको कार्यशैली एकदमै राम्रो छ। एउटा प्रहरी अधिकृतले निर्वाह गर्नुपर्ने दायित्वबोध गरेर अघि बढिरहेका छन्। उनको कार्यशैलीकै कारण संगठनले पुरस्कृत गरिरहेको छ। काठमाडौँमा दोहोर्या्एर ल्याउनुको कारण पनि यही हो जस्तो लाग्छ। 
कुबेरसिंह राना, पूर्वआईजीपी


रमेश खरेल नेपाल प्रहरीका योग्य र क्षमतावान् पुलिस अफिसर हुन्। उनले सदैव इमानदारीपूर्वक आफ्नो काम गर्दै आएका छन्। काठमाडौँका लागि उनले चालेका कदम एकदमै सह्रानीय र प्रशंसनीय छन्। प्रहरीभित्र मौलाउँदै गएको बेथितिलाई तह लगाउन उनले उचित कदम चालेका छन्। यो काम गर्नु अत्यन्तै गाह्रो छ। तैपनि उनले गर्ने अठोट लिएका छन् र यसविरुद्ध आफूलाई उभ्याएका छन्। त्यसका लागि उनको जति प्रशंसा गरे पनि कम हो।
योगेश भट्टराई, युवा नेता, एमाले


सर्वसाधारण जनता र गरिखानेका असल मित्र हुन्, एसएसपी रमेश खरेल। अघिल्लो चोटि काठमाडौँ परिसरको प्रमुख हुँदा रात्रीकालीन व्यवसायलाई १२ बजेसम्म सञ्चालनका लागि उहाँले सहयोग गर्नुभएको थियो। नेतृत्व गर्ने ठाउँमा असल मानिस भएपछि तलकालाई मनपरी गर्न गाह्रो हुन्छ। ठमेल क्षेत्रबाट पैसा असुलेर खान पल्केका पुलिस अफिसर तथा जवानहरू उहाँ काठमाडौँमा आएपछि हच्किने गरेका छन्। अपराधी र गैरकानुनी काम गर्नेलाई छोड्दै नछोड्न उहाँको बानी निकै मन पर्छ। जनताको जिउधनको सुरक्षाका लागि उहाँको हकी र निडर स्वाभावको म प्रशंसक हुँ। खरेलले 'तलमाथि गर्दैनन्' भन्नेमा धेरैलाई विश्वास छ। मेरो पनि त्यो विश्वास छ। 
समीर गुरुङ, उपाध्यक्ष, ठमेल पर्यटन विकास परिषद् 


इमानदार र सक्षम प्रहरी अधिकृत हुनुहुन्छ उहाँ। मलाई उहाँको बोल्ने 'स्टाइल' र कार्यशैली असाध्यै मन पर्छ। फिल्म 'काली' र 'लंका'मा अभिनय गर्दा उहाँको स्टाइल सम्भि्कएकी थिएँ। नेपाल प्रहरीमा हजारौँ रमेश खरेल जन्मिएमात्रै हामी सुरक्षित महसुस गर्न सक्छौँ । यहाँ काम गर्न खोज्नेलाई पनि दिइँदैन। उहाँले हृदयबाटै जनताका पक्षमा काम गर्न खोजेकाले अहिलेसम्म सफल भइरहनुभएको छ। 
रेखा थापा, अभिनेत्री

अनुपमाथि राम्रो 'षडयन्त्र'

अनुपमाथि राम्रो 'षडयन्त्र'

रंगमञ्चका अब्बल निर्देशक/कलाकार अनुप बरालले फिल्म निर्देशन गरेका छन्। फिल्म निर्देशक बन्ने उनको कुनै योजना थिएन। 'मलाई निर्देशक बनाउने षडयन्त्र गरियो,' बराल निर्देशित फिल्म 'फिट्किरी'को आइतवार आयोजित पत्रकार सम्मेलनमा उनले...

खतरामा सुष्माको जवानी

खतरामा सुष्माको जवानी

नायिका सुस्मा कार्कीको पोटिलो ज्यान हेरेर रमाउने दर्शकका लगि फेरि एउटा दुःखको खबर छ। उनले 'खुलेरै' अभिनय गरेका धेरै फिल्म असफल फिल्मको सूचिमा पर्न थालेका छन्। सुष्माको जवानीलाई पर्दामा छताछुल्ल...

प्रेममा पहिलो

प्रेममा पहिलो

पहिलो गुलाब : कक्षा १० मा पढ्दाखेरी पहिलो गुलाब पाएकी थिएँ। केटो मभन्दा जुनियर कलासको थियो। उसले गुलाबसहित प्रेमपत्र मेरो हातमा थमायो। अरू के के भन्यो, सुनिनँ। त्यो गुलाब र त्यो...

जय हो भ्यालेन्टाइन बाबा!

जय हो भ्यालेन्टाइन बाबा!

हावा, पानी र अन्नजस्तै अनिवार्य छ प्रेम। यो मानव जीवनको सबैभन्दा सुखद आयाम हो। प्रेमको अमरत्व र शाश्वताबारे असंख्य ग्रन्थ लेखिएका छन्, असंख्य गीत गाइएका छन्। केही वर्षदेखि नेपाली समाजले...

पोखरामा 'लभ एन्ड लस्ट'

काठमाडौँको सुन्धारामा मुख्य आउटलेट रहेको 'लभ एन्ड लस्ट'ले पोखराको लेकसाइडमा पनि नयाँ आउटलेट खोलेको छ। 'लभ एन्ड लस्ट' सेक्स टोय बिक्री गर्ने नेपाली कम्पनी हो। विश्वबजारमा पाइने विभिन्न भेराइटीका कृत्रिम...

'दर्शकको नापतौलमा व्यस्त हामी'

'दर्शकको नापतौलमा व्यस्त हामी'

'हिरो'को परम्परागत फिल्मी फ्रेममा दयाहाङ राई अटाउँदैनन् किनभने उनको न लामो कपाल छ, न सुगठित जिउडाल छ र न चकलेटी अनुहार छ। तर, नयाँ र पुराना निर्देशकले उनलाई मुख्य भूमिकामा...

भन्न खोजेको के?

भन्न खोजेको के?

विवाह नगरे पनि श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का 'जोडी'कै रूपमा चिनिन्छन्। फिल्मदेखि व्यवसायसम्म सहकार्य गरिरहेका उनीहरूले सम्बन्धलाई औपचारिकता मात्रै दिन बाँकी रहेको बताइन्छ। शनिवार एक कार्यक्रममा यो जोडी सँगै देखियो।...

एसएलसीको भूत

एसएलसीको भूत

फलामे ढोका भनिने एसएलसी परीक्षा नजिकिँदै जाँदा टेक्सस स्कुलकी पेमा याङ्छेन शेर्पा अन्तिम तयारीमा जुटेकी छिन्। दिनभरिको स्कुल समयबाहेक बिहानसाँझ गरेर छ घण्टा 'एक्स्ट्रा क्लास' छ उनको। 'स्कुलमा ‘राम्रो गर्नुपर्छ...