Monday 24 Chaitra, 2076 | April 05, 2020
Menu

शुक्रबार

आफ्नैसँग पर–पर

  • शुक्रबार २३ फागुन, २०७०
  • सजना बराल
  • DISQUS_COMMENTS
(1 Vote)
आफ्नैसँग पर–पर
छोराछोरीको गुनासो छ– बाउआमा कुरा बुझ्दैनन्। बाउआमाको दुखेसो छ– छोराछोरी टेर्दैनन्। यसै पनि दुई पुस्ताका बीच थुप्रै भिन्नता हुन्छन्। उनीहरूको लवाइखवाइ मिल्दैन, विचार मिल्दैन, मनोविज्ञान मिल्दैन र जिउने तरिका मिल्दैन। 'जेनरेसन ग्याप' अर्थात् पुस्तान्तरले सन्तान र अभिभावकको सम्बन्धमा खाडल उत्पन्न गरेको छ। छोराछोरी बाउआमाले अनावश्यक हस्तक्षेप गरेकोमा असन्तुष्ट छन् भने बाउआमा छोराछोरी बिग्रेलान् भनेर चिन्तित छन्। सम्बन्धको यो दूरीलाई सजना बरालले नाप्न खोजेकी छिन्।
 
अंग्रेजी गायक क्याट स्टेभेन्सको गीत छ एउटा– 'फादर एन्ड सन्स' भन्ने। गीतमा छोरा आफ्नो दुनियाँ आफैँ बनाउन खोज्छ भने बाबु छोरालाई 'जे छ त्यही ठीक छ, दुनिया–सुनियाँ बनाउनुपर्दैन, घरमै बस्, मैले जे गरेँ, तैँले पनि त्यही गर' भनी अह्राउँछ। बाबुछोराबीचको मनमुटाव वा दुई पुस्ताबीचको मतान्तरलाई गीतमा समेटिएको छ। स्टेभेन्सले सन् १९७० मा लेखेको यस गीतको सान्दर्भिकता अझै पनि उत्तिकै कायम छ।
'अभिभावक र छोराछोरी पुस्ताबीच सधैँभरि मनमुटाव हुन्छ,' मानवशास्त्री सुरेश ढकाल भन्छन्, 'यो स्वाभाविक कुरा हो। 'बाउन्ड टू ह्यापेन' भन्छन् नि, यो यस्तै चिज हो।'
छोराछोरीको गुनासो
'हाम्रो बाउ साह्रै रड्डी छन्,' मेट्रो कलेज, नयाँ बानेश्वरका विजय अमात्य भन्दै थिए, 'बाइक किन्देऊ भनेको एक वर्ष भइसक्यो, बूढो पटक्कै टेर्ने होइनन्। एक्सिडेन्ट हुन्छ रे! एक्सिडेन्ट त गाडीमा हिँड्दा पनि हुन्छ नि।' उनलाई बुवाले आफ्ना कुरा नबुझिदिएकोमा साह्रै रिस उठ्छ। रिसको झोकमा कहिलेकाहीँ घरै जाँदैनन्। 'केटाहरूकैमा बस्दिन्छु,' उनी भन्छन्, 'राति भइसक्यो, घर आउन सकिनँ, बाइक भएको भए सरर आउँथेँ' भनेर ममीलाई फोन गर्छु। भोलिपल्ट घर जाँदा बाउ रिसले बम भइरा'को हुन्छन्।'
साइरस कलेजकी निरिष्मा श्रेष्ठको घरमा पनि बेलाबखत लडाइँ पर्छ। कलेजबाट १० मिनेटमात्रै ढिलो आउँदा पनि निरिष्माकी आमा बम्किन थाल्छिन्। छोरीलाई केरकार गर्छिन्। 'किन ढिलो आइस्? कसरी ढिलो भयो? कहाँ गएकी थिइस्? कोसँग गइस्? नन–स्टप सोध्नुहुन्छ,' निरिष्मा भन्छिन्, 'सानोतिनो कुरामा कचकच गरेको मन पर्दैन मलाई। 'काँ गकी थिस्?' भन्दा 'डिस्को ग'को थिएँ' भन्दिन्छु। त्यसपछि ममी र मेरो वार सुरु भइहाल्छ।'
अभिभावकले आफ्ना कुरा नबुझिदिएको गुनासो गर्छन् केटाकेटीहरू। आफूहरूको इच्छासँग अभिभावकले सरोकारै नराख्ने र जबर्जस्ती आफ्नो भनाइ लाद्न खोज्ने युवा पुस्ताको अनुभव छ। 'यति ठूलो भइसक्दा पनि 'यसो गर्, यहाँ जा, त्यो नखा' भनेर सिकाउनुहुन्छ,' नोभा इन्टरनेसनल कन्सल्ट्यान्सीमा कार्यरत २० वर्षीया मनीषा थापा भन्छिन्, 'हामीमाथि विश्वासै गर्नुहुन्न। कहिलेकाहीँ त गल्ती नै नगरी गाली खानुपर्छ। यस्तो भएपछि ममी–ड्याडीदेखि रिस उठ्छ, बोल्न पनि मन लाग्दैन।'
बाआमा र छोराछोरीबीच 'कम्युनिकेसन ग्याप' हुनासाथ यी दुई पुस्ता स्वतः एकअर्काबाट टाढिँदै जाने शिक्षाविद् प्राडा विद्यानाथ कोराइला बताउँछन्। भन्छन्, 'जुनसुकै कारणले भए पनि अभिभावक र छोराछोरीबीच संवाद कम भयो भने सम्बन्धमा क्रमशः खाडल पर्छ।' कोइराला पनि यो समस्या हरेक ठाउँको हरेक जेनरेसन(पुस्ता)ले झेल्दै आएको र आउने पुस्ताले पनि झेल्नुपर्ने बताउँछन्। 'यो किनभने हरेक पुस्ता आफ्नै जमानाको कुरा सही ठान्छ,' उनी भन्छन्, 'नयाँ पुस्तालाई ऊ आलाकाँचा र वाहियात मान्छ। त्यसलै त छोराको कुरा बाउले नमान्ने, छोरीको लवाइ आमालाई मन नपर्ने हुन्छ। एकअर्काको भनाइ, गराइ र विचार नमिलेपछि समस्या उत्पन्न हुने नै भयो।'
अभिभावकको मर्म
काठमाडौँ, चक्रपथकी सुनीता ढकालको सबैभन्दा ठूलो चिन्ताको विषय नै उनका तीन सन्तान हुन्। 'मेरा दुइटी छोरी असल छन्,' उनले कुरा कोट्याइन्, 'तिनको खासै पिर लाग्दैन। तर, कान्छो छोरो अलि बदमास छ। यताउता गर्ला, चुरोट, रक्सी खाला कि भनेर आत्तिन्छु।' छोरो रूपेनले जथाभावी गर्न नपाओस् भनेर सुनीता छोरालाई धेरै पैसा दिन्नन्। रूपेन भने 'पकेटमनी' थोरै दिएकोमा बेलाबेला ठुस्किने, चिढिने गर्छन्। 'दिनकै सय रुपियाँ मास्छ,' सुनिता भन्छिन्, 'सबै पैसा मोबाइलमा हाल्छ। अनि, रातदिन फेसबुक चलाएर सकाउँछ। 'बाबु, त्यसो नगर्' भनेर सम्झाउँछु, मान्ने होइन। उल्टै झम्टि्उँलाझैँ गर्छ। फेसबुक भएपछि कही चाहिँदैन त्यसलाई।' छोराको ताल देखेर सुनीता बडो चिन्तित छिन्।
आर्थिक संरचनाको परिवर्तन र प्रविधिका कारण पनि दुई पुस्ताबीचको सम्बन्ध फितलिएको मानवशास्त्री ढकालको ठम्याइ छ। 'पहिले–पहिले आयआर्जनको स्रोत कृषि हुन्थ्यो,' उनी भन्छन्, 'त्योबेला परिवारका सबै सदस्य सँगै खेतबारीमा काम गर्थे। उनीहरूको भौतिक र भावनात्मक सम्बन्ध बलियो हुन्थ्यो। अहिले बा–आमा दुवै कार्यालयवाला जागिर खान्छन्। दुवैजना कामकाजमा व्यस्त हुन्छन्। छोराछोरीलाई पर्याप्त समय दिन सक्दैनन्। त्यो हुनेबित्तिकै सम्बन्ध कमजोर भइहाल्छ।' अहिलेका केटाकेटी अभिभावकभन्दा प्रविधिसँग बढी 'अट्याच्ड' हुनुको कारण पनि अभिभावकको कार्यव्यस्तता नै भएको ढकालको बुझाइ छ। 'देखासिकी र साथी–संगतले पनि प्रविधिमा आकर्षित गराएको छ,' उनले थपे, 'अहिलेका कतिपय शहरिया केटाकेटीलाई त बाउआमाभन्दा प्रविधि प्यारो भइसक्यो।'
एसियन कलेजका लेक्चरर अशोकप्रसाद शाहको परिवारमा पनि 'जेनरेसन ग्याप' देखिन थालेको छ। 'मेरी आमा गाउँबाट आएदेखि छोराछोरी र आमाबीच भनाभन चलेको देखिरा'छु,' शाहले याद गरेका छन्, 'आमालाई नातिनातिनाको बोलीचाली र लवाइ त्यति मन पर्दैन। नातिनातिनाहरू आफ्नो स्टाइल छोड्ने पक्षमा छैनन्। दुवैको आ–आफ्ना अडानले समस्या निम्त्याइरहेको छ।' शाहका अनुसार बाउआमाभन्दा पनि हजुरबा–हजुरआमा र नातिनातिनाको सम्बन्धमा समस्या छ। भन्छन्, 'हामीबीचका पुस्ता बरु कुरा बुझ्छौँ। नबुझे पनि छोराछोरीका लागि कतिपय अवस्थामा 'कम्प्रोमाइज' पनि गर्दिन्छौँ। तर, हाम्रा बाआमा (हजुरबा पुस्ता) न परिवर्तन रुचाउँछन्, न त यसलाई 'टोलरेट'(सहन) गर्न सक्छन्।' एकले अर्कालाई कति सहन सक्छ, त्यसको आधारमा पनि सम्बन्धको दूरी कायम हुने शिक्षाविद् प्राडा कोइरालाको भनाइ छ।
'बाउआमाको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुंगामुढामाथि' भन्ने उखान गोंगबुकी अम्बिका खड्गीलाई सही लाग्छ। 'आफूभने छोराछोरीले दुःख पाउलान् भनेर मरिहत्ते गर्योह,' उनी दुःख पोख्छिन्, 'छोराछोरी चाहिँ नानाभाँती गर्दै हिँड्छन्।' सामाखुसी इंग्लिस स्कुलमा दुइटा छोरा पढाइरहेकी उनी टिनएजका छोराछोरी हुर्काउन साह्रै गाह्रो हुने बताउँछिन्।
'पोजेसिभ' बाउआमा
विष्णुमती क्याम्पस, कक्षा १२ की सुस्मिता श्रेष्ठ हाम्रो सामाजिक संरचनाले नै परिवारका युवा सदस्यलाई नियन्त्रणमा राख्न खोजेको बताउँछिन्। 'हामीकहाँ 'हेड अफ द फेमिली'ले पूरै परिवारको जिम्मा लिने चलन छ,' सुस्मिता भन्छिन्, 'जिम्मा लिने मान्छेसँग शक्तिको घमण्ड हुन्छ। ऊ परिवारका साना सदस्यमाथि खटनपटन गर्न थाल्छ। अहिलेका साना सदस्य डरले थुरथुर हुने खालका छैनन्। 'रिभोल्ट' गरिहाल्छन्। समस्या त्यसपछि सुरु हुन्छ।' सुस्मिता समाजशास्त्रकी विद्यार्थी हुन्।
क्यानभास कलेजका अनुपम सिखलाई भने बाआमाले चाहिनेभन्दा बढी 'प्यार जताएको' मन पर्दैन। भन्छन्, 'धेरै माया गरेर 'यो गर्, त्यो खा, त्यो ला, यहाँ बस्' भन्छन्। बच्चालाई त त्यस्तो गरेको मन पर्दैन भने हामी हुर्केबढेकालाई त्यस्ता सानातिना कुरा सिकाउनैपर्दैन।' सामाखुसीकी भुमिका राई अभिभावक चाहिनेभन्दा बढी 'पोजेसिभ' भएको रुचाउँदिनन्। 'मम–ड्याडले हरेक कुरामा 'इन्टरफेयर' गर्न खोजेको ठीक लाग्दैन,' उनले भनिन्, 'उहाँहरू आफ्नो पालामा जस्तो भयो, अहिले पनि त्यस्तै गर्न खोज्नुहुन्छ। हामीलाई हाम्रै पाराले चल्न दिए झगडा हुँदैन र सम्बन्धमा दूरी पनि आउँदैन।' भूमिकाका अनुसार बिग्रिने मान्छेहरू जतिसुकै कडीकडाउ गरे पनि बिग्रिने भएकाले 'छोराछोरी बिग्रेलान्' भनेर उनीहरूलाई चेपुवामा राख्नु मूर्खता हो।
अभिभावक र सन्तानको शैक्षिक स्तर फरक भइदिनाले पनि 'जेनरेसन ग्याप'को समस्या आउने विज्ञहरू बताउँछन्। शिक्षाविद् कोइराला भन्छन्, 'हाम्रा अधिकांश अभिभावक अशिक्षित वा कम शिक्षित छन्। तर, उनीहरूका छोराछोरी भने चम्बु भइसके। चम्बु छोरानाति र अशिक्षित बाउआमाबीच तालमेल मिल्दैन। बिस्तारै–बिस्तारै उनीहरू एकअर्कासँग टाढिन्छन्। टाढिने क्रम टिनएजमा पुगेपछि ह्वात्तै बढ्छ।'
किन बढ्छ टिनएजमा दूरी ?
'टिनएजमा हामी आफैँ अभिभावकसँग टाढिन खोज्दा रै'छौँ,' एभरेस्ट कलेज, ठमेलकी डली थापा भन्छिन्, 'त्यतिबेला हामीलाई साथीभाइ र अपोजिट सेक्सप्रति बढी 'अट्र्याक्सन' हुन्छ।' मनोचिकित्सक डा. रवि शाक्यका अनुसार टिनएजमा हुने यस्तो समस्यालाई 'एडोलसेन्ट क्राइसिस' भनिन्छ। 'यो उमेरमा केटाकेटीलाई आफू ठूलो (एडल्ट) भइसकेको, आत्मनिर्भर भएको महसुस हुने हुन्छ,' शाक्य भन्छन्, 'त्यसपछि उनीहरू कसैको निर्देशन र नियन्त्रणमा बस्न रुचाउँदैनन्। स्वतन्त्रता चाहन्छन्।' र, त्यही जटिल समयमा अभिभावकले भने छोराछोरीमाथि निगरानी राख्ने, 'छोराछोरीले बाटो बिराउलान्' भनेर केरकार गर्ने गर्दा समस्या उत्पन्न हुने उनी बताउँछन्।
'टिनएजका केटाकेटी सहजता खोज्छन्,' शिक्षाविद् कोइरालाको अनुभव छ, 'मेरै नातिनी पनि उसकी आमासँग कुरा मिल्दैन भनेर मसँग गुनासो गर्छे। उसले मसँग कुरा सेयर गर्न सक्छे भने आमासँग किन सक्दिन? यसको उत्तर– सहजता हो। केटाकेटी बोली, व्यवहार, लवाइ, खुवाइ जेमा पनि सहजता खोज्छन्। 'फर्मल' हुन रुचाउँदैनन्। त्यो सहजता अभिभावकले स्विकार्न नसकेपछि विवाद सुरु हुन्छ।' उनी अभिभावक र छोराछोरी पुस्ताबीचको खाडल गहिरो हुँदै गएकोमा चिन्ता व्यक्त गर्छन्।
शिक्षण अस्पताल, महाराजगञ्जका मनोचिकित्सक डा. सरोज ओझा यो समस्या बढ्नुका कारण शिक्षा, प्रविधि, संगत र जीवनशैलीलाई मान्छन्। भन्छन्, 'तर, यो मामिलामा अभिभावक र छोराछोरी दुवै पुस्ता आ–आफ्ना ठाउँमा सही हुन्छन्। उनीहरूबीच केही कुरामा असमझदारी मात्रै भएको हुन्छ।'
'दूरी घटाउन सकिन्छ'
मानवशास्त्री ढकाल यो समस्या पूर्णतः निर्मूल पार्न नसके पनि सम्बन्धमा आएको दूरी घटाउन सकिने बताउँछन्। 'यसका लागि बाउआमाले नै भूमिका खेल्नुपर्छ,' उनी भन्छन्, 'अमेरिकामा पनि कुनै बेला जेनरेसन ग्यापको समस्या थियो। तर, त्यो अहिले क्रमशः घट्दै छ। किनभने, अमेरिकीहरू यतिबेला 'फेमिली भ्यालु' बुझ्न थालेका छन्। जतिसुकै व्यस्त भए पनि दिनको एक समय र हप्ताको एक दिन परिवारलाई छुट्याउँछन्।'
शिक्षाविद् कोइराला भने दुई पुस्ताबीचको दूरी घटाउन 'इन्टर जेनरेसन एडुकेसन' अर्थात् 'अन्तर पुस्ता शिक्षा' अपरिहार्य भएको बताउँछन्। उनका अनुसार यो शिक्षा स्कुलस्तरदेखि लागू गराउनसके एउटा पुस्ताले अर्को पुस्ताबारे जान्ने अवसर पाउँछन्। यसो गर्दा एकले अर्कालाई गर्नुपर्ने व्यवहारबारे पनि ज्ञान हुन्छ। 'यति गर्न नसके अबका अभिभावक चराचुरुंगीजस्ता हुन्छन्,' कोइराला भन्छन्, 'जो बच्चा जन्माउँछ, गुँडमा राखेर हुर्काउँछ र 'उड्' भनेर धकेलिदिन्छ। छोराछोरी चाहिँ धागो चुँडिएको चंगाजस्ता हुन्छन्। ती कहाँ हराउँछन्, पत्तो हुँदैन।'

'संवाद नै हो सबथोक'

(काठमाडौँ, बसुन्धरास्थित साउथवेस्टर्न स्टेट कलेज, कक्षा ११ का विद्यार्थीसँग हामीले 'जेनरेसन ग्याप'को विषयमा 'राउन्ड टेबल' गरेका थियौँ। छलफलमा भावना तिमल्सिना, ल्हामु शेर्पा, इजाश्री वरुण, रमेश मल्ल, सरोज घिमिरे, अनन्त थपलिया, रविन्द्र भण्डारी, प्रकृति खनाल, भूमिका खनाल, अनीता खड्का र सन्तोष भण्डारी थिए।)
टबल
 
 
• 'जेनरेसन ग्याप' बढ्नुको प्रमुख कारण के हो?
भावना– हाम्रा अभिभावक अबुझ भएर यस्तो भएको हो। उहाँहरू हाम्रो कुरै बुझ्नुहुन्न। मैले 'पिकनिक जान नदिए घरमा भातै खान्नँ' भनेँ। बाबाले 'बरु भात नखा तर पिकनिक जान पाउन्नस्' भन्नुभो। तीन दिन खाना नखाँदा पनि पिकनिक जान पाइनँ।
इजाश्री– हामी आफैँ पनि दोषी हौँ कि? मोबाइल र ल्यापटप पाएपछि हामीलाई बाउआमासमेत चाहिँदैन। उहाँहरूसँग बोल्नै बिर्सिन्छौँ। हामी आफैँ घुलमिल हुन सके बुवाआमाले हामीलाई 'अभोइड' गर्नुहुन्न।
रमेश– आर्थिक कारणले दूरी बढाउँछ। हामीले मागेजति पैसा बाबाममीले दिनुहुन्न। 'हाम्रो पालामा पाँच रुपैयाँ पाउँदा हामी फुरुक्क पर्थ्यौं, तिमीहरूलाई दिनकै ५० रुपैयाँ दिँदा पनि पुग्दैन?' भन्नुहुन्छ। जमाना कहाँबाट कहाँ पुगिसक्यो। उहाँहरू सातौँ शताब्दीको कुरा गर्नुहुन्छ। अनि, हाम्रो पारो तातिहाल्छ।
रविन्द्र– हाम्रो समाज असुरक्षित भएकाले अभिभावकहरू हाम्रा हरेक क्रियाकलाप ध्यान दिन खोज्छन्। कहाँ जान्छ? कोसँग जान्छ? के गर्छ? के खान्छ? सबैथोकको खोजीनिती गर्छन्। समाजमा समस्या नभइदिएको भए बुवाआमाले हामीलाई फ्री छोड्दिनुहुन्थ्यो सायद। हामीले खोजेको पनि 'फ्रिडम' नै हो।
• छोरी र अभिभावकभन्दा छोरा र अभिभावकबीचको दूरी धेरै बढेको छ। किन होला?
ल्हामु– छोरीहरू स्वभावैले भावुक हुन्छन्। उनीहरू घरको कामकाजमा पनि सहभागी हुन्छन्। त्यसले गर्दा छोरी र बाआमाबीच संवाद भइरहन्छ। उनीहरू कुरा 'सेयर' गर्छन्। सेयरिङ भयो भने असमझदारी हुँदैन। छोराहरू चाहिँ घरको काममा सिन्को भाँच्दैनन्। मौका पाउनासाथ चोकतिर हिँडिहाल्छन्। घरमा झगडा पर्योर भने त झन् उनीहरूको दम्भ फुलेर टिलपिल हुन्छ।
प्रकृति– छोरी एकदिन बिहे गरेर गइहाल्छे भनेर पनि होला, अभिभावकहरू ऊसँग 'इमोसनल्ली अट्याच्ड' हुन्छन्। छोरीलाई पनि बाउआमासँगको बसाइ दीर्घकालीन होइन भन्ने थाहा हुन्छ। त्यसैले पनि ऊ आफ्ना दाइभाइले झैँ घमण्ड गर्न सक्दिन। यसले गर्दा समस्या त्यतिबिघ्न ठूलो बन्न पाउँदैन।
• टिनएजमा पुगेपछि दूरी बढ्नुको कारण चाहिँ के होला?
सरोज– सानोमा त सबैलाई आफ्ना बाउआमा प्यारा लाग्छन्। ठूलो हुँदै गएपछि हामी कतिपय कुरा प्यारेन्ट्ससँग सेयर गर्न सक्दैनौँ। त्योबेला साथीको आवश्यकता पर्छ। साथीसँगै बस्न, घुम्न मन पर्छ। अहिले त टेक्नोलोजीले पनि साथीको भूमिका खेलिदिएको छ। मनको कुरा पोख्ने ठाउँ नै अन्त(साथी वा प्रविधि) भएपछि मान्छेलाई बाउआमासमेत गौण लाग्छन्।
भूमिका– अभिभावकको व्यवहारमा भर पर्ने कुरा हो यो। उहाँहरू हामीसँग फ्य्रांक भइदिनुभयो भने हामीलाई आफ्नो कुरा राख्न अप्ठ्यारो हुँदैन। ममी–ड्याडी नै 'कन्जरभेटिभ' परेपछि कसको के लाग्छ?
इजाश्री– मेरो बाबा युरोप जानुअघि हाम्रो घरमा पनि 'जेनरेसन ग्याप'को समस्या थियो। हामी ड्याडीममीसँग खुलेर कुरा गर्न धक मान्थ्यौँ। उहाँ युरोप टुरबाट फर्केपछि चाहिँ पारिवारिक माहोलै अर्कै भयो। ड्याडीले हामीलाई घुमाउन लग्ने, रेस्टुरेन्टमा डिनर ख्वाउने आदि गर्न थाल्नुभयो। त्यसो गर्दा हामी ड्याडीसँग नजिक भयौँ। अहिले त यति खुलेर बोल्न सक्छौँ कि मेरो भाइले गर्लफ्रेन्ड फेरेको कुरासमेत सुनाउँछ।
• छोराछोरीले पो अभिभावकलाई बुझ्न नसकेका हुन् कि?
रविन्द्र– सोचाइमै भिन्नता भएपछि एकले अर्कालाई बुझे नै पनि समस्या त आई नै हाल्छ। हाम्रा अभिावकको सोचाइ र हाम्रो सोचाइमा आकाश–पातालको भिन्नता छ। हामी उहाँहरूको कुरा बुझ्न सक्दैनौँ। उहाँहरू हाम्रो कुरा बुझ्न चाहनुहुन्न। यस्तो भएपछि विवाद आउने नै भयो।
भावना– हामीले अभिभावकलाई भन्दा पनि अभिभावकले हामीलाई बुझ्नुपर्ने हो। उहाँहरूले हामीसँग जस्तो व्यवहार गर्नुहुन्छ, हामीले त्यहीअनुसार 'रियाक्ट' गर्छाैं।
• यो दूरी कम गर्न कसले के गर्नुपर्ला?
अनीता– बाआमा र छोराछोरीले एकअर्कासँग कुराकानी गर्नुपर्छ। बाआमाले फेसबुक, मोबाइल आदि चलाउन सिकाइमाग्नुभयो भने हामीले नझर्कीकन सिकाइदिनुपर्छ। उहाँहरूले पनि हाम्रा कुरालाई वाहियात मानेर हप्काइदप्काइ गर्नु हुँदैन। यो समस्याको समाधान भनेकै संवाद हो। वास्तवमा संवाद नै सबथोक हो।
सन्तोष– विदेशमा बूढा नागरिकलाई सरकारले पाल्ने नियम छ। यसलाई नेपालीले बढो राम्रो कुरा भन्ठानेका छन्। यहाँ पनि त्यसै गर्न पाए हुन्थ्यो भनेझैँ गर्छन्। तर, यो नियम लागू गराउनु हुन्न। यसो गर्दा पारिवारिक संरचना भत्किन्छ। बूढापाकालाई सरकारले हेर्दिने भएपछि छोरानातिलाई उनीहरूको फिक्री हुँदैन। फिक्री नभएपछि सम्बन्ध बिग्रिन्छ।
रमेश– दुवै पुस्ता एकअर्कासँग खुल्न सक्नुपर्छ। अभिभावकले छोराछोरीसँग कुरा लुकाउने, छोराछोरीले पनि मनको कुरा नखोल्ने गर्यो भने दूरी बढ्छ।
'र' प्रेमी ओझा

'र' प्रेमी ओझा

असफल श्रीमान् र सफल निर्माता भनिन्छ छवि ओझालाई। उनी 'र'लाई असाध्यै माया गर्छिन्। श्रीमतीका रूपमा 'र' तीनजना महिलासँग जोडिसके। पछिल्लो समय रेखा थापासँगको सम्बन्ध 'र' बाट 'तर' हुँदै फिल्म 'लोफर'पछि...

केले बनाउँछ सुन्दर?

देशमा हप्तैपिच्छे र टोलैपिच्छे सौन्दर्य प्रतिस्पर्धा भइरहेका छन्। देशमा गोरो या गोरी बनाउने क्रिमपाउडर पनि बिकिरहेका छन्। सबै सुन्दर बन्न चाहन्छन्। 'गुड लुक' भएकाहरूले करिअर पनि राम्रै बनाउँछन् भन्ने हल्ला...

भाउजूको दोस्रो पति देवर हो?

पाठक महानुभावहरू! आज म देवर र भाउजूको सम्बन्ध केलाउँदै छु। यति बेला मैले बाध्य भएर रामायणको कथा सम्झाउनुपर्ने भएको छ। बालि र सुग्रीव दाजुभाइ हुन्। राजा हुन् कि भगवान्का मीत...

स्क्रिप्ट सुन्दरी

स्क्रिप्ट सुन्दरी

अघिल्लो वर्ष 'शुक्रवार सुन्दरी'का लागि कामुक अदासहितको तस्बिर खिचाएर चर्चामा आएकी जया ओझा यही शुक्रवारदेखि 'स्त्रि्कप्ट सुन्दरी'का रूपमा देखिने भएकी छिन्। शुक्रवारदेखि नेपाल टेलिभिजनमा प्रसारण हुन लागेको टेलिसिरियल 'परिबन्द'को स्त्रि्कप्ट...

निर्विकल्प अरुणिमा

निर्विकल्प अरुणिमा

दिन दुगुना, रात चौगुना भनेझैँ नेपाली फिल्ममा हिरोइन आउने क्रम बढेको बढ्यै छ। त्यसैले फिल्मका लागि कोही हिरोइन निर्विकल्प हुने कुरा भएन। तर, राजेश हमालले फिल्म 'किन किन'का लागि अरुणिमा...

सेक्स स्टेसन

सेक्स स्टेसन

फलानो होटलमा छापा मारेर प्रहरीले यति जोडीलाई आपत्तिजनक हालतमा पक्राउ गर्योआ भन्ने समाचारहरूमा अब कुनै नवीनता छैन। देशका मुख्य शहर र शहरोन्मुख गाउँहरूमा खुलेआम देहसुखको खरिदबिक्री भइरहेको छ। यौनकर्मीहरूले रेडलाइट...

तपस्यामा तन्नेरी

तपस्यामा तन्नेरी

तन्नेरी भन्दैमा सबै कहाँ मोजमस्ती र रमाइलोमा मात्रै भुलेका छन् र? अचाक्ली भागदौड र चर्काे प्रतिस्पर्धाले जीवनलाई तनावहरूको भकारी बनाएका छन्। तन्नेरीलाई झन् धेरै टेन्सन छ। पढाइको टेन्सन, करिअरको टेन्सन,...

कस्तो करामत?

कस्तो करामत?

प्रदर्शनको पालो पर्खेको फिल्म 'करामत'ले हलमा लागेपछि करामत देखाउला/नदेखाउला, फिल्म रिलिज नभई त्यो भन्न सकिने कुरा होइन। तर, फिल्ममा केही न केही 'करामत' देखाइएकै छ भन्नेमा विश्वास गर्ने आधार देखिएका...