Thursday 15 Falgun, 2076 | February 27, 2020
Menu

शुक्रबार

'हँसाउनुमात्रै हाम्रो लक्ष्य होइन'

  • बिहीबार २० चैत्र, २०७०
  • शुक्रबार
  • DISQUS_COMMENTS
(1 Vote)
मदनकृष्ण श्रेष्ठ मदनकृष्ण श्रेष्ठ
प्रसिद्ध कला जोडी 'मह'का मदनकृष्ण श्रेष्ठ अहिले देशमा आइरहेको हास्य सिरियलहरूको बाढीप्रति सकारात्मक छन्। तर, उनको मान्यता छ– 'कमेडियन'को काम हँसाउनुमात्र कदापि होइन। स्पष्ट सन्देश भएन भने हास्यव्यंग्यसम्बन्धी कुनै पनि कार्यक्रम 'कटन क्यान्डी'जस्तो हुने उनी ठान्छन्– जति खाए पनि फासफुस हुने। उनीसँग सजना बराल र अम्मर जिसीले अन्तरंग कुराकानी गरेका छन्।
आरामै हुनुहुन्छ? 
'हेल्थ इज फाइन, बडी इज नट फिट'– सबैलाई यसै भन्छु म त। स्वास्थ राम्रै छ। तर, शरीरले अलि साथ दिइरहेको छैन। फुर्ती कम भएको छ। जाँगर चाहिँ घटेको छैन। 
बुढेसकाल लागेको हो कि? 
उमेरले प्रभाव पार्दो रैछ। रोगले पनि समात्यो। जिम्मेवारी थपियो। त्यसैले अलि सुस्त र गम्भीर भएको छु। टीभीमा अन्तरवार्ता दिँदा आफूले जोसिएर बोलेजस्तो लाग्छ, पछि हेर्दा लोसे देखिन्छु। तर, कामको स्पिड चाहिँ घटेको छैन। बरु पहिलेको भन्दा बढी काम गर्छु अचेल म। 
'मह'का टेलिफिल्म पहिलेभन्दा कम आउन थालेका छन्। किन होला?
हामीलाई त पहिले पनि कमै लाग्थे। अहिले पनि त्यही लाग्छ। तर, पहिलेपहिले हामीले कहिलेकाहीँमात्रै कार्यक्रम दिँदा पनि काफी हुन्थ्यो। तिनलाई हेर्न मान्छेहरू झुम्मिन्थे, नछुटाई हेर्थे। अहिले हेर्नेलाई नै फुर्सद छैन। टीभी च्यानलहरू पनि धेरै छन्। एकातिर हेर्दा अर्कोतिर छुट्छ। त्यस्तै भएको होला। फेरि, हाम्रो विडम्बना भन्ने कि खुसीको कुरा, एउटा शृंखला देखाइसक्न पाएको छैन, 'अर्को कहिले आउँछ?' भनेर सोध्न थालिहाल्छन्। भर्खर खाएर पेटमा पुग्न पाएको छैन, फेरि के खाने भन्याजस्तो! हुन त हामीप्रतिको चाहना यो हो। तर, काम गर्न चाहिँ अलि गाह्रो हुन्छ। अनि, अर्को कुरा– हामी टीभी, स्टेज, पत्रपत्रिका सबैतिर पालैपालो काम गर्छौं। यसो गर्नाले पनि एकातिर गर्दा अर्कातिर 'खोइ?' भन्ने प्रश्न उठ्छन्। 
दर्शकले महलाई 'ग्याप' दिनै खोज्दैनन्। महले चाहिँ दर्शकको 'डिमान्ड' पूरा गर्न सकिरहेको छैन। कि दर्शकलाई वास्तै नगरेको हो?
जे गर्छौं, दर्शककै लागि गर्छौं। यसरी अलि कम भएको पनि दर्शककै लागि हो। कुनै पनि चिज धेरै पटक गर्नु राम्रो होइन। एउटा सिरियल बनाएर हजारौँ भाग तन्काउँदैनौँ हामी। बेला–बेला खुब मेहनत गरेर दुईचार वटा सिरियल बनाउँछौँ। झ्याप्प देखाउँछौँ, झ्याप्प रेस्पोन्स लिन्छौँ। अनि, अर्को कामका लागि योजना बनाउँछौँ। जहिले पनि एउटै चिज दिन थाल्यो भने दर्शकलाई वाक्क लाग्छ। हामी यसपालि अमेरिका पनि सात वर्षपछि गयौँ। जान पायो भन्दैमा ग'को गई, खान पायो भन्दै खा'को खाई गर्नु हुँदैन। कलाकारले आफ्नो 'वेट' पनि जोगाउनुपर्छ। सिरियलको मामिलामा पनि यस्तै भएको हो।
मह जोडी पनि कार्यक्रमपिच्छे रिबन काट्न, अतिथि बन्न पुगेको हुन्छ। यसरी जहाँ पनि उपलब्ध हुँदा पनि त कलाकारको 'वेट' घट्ला नि? 
हो। तर, यसो गर्नु हाम्रो बाध्यता पनि हो। कार्यक्रमका प्रमुख अतिथि भनेका वास्तवमा राजनीतिक व्यक्तित्व नै हुनुपर्छ। उनीहरूलाई चिफ गेस्ट बनाउँदा सरकारले जनतासँग प्रत्यक्ष समन्वय गर्न सक्छ। गाह्रोसाह्रो परेकाहरूले सहयोग पाउन सक्छन्। जनता र समाजको अवस्था बुझ्न पनि कार्यक्रममा सहभागी हुनु राजनेताका लागि फाइदाजनक हुन्छ। तर, हाम्रो देशमा नेताभन्दा अरूलाई नै कार्यक्रमको अतिथि बनाउने चलन छ। हामीलाई रिबन काट्न बोलाउनु भनेको जनतालाई नेताप्रति कम विश्वास हुनु हो। उनीहरू जनताका 'आइडल' बन्न सकेका छैनन्। बरु हामी बनेछौँ। तर, हामीले रिबन काटेर, जनताको दुःख बुझेर के नै गर्न सक्छौँ र? सान्तवना दिनबाहेक। 
समाजसेवा पनि गर्नुहुन्छ नि तपाईंहरू...
समाजसेवाले मात्रै देश बन्दैन। यो त भरथेगमात्र हो। 
कामभन्दा बढी समाजसेवा गर्न थाल्नु भा'छ रे?
यस्तो सुन्न पाउँदा खुसी लाग्छ। समाजसेवा भनेको चानचुने कुरा होइन। हामीले अझै गर्न सकौँ, यही चाहना छ।
काम नगरी सधैंभरि समाजसेवामात्रै गर्न सम्भव होला र?
काम पनि गरिरहेका छौँ। टेलिफिल्म बनाउनु, स्टेज शो गर्नु, गीत गाउनु सबै समाजसेवा नै हुन्। हामी विशुद्ध हँसाउनलाई मात्रै सिरियल बनाउँदैनौँ। हाम्रा कार्यक्रममा ठट्टासँगै सन्देश पनि गुट्मुटिएका हुन्छन्। ती सन्देशले जनतालाई सुसूचित गराउने काम गरेका छन्। अस्ति भर्खर पनि हामीले 'आँ...' र 'स्याबास' टेलिफिल्ममार्फत भ्रष्टाचारविरोधी र महिला सशक्तीकरणका विषयमा प्रचार गर्यौँै। एचआइभी एड्स, बोक्सी प्रथा, जंगल फडानी आदिबारे कार्यक्रम बनाएर जनचेतना फैलायौँ। यो पनि समाजसेवाको एउटा पाटो हो। 
सन्देशमात्र बढी दिँदा दर्शकलाई वाक्क लाग्ला नि?
जनचेतना भनेको जति दिँदा पनि अपुग नै हुन्छ हाम्रो देशमा। एसएलसी परीक्षाको ८० वर्षे इतिहासमा जम्मा ३५ लाख जनाले मात्रै परीक्षा पास गरेका रहेछन्। प्लस टू पास गर्ने अझ कम होलान्। ब्याचलर्स र मास्टर्स गर्ने त झन् थोरै हुने भए। यसको अर्थ हाम्रो देशका बहुसंख्यक मानिस अशिक्षित छन्। साक्षरता दर थोरै भएको ठाउँमा सामाजिक समस्या बढी हुन्छ। हामीकहाँ अझै पनि बोक्सी प्रथा, छुवाछूत प्रथा कायमै छन्। तिनका बारे जनतालाई जानकार गराउन कि त पढाउनैपर्छ कि सञ्चारमाध्यम, त्यसमा पनि फिल्म, टेलिफिल्ममार्फत जानकारी दिनुपर्छ। शहरबजारकाहरू जान्नेसुन्ने भए भन्दैमा हामीले ग्रामीण भेगका मान्छेका अवस्था बिर्सनु हुँदैन। फेरि हामी, हामीले बनाउने कार्यक्रम 'वन्ली फर फन' मात्र हुनुहुँदैन भन्नेमा ध्यान दिन्छौँ। त्यसो भयो भने त फूल–मकै खाएजस्तो हुन्छ। एक आरी खायो, पेट चाहिँ खाली! अझ 'कटन क्यान्डी' जस्तो भनुँ न। जति खाए पनि फासफुस। हाँसोसँगै सन्देश पनि दिनुपर्छ। हँसाउनुमात्रै हाम्रो लक्ष्य होइन। 
अहिलेका हास्यव्यंग्यात्मक कार्यक्रमहरू फूल–मकैजस्तै हुन्भन्दा फरक पर्ला? 
एदेखि जेड्सम्म सबैको आ–आफ्नै महत्व हुन्छ। अहिलेका कार्यक्रम जस्ता छन्, तिनको पनि आफ्नै विशेषता छ। हामीले जस्तो गर्छौं, जसरी हँसाउँछौँ वा जसरी सन्देश दिन्छौँ, अरूले पनि उसै गर्नुपर्छ भन्ने छैन। केहीले हँसाऊन् मात्रै, केहीले सन्देशमात्रै देऊन्, केहीले चाहिँ दुवै गरून्। यस्तै भइरहेको राम्रो।
मह जोडीले सहकार्य गरेको चार दशक पुग्न लाग्यो। पुराना फोटा हेर्दा आफूहरूलाई कस्तो देख्नुहुन्छ?
दुइटै मरन्च्याँसे थिएछौँ। हरिवंश पनि सिकुटे, म पनि चुस्स जुँगा पालेको ख्याउटे थिएछु। एकचोटि कतातिर पो जाँदा हो, सँगै ट्याक्सी चढेका थियौँ। ऊ पनि लुरे म पनि लुरे। कसको हड्डीले कसलाई घोचेको भनेर हानाथाप भा'थ्यो। अहिले दुवैजना मोटाएर ढुस्स परेका छौँ। हरिवंश मभन्दा अझै मोटो छ। उमेर थपिए पनि मलाई चाहिँ अहिलेकै म ह्यान्डसम लाग्छ। 
जीतपुर, फेदीमा जन्मिनुभयो। कस्तो थियो त्यहाँको जीवन?
म छ महिनाको छँदा आमा बित्नुभयो। मैले आमा चिन्न पाइनँ। हुन त मेरा बा, फुपू, दिदीहरूले आमाको अभाव महसुस गराएनन्। तर, आमाको मुख हेर्ने दिन अरू साथीहरू खुसी हुँदै आमालाई लड्डु बाँड्थे, म चाहिँ दुनामा सिदा बोकेर हिँड्थेँ। त्यो बेला आमाको साह्रै याद आउँथ्यो। 
जागिर सानै उमेरमा खानुभयो क्यारे? 
चौध वर्षको उमेरमा त म हेडमास्टर भइसकेको थिएँ– कालिका राष्ट्रिय प्राइमरी स्कुलको। मास्टर पनि मै, हेडमास्टर पनि मै, एकजना थिएँ त्यहाँ। तलब महिनाको ७५ रुपैयाँ थियो। जाँचका बेला हातैले प्रश्नपत्र बनाइन्थ्यो। प्रिन्ट गर्ने चलन थिएन। स्कुलभरिका विद्यार्थीको लागि आफैँ प्रश्न लेख्थेँ। आफैँ कापी जाँच्थेँ। आफैँ मार्कसिट बनाएर स्ट्याम्प लगाएर, सिग्नेचर गरेर बाँड्थेँ। मेरा हजुरबा चाहिँ नातिले वर्षको नौ सय रुपैयाँ कमाउँछ भनेर दंग पर्नुहुन्थ्यो। 
पढाइ चाहिँ के गर्नुभयो नि? 
आठ हो कि नौमा पढ्थेँ त्यो बेला। बिहानको क्लास थियो। दुई घण्टा हिँडेर स्कुल पढ्न जान्थेँ। त्यहाँबाट फेरि दुई घण्टा हिँडेर पढाउन जान्थेँ। दिनभरि पढायो, पढायो। फेरि, सवा एक घण्टाजति हिँडेर घर जान्थेँ, अनि डङ्ग्रङ्ङ खाटमा पल्टिन्थेँ। बेलुका भात खाए, नखाएको पनि याद हुँदैनथ्यो। एकैचोटि बिहान ४ बजे उठेर खाना खाएर स्कुल जान्थेँ। यसरी नै चल्यो दुई वर्ष।
तपाईंका बा त्यो बेला प्रधानपञ्च हुनुहुन्थ्यो। उहाँकै भनसुनले सञ्चयकोष छिर्नुभएको हो?
त्यो बेला यस्तो थिएन। सञ्चयकोषमा जागिर खान सजिलो थियो। मेरो एक जना साथीलाई त ठमेलमा गुच्चा खेल्दै गर्दा सञ्चयकोषका हाकिमहरूले टाउकोमा ठ्वाङ्ङ हानेर 'तँलाई लट्ठु, गुच्चा खेल्छस्? जागिर खान आइज' भनेर जागिर दिएका थिए रे। मेरो पालामा चाहिँ जाँचसम्म दिनुनर्पे चलन आएको थियो। मैले १० मध्ये छ वटा हिसाब मिलाएर जागिर पाएको थिएँ। तलब १ सय ५ रुपैयाँ थियो। एघार रुपैयाँ सञ्चयकोषमा कट्टी हुन्थ्यो। खुब असल छोरा बन्ने भएर बालाई ९० रुपैयाँ दिएर आफू चाहिँ चार रुपैयाँमात्रै राख्थेँ म। कहिलेकाहीँ अढाई घण्टा ओभरटाइम काम गरेर तीन सुका बढी कमाउँथेँ। 
त्यो जमानामा तपाईंले अन्तरजातीय विवाह गर्नुभयो। घरमा समस्या भएन?
भयो। मेरी श्रीमती सुवेदी, म नेवार भएकाले कति वर्ष त हामी घरै नगई न्युरोडमा कोठा लिएर बस्यौँ। ६० रुपैयाँ कोठा भाडा थियो। ६० रुपैयाँ नै तलब घट्ने गरी मैले सञ्चयकोषको जागिर छोडेर कृषि सूचना शाखामा काम गर्न थालेँ। त्यहाँ गएपछि बीबीसी रेडियोले तालिम दिएको थियो। तालिम लिनेमा नातिकाजी, हिरण्य भोजपुरे, पाण्डव सुनुवार आदि थियौँ। त्यो तालिम मेरा लागि निकै उपयोगी भयो। माइक सम्हाल्नेदेखि प्रोग्रामहरू कसरी प्रभावशाली बनाउनेलगायत कुरा सिकाइएका थिए । 
त्यसपछि गीत गाउन थाल्नुभएको हो?
होइन, गीत पहिलेदेखि नै गाउँथेँ म। २०१५ सालमा नौ वर्षको छँदा नै स्टेज चढेको थिएँ। २०२३ सालमा भ्वाइस टेस्ट पास गरेर गीत रेकर्ड गराएँ। ०२८ सालदेखि गायक नरेन्द्र हाडासँग नजिक भएर नेवारी गीत थुप्रै गाइयो। २०३२ सालमा सत्यमोहन जोशीले प्रज्ञा प्रतिष्ठानमा 'कमिकल प्रोग्राम' आयोजना गर्नुभयो। मैले चाहिँ त्यहाँ पनि गीतै गाएँ। पछि हरिवंश त्यहाँ अभिनय गर्न आयो। 'कमिक'को स्वाद, त्यसको तौलबारे मैले पनि बुझ्न थालेँ। त्यसपछि आफैँ पनि हाँस्नहँसाउन थालेँ। सुरुसुरुमा हरिवंशलाई मेरो र मलाई हरिवंशको प्रस्तुति मन पर्थ्यो। 'यसले मैलेभन्दा राम्रो गर्छ' भन्ठान्थेँ म, ऊ पनि त्यही भन्ठान्दो रहेछ। पछि, सँगै काम गर्न थालेपछि एकअर्कासँग 'एलर्ट' हुनै परेन।

बेहुली भतेरजस्तो टिकट वितरण

मंसिर ४ का लागि तोकिएको संविधानसभा निर्वाचनमा मतदान गर्न पाइँदैन कि भन्ने आशंका करिब– करिब हटेको छ। वैद्य नेतृत्वको ३३ दलीय मोर्चा निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने दोधारमा रहेकै...

शपथ मिठो कि खिचडी?

बूढापाकाले माघमा खिचडी खानुपर्छ भन्छन्। जाडो याममा खिचडी खाए शरीर फुर्तिलो हुन्छ। तर, खिचडी खानुपर्ने याममा वर्षौंदेखिका भोकाहरू शपथ खाँदै छन्। कोही दोहोर्याखएर, तेहेर्या।एर, थपी–थपी खाँदै छन्। धेरैले चाहिँ कस्तो...

उर्वशी कि मेनका?

उर्वशी कि मेनका?

वरिष्ठ फिल्मकर्मी नीर शाहले रीमा विश्वकर्मालाई 'उर्वशी र मेनका' भनिदिए। फिल्ममा भन्दा म्युजिक भिडियोमा बढी देखिने रीमाको सौन्दर्यमाथि टिप्पणी गर्दै उनले यस्तो बताएका थिए। भारतका विभिन्न ठाउँमा छायांकन भएका भिडियो...

टिपिकल मञ्जु

टिपिकल मञ्जु

पश्चिमा शैलीको फेशनले नेपाली युवतीलाई दिन प्रतिदिन लोभ्याउँदै लगिरहेको छ। झन् कलाकारिता क्षेत्रमा सक्रिय रहेकाले त आफूलाई 'एक्स्ट्रा' देखाउनकै लागि पश्चिमा शैलीका 'नयाँ डिजाइन'लाई प्राथमिकतामा राख्छन्। गायिका मञ्जु महतले भने...

खरो खरेल

खरो खरेल

नेपाली जनताका नजरमा प्रहरीको छवि खासै गतिलो छैन। यस्तो कटु सत्यका बीच गुलाब दिवसका दिन युवायुवतीले एक प्रहरी अधिकृतलाई १५ सय गुलाब दिए। उनी थिए, एसएसपी रमेश खरेल। यत्तिका तन्नेरीले...

कसले रोक्ने, कसले छेक्ने?

सरकारले दुई वर्षअघि नै सार्वजनिक स्थलमा धूम्रपान गर्न प्रतिबन्ध लगाउँदै ऐन जारी गर्‍यो। तर, त्यसको दुई वर्ष बित्दा पनि ऐन लागू गर्ने निकायमा पुगेका र पुनः पुग्नेवाला व्यक्तिहरूले नै त्यसको...

आफ्नैसँग पर–पर

आफ्नैसँग पर–पर

छोराछोरीको गुनासो छ– बाउआमा कुरा बुझ्दैनन्। बाउआमाको दुखेसो छ– छोराछोरी टेर्दैनन्। यसै पनि दुई पुस्ताका बीच थुप्रै भिन्नता हुन्छन्। उनीहरूको लवाइखवाइ मिल्दैन, विचार मिल्दैन, मनोविज्ञान मिल्दैन र जिउने तरिका मिल्दैन।...

गिद्धेदृष्टिमा चेली

गिद्धेदृष्टिमा चेली

हरेक दिन अखबारमा भयानक र कहालीलाग्दा समाचार आउँछन्। कतै बाबुले छोरीको शरीरमाथि धावा बोलेको हुन्छ, कतै काकाले भतिजीको शिकार गरेको हुन्छ। दुई वर्षकी बालिकादेखि ६५ वर्षकी वृद्धासम्म बलात्कारको घानमा परेका...