28 Mangshir, 2076 | December 14, 2019
Menu

शुक्रबार

'तँ पनि पत्रकार!'

  • शुक्रबार २८ चैत्र, २०७०
  • सजना बराल
  • DISQUS_COMMENTS
(1 Vote)
राम्रै अंक ल्याएकी थिएँ एसएलसीमा। राम्रो अंक ल्याउनेले 'राम्रै विषय' पढ्नुपर्छ भन्नुहुन्थ्यो मेरा आफन्तहरू। उहाँहरूले राम्रा भनेका विषय विज्ञान र व्यवस्थापन थिए। गुरुहरू मलाई 'साइन्स पढ, डाक्टर बन' भन्नुहुन्थ्यो। अभिभावकको चाहना मलाई 'बैँककी हाकिम्नी' बनाउने थियो। 
उहाँहरू व्यवस्थापनमा जोड दिनुहुन्थ्यो। मैले कसैको सुनिनँ। आर्ट्स अर्थात् मानविकी संकायमा पत्रकारिता र अंग्रेजी साहित्य लिएर पढ्न थालेँ। 
मेरो पारा देखेर सबै छक्क परे। (विज्ञान र व्यवस्थापनभन्दा मानविकीमा कम खर्च लाग्ने भएकाले मेरा अभिभावक चाहिँ खुसी नै थिए। तर, व्यवस्थापन पढ्देकी भए मनग्गे पैसा कमाउँथी भन्ने लागिरहेको थियो उहाँहरूलाई पनि।) विज्ञान/व्यवस्थापन नपढेकोभन्दा पनि मैले पत्रकारिता पढेको देखेर धेरैले आश्चर्य माने। कतिले त मुखै फोरे– 'तिमीजस्तो मान्छेले पनि पत्रकारिता पढ्ने हो? सुहाउँदै सुहाएन।' 
नसुहाउनुको कारण पनि सुनाउँथे उनीहरू। म हेर्दै सानी, सिकुटी र स्कुल पढ्ने बच्चीजस्तो देखिन्थेँ रे। 'पत्रकार भनेका अलि हट्टाकट्टा, खाइलाग्दा हुनुपर्छ,' काका भन्नुहुन्थ्यो, 'तँ फुकीढल पत्रकार भएर के गर्छेस्?' 
'दुईचार जनाको हत्या गर्छु,' भन्दिऊँ झैँ लाग्थ्यो। तर, अर्कै भन्थेँ, 'पत्रकारले कुस्ती खेल्ने होइन। समाचार खोज्ने र लेख्ने हो। म त्यही गर्छु।' 
'तँ च्याँसीले लेखिस् समाचार!' काका मुख लोपार्नुहुन्थ्यो। 
'लेखिनँ भने म बाँदरकी छोरी!' म आफूलाई दाउमा राख्थेँ। आफ्नो सम्पूर्ण अस्तित्वलाई दाउमा राख्थेँ। 
'जे भए पनि तैंले पत्रकारिता चाहिँ नपढ्नु पर्ने हो,' साथीहरू अर्ती दिन्थे, 'बरु मेजर म्याथ लिएको भए चाँडै प्रगति गर्थिस्।' 
यस्ता अर्ती–उपदेशले मेरो टाउकै खाएका थिए एकताका। अरू कारणले होइन, उही म सानो कदकी भएकाले पत्रकारितामा ताउरमाउर गर्न सक्दिनँ भन्ने विश्वास थियो सबैलाई। त्यसैले पत्रकारिता पढेर मैले भूल गरेको अवगत गराउन जोसिन्थे जो पनि। 
'पत्रकारले त आन्दोलनको पनि समाचार लेख्नुपर्छ, तँ छोरी मान्छे, हुलमुलमा कसरी छिर्छेस्? किचेरै मार्दिन्छन् तँलाई,' आमा पिलपिलाउनु हुन्थ्यो। 
आफूलाई बिनाकारण कमजोर देखेकोमा म आमादेखि रिसाउँथेँ। 
'मरे मर्छु,' म भन्थेँ, 'सबैजना मर्छन्। तपाईं घर बसी–बसी मर्नुहुन्छ। म कम्तीमा घरबाहिर त मर्छु ।'
पत्रकारहरूमा हुन नहुने अर्को (अव) गुण पनि थियो ममा– भावुकता। 
म असाध्यै भावुक, रुन्चे, मितभाषी र सोझी थिएँ रे। 
छु पनि। 
'पत्रकारहरू तँजस्ता पिलन्धरे हुँदैनन्,' भाइको धारणा थियो, 'उस्तै परे जाइलाग्न सक्छन्। तँ कसैले चर्को स्वर गर्नेबित्तिकै रुन थाल्छेस्। पत्रकार होइन, तँ त रुन्चीकार बने हुन्छ।'
यही निहुँमा भाइ र मेरो गोरु जुधाइ चल्थ्यो। हानाहान, मारामार भएपछि म रुन थाल्थेँ। ऊ 'रुन्चीकार, पत्रकार' भन्दै गिज्याउँथ्यो।
कम बोल्ने भएकाले मामाहरू पनि भाञ्जीले पत्रकारिता गरेर खालिन् भन्नेमा शंका गर्नुहुन्थ्यो। 'पत्रकार भएपछि बोल्न सिपालु हुनुपर्छ,' माहिलो मामा भन्नुहुन्थ्यो, 'तिमी त दुई शब्द पनि अरूले सुन्नेगरी बोल्दिनौ। कसरी पत्रकार बन्लिऊ र खै?' 
'लेखेर,' म यत्ति भन्थेँ।
मलाई सबैले निकम्मा देख्थे। पत्रकार हुने नामोनिसानै भेटाउँदैन थिए ममा। 
तर, म पत्रकार भइछाडेँ। बाह्र कक्षा पास गर्नासाथ मैले 'शुक्रवार'मा जागिर पाएँ। मेरा आफन्तको मुख टालियो।
आफन्त चुप भए पनि मेरा लेखप्रति शंका गर्नेहरू सेलाएनन्। शुक्रवारमा काम सुरु गर्दाताका मैले धेरै आरोप खेप्नुपर्योए। मेरो लेख पढ्ने कतिपय 'पाठक' मलाई पत्याउँदैन थिए। 
'यस्ती फुच्चीले के यस्तो लेखिहोला र? कसैको चोरी होली। पक्कै सम्पादकले मेहनत गरेको हुनुपर्छ...' आदि भन्थे। यस्ता लाञ्छनाहरू सुनेको दिन म घर गएर खुब रुन्थेँ। 'फलानोले यस्तो भन्यो' भन्दै आमालाई पोल लगाउँथे। 'त्यो पाजीसँग भोलि भेटा' मलाई,' उहाँ पाखुरा सुर्किनुहुन्थ्यो, 'मैले जान्या छु त्यसलाई। तँभने दिनभरि कुद्ने, रातभरि लेख्ने गर्छेस्। त्यो बजिया (बजिनी) चाहिँ त्यसो भन्ने? गाला फुट्ने गरी दिन्छु, म त्यसको।' 
आमाको कुराले हँसाउँथ्यो मलाई। म रुँदै हाँस्थेँ। यस्ता आरोप धेरै सुन्न थालेपछि म रुन छाडेँ। काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भन्ने उखान दिमागमा पस्यो। यसैलाई आफ्नो दर्शन बनाएँ। यसबीच शुक्रवारका साथीभाइको सहयोग पनि अमूल्य रह्यो मेरा लागि। म हतोत्साहित भएका बेला यो टिमले आड दिइरह्यो मलाई। लेख्ने अवसर जुटाइदियो। म लेखेको लेख्यै भएँ।
अझै पनि मान्छेहरू मलाई देखेर आँखा ठूला पार्छन्। 'नाबालक पत्रकार'को उपाधिसमेत दिन्छन् कोहीकोहीले। (तर, यो होच्याएर नभई जिस्काएर हुन्छ।) 
गायक प्रेमध्वज प्रधानकहाँ 'गीतको कथा' स्तम्भका लागि कुरा गर्न जाँदा उनी मलाई देखेर जिल्ल परेको अझै सम्भि्कन्छु। 'कति योङ जर्नालिस्ट तपाई!' उनले छक्क पर्दै भनेका थिए। 
'कति ह्यान्डसम सिंगर तपाईं,' मैले पनि उनलाई जिस्काइदिएकी थिएँ।

कसले रोक्ने, कसले छेक्ने?

सरकारले दुई वर्षअघि नै सार्वजनिक स्थलमा धूम्रपान गर्न प्रतिबन्ध लगाउँदै ऐन जारी गर्‍यो। तर, त्यसको दुई वर्ष बित्दा पनि ऐन लागू गर्ने निकायमा पुगेका र पुनः पुग्नेवाला व्यक्तिहरूले नै त्यसको...

टीका लगाएर स्क्रिनमा

टीका लगाएर स्क्रिनमा

धेरै वर्ष भयो दसैँमा साइतको टीका थाप्न नपाएको। प्रायः हरेक चाडबाडमा म समाचार पढ्नमै व्यस्त हुन्छु। सुरु–सुरुमा नरमाइलो लाग्थ्यो। 'आफूले गर्दा परिवारलाई अप्ठ्यारो भयो' भन्ने कुरा महसुस हुन्थ्यो। तर, अब...

घट्दो लम्बाइ

नेपाली फिल्मका पोस्टरमा अझै पनि कसैकसैले 'कथानक' वा 'फिचर' लेखिएको पाउन सकिन्छ। 'फिक्सन' अर्थात् काल्पनिक कथामा आधारित फिल्म भन्न खोजिएकोले 'कथानक' शब्द ठीकै लाग्छ। तर, 'फिचर' चाहिँ कथानकलाई नै अंग्रेजीमा...

जय हो भ्यालेन्टाइन बाबा!

जय हो भ्यालेन्टाइन बाबा!

हावा, पानी र अन्नजस्तै अनिवार्य छ प्रेम। यो मानव जीवनको सबैभन्दा सुखद आयाम हो। प्रेमको अमरत्व र शाश्वताबारे असंख्य ग्रन्थ लेखिएका छन्, असंख्य गीत गाइएका छन्। केही वर्षदेखि नेपाली समाजले...

माछाले छोपेको लाज

माछाले छोपेको लाज

अभिनेत्री शुभेच्छा थापाले अभिनय गर्न थालेको डेढ दशक भइसक्यो। आफैँले निर्माण गरेका र अरूका थुप्रै फिल्ममा अभिनय गरे पनि उनले चर्चा र सफलता दुवै पाइनन्। हिरोइन बन्ने उमेर पुगिसकेकी शुभेच्छाको...

‘मेरी प्यारी पुनमकली'

‘मेरी प्यारी पुनमकली'

मेरो घर नवलपरासीमा छ। एक्काइस वर्षको भएँ। दश कक्षा पढ्दापढ्दै माउतेको तालिम लिएँ। त्यसपछि पढाइ नै छाडेर माउतेको काम गर्न थालेँ। चितवन राष्ट्रिय निकुञ्जभित्र हात्ती सफारी गराउने एक स्थानीय साहुले...

सेक्स स्टेसन

सेक्स स्टेसन

फलानो होटलमा छापा मारेर प्रहरीले यति जोडीलाई आपत्तिजनक हालतमा पक्राउ गर्योआ भन्ने समाचारहरूमा अब कुनै नवीनता छैन। देशका मुख्य शहर र शहरोन्मुख गाउँहरूमा खुलेआम देहसुखको खरिदबिक्री भइरहेको छ। यौनकर्मीहरूले रेडलाइट...

टिपिकल मञ्जु

टिपिकल मञ्जु

पश्चिमा शैलीको फेशनले नेपाली युवतीलाई दिन प्रतिदिन लोभ्याउँदै लगिरहेको छ। झन् कलाकारिता क्षेत्रमा सक्रिय रहेकाले त आफूलाई 'एक्स्ट्रा' देखाउनकै लागि पश्चिमा शैलीका 'नयाँ डिजाइन'लाई प्राथमिकतामा राख्छन्। गायिका मञ्जु महतले भने...