22 Chaitra, 2076 | April 04, 2020
Menu

शुक्रबार

जसको भैँसी वर्षौंदेखि लडिरहेको छ

(0 votes)
जसको भैँसी वर्षौंदेखि लडिरहेको छ
स्कुले उमेरमै 'भैँसी लड्यो है माया' जस्तो चर्चित गीत गाएकी डेजी बराइलीले धेरै गीत गाएकी छैनन्। थोरै गीत गाएर धेरै चर्चा पाएकी यी गायिकाले एकल एल्बम पनि निकालेकी छैनन्। दार्जीलिङकी स्थायी बासिन्दा डेजी रेडियो नेपालमा रेकर्डिङ भएका गीतमार्फत नेपाली स्रोतासँग युगौँदेखि साक्षात्कार गरिरहेकी छिन्। बुधवारदेखि सुरु भएको पलेँटीको नयाँ शृंखलामा गाउन काठमाडौँ आइपुगेकी डेजीसँग धनबहादुर खड्का र सजना बरालको अन्तरंग कुराकानीः

काठमाडौँको बसाइ कस्तो भइरहेको छ?

हामी नेपालबाहिर मात्रै होइन, सांगीतिक क्षेत्रभन्दा बाहिर रहेका कलाकारलाई नेपालयले पलेँटी जस्तो ठूलो प्लेटफर्म दिएको छ। यही उत्साहले पनि काठमाडौँ बसाइ सुखद भइरहेको छ। धेरै समय रियाज गर्छौ र केही समय घुम्नवर्न गइरहेका छौँ। आज(शनिवार) पनि केही ठाउँ घुम्यौ, तितौरा किन्यौँ। रमाइलै पो लाग्दै छ हौ।

दिदीलाई तितौरा खुब मन पर्छ जस्तो छ नि?
निकै मन पर्छ। उता पनि यहीँको तितौरा जान्छ तर आएको बेला आफन्तलाई कोसेली पनि काठमाडौँको तितौरा लगिदिउँ कि भनेर नि। 
नेपाली खानामा अरू के–के मन पर्छन्?
गुन्द्रुकको झोल खान खुब मन पर्छ। मःमः पनि मीठो लाग्छ। तर, तीन घण्टा लगाएर बनाएको मःमः १० मिनेटमै खाइसकिन्छ, त्यसैले अलि नरमाइलो लाग्छ। लामो समय लगाएर बनाएको चिज लामै समयसम्म खाइरहन परोस् जस्तो लाग्ने। म धेरै चाहिँ चिया पिउँछु। 
एकदिनमा कति कपसम्म चिया पिउनुहुन्छ?
गनिसाध्य छैन। भेटेसम्म चिया पिइरहँू जस्तो लाग्छ। मेरो अनौठो स्वभाव छ, पानी त दुई घुड्को पनि निल्न सक्दिनँ। त्यसैले औषधि पनि चियासँग खान्छु। यत्रो उमेरमा एक गिलास पानी खाएको रेकर्ड छैन। 
नेपाली पोशाकप्रति झन् धेरै मोह छ जस्तो छ।
काठमाडौँमा पनि मलाई यो पहिरनमा देखेर छक्क परेर हेर्छन् हो ('हो' चाहिँ डेजीको थेगो हो। कुनै पनि कुरालाई जोड दिएर प्रस्तुत गर्दा उनी यसको प्रयोग गर्छिन्। )। यहाँकै ड्रेस लगाएको मान्छे एउटै नदेखेर म पनि छक्क पर्छु। सारी र चौबन्दी चोलीमाथि पोते त मेरो उर्दी (युनिफर्म) नै भइसक्यो। एकचोटि मैले कुर्तासुरुवाल लगाएकी थिएँ। सबैले 'उर्दी चेन्ज गरेको?' भने। त्यसपछि कहिल्यै छुटेको छैन।
यो ड्रेसमा तपाईं देखिएको कति वर्ष भयो होला?
पहिलोपल्ट सन् १९७५ मा काठमाडौँ आएकी थिएँ। त्यतिबेला नै पहिलोपल्ट साह्रै मन परेर पहेँलो पोते किनेकी थिएँ। दार्जीलिङबाट सर्ट र पाइन्टमा आएकी मैले त्यसैमाथि पोते लगाउँदा कस्ती देखिएँ हुँला। पछि चाहिँ सारी र चौबन्दी चोली लगाउन थालेँ। 
जहाँ जानु परे पनि यही हुलिया हो?
ज्यू ज्यू। अहिले त सबैले मलाई यही ड्रेसमा मन पराउँछन्। अफिस, बजार र सौदा जे गर्न गए पनि यही ड्रेसमा हो। श्रीमान्ले पनि मलाई यही ड्रेस सुहाउँछ भनेर लगाउन जोड गर्नुहुन्छ।
भिनाजुले पहिलोपल्ट भेट्दा यही 'उर्दी'मा देख्नुभएको थियो कि! 
होला कि। तर, पहिलोपल्ट भेट्दा उहाँले मलाई मन पराउनुभएको थिएन। एउटा कार्यक्रममा भेट भएको हो। उहाँ बाजा बजाउनुहुन्थ्यो। मैले 'भैँसी लड्यो है माया' गीत गाउँदा चारताल बजाउनुपर्ने थियो। दुई तालमै सकाइदिनुभयो। म पनि रिसाएकी थिएँ। 
लभ चाहिँ कसरी पर्योे त?
पछि अरू कार्यक्रममा सँगै भइयो, हो। कुरा भयो, मन मिल्यो बिहे नै गर्यौँ । 
'भैँसी लड्यो है माया' तपाईंको पहिलो रेकर्डेड गीत हो?
ज्यू। सन् १९७५ सालमा पहिलोपल्ट काठमाडौँ आउँदा यो गीत रेडियो नेपालमा रेकर्ड गराएकी थिएँ। त्यतिबेला मेरो उमेर त्यस्तै १६ वर्षजतिको थियो होला।
काठमाडौँ गीत रेकर्डिङकै सिलसिलामा आउनुभएको थियो?
होइन। हामी 'फेरि रामायणकै कथा' भन्ने नाटक देखाउन आएका थियौँ। त्यतिबेला बद्री दुर्गा खरेल दाइहरूले म र दिदी (दावा शेर्पा)लाई चाहिँ त्यो नाटकको पार्श्वगायनका लागि ल्याउनुभएको थियो। डेढ महिनाको बसाइमा रेडियो नेपालमा पनि केही गीत रेकर्डिङ गरेर गएका थियौँ। 
'भैसी लड्यो' भन्ने गीत तपाईंंको भागमा कसरी पर्यो्?
एक दिन नारायण गोपाल, गोपाल योञ्जन, पाण्डव सुनुवार, ईश्वरवल्लभ दाइ, दिदी (दावा) लगायत हामी गोलो घेरामा बसेर गीत गाउँदै थियौँ। म सानै थिएँ, मेरो पालो आएपछि दिदीलाई सोधेँ, 'ला, दिदी मैले कुन गीत गाउने होला?' दिदीले भन्नुभयो, 'तिम्रो त्यो भँैसी लड्यो है भन्ने गीत छ नि, त्यही गाऊ न।' गोपाल दर्नालले शब्द र लय संकलन गरेको त्यो गीत मैले दार्जीलिङको सुनधामा सन् १९७१ मै एउटा कम्पिटिसनमा गाएकी थिएँ। गीत सुनेपछि गोपाल योञ्जन दाइले एरेन्ज गरेर 'रेकर्ड गरौँ' भन्नुभयो। मलाई यति याद छ, त्यो गीत रेकर्ड भएपछि गोपाल दाइले 'डेजी, तेरो गीतमा मैले २५ रुपैयाँको बाँसुरी बजाएको छु' भन्नुभाथ्यो। 
यो गीत रेकर्ड गराउँदा गीतले बोकेको कथा थाहा थियो?
थिएन नि। निकै पछि आएर थाहा पाएँ। अल्लारे छोराका कारण ९ सय ६० रुपैयाँको भँैसी गुमाएको विम्बात्मक कथा रहेछ।
गीत हिट भएपछि कस्तो प्रतिक्रिया पाउनुभयो?
धेरैले 'राम्रो गायौ' भने। तर, यो गीत हिट भएपछि नेपालमा कार्यक्रम गर्न आउँदा भएको घटना दिमागमा ताजा छ। म स्टेज उक्लिन पाएकै थिइनँ, हलभरिका मान्छेले 'भैँसी, भैँसी' भनेर कराएका थिए। बाटोमा पनि मलाई चिन्नेले 'भैँसी' भन्थे। 
गोपाल योञ्जनले 'यतै बसेर गीत गाऊ' भन्नुभएन?
दाइले त 'यतै चाहिँ नबस, गीत रेकर्ड गराउन र प्रोग्राम गर्न आउनू' भन्नुभएको थियो हौ। त्यसमाथि आफू लज्जालु स्वभावकी! यहाँ आएका बेला उहाँसँग बोल्न नसक्ने रहिछु। दार्जीलिङ पुगेपछि भन्न मन लागेका कुरा चिठीमा लेखेर पठाउने गरेँ। पछि गोपाल दाइ 'डेजी त अहिले बोल्दिन, पछि चिठीमा लेख्छे' भनेर जिस्काउनुहुन्थ्यो।
तपाईं आफैँलाई पनि काठमाडौँ बसेर सांगीतिक करिअर खोज्न मन लागेन?
म त सानै थिएँ। आफ्नै विवेक थिएन। स्कुल लेभलकै पढाइ नसकिएकाले पनि यता बस्ने अवस्था भएन। 
अहिले त्यो समयलाई मिस गर्नुहुन्छ?
खुब गर्छु नि। यतै आएर संघर्ष गर्याल भए कति धेरै गीत रेकर्ड गरिन्थ्यो होला। 
पहिलो गीत नै चर्चित भए पनि तपाईंले सांगीतिक करिअरमा खास ध्यान नदिएजस्तो देखिन्छ नि?
कार्यक्रममा गाइरहन्थेँ। तर, अहिलेको जस्तो गीतमात्रै गाएर जीविका चल्ने अवस्था नभएकाले घरव्यवहारमा भुलेँ। 
आफ्नै एउटा एल्बम निकाल्ने रहर पनि जागेन?
त्यही त, खास ध्यान दिइएनछ। छोराले मेरा गीतलाई कलेक्सन गरेर एल्बम बनाइदिन्छु भनेर भन्छ। मलाई पनि गरौँ कि जस्तो लाग्छ। गीत पनि तयार छन्। तर, चाँजो मिलेकै छैन। 'भँैसी लड्यो है'को भिडियो पनि बनाउन मन छ। 
गीतसंगीततिर आकर्षित कसरी भइएछ?
मेरो परिवारमै सांगीतिक माहोल थियो, हो। विशेषगरी कान्छो मामा रामबहादुर लकाङ्गी राम्रो गायक हुनुहुन्थ्यो। उहाँले नै सिकाउनुभयो। 
अहिले पनि परिवारमा सांगीतिक माहोल नै छ है...
श्रीमान् र म त भइहाल्यौँ। छोरो गिटार बजाउँछ। छोरी पनि गाउँछे। यसअघि पलेँटीमा आउँदा ल्याएकी थिएँ। उसले 'बाडुली लाग्यो नि' भन्ने गीत गाएकी थिई। 
तपाईं लोकगीत गाउने, छोरा चाहिँ रकमेटल बजाउने। निकै भिन्नता छ है...
त्यही त। पहिला त उसको ड्याङड्याङ डुङडुङ सुनेर हल्ला लाग्थ्यो। अहिले राम्रो लाग्दै छ। उनीहरूका प्रोग्राम हेर्न पनि जान्छौँ। उसले बाजा बजाउँदा पनि निदाउन सक्ने भइसकिएछ। 
छोरालाई तपाईंका गीत पो कस्ता लाग्छन्!
उता हुँदा पनि राम्रै भन्थ्यो। अहिले हामीले प्य्राक्टिस गर्दा ऊ अझ बढी प्रभावित हुँदै गएको छ। खुब ध्यान दिएर सुन्छ। राम्रो–राम्रो गीत रहेछन् भन्छ। 
यसपालि पलेँटीमा नौलो के छ?
दिदी (दावा) र मैले सँगै र छुट्टै गीत सुनाउनेछौँ। यसपटक मैले त्यस्तै सन् १९८१ तिरै रेकर्ड भएको तर रेडियोमा बजाउन प्रतिबन्ध लगाइएको गीत पनि गाउँदै छु । 'तिमीले पनि खेलाउने, उसले पनि नचाउने, म त सस्तो खेलौना भएछु' भन्ने गीत हो। यसको भाव गहिरो भएकाले पहिला रेकर्डका लागि पास भयो। तर, पछि गलत अर्थ लगाएर प्रतिबन्ध लगाइयो। 
तपाईं त पलेँटीमा यसअघि पनि आइसक्नुभएको छ है?
सन् २००६ र २०१० मा पनि पलेँटीमा गाएकी थिएँ।

कोइरालाको कठिन परीक्षा

कोइरालाको कठिन परीक्षा

अघिल्लो संविधानसभा निर्वाचनको विफलताबाट दलहरूले पक्कै केही सिकेका होलान् भन्ने जनताको अनुमान फेल खाएको छ। दोस्रो संविधानसभा निर्वाचनपछि दलहरूको बीचमा जुन ढंगको बहस प्रारम्भ भएको छ, यसबाट जनता उत्साही होइन,...

'एमाले' सुषमा

'एमाले' सुषमा

अचेल सेन्सर बोर्ड अलि कडा छ। विशेषगरी बेड सिन देख्नै नसक्ने सेन्सरको आँखा यो हप्ता सुषमा कार्कीको वक्षमा पर्यो ! फिल्म 'राजनीति'मा गरेको आइटम डान्समा वक्षमा खोपाएको ट्याटु आधा देखियो।...

पूर्वेलीका प्रेम दिवस 'प्लान'

धरानका म्युजिक भिडियो निर्देशक लोकेन साँवा यस पटकको भ्यालेन्टाइन्स डे हङकङमा रहेकी गर्लफ्रेन्डसँग फोनमा कुरा गरेर मनाउने योजनामा छन्। 'टाढा छ, भेट्न पाइँदैन, फोनबाटै सबै कुरा गरिन्छ। माया रिन्यू गर्नुपर्योत...

सुमिनाका पर्पल सपना

सुमिनाका पर्पल सपना

शनिवार सुमिना पुगेकी थिई, एनसेलको पर्पल मेलामा। कान्तिपुरको हब दरबारमार्गमा भएको त्यो सडक मेलामा उसकै उमेरका थुप्रै केटीहरू काखमा बच्चा च्यापेर आएका थिए। तिनीहरू भीडमा घुस्रिँदै र घस्रँदै स्टेजको छेउछाउमा...

श्रीजुको ग्ल्यामर भोक

श्रीजुको ग्ल्यामर भोक

पाटन, सुन्धाराकी श्रीजु नापित सफल मोडल बन्ने धुनमा छिन्। उनका घरपरिवार तथा टोलछिमेकमा कोही पनि यो पेशामा छैनन्। घरका अभिभावकले कति पटक उनलाई यतातिर नलाग्न सुझाव दिइसकेका छन्। तर, उनी...

'आमा'को बेस्वादे आइटम

आधा दर्जन फिल्ममा अभिनय गरिसके पनि रागिनी खड्गी चम्किन सकेकी छैनन्। यसअघि आफू नचम्किनुको कारण क्षमता देखाउन सक्ने भूमिका नदिएको गुनासो गर्थिन्। रागिनीले अभिनय गरेको अर्को फिल्म 'नथिङ इम्पोसिबल'को एउटा...

रेखामाथि राजनीति

रेखामाथि राजनीति

रेखा थापा बाठी फिल्मकर्मी हुन्। फिल्म क्षेत्रमा आफूलाई चर्चामा राख्न र अघि बढ्न अनेक नीति अख्तियार गर्ने खुबी छ उनमा। केही समयअघि एमाओवादी नेता प्रचण्डसँग नाच्नुका साथै उनले तत्कालीन वाइसियल...

केही आशा, केही भरोसा

नेपाली राजनीतिमा आशलाग्दा केही युवा अनुहार छन्। नेतृत्व क्षमता, जुझारुपन र इमानदारीका कारण उनीहरू लोकप्रिय छन्। जनतामा 'यसले केही गर्छ है' भन्ने अलिकति आशा र अलिकति भरोसा जगाउने यी राजनीतिकर्मी...