24 Jestha, 2077 | June 06, 2020
Menu

शुक्रबार

रमझममा कटौती

  • आइतबार २३ भाद्र, २०७०
  • शुक्रबार
  • DISQUS_COMMENTS
(1 Vote)
रमझममा कटौती
अघिल्ला वर्षका तीजमा महिलाहरूले 'अचाक्ली' गरे। महिनादिनअघि पार्टी प्यालेस र होटलमा दर खाने कार्यक्रम गरे। दरमा दारु मिसाए। सारी र गरगहनाहरूको उधुम प्रदर्शन गरे। तीज मनाउन ऋण पनि काढे। तर, यसपालिको तीज अलिकति सीधासादा भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीजमा तडकभडक नगर्न जनतालाई सचेत गरायो। यसपालिको तीज माहोल बुझ्न खोजेका छन्, संगीता श्रेष्ठ र सजना बरालले। विवरण पढ्नुस्:
अघिल्ला वर्षमा महिनौँअघिदेखि तीजका गीत घन्किनेे काठमाडौँ शहर यसपालि केही शान्त छ। ग्राहकको ओइरो लाग्ने सारी–चोला, कुर्तासुरुवाल, गहना तथा कस्मेटिकका पसल खाली छन्। पार्टी प्यालेस, होटल र क्याटरिङको व्यवसाय पनि पोहोरको तुलनामा खस्किएको छ। तीजको तामझाम कम भएकाले कतिपयलाई यसपालि तीज आएको अनुभवसमेत भएको छैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अघिल्ला वर्षमा नेपाली महिलाहरूको विशेष चाड तीज भड्किलो भएको भन्दै यस वर्ष त्यस्तो नगर्न 'चेतावनी' दिएपछि तीजको चहलपहलमा कमी आएको हो।
सामाजिक व्यवहार (सुधार) ऐन– २०३३ ले चाडपर्वका लागि खर्च र व्यवहारको सीमा तोकेको छ। यसै ऐनलाई प्रयोगमा ल्याउँदै तीजलाई व्यवस्थित गर्ने प्रयास अख्तियारले गरेको छ। ऐनविरुद्ध गएर तडकभडक गर्नेमाथि कडा निगरानी र कारबाही गर्ने चेतावनी उसले दिएको छ। 'नैतिकतामा आधारित समाज निर्माणका लागि' भन्दै अख्तियारले तीजमा हुने खर्चलाई नियन्त्रण गर्न खोजको सरोकारवालाको भनाइ छ। तीजका नाममा तथानाम खर्च गर्नेलाई कारबाही गर्न अख्तियारले नेपाल प्रहरीलाई पत्राचारसमेत गरेको छ।
'तीज महोत्सव' र 'तीज बजार' चाहिँ यसपालि पनि लागिरहेकै छन्। तर, तिनमा पोहोर–परारको जस्तो रौनक भने छैन। भदौ ६ देखि १० गतेसम्म त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा चलेको तीज मेलामा त्यसको प्रभाव प्रत्यक्ष देखियो। विगत १२ वर्षदेखि आयोजना हुँदै आएको तीज महोत्सवमा पोहोरको भन्दा यसपालि महिलाहरूको भीड निकै पातलिएको छ। 'यसपालि मेलामा धेरै कम महिला आएका छन्,' सभा नेपाल संस्थाकी तारा केसीले भनिन्, 'पोहोर त यतिबेला मारामार थियो। यसपालि खासै व्यापार छैन।' महोत्सवमा भीड र व्यापार कम हुनुको कारण अख्तियार भएको उनको ठम्याइ छ। 'अख्तियारले गर्दा त हो नि,' ताराले गुनासो गरिन्, 'चार दिनसम्म पनि सामान बिक्री नभएर सेलमा राख्नुपरेको छ। त्यो पनि बिक्री हुने छाँटकाँट छैन।' सोही मेलामा कस्मेटिकको स्टल थापेर बसेकी नानुज टीका कलेक्सनकी सुनीता राजकर्णिकारको अनुभव पनि ताराको जस्तै छ। महोत्सव सुरु भएदेखि भाग लिँदै आएकी उनले यस्तो मन्दी अघिल्ला मेलामा भोगेकी थिइनन्।  'यसपालि भिजिटिङ कार्ड बाँड्न मेलामा भाग लिए झैँ भयो,' उनले भनिन्।
तीजमा खुलेर नाचगान गर्न र झकिझकाउ गहना लाउन नपाउँदा धेरै महिला अख्तियारदेखि चिढिएका छन्। 'तीजको रमाइलो भनेकै टन्न खानु, नयाँनयाँ सारी–चोला र गहना लगाएर छमछमी नाच्नु त हो नि,' डिल्लीबजारकी दीपा सुवेदीले भनिन्, 'त्यति पनि गर्न नदिएपछि तीज न सीज!' उनीझैँ मैतिदेवीकी ३२ वर्षीया लक्ष्मी थापा पनि अख्तियारसँग रिसाएकी छिन्। 'महिलाहरूको स्वतन्त्रतालाई अख्तियारले देखिसहेन,' उनको आरोप छ, 'हामीलाई सधँै चुलोचौकोमै भुलाउन चाहन्छन् उनीहरू।' सेन्ट पाउल इन्टरनेसनल कलेज, कक्षा १२ की विदुषी खतिवडालाई पनि अख्तियारको निर्णय उचित लागेको छैन। भनिन्, 'चाडपर्व मनाउने भनेको रमाइलोका लागि हो। तीजमा जसो गर्दा रमाइलो हुन्छ, त्यसै गर्न पाउनुपर्छ। जे लगाउँदा खुसी मिल्छ, त्यो लगाउन पाउनुपर्छ। आफ्नो सम्पत्ति पनि उपभोग गर्न नदिनु त अन्याय नै हो।' तीजमा आयोजना गरिने पार्टी र नाचगानका कार्यक्रमले सम्बन्ध विस्तार र जमघटको अवसर जुराइदिने शिलाज ब्युटिपार्लर, लाजिम्पाटकी शिला गुरुङले बताइन्।
तीजमा रमाइलो गर्न चाहने महिला अख्तियारको निर्णयले दुःखी छन् भने व्यापारीहरूले पीडित भएको महसुस गरेका छन्। तीजका बेलामा चम्किने बागबजार, असन, न्युरोड, कुपन्डोललगायत व्यापारिक क्षेत्र यसपालि सुनसान छन्। 'तीजका लागि भनेर अस्तिमात्रै इन्डिया गएर सामान लिएर आएँ,' बागबजारस्थित शुभश्री कलेक्सनका राधेश्याम पारिखले निधार खुम्च्याए, 'व्यापारै छैन। यो स्टक सकाउन अब दसैँतिहार नै कुर्नुपर्ने भयो।'
तीज आउनु महिनादिन अघिदेखि तारे होटल र पार्टी प्यालेसमा दर खाने, गरगहना र लत्ताकपडामा प्रतिस्पर्धा गर्ने महिलाहरूमाथि अख्तियारको नियमले अंकुश लगाइदिएको छ। त्यसैले धेरै महिलाले यसपालिको तीज खल्लो महसुस गरिरहेका छन्।
०००
तीजको रौनक सेलाएकोमा खुसी हुने मानिसको संख्या पनि सानो छैन। चाडपर्वको नाउँमा विकृति फैलाउने र समाजमा उँच–नीचको भावना पैदा गर्ने गरगहना, भोजभतेर र लुगालत्ताको प्रतिस्पर्धा रोक्न यो नियम प्रभावकारी भएको धेरैले महसुस गरेका छन्। तीजका लागि ऋृण काढ्नेदेखि गहना 'हायर' गर्नेसम्मका हर्कत महिलाहरूले गर्ने गरेका थिए। विशुद्ध धार्मिक र सांस्कृतिक चाडलाई डिस्को, क्लब र पार्टी हलमा मनाउने प्रचलनले नेपालको धार्मिक परम्परालाई नै चुनौती दिएको थियो। देखासिकीको चक्करमा अत्यधिक गरगहना लगाउनाले चोरी–चपेटाका घटना बढेका थिए। यी सबै सामाजिक समस्याको नियन्त्रण गर्न अख्यितारले चालेको कदम सह्रानीय भएको धेरैले बताए।
'दर खाने भन्या छ, महिनौँअघिदेखि भागदौड गर्याब छ, जे मन लाग्यो त्यही खा'को छ, झाँक्रा फिँजाएर नाच्या छ। आइमाईहरू मतिभ्रष्ट भइसकेका थिए। सरकारको नियमले तिनलाई ठेगान लगाउने भयो,' सोमवार पशुपतिनाथ मन्दिरमा भेटिएकी विराटनगरकी ५५ वर्षीया विन्दादेवी रिजालले भनिन्। तिथिमितिकै दिन शाकाहारी दर खाएर भोलिपल्ट निराहार व्रत बस्ने र अर्को दिन पूजापाठ गरेपछि मात्रै पेटपूजा गर्नुपर्ने उनको भनाइ छ। 'अहिले त दर भन्दै जाँड–रक्सी, शिकार(माछामासु) सबै खाँदा रै'छन्,' उनले भनिन्, 'तीजको नीति–नियमबारे अहिलेका आइमाईलाई मतलबै छैन।'
हिन्दू, त्यसमा पनि विशेषगरी बाहुन–क्षत्रीले मनाउने गरेको तीज पर्व  आजभोलि अन्य धार्मिक समुदाय र जातजातिका महिला तथा पुरुषले पनि मनाउन थालेका छन्। यद्यपि, तीज मनाउने प्रचलनमा भने बर्सेनि परिवर्तन आइरहेको छ। तीज रमाइलो गर्ने अवसरमा सीमित हुँदै गएको सामाखुसीकी ६० वर्षीया हरिकला दाहालको बुझाइ छ। 'हामीले त पाँच वर्षको उमेरदेखि पानीसमेत नखाई तीजको व्रत बस्न थालेका हौँ,' उनले भनिन्, 'बिहेअघि तीजमा नाचगान पनि गरिन्थ्यो। बुहारी भएपछि चाहिँ नाच्नु हुँदैन भन्थे। गीत गाउँथ्यौँ, मन्दिर जान्थ्यौँ, खोलामा गएर दतिउन लगाउँथ्यौँ। अहिले त ट्वाइलेटमै साबुन–पानीले जिउ पखाल्नुपर्छ। केटीहरू व्रतै नबसी तीज मनायौँ भन्छन्। मनलाग्दी छ अहिले ।'
तीजमा व्रत राख्नेको संख्या प्रतिवर्ष कम हुँदै गएको छ। हजुरआमा र आमा पुस्ताको बिँडो थाम्नु पर्ने छोरी–बुहारीहरू व्रत बस्न झिँजो मान्न थालेका छन्। हेटौँडाकी १९ वर्षीया तनुजा बोहराले तीजमा व्रत बस्नेबाहेक बाँकी सबै क्रियामा सामेल हुने गरेको बताइन्। 'व्रत  बसिँदैन तर मन्दिर जाने, पूजाआजा र नाचगान चाहिँ गछर्ौं,' उनले भनिन्।
कीर्तिपुरकी ३३ वर्षीया सरस्वती थापा र मुना पराजुलीले पनि व्रत बस्न छोडेको तीन वर्ष भएको बताए। 'श्रीमान्को लामो आयुका लागि व्रत बस्नुपर्ने हो,' मुनाले भनिन्, 'तर, ग्यास्ट्रिकले आफ्नै आयु घटाउन आँट्यो। मलाई त उहाँ(श्रीमान)ले नै व्रत बस्न दिनुहुन्न।' सरस्वती चाहिँ यस मामिलामा अलि खरो देखिइन्। 'श्रीमान्ले श्रीमतीका लागि व्रत बसेको कहिल्यै देखे–सुनेको छैन। हामी आइमाईले मात्रै किन तिनलाई देउता मानेर पुज्ने?' श्रीमान्ले दोस्री श्रीमती ल्याएयता सरस्वतीले तीजको व्रत राख्न छाडेको बताइन्।
०००
अख्तियारको कदमलाई त्रिभुवन विश्वविद्यालयका विद्यार्थी राधिका धमला, ज्ञानु नेपाल र सिर्जना वज्राचार्यले सकारात्मक मानेका छन्। 'महिलाहरू धेरै सो–अफ गर्न थालेका थिए,' सिर्जनाले भनिन्, 'हुनेले त जे पनि गर्लान्। तर, नहुनेहरू थुक निल्दै बस्नुपर्छ। यसले समाजमा धनी र गरिबबीच खाडल निम्त्याउँछ।' उनी स्वयम् चाहिँ बुद्धिस्ट भएकाले यो पर्व मनाउँदिनन्। राधिकालाई तीज आउनु अगावै आयोजना गरिने दर खाने कार्यक्रम निषेध गरिएकोमा असाध्यै खुसी लागेको छ। भनिन्, 'अचाक्ली गरेका थिए महिलाहरूले। सुँगुरको मासुसँग बियर पिउँदै दर खा'को भन्थे। दर शब्दकै अपमान भएको थियो।'
पोहोर तीज आउनुअघि चार वटा पार्टी आयोजना गरेको बताउने बालाजुकी अनु गुरुङले यसपालि त्यस्तो गर्नुपरेन। 'साथीभाइले बोलाएपछि आफूले पनि उनीहरूलाई बोलाउनैपर्यो ,' उनले पिरलो सुनाइन्, 'एक दिन घरपरिवार र आफन्तलाई दर ख्वाइयो। अर्को दिन स्कुल–कलेजका साथीभाइलाई, त्यसपछि अफिसका स्टाफलाई र अर्को पटक छरछिमेकी र महिला समूहका संगिनीलाई दर ख्वाएकी थिएँ।' गत वर्षको तीजमा उनको एक लाख रुपैयाँजति खर्च भएको थियो। 'तीजले डुबाउने भयो भनेर यसपालि कसैकोमा जाँदा पनि गइनँ,' उनले भनिन्, 'कसैलाई बोलाउँदा पनि बोलाइनँ। पोहोरको जस्तो धेरै निम्तो पनि आएन। अख्तियारले साह्रै राम्रो काम गर्योो हाम्रा लागि।'
०००
खुलेआम तडकभडक गर्नेहरू यसपालि केही मत्थर भए पनि उनीहरूले लागेको बानी झट्टै त्याग्न भने सकेनन्। आ–आफ्ना समूहलाई दर ख्वाएर नचाउने क्रियाकलाप यस वर्ष पनि तीजअघि हुँदै नभएका भने होइनन्। महिलाहरूले पार्टी प्यालेसको सट्टा घरघरमै भोजभतेर गरेर तीजको उल्लास मनाए। 'मेरी बुढीले दुई महिनाअघि नै सारी–चोलीका लागि १० हजार रुपैयाँ खर्लप्पै सकाएकी थिई,' लाजिम्पाटका मोतिराम अधिकारीले  भने, 'साउनदेखि घरमा बासै पनि छैन उसको। दर खान भ्याई नभ्याई छ।'
पोखराकी ३९ वर्षीया भगवती पोखरेलले पनि अख्तियारको कदम फितलो भएको बताइन्। 'काठमाडौँमा के गरे कुन्नि?' उनले भनिन्, 'पोखरामा त साउन लाग्न नपाउँदै तीज सुरु भइसकेको थियो। मलाई मात्रै सात ठाउँबाट निम्ता आएका थिए। जताततै दर खानेको ओइरो छ पोखरामा।'
तीज नेपाली महिलाको विशेष चाड भएकाले यसलाई उनीहरूले आ–आफ्नो तौर–तरिकाले मनाउन पाउँछन्। तर, तीजका नाम गरिने अनावश्यक तामझामले समाजमा विकृति निम्त्याउने कुराप्रति महिलाहरू सचेत हुन जरुरी छ। 'अरूले घोडा चढेको देखेर आफू धुरी चढ्न खोज्नु हुँदैन,' त्रिचन्द्र कलेजकी विद्यार्थी कमला क्षत्रीले भनिन्, 'आफ्नो हैसियतअनुसार तीज मनाउनुपर्छ।'
तीजको रहर आयो बरिलै...

तीजको रहर आयो बरिलै...

निर्देशक प्रकाश थापासँग मेरो राम्रो मित्रता थियो। उहाँका फिल्मका लागि मैले गीत लेखिदिएको थिएँ। आजभन्दा करिब १५ वर्षअगाडिको कुरा गर्दैछु म। एक दिन प्रकाशजी र उहाँको छोरा विजय जावलाखेलस्थित मेरो...

'हिरो चालिस कटेपछि हिट हुन्छ'

'हिरो चालिस कटेपछि हिट हुन्छ'

टेलिसिरियल 'तितो–सत्य'का कारण सधैँ चर्चामा रहने दीपकराज गिरी यति बेला थप चर्चामा छन्। उनले स्त्रि्कप्ट लेखेको, अभिनय र निर्माण गरेको फिल्म '६ एकान ६' हिट भएको छ। नेपाली फिल्मको व्यापारमा...

करकापमा नांगिने हो

करकापमा नांगिने हो

थुप्रै फिल्ममा स्कर्ट लगाएर अभिनय गरेकी अभिनेत्री झरना थापाले 'ओम' लगायत केही फिल्ममा बेडसिनसमेत दिएकी छिन्। बेडसिन दिनेबित्तिकै हिरोइनको आलोचना सुरु हुन्छ भने कतिपय हिरोइनले त्यही आलोचनालाई पनि चर्चामा आउने...

हे भगवान्! दाह्रीजुँगा नआएको पुरुष बनाइदेऊ!

महाभारतको कथा–अनुसार पाण्डवहरूलाई एक वर्ष गुप्तवास बस्नुपर्ने अवस्था आयो। विराट् राजाका नोकर–नोकर्र्नी भएर बसे बिचरा–बिचरीहरू। युधिष्ठिरले जुवा खेल्ने काम पाए। भीमसेन भान्सा–विभागमा भित्रिए। नकुल र सहदेव गोठाला भए। अर्जुन बेरोजगार...

उर्वशी कि मेनका?

उर्वशी कि मेनका?

वरिष्ठ फिल्मकर्मी नीर शाहले रीमा विश्वकर्मालाई 'उर्वशी र मेनका' भनिदिए। फिल्ममा भन्दा म्युजिक भिडियोमा बढी देखिने रीमाको सौन्दर्यमाथि टिप्पणी गर्दै उनले यस्तो बताएका थिए। भारतका विभिन्न ठाउँमा छायांकन भएका भिडियो...

बन्दीपुरमा नृत्यमग्न पर्यटक

बन्दीपुरमा नृत्यमग्न पर्यटक

शुक्रवार साँझ पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकहरूले जमेर नाचे। अमेरिका, बेलायत, बेल्जियम, जापानलगायतका विश्वका ६२ भन्दा बढी देशका पर्यटक एकैठाउँमा जम्मा भएर नाचे। यो रमाइलो चार दिनसम्म चलेको थियो। 

'मभित्र एउटा रुन्चे मान्छे छ'

'मभित्र एउटा रुन्चे मान्छे छ'

हरिवंश आचार्य अब्बल कलाकारमात्रै होइनन्, असल मानिस पनि हुन्। नेपालमा हास्यव्यंग्यलाई सम्मानित पेशा बनाउन उनी र मदनकृष्ण श्रेष्ठले गरेको मेहनतको जति प्रशंसा गरे पनि कम हुन्छ। कडा व्यंग्य गरेर कसैलाई...

जसको भैँसी वर्षौंदेखि लडिरहेको छ

जसको भैँसी वर्षौंदेखि लडिरहेको छ

स्कुले उमेरमै 'भैँसी लड्यो है माया' जस्तो चर्चित गीत गाएकी डेजी बराइलीले धेरै गीत गाएकी छैनन्। थोरै गीत गाएर धेरै चर्चा पाएकी यी गायिकाले एकल एल्बम पनि निकालेकी छैनन्। दार्जीलिङकी...