Friday 23 Jestha, 2077 | June 05, 2020
Menu

शुक्रबार

आज्ञापालक कमरेड आँखा खोल्छ (कविता)

  • सोमबार ११ कार्तिक, २०७०
  • अभय श्रेष्ठ
  • DISQUS_COMMENTS
(1 Vote)
आज्ञापालक कमरेड आँखा खोल्छ (कविता)
सोह्र्र वर्षपछि 
मेरा आँखामा फर्किएको छ त्यो ज्वाला
जसको रापले कुनै दिन
डढेको थियो कालो संविधानको पुस्तक


सोह्र्र वर्षपछि फेरि 
युद्धबन्दी छ दिमागको किल्ला 
काटिएका छन् हातका औँलाहरू 
गायब छ केशमा शिरको सौन्दर्य 

बिउँँझिएर उठेका छन् 
मृत संविधानका अक्षरहरू
र, टाँसिदै छन् नयाँ संविधानका अक्षरमाथि 
जसरी अखबारको पेस्टरले 
पुरानै नक्सामा टाँस्छ नयाँ तस्बिर 

सुन्दर मुलायम बगैँचामा
सुँगुरहरूले गरिदिएका छन् सर्वत्र फोहोर 
तमसुकमा तहबिलदारले जाली अंक थपेजस्तै 
शमशेर गणका मौसमी प्रेतहरूले 
लेखिदिएका छन् त्यसमाथि– प्रजातन्त्र 

भर्खरै प्रेमको नतिजामा 
असफल युवतीजस्तै थकित समयको यो मोडमा
सोह्र्र वर्षपछि
बारम्बार म आफैँसँग सोधिरहेछु–
लुटाहा र सामन्तमा 
कसले बढी चुसिरहेछ देशलाई?
सुँगुर र शासकमा 
को बढी फोहोरी छ देशमा?
सरकार र हत्यारामा 
कसले बढी घाउ दिइरहेछ देशलाई?

सोह्र्र वर्षपछि म सोच्दै छु– 
प्रेमका नाममा बेइमानी नगरेसम्म 
दुष्ट प्रेमिकालाई त्यागेर 
सहृदय वेश्यासँग 
सम्बन्ध गाँस्न म स्वतन्त्र छु 
स्वतन्त्र छु, मेरो ब्रह्मसँगै स्वतन्त्र विचरण गर्न 
र, राज्यको अनुहारमा फर्किएको 
जंगली आँखाविरुद्ध आँखा लडाउन 

सोह्र्र वर्षपछि
कमरेड शासकका आँखाबाट 
एकाएक गायब छ निद्रा 
ठुटे लोकतन्त्रवादीका आँखामा
हाँस्दै छ कौटिल्य 

कमरेड शासकलाई थाहा छ
ठुटे क्रान्तिकारी
र, प्रतिक्रियावादीलाई पनि थाहा छ
गणतन्त्रको जग, डाँठ र जटामा
छ मेरै रगत 
यो इँटा, यो छड, यो कंक्रिट
गरिब वृद्धको धर्सा परेको निधारजस्ता
बुट्टेदार यी आधुनिक झ्यालढोका
बनेका हुन् मेरै हाडमासुले 

सोह्र्र वर्षपछि
यो छुवाछुतमुक्त गणतन्त्रमा
म कसरी उही अछुत कामी भएँ
जसले चुलो छोएको निहुँमा 
फेरि ज्यान गुमाउनुपर्छ?
म कसरी उही चमारे सार्की भएँ
जसले फेरि सिनो उठाउनुपर्छ?
म कसरी उही डुमबहादुर दमार्इं भएँ
जसले फेरि तपाईंको बाजा बजाउनुपर्छ?
म कसरी उही गोरुमुखे गाइने भएँ
जसले फेरि तपाईंको कर्खा गाउनुपर्छ?
म कसरी उही बादी भएँ
जसले फेरि अपमानका सहस्र पाना पल्टाउनुपर्छ?
म कसरी उही पटमूर्ख कमैया भएँ
जसले फेरि तपाईंको सेवामा
आफैँलाई गुमाउनुपर्छ?

त्यो गाउँ,
जहाँ हेर्दाहेर्दै खरानी पारियो मेरो घर
चौपायासरह मारिए मेरा बाबुआमा
खुलमखुला
बलात्कृत भई बहिनी
जसलाई जिउँदै जलाइयो रूखको ठुटाजस्तै
तिनको एउटै दोष,
परिवारको एउटा जवान 
अर्थात् म मित्र विश्वकर्मा थिएँ विद्रोही 

स्वाभिमान, आत्मसम्मान, मुक्ति
र, न्याय
जसका लागि लडेको थिएँ म
बनेपछि गणतन्त्रको महल
सोह्र्र वर्षपछि एकाएक 
म कसरी लुटिनमात्र
लायक भएँ आफ्नै मित्रहरूबाट?
आँखा जुधाउन हिम्मत गर्नुस्!
म कसरी तपाईंको 
थोक व्यापारको सामग्रीमात्र भएँ, कमरेड?

सोह्र्र वर्षपछि मेरा आँखामा 
फर्किएको छ त्यो ज्वाला 
जसको रापले कुनै दिन 
डढेको थियो कालो संविधानको पुस्तक।

प्रकाशकीय

नेपाल रिपब्लिक मिडियाको तेस्रो प्रकाशन शुक्रवार साप्ताहिक चौथो वर्षमा प्रवेश गरेको छ। सामाजिक सरोकारका जल्दाबल्दा विषय तथा मुद्दा उठाउने जुन लक्ष्यका साथ यसको प्रकाशन सुरु भएको थियो, त्यस लक्ष्यप्राप्तिमा शुक्रवारले...

फरक स्वर, फरक विचार

फरक स्वर, फरक विचार

फरक स्वरकै कारण फरक परिचय बनाएकी गायिका आस्था राउतले काम पनि त्यस्तै गरिन्। सामान्यतः नयाँ गायिकालाई सुरुमा कसैले नपत्याउने भएकाले उनीहरू पहिले आफ्नै एल्बम बजारमा ल्याउने गर्छन्। तर, आस्थाले उल्टो...

त्यो 'म्याक्रो' मुस्कान

त्यो 'म्याक्रो' मुस्कान

'म्याक्रो मुस्कान' क्या सुहाउँथ्यो उनलाई। म्याक्रो अर्थात् बृहत् अर्थात् विशाल। त्यो जिउँदोजाग्दो, त्यो भव्य र त्यो म्याक्रो मुस्कान! 'माइक्रो' (बस) को टायरले कुल्चिदियो त्यो म्याक्रो मुस्कानलाई। (म्याक्रोको विपरीतार्थ माइक्रो!)

यतै कि उतै?

यतै कि उतै?

बजारमा उनले दिएको उत्तेजक चुम्बन दृश्य र कामुक नृत्यको विभिन्न कोणबाट चर्चा भइरहेको छ। फिल्मको प्रचार गर्न खप्पिस निर्देशक मानिने उकेश दाहाल अभिनेत्री शशी खड्काका प्रत्येक दृश्यका तस्बिर मिडियाबाजीका लागि...

'म त चुर्लुम्मै डुबेर गाउँछु'

'म त चुर्लुम्मै डुबेर गाउँछु'

पछिल्लो पुस्ताका राम्रो सम्भावना बोकेका गायकका रूपमा लिइन्छ, विश्व नेपालीलाई। उनले भर्खरै आधुनिक गीत गायनमा उत्कृष्ट गायनका लागि इमेज अवार्ड पाए। दुइटा सोलो एल्बम, फिल्मका गीत, कलेक्सन एल्बममा गरी ७०...

आस्था बीलाई चकलेट, चिठी र प्रस्ताव

रेम गर्न एउटा निश्चित उमेर पार गर्नुपर्छ। बेला नभई कसैले गरेको प्रेम सफल हुन्छ जस्तो मलाई लाग्दैन। तर, उमेर नपुग्दै प्रेम गरे जस्तो गर्नेहरू धेरै हुन्छन्। मलाई स्कुल पढ्दा थुप्रै...

हतारमा बिहे

हतारमा बिहे

विवाहलाई जिन्दगीको सबैभन्दा महत्वपूर्ण निर्णय र घटना मानिन्छ। त्यसैले विवाहको निर्णय गर्नुअघि मानिसहरू थुप्रै पटक मथिंगल खियाउँछन्। आफू अनुकूलको पात्र खोजेर उसको आनीबानी, कुल-घरान, अध्ययन र पेसादेखि ग्रहदशा जाँचेर मात्रै...

हट पोज, अवसर खोज

हट पोज, अवसर खोज

गर्मी बढिरहेको छ। युवतीका पहिरन खुल्दै र छोट्टिँदै गएका छन्। फेशनको शहर भनिने पोखरामा यतिबेला खुला पहिरनमा हट फोटो सेसन गर्नेहरू बढेका छन्। तालमा होस् वा स्विमिङ पुलमा, डाँडामा होस्...