Sunday 23 Chaitra, 2076 | April 05, 2020
Menu

स्वास्थ्य

बाह्र हजार स्वास्थ्यकर्मीको पदस्थापना माग

(0 votes)
विराटनगर– निजामती स्वास्थ्यकर्मीले बढुवाअनुसार पदस्थापनको माग गरेका छन्। उनीहरूले पत्रकार सम्मेलन गर्दै आफूहरूले उठाएका २३ बुँदे माग स्वास्थ्य मन्त्रालयबाट सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनमा जाने घोषणा गरेका छन्।
स्तरवृद्धि भएर अलपत्र भएका सम्पूर्ण स्वास्थ्यकर्मीको अविलम्ब पदस्थापन, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई अध्ययन, तालिमको अनिवार्य व्यवस्थापन, स्वास्थ्य सेवा ऐनको दफा ८(१)लाई संशोधन गरी खुल्ला/आन्तरिक तथा समायोजन प्रक्रियालाई सहजरूपमा पदपूर्ति तथा पदस्थापन, जुन तहबाट स्तरवृद्धि भएको सोही तहको काम गर्नुपर्ने भन्ने दफा हटाउनु पर्ने आदि उनीहरूको माग छ।
नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रीय अध्यक्ष भागिरथ बानियाँले जनतालाई सेवाबाट वञ्चित नहुने गरी मन्त्रालयको राष्ट्रियस्तरको कार्यक्रमको आफूहरूले बहिष्कार गरी आन्दोलन गर्ने बताए। मधेसी स्वास्थ्यकर्मी फोरम नेपालका केन्द्रीय अध्यक्ष बालकिशोरप्रसाद यादवले निजामती स्वास्थ्यकर्मी कर्मचारी पदबेगर कार्य गरिरहेकाले अविलम्ब उनीहरूको पदस्थापन हुनुपर्ने माग गरे।
पत्रकार सम्मेलनमा निजामती स्वास्थ्यकर्मीका विभिन्न सात संघसंगठनका प्रतिनिधिको सहभागिता थियो। स्वास्थ्यकर्मीले यही फागुन र चैतभित्रमा जनकपुर, काठमाडौं, धनगढी, नेपालगन्ज, बुटवल तथा पोखरामा क्षेत्रीयस्तरको भेलाको आयोजना गर्नेसमेत जानकारी दिइयो। निजामतीमा २७ हजार स्वास्थ्यकर्मी कार्यरत छन्।