Sunday 23 Chaitra, 2076 | April 05, 2020
Menu

स्वास्थ्य

धन्न बाँचिन् चन्द्रकला

  • मङ्गलबार ११ चैत्र, २०७०
  • कलेन्द्र सेजुवाल
  • DISQUS_COMMENTS
(0 votes)
क्षेत्रीय अस्पतालमा उपचाररत चन्द्रकला राना। क्षेत्रीय अस्पतालमा उपचाररत चन्द्रकला राना। तस्बिर : कलेन्द्र/नागरिक
सुर्खेत-सबै होलीको रमझममा मस्त थिए। रानीबासीकी चन्द्रकला रानालाई सुत्केरी बेथाले च्याप्यो, फागुन ३० गते उनले घरमै पाँचौं सन्तान जन्माइन्, तर तीन दिनसम्मसाल झरेन।
चन्द्रकलालाई झन् साह्रो हुँदै गयो। पति चक्रबहादुरले चैत २ मा स्वास्थ्यचौकी त पुर्‍याए तर त्यहाँ स्वास्थ्यकर्मी थिएनन्। कार्यालय सहयोगी (पियन) नरबहादुर रोकाया जान्नेसुन्ने भएर अघि सरे।
घरमै मेडिकलसमेत चलाउँदै आएका रोकायालाई नपत्याउने कुरै भएन। उनले नांगो हात छिराएर साल त निकालिदिए तर रक्तश्राव रोकिएन। चन्द्रकलालाई झन् गाह्रो भयो। हतपत सुदूरपश्चिमाञ्चल अस्पताल पुर्‍याइयो। डाक्टरले झटपट रगत दिए र अप्रेसन गरेर पाठेघर फालिदिए। धन्न उनको ज्यान जोगियो।
‘उनको (रोकाया) भर नपरी सोझै अस्पताल आइदिएको भए यस्तो हालत हुने थिएन,’ मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेकी चन्द्रकलाले नागरिकसँग भनिन्, ‘बेलैमा बुद्धि आएन, अहिले पछुताएर के गर्ने?’
क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. भोलाराम श्रेष्ठले अन्तिम अवस्थामा ल्याइएकी चन्द्रकलालाई मुश्किलले बचाउन सकिएको बताए। ‘समयमै रगतको व्यवस्था गरेर पाठेघरको अप्रेसन नगरेको भए उनी बाँच्ने सम्भावना निकै कम थियो,’ श्रेष्ठले भने।
साल अड्किनुका साथै पाठेघरमा संक्रमण हुँदा अवस्था जटिल बनेको श्रेष्ठले बताए। अस्पतालको रेकर्डअनुसार चन्द्रकलालाई अस्पताल पुर्‍याउँदा उनको रगतमा हेमोग्लोबिनको मात्रा ३ दसमलब ४ मात्र थियो। भर्नापछि पाँच पिन्ट रगत चढाइएको थियो। उनी अस्पताल पुग्दा बेहोस अवस्थामा थिइन्। ड्युटीमा रहेकी नर्स रजनी अधिकारीका अनुसार अप्रेसनपछि चन्द्रकलाको अवस्था सामान्य हुँदै गएको छ।
रोकायाले साल निकालेबापत राना दम्पतीसँग एक हजार मागेका थिए। बार्गेनिङमा ७ सयमा कुरा मिल्यो। ‘गाउँ गएर उपचार खर्च फिर्ता माग्छु,’ उनले भने, ‘नसक्ने काम गर्छु भनेर झन्डै ज्यान लिन खोज्नेलाई त्यत्तिकै छाड्दिनँ।’ 
भारतमा मजदुरी गर्ने चक्रबहादुरले उपचारमा करिब १५ हजार खर्च गरिसकेका छन्। अझ कति दिन अस्पताल बस्नुपर्ने हो, यकिन छैन।
चन्द्रकलाका अनुसार रोकाया आफ्नै मेडिकल स्थानीय महिलाको सुत्केरीसमेत गराउँछन्। अहेव र अनमीलाई बोलाउन खोज्दा पनि उनी आफैं उपचारमा अग्रसर हुने गर्छन्। ‘अन्य महिलाको पनि यसैगरी साल निकाल्थ्यो,’ उनले भनिन्, ‘मेरोमा भने बिगारेछ।’
अप्रेसनपछि स्वास्थ्यमा सुधार हुँदै गए पनि पाठेघर झिक्दाको पीडाले राना दम्पती पिरलिएका छन्। गाउँमा अहेव/अनमी हुँदाहुँदै रोकायाको भर पर्दा पाठेघर झिक्नुपरेको चन्द्रकलाले बताइन्। 
चन्द्रकलाको घरबाट रानीबास स्वास्थ्यचौकी एक घन्टा मात्र टाढा छ। ‘म सबै काम गरिहाल्छु भनेर ठिक्क पार्‍यो,’ चक्रबहादुरले भने, ‘श्रीमतीको पाठेघर काट्दा मेरो मुटु काटिएझैं भएको छ।’ राना दम्पतीका यसअघि दुई छोरा, दुई छोरी छन्।