Friday 1 Kartik, 2076 | October 18, 2019
Menu

स्वास्थ्य

पोलियो सन् २०१८ सम्म उन्मूलन

(0 votes)
काठमाडौं-सरकारले सन् २०१८ सम्म नेपालबाट पोलियो उन्मूलन गर्नेगरी ‘पोलियो उन्मूलन बृहत रणनीति' तयार पारेको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललगायत दक्षिणपूर्वी एसियाका ११ देश पोलियोमुक्त भएको घोषणा गरेलगतै उन्मुलनको अवस्थामा जान सरकारले यस्तो रणनीति बनाएको हो। रोगीको सघन खोजी, खोप रणनीतिमा वैज्ञानिक परिमार्जनसहित सन् २०१८ भित्र उन्मूलनको अवस्थामा पुर्‍याउने रणनीति रहेको बाल स्वास्थ्य महाशाखा प्रमुख डा. श्यामराज उप्रेतिले बताए।
डब्लुएचओले तीन वर्षसम्म नयाँ बिरामी फेला नपरे पोलियोमुक्त घोषणा गर्छ भने भाइरस बाँकी नभएको पुष्टि भएपछि उन्मूलन घोषणा गर्ने प्रावधान छ। दक्षिणपूर्वी एसियाली देशमध्ये भारतमा सन् २०११ जनवरी १३ र नेपालमा सन् २०१० अगस्ट ३० मा पछिल्लोपटक पोलियो भेटिएको थियो।
उन्मूलनको अवस्थामा लैजान बाल स्वास्थ्य महाशाखाले विज्ञ कमिटीले तयार पारेको मस्यौदालाई नेपाल पब्लिक हेल्थ चिकित्सक समाजजस्ता विज्ञ समितिसँग प्राविधिक सुझाव लिएको थियो। समाजका अध्यक्ष एवं स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. यशोवर्द्धन प्रधानले हालको पोलियोमुक्त अवस्था कायम राख्दै उन्मूलनको अवस्थामा पुर्‍याउनु चुनौतीपूर्ण रहेको बताए।
‘अब पोलियोमुक्त भइयो भन्ने सोचेर अलिकति पनि संवेदनशीलता र ध्यान कम गरे जुनसुकै समय फेरि फर्किन सक्छ,' डा. प्रधानले भने, ‘यसका लागि नयाँ रणनीतिको निरन्तर र चरणबद्ध कार्यान्वयन अनिवार्य छ।'
महाशाखा प्रमुख उप्रेतीका अनुसार पोलिमुक्त घोषणापछि सरकारले सुरुका चरणमा हाल बालबालिकामा विकास भएको पोलियो प्रतिरोधात्मक क्षमता कायम राख्ने विशेष खालको खोप दिनुपर्छ। जुनसुकै रोगमा दिइने खोप त्यही रोगका भाइरसबाट तयार गरिने भएकाले पोलियोमुक्त भएपछिको अवस्थामा खोपबाट पनि पोलियो फैलिनसक्छ। त्यो अवस्था आउन नदिन इनएक्टिभेटेड भ्याक्सिन (प्रतिरोधात्मक क्षमता बचाइराख्ने) को विशेष खोप दिनुपर्छ। हाल खुवाइँदै आएको भ्याक्सिनमा हुने तीन प्रकारका तत्व पी–वान, पी–टू र पी–थ्रीमध्ये पी–टूबाट पनि पोलियो हुने जोखिम रहन्छ।
स्वास्थ्यमन्त्री खगराज अधिकारीले पोलियोमुक्त हुने अवस्था कायम राख्ने चुनौती आत्मसात गरेर उन्मूलनको अवस्थामा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताए। त्यसैका लागि दु्रत गतिमा रणनीति जारी गरेको उनले उल्लेख गरे।
डा. प्रधानका अनुसार पोलियो उन्मूलनका लागि आगामी आर्थिक वर्षभित्रै इनएक्टिभेटेड भ्याक्सिन दिने र हाल दिँदै आएको थोपा (खोप) मा हुने पी–टू हटाएर पी–वान र पी–थ्री भएको ‘बायोभ्यालेन्ट' थोपा खुवाइन्छ। यही क्रम सन् २०१८ सम्म कायम राखेपछि शरीरभित्र प्रतिरोधात्मक क्षमता कायम रहने र भाइरसबाट हुने जोखिम घट्छ। २०१८ सम्म बायोभ्यालेन्ट दिएर त्यसको थप दुई वर्ष खोप र इनएक्टिभेटेड भ्याक्सिन दिएपछि पोलियो खोप दिन बन्द गर्ने सरकारी रणनीति छ। 
उन्मूलनको निम्ति पोलियो खोजपड्तालसँगै हाल भाइरस भएका क्षेत्र (प्रयोगशालामा पनि खोपका रूपमा भाइरस हुन्छ) घेराबन्दी गरेर भाइरस फैलिन रोक्नुपर्ने डा. प्रधान बताउँछन्। अन्यत्र पनि बिरामीको खोजपड्ताल एवं निगरानीलाई सघन गराइने र खोप कार्यक्रमको क्षेत्र अझै बढाइने उप्रेतीले बताए।
त्यसबाहेक नेपालले हाल पोलियोमुक्त भइनसकेका पाकिस्तान, अफगानिस्तान र नाइजेरिया गरी तीनदेश र आयातीत भाइरस पुनः सक्रिय रहेका सिरिया, क्यामरुन, कंगो लगायत देशबाट आउनेलाई प्रवेश दिनुअघि कम्तीमा एक महिनापहिले पोलियो थोपा खाएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था गरिएको छ। ‘भाइरस नेपाल भित्रिने र फैलिने सबै बाटा बन्द गरेर मात्रै उन्मूलनको अवस्थामा पुर्‍याउने हो,' डा. उप्रेतीले भने।
नेपालमा सन् १९८८ मा पोलियो देखा परेपछि ७५ जिल्लामै नियमित खोप कार्यक्रममार्फत बालबालिकालाई थोपा खुवाइँदै आएको छ। सन् १९८८ मा सम्पन्न विश्व स्वास्थ्य संगठनको साधारण सभाले विश्वबाट पोलियो रोग उन्मूलन गराउने प्रतिबद्धता गरेको थियो। त्यतिबेला संसारका १ सय २५ मुलुकमा पोलियोका बिरामी भेटिएका थिए। अहिले तीन दिनमा स्थानीय रूपमै पोलियो फैलिरहेको छ भने अन्य चार देशमा आयातीत छ।