Sunday 25 Jestha, 2077 | June 07, 2020
Menu

भिसा शुल्क बढाएको भन्दै मलेसियाली दूताबास घेराउ

(0 votes)
पुल्चोक सञ्चय कोष बिल्डिङ स्थित मलेसियाली दूताबास। पुल्चोक सञ्चय कोष बिल्डिङ स्थित मलेसियाली दूताबास।

काठमाडौं— मलेसिया सरकारले भिसालगायतको शुल्क बढाएको विरोधमा वैदेशिक रोजगार व्यवसायीले मंगलबार नेपालस्थित दूतावास घेराउ गरेका छन्। दूतावासले एजेन्टमार्फत नेपाली कामदारलाई अनधिकृत रुपमा रकम उठाएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा घेराउ गरिएको हो।

विभिन्न बहानामा कामदारसँग रकम बढाउँदै एजेन्टमार्फत उठाएको भन्दै संघले विरोधस्वरुप सोमबार दूतावास घेराउ गरेको हो । संघले बेस्टिनेट, फोसा, मलेसियन भिएलएनले विभिन्न बहानामा पैसा उठाएको भन्दै विरोध सुरु गरेको हो ।

व्यवसायीहरुले ललितपुर पुल्चोकस्थित मलेसियाली दूतावास पुगेर ज्ञापनपत्र दिँदै भिसा शुल्क घटाउन माग गरेका थिए। संघले मलेसियाली दूतावासले ७ सयको भिसा शुल्कलाई बढाएर ३९ सय लिइरहेपनि ७ सयको मात्र पासपोर्टमा भिसा शुल्क उल्लेख गरेको र बायो मेडिकलको नाममा बेस्टिनेट भन्ने संस्थामार्फत सिन्डीकेट लागू गरेर स्वास्थ्य परीक्षणको शुल्क बढाइ सिमित मेडिकललाई मात्र दिन लागेको र फोसा भन्ने संस्थामार्फत भिसा लगाउन ३२ सय छुट्टै लिन सक्कल पासपोर्ट संकलन केन्द्र स्थापना गर्ने लागेको भन्दै संघले विरोध सुरु गरेको हो ।

संघका अध्यक्ष बलबहादुर तामाङले विभिन्न शीर्षकमा कामदारलाई आर्थिक भार बढ्ने निर्णय भएको हुनाले बाध्य भएर आन्दोलन गर्न परेको बताए । भिसा प्रक्रियामा पनि शुल्क बढेको छ । बायो मेडिकलमा पनि बढाउने निर्णय भएको छ । 'नेपालमा पनि महँगो हुने र उता पुगेपछि पनि विभिन्न शिर्षकमा खर्च हुँदा नेपाली कामदारलाई आर्थिक भार बढ्छ, त्यसैले विरोध गर्नुपरेको हो,' उनले भने, 'नाफा कमाउने उद्देश्यले व्यावसायिक रुपमा नेपाली कम्पनी खडा गरेर मलेसियाली दूतावासले कामदार ठग्ने नियत राखेकोले छानविन हुनुपर्छ ।'

राहदानी संकलन र बायो मेडिकल निजी क्षेत्रको नयाँ कम्पनीलाई दिँदा कामदारले मलेसियाका १ लाख ३० हजारभन्दा बढी लागत तिर्नुपर्ने हुन्छ । मलेसियाले राहदानी संकलन र मेडिकल रिपोर्टका लागि थप रकम लिने भएपछि लागत उच्च हुने भएको हो । मलेसियाले राहदानी संकलन, मेडिकल रिपोर्ट र भिसा अनलाइनमा राख्ने काम निजी कम्पनीलाई दिने निर्णय गरिसकेको छ । कामदारले भिसा स्ट्याम्पिङका लागि राहदानी संकलन गर्ने फोसा कम्पनीले ३ हजार २ सय रुपैया" र मेडिकल रिपोर्टका लागि बेस्टिनेट कम्पनीले १५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।