15 Chaitra, 2076 | March 28, 2020
Menu

दुई म्यानपावरको कागजात अख्तियारमा

(1 Vote)
काठमाडौं– वैदेशिक रोजगार विभागबाट प्रक्रिया नपुर्‍याई अन्तिम श्रम स्वीकृति लिन लागेको शंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई म्यानपावर कम्पनीको कागजपत्र नियन्त्रणमा लिएको छ।
विभागका कर्मचारीको मिलोमतोमा कम्पनीले अनियमित तरिकाले श्रम स्वीकृति लिन लागेको शंकामा अख्तियारले शुक्रबार नयाँ बानेश्वरको अलमवेदी एसोसियट प्रालि र कलंकीको क्रिस इम्ल्पोयमेन्ट सर्भिस प्रालिको कागजपत्र नियन्त्रणमा लिएको हो। अलमवेदीले कतारका लागि एक सय नौं जना र क्रिसले युएईका लागि ७३ जना कामदारको अन्तिम श्रम स्वीकृति लिन विभागमा कागजपत्र पेश गरेको थियो।
'विभागबाट अख्तियारले दुई कम्पनी अलमवेदी र क्रिसको फाइल अनुसन्धानको लागि लगेको छ,' विभागका महानिर्देशक रवीन्द्रमोहन भट्टटराईले भने, 'यस विषयमा अनुसन्धान भएको छ। कागजपत्र हामीले पनि खोजेका छौं।'
विभागमा अझै श्रम स्वीकृति प्रदान गर्दा अनियमिता हुने गरेको छ। आर्थिक लेनदेन नमिलेर यो कुरा अख्तियारलाई जानकारी गराइएको विभागका एक कर्मचारीले नागरिकलाई बताए। विभागभित्रै कर्मचारीले यसअघि पनि अन्तिम श्रम स्वीकृति दिने बेला अनियमिता गरेको भन्दै अख्तियारले अनुसन्धान गरी मुद्दा दायर गरेको थियो।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले अन्तिम श्रम स्वीकृति लिँदादिँदा विभागबाट कमीकमजोरी हुने गरेको बताए। 'व्यवसायीले पनि गल्ती गर्दै आइरहेकाले नराम्रो काम गर्ने कर्मचारी र व्यवसायी दुवैलाई कारवाही हुनुपर्छ,' उनले भने।