Thursday 27 Chaitra, 2076 | April 08, 2020
Menu

कोरिया जान बैंक खाता हुनैपर्ने

  • सोमबार १३ माघ, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं– दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत श्रम करारमा कोरिया जाने सम्पूर्ण नेपाली श्रमिकले आफ्नो मुलुकमा बैंक खाता खोल्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ। कोरियाले यही माघ १८ गतेदेखि लागू हुने गरी यो व्यवस्था गरेको हो।
अब कोरिया जाने नेपालीले आफ्नै नाममा बैंक खाता खोलेर त्यसको विवरण इपिएस कार्यालयमा बुझाउनुपर्ने छ। कोरियाली सरकारले श्रम तथा रोजगार मन्त्रालयलाई उक्त व्यवस्था गर्न र कामदारले उपलब्ध गराएको विवरण कोरिया पठाउन गरेको अनुरोधअनुसार नेपाली श्रमिकले नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त 'क' वर्गको वाणिज्य बैंकमा खाता खोल्नुपर्नेछ।
श्रम सम्झौताको अवधि समाप्त भई स्वदेश फर्कने बेला सम्बन्धित कामदारले नियमानुसार प्राप्त गर्ने 'फिर्ता प्रत्याभूति बिमा' सम्बन्धित कामदारलाई सहज उपलब्ध गराउने उद्देश्यले बैंक खाता अनिवार्य गरिएको श्रम विभाग, इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले बताए।
कोरियाबाट सम्बन्धित कामदार स्वदेश फर्केको १४ दिनभित्र बिमा रकम सोही खातामार्फत भुक्तानी दिने व्यवस्था कोरियाले गरेको बताउँदै उनले कोरियामा काम गरेर फर्केका र पुनः जानेले पनि खाता खोल्नुपर्ने बताए। 'माघ १८ पछि कोरिया जाने सबै श्रमिकले अनिवार्य बैंक खाता खोल्नुपर्नेछ र त्यसो गरेको प्रमाणस्वरूप चेकबुक, पासबुक वा बैंक स्टेटमेन्ट साथै लिएर प्रस्थान गर्नुपर्नेछ,' उनले भने।
उनका अनुसार सरकार र गणतन्त्र कोरियाबीच सात वर्षअघि भएको समझदारीअनुसार इपिएस प्रणालीअन्तर्गत २१ हजारभन्दा बढी नेपाली कोरियामा काम गरिरहेका छन्। त्यहाँ कार्यरत १५ देशका नागरिकमध्ये नेपाल पहिलो नम्बरमा छन्।
इपिएसअन्तर्गत हरेक कामदारले चार वर्ष १० महिना काम गर्न पाउँछन्। उक्त अवधिमा रोजगारदाता कम्पनी परिवर्तन गर्न नपाइने कानुनी प्रावधान रहेको उल्लेख गर्दै निर्देशक शर्माले नेपालीको इमानदारी र लगनशीलताले प्राप्त अवसरको भरपुर उपयोग गर्न र कसैको बहकाउमा आएर कम्पनी फेरबदल नगर्न उनले सबैलाई आग्रहसमेत गरे।
कम्पनी परिवर्तन नगरी एउटै कम्पनीमा काम गर्ने कामदारको करार अवधि समाप्त हुनु अगावै पुनः चार वर्ष १० महिना प्रतिबद्ध कामदारका रूपमा सोही कम्पनीमा काम गर्न पाइने व्यवस्था पनि कोरिया सरकारले गरेको उनले जनाए।