Thursday 27 Chaitra, 2076 | April 08, 2020
Menu

श्रम स्वीकृति अब क्षेत्रीय स्तरबाटै

  • बिहीबार ८ फागुन, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
बाबियाचौर– वैदेशिक रोजगारमा जानेका लागि क्षेत्रीयस्तरबाटै श्रम स्वीकृति दिने व्यवस्था गर्न लागेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ।
मन्त्रालयले बिहीबार बेनीमा आयोजना गरेको सुरक्षित आप्रवासनसम्बन्धी चेतनामूलक अन्तर्क्रियामा वैदेशिक रोजगारीमा बढ्दो ठगी र झन्झटिलो प्रक्रियाको अन्त्य गर्न श्रम स्वीकृति दिने व्यवस्थालाई सरलीकृत पार्ने तयारी भएको जानकारी गराइयो।
पोखरा, नेपालगन्ज र विराटनगरमा वैदेशिक रोजगार विभागको शाखा कार्यालय स्थापना गरी क्षेत्रीयस्तरबाट वैदेशिक रोजगारीमा जान चाहनेका लागि पूर्व र अन्तिम श्रम स्वीकृति दिने व्यवस्था गर्न लागिएको श्रम तथा रोजगार मन्त्रालयका सहसचिव पुरुषोत्तम पौडेलले जनाए।
यसअघि वैदेशिक रोजगार विभागबाट मात्र श्रम स्वीकृति दिने गरिँदै आएकामा हालै काठमाडौंमा थप चारवटा शाखा स्थापना गरिएकोसमेत उनले जनाए। साउदी अरब, मलेसिया, कतार र अन्य देशका लागि छुट्टाछुट्टै चार कार्यालय स्थापना गरी वैदेशिक रोजगारका लागि श्रम स्वीकृति दिन थालिएको छ।
कार्यक्रममा सहभागी जिल्लास्थित राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख र सञ्चारकर्मीले वैदेशिक रोजगारीमा जानेले धेरै झन्झट बेहोर्नुपरेको र ठगिने समस्या बढ्दै गएकाले प्रक्रियालाई सरल बनाउन र ठगी नियन्त्रण गर्न जनस्तरसम्म चेतना अभिवृद्धि गर्नुपर्ने सुझाव दिएका थिए। वैदेशिक रोजगारीलाई व्यवस्थित, भरपर्दो र सुरक्षित बनाउँदै त्यसबाट भित्रने विप्रेषणको उत्पादनशील श्रेत्रमा लगानी गर्न प्राथमिकता दिइनुपर्ने सहभागीहरूको भनाइ थियो।
प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका सहसचिव पुरुषोत्तम पौडेल र अम्बिकाप्रसाद अधिकारीले वैदेशिक रोजगारसम्बन्धी राष्ट्रिय, नीति, ऐन, वैदेशिक रोजगारीको प्रभावलगायत विषयमा सहजीकरण गरेका थिए।