Wednesday 4 Bhadra, 2076 | August 21, 2019
Menu

मलेसियामा अलपत्र ८५ नेपाली फर्काइए

(1 Vote)
खोटाङ– कार्यरत कम्पनीको मालिक भागेपछि मलेसियामा अलपत्र परेका ८५ नेपाली कामदारलाई सुरक्षित आप्रवासन परियोजनाले उद्धार गरी नेपाल फर्काएको छ।
पासपोर्ट लिएर कम्पनी मालिक भागेपछि महिना दिनदेखि अलपत्र बनेका ८९ नेपालीमध्ये ८५ जनालाई उद्धार गरिएको खोटाङस्थित सुरक्षित आप्रवासन परियोजना (सामी) ले जानकारी दिएको छ । परियोजनाका कार्यक्रम संयोजक नविन्द्र राईका अनुसार शनिबार ३० जना र आइतबार ५५ जना नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको छ।
अलपत्र अवस्थामा उद्धार गरिएकामा खोटाङ, ओखलढुंगा, भोजपुर, सिरहा, संखुवासभा, इलाम, रौतहट, सर्लाही, बारा, पर्सा, महोत्तरी, धनुषा, मकवानपुरलगायत जिल्लाका छन्। उद्धार गरेर नेपाल फर्काइएकामध्ये १८ जनालाई प्रवासी नेपाली समन्वय समितिको काठमाडौंस्थित उद्धार केन्द्रमा राखिएको छ। ‘केही युवा आफन्तको सम्पर्कमा गइसकेका छन्,' उद्धार केन्द्रस्थित समितिकी सीता पन्तले भनिन्, ‘उद्धार केन्द्रमा रहेकालाई पनि आफन्तको जिम्मा लगाउने तयारी गरिरहेका छौं।' 
पासपोर्टसहित सबै कागजात लिएर मालिक भागेपछि सेरमानको सामसुङ कम्पनीमा कार्यरत नेपाली अलपत्र परेका थिए। अधिकांश युवा घरबाट पठाएको खर्चले स्वदेश फर्किएको खोटाङ बाम्राङ–८ का पीडित यादव थापाले बताए। ‘धन कमाउने आशमा विदेश पुगियो,' थापाले भने, ‘उल्टै ज्यान फर्काउनै गाह्रो भयो।' अलपत्र परेको खबर पाएका आफन्तले सदरमुकाम दिक्तेलस्थित परियोजना कार्यालयमा दिएको उजुरीका आधारमा उनीहरुको उद्धार पहल गरिएको पन्तले बताइन्। प्राप्त निवेदनका आधारमा नाता प्रमाणित गर्ने कागजात पठाएपछि उनीहरुलाई स्वदेश फर्काइएको हो।
अलपत्र परेकालाई प्रवासी नेपाली समन्वय समिति मलेसियाका रामचन्द्र नेपालको सहयोगमा स्थानीय चर्चमा राखिएको थियो। दुई हप्तासम्म चर्चमा बसेका उनीहरु घरबाट पठाइएको खर्चमा जहाजको टिकट काटेर नेपाल फर्किएका हुन्। अलपत्र परेकामध्ये चारजनाको उद्धार पहल भइरहेको संयोजक राईले बताए।