Friday 23 Jestha, 2077 | June 05, 2020
Menu

अन्तर्वार्ता

यस्तो संकटमा पनि पार्टी कब्जा गर्ने सोचियो।

(0 votes)
यस्तो संकटमा पनि पार्टी कब्जा गर्ने सोचियो।
एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ धोबीघाट प्रकरणपछि यतिखेर सबैभन्दा बढी चर्चामा छन्। खासगरी समानुपातिक निर्वाचन प्रणालीका लागि एकलौटी सूची बुझाएको भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहालप्रति आक्रोशित श्रेष्ठ डा. बाबुराम भट्टराईसँग मिलेर आगामी रणनीति तयार पार्नमा ब्यस्त देखिन्छन्। आफ्ना कुनै पनि कुरा अध्यक्षले नसुनेका, पछि सामेल भएको भन्दै पार्टीभित्रै विजातीय व्यवहार भएको तथा अध्यक्ष दाहाल 'ग्ल्यामरस' हुँदै गएकोप्रति उनले ठूलै चिन्ता व्यक्त गरे। श्रेष्ठ–भट्टराईको यो योगलाई अहिले 'धोबीघाट–२' प्रकरणका रूपमा हेरिएको छ। अध्यक्षविरुद्धको यो मोर्चाबन्दीलगायत् विषयमा नागरिकका उजीर मगर र श्रेष्ठबीच भएको कुराकानी :


बाहिर हेर्दा समानुपातिक सभासद् छान्नेमा पार्टीभित्र विवाद भएको जस्तो देखिन्छ तर तपाईँ र बाबुराम भट्टराई एक स्वरमा अध्यक्ष पुष्पकमल दाहालविरूद्ध उत्रनुको मूल जड मूल नेतृत्वप्रति आक्रोश भनिन्छ नि?

विवादको जड भनेको दृष्टिकोणको प्रश्न हो। पार्टीलाई कसरी अगाडि बढाउने भन्ने प्रश्न हो। यो कुन व्यक्ति आफूप्रति लोयल छ, त्यसलाई राख्ने वा नराख्ने भन्ने प्रश्न होइन। त्यो कुरालाई हामी भत्काउन चाहन्छौं। अहिले आएको विवाद भनेको दृष्टिकोण र पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमै हो। पहिलो कुरा, केन्द्रीय कार्यालयले जुन व्यक्तिहरूको संलग्नतामा कार्यदल बनाएको थियो त्यही केन्द्रीय कार्यालयलाई जानकारी नगराई अर्को तीन जना रहेको टोली बनाएर गृहकार्य गरियो समानुपातिक छान्ने विषयमा। यसरी पार्टी चल्दैन। दोस्रो कुरा, पार्टी र केन्द्रीय समितिमा जुन मापदण्ड भनेर अध्यक्ष कमरेडले बताउनुभयो, अहिले लागु गरिएको मापदण्ड ठ्याक्कै मिल्दैन। केन्द्रीय समितिमै अर्को भनेको भए हुन्थ्यो। अहिले पनि केन्द्रीय समितिमा रेकर्डेड छ। तेस्रो कुरा, के हो भने पार्टीमा कोही दाता, कोही भिक्षा माग्ने व्यक्ति हुने हो? कुनै एउटा पक्ष छ जसले चाहिँ डाडु पन्युँ चलाउँछ। उसैले दाल चाहियो, अलिकति तरकारी चाहियो भनेर माग्ने हो र अरूसँग?

कोही दाता र कोही भिक्षा माग्ने जस्तो व्यवहार पार्टीभित्र गर्न खोजियो। यो गलत हो। पार्टी निर्वाचनमा पराजित भएपछि एकता, रूपान्तरण र नयाँ ढंगको पार्टी निर्माणको दिशामा जानुपर्छ भन्ने छलफलको क्रममा छ। त्यस्तो बेलामा अलिक उदारतापूर्वक, हिजोको गल्ती/कमजोरीहरू सच्चाउने, समीक्षा गर्दै, आत्मसमीक्षा गर्दै जाने हो। यस्तो संकटको बेलामा पनि पार्टी कसरी कब्जा गर्ने भनेर सोचियो। अहिले गम्भीर शंकाको कुरा यो हो कि पार्टी अब रूपान्तरण हुन्छ त? यथास्थितिमा यही पार्टीलाई क्रान्तिको विजयको ठाउँमा पुर्‍याउन सकिन्न। त्यसकारण यो पार्टीलाई रूपान्तरण गर्नुपर्छ भनेका छौं। रूपान्तरण माथिबाट हुनुपर्छ र मात्रै नयाँ ढंगको पार्टी निर्माण गर्न सकिन्छ। यो अन्तिम अवसर हो भनेर हामीले निष्कर्ष निकाल्यौं। के रूपान्तरणमा जाँदै छौं त? भन्नेमा अहिलेको घट्नाक्रमले गम्भीर शंका पैदा गर्‍यो।

केन्द्रीय कार्यालयले बनाएकोभन्दा अर्को टोलीले सभासद् छान्ने काम गर्‍यो भन्नुहुन्छ। पछिल्लो नाम छनौट कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल र टोपबहादुर रामाझीले गरेको भन्ने बाहिर हल्ला छ नि?

पहिला केन्द्रीय कार्यालयले पोष्टबहादुर बोगटीलाई जिम्मा दिएको हो। अहिले नाम भन्न चाहन्न। पोष्टबहादुर बोगटीबाहेक अर्का दुई जना थपिएर टीम बनाइएछ र त्यसले बाहिर काम गर्दोरहेछ। त्यो अवैधानिक टीममा गिरिराजमणि पोखरेल हुनुहुन्न। जोसुकै भए पनि केन्द्रीय कार्यालयमा सहमति नभइकन अर्को टीम बनाउने कामलाई कसरी वैधानिक मान्ने? त्यो टीमले बोगटीजीसँग बसेर कार्य गरेको रहेछ। यो पुष्टि भइसक्यो। म केन्द्रीय समिति बैठकमा नाम भन्छु। अन्तिम दिन बिहान केन्द्रीय कार्यालय बस्ने भन्याथ्यो। केन्द्रीय कार्यलयकै सहमतिमा केही साथीहरु जस्तो बोगटी, महरा, टोपबहादुरजी र गिरिराजमणि पोखरेललाई एक/दुई घन्टा थप गृहकार्य गर्न दिउँ न भनेका हौं। छुट्टै टोली बनेको त्यो टोलीभित्र पनि अर्को छुट्टै टोली बनेर नाम छान्ने काम भयो।

तपाईँ र बाबुराम भट्टराईको असहमति केमा हो? समानुपतिक सभासद्मा आफ्ना मान्छे परेनन् भनेर विरोध गरिएको हो या नेतृत्वको प्रविृत्तिप्रति?

मेरो कुरा व्यक्तिमा होइन। प्रवृत्तिमा हो असहमति। मापदण्डभित्र पनि थुप्रै साथी छन्। मापदण्ड बनाइसकेपछि त्यसलाई पालना गर्नुपर्छ। मापदण्डभित्र पनि थुप्रै क्षमतावान, उपयुक्त प्रतिभावान साथीहरू छन्। समर्पित, त्यागी साथीहरू छन्। तिनीहरूमाथि न्याय गर्ने कि नगर्ने? उनीहरूप्रति निश्पक्ष दृष्टिकोण राख्ने कि नराख्ने?

तपाईँको भनाईअनुसार जनताले पार्टीलाई यति सानोमा खुम्चाएको अवस्थामा समेत आत्ममूल्यांकन नगरी अध्यक्ष पुष्पकमल दाहालले पार्टी कब्जा गर्न खोज्नुभयो?

एउटा कुरा के हो भने मूल नेतृत्वमा रूपान्तरणको गम्भीर समस्या देखियो। फेरि–फेरि त्यही प्रवृत्ति किन दोहोरिने? जे निर्णय गर्छौं त्यहीअुनसार गर्ने। एक ठाउँमा एउटा अर्को ठाउँमा अर्को कुरा नगर्ने ढंगले जानुपर्‍यो। प्रवृत्तिगत कुरामा जुन रूपान्तरण हुने कुरा उठाएका थियौं त्यो कुरा झन् गम्भीर तरिकाले यथावत् राखियो। व्यक्तिगतरूपमा अध्यक्षलाई मात्र भन्न चाहान्नँ तर एउटा यस्तो प्रवृत्ति छ, जसले यो पार्टी हाम्रो हो, अरूको होइन भनेर विजातीय व्यवहार गर्छन्। त्यो प्रवृत्ति हाबी बन्न खोजेको छ। त्यसले पार्टी अघि बढ्दैन। पार्टी हाम्रो हो, अरूले के चाहन्छन् त्यो दिने हो भन्ने प्रवृत्ति हावी भयो।

जनताले पार्टीलाई खुम्चाउने, पार्टीभित्र विजातीय प्रवृत्ति हावी हुँदै जाँदा पार्टी विभाजनको दिशातिर उन्मुख भएको हो?

यो विषयलाई मैले गम्भीर ढंगले उठाएको छु। यो असाध्यै दुःखद् घट्ना देखा पर्‍यो। म त पीडित छु। पीडा एकदम अनुभूत हुन्छ। यो चुनावको पराजयपछि यसलाई गम्भीर र निर्मम आत्मसमीक्षा गरेर जहाँ–जहाँ गल्ती कमजोरी भएका छन् त्यसको निराकरण गरेर नयाँ ढंगको पार्टी निर्माण गर्नुपर्ने हो। पुनर्गठनको अभियान अगाडि बढाउनुपर्ने हो। त्यसका लागि हामी सच्चिउँ है, रूपान्तरण हुन तयार हौं है भनेर नेतृत्वले, हामी सबै नेतृत्वले कार्यकर्ता/जनतालाई सकारात्मक सन्देश दिने बेला हो। तर जुन ढंगले पार्टी लान खोजियो, त्यसले गम्भीर शंका पैदा गर्‍यो। हामी कतातिर जाँदै छौं?

यी सबै व्यवहार हेर्दा त सैद्धान्तिक विचलन जस्तो देखिएन र पार्टीभित्र?

मैले दुईवटा विषय गम्भीररूपमा उठाएको छु। एउटा, वर्गलाई हेर्ने दृष्टिकोण सच्चाउनुपर्छ। दोस्रो राष्ट्रियताको दृष्टिकोणमा कहीँ न कहीँ चुकेका छौं। दृष्टिगत हिसावले यो दुईवटा विषयलाई सच्चाउनुपर्छ भनेर बैठकमै राखेको छु। दृष्टिकोणबाटै नसच्चिएसम्म हामी सच्चिन्नौं। दृष्टिकोणको समस्या, वर्ग विचलन र राष्ट्रियताको मामलामा आत्मसमर्पणवादी रूझानमा जान खोज्यौं, त्यसलाई सच्चाउन जरूरी छ। राजनीतिक कार्यदिशा ठिक छ। बुझाईमा समस्या छन्। सही ढंगले कार्यदिशा बुझ्ने हो। एकरूपले बुझ्ने हो भने सही छ। कार्यनीति पनि सही छ। दृष्टिकोण नसच्चिएकाले क्रान्ति हाँक्ने उपयुक्तखालको पार्टी बन्न सकेको छैन। त्यसमा गम्भीरखालको कमजोरी देखापरेको छ। पार्टी बुर्जुवाकरण जस्तो, बुर्जुवा जस्तो विकृतीकरणको दिशातिर अगाडि बढिराखेको देखिन्छ। त्यसलै पार्टीको केन्द्रीय कार्याभार भनेको दृष्टिकोणको विषय हल गरेर पार्टीलाई नयाँ ढंगले रूपान्तरण गर्नु हो। त्यसका लागि नेतृत्वले माथिबाटै रूपान्तरण गर्ने साहस गर्नुपर्छ। र, पार्टी पुनर्गठनको अभियान अघि बढाउनुपर्छ।

चार जनाको कार्यालय छ, सामूहिक नेतृत्व मान्नुहुन्छ। यसमा दोषी तपाईँंहरू पनि हुनुभएन र भन्या?

एउटालाई मात्रै दोष दिने कुरा गरिएकै छैन। त्यसको हामीले सामूहिकरूपमै जिम्मा लिनुपर्छ। मूलभूत जिम्मेवारी त मूल नेतृत्वले नै लिनुपर्छ। नैतिकरूपमा पनि जिम्मेवारका रूपमा पनि जिम्मेवार मूल नेतृत्वले नै हो। गल्ती कमजोरीको जिम्मेवारी धेरथोर हामीले पनि लिनुपर्छ। कम्युनिस्ट पार्टीमा मूल नेतृत्वको भूमिका मुख्य हुन्छ। त्यसमा झन् क्रान्तिकारी पार्टीको मुख्य भूमिका मूल नेतृत्वकै हुन्छ। मूल नेतृत्वको विचार, नेतृत्व, आचरण, कार्यशैली, संस्कृति सही दिशातिर नगइकन यो रूपान्तरणको प्रक्रिया अघि बढ्न सक्दैन। जहाँ जहाँ छौं जहाँ जहाँ गल्ती भएका छन् त्यसमा निर्मम आत्मालोचना गरेर जानुपर्छ। मुख्य नेतृत्व रूपान्तरण नहुने हो भने नयाँ ढंगको पार्टी निर्माण हुन सक्दैन भनेर प्रष्ट–प्रष्ट भन्नुपर्छ।

आफू साह्रै पीडित भएको बताउनुहुन्छ। पार्टीको नाम एकीकृत माओवादी तर पार्टी एकीकृत भएको रहेनछ नि तपाईँंको अनुभूतिमा त?

म पीडित भएको एउटा पाटोमात्रै थियो। पार्टीभित्र सबैको पार्टी जस्तो व्यवहार गरिएन। कसैको पार्टी हो, पछि आएका विजातीय हुन जस्तो व्यवहार गरियो। मेरो मुख्य पीडा भनेको के हो भने हामी त क्रान्ति गर्न हो नि पार्टीमा लागेको। महान् जनयुद्धमा दशौं हजार सहिद भए। कैयौं बेपत्ता छन्। उनीहरूलाई केन्द्रबिन्दुमा राखेर कति काम गर्न सक्यौं? हामीले पार्टीलाई सच्चा कम्युनिस्ट पार्टीका रूपमा अगाडि बढाउन कति सक्यौं? तत्काल गर्न सक्ने जनताका काम र उपलब्धिलाई कति संस्थागत गर्न सक्यौं? क्रान्तितिर कति उन्मुख भयौं? देशभक्तिपूर्ण आन्दोलनमा कति पहरेदार हुन सक्यौं? पुष्टि गर्न सक्नुपर्थ्यो। व्यवहारमा देखाउन सक्नुपर्थ्यो। यी कार्यबाट हामी चुकेका छौं। त्यही भएर गम्भीर आत्मसमीक्षा गर्नुपर्छ भनेका हौं।

हामी तथाकथित राजनीति गर्न आएका हैनौं। क्रान्तिकै निम्ति, आमूल परिवर्तनका लागि राजनीति चाहिन्छ भनेर राजनीतिमा आएका हौं। अरु जस्तै सत्ता, पद, पैसा आर्जन गर्नका लागि राजनीति गर्न खोजेजस्तो पार्टीको आचरण देखियो। अघिल्लो संविधान सभाको ठूलो दल भएर केही काम गर्न सकेनौं। कम्युनिस्ट पार्टीको आचार नमुनायोग्य हुन्छ। त्यो पनि देखाउन सकेनौं। जनमुखी आचरणसमेत जनतालाई देखाउन सकेनौं। देशलाई दश वर्षभित्र कायापलट गर्ने भनेका छौं। खै केही संकेत गर्न सकिएन। यी सबै कुराबाट म साह्रै पीडित भएँ भन्ने निष्कर्षमा पुगेको छु।

बिहीबार साँझसम्म समानुपातिकको नाम सच्चिएन भने भट्टराईजी र तपाईँले 'धोवीघाट–२' मोर्चा कस्ने योजना हो?

धोवीघाटलाई बुझ्ने कसरी भन्ने हो। कम्युनिस्ट पार्टीभित्र वैचारिक संघर्ष भइरहन्छ। त्यो धोवीघाट भन्नूस्, कमलादीघाट भन्नूस् चलिरहन्छ। पार्टीमा स्थायी शिविरबन्दी, गुटबन्दी खोजी गर्नु गलत हो। अन्तर्संघर्षमा कसैसँग कुनै मुद्दामा मत मिल्यो भन्दासाथ त्यसलाई धोवीघाट भनियो भने त यस्तो धोवीघाट कम्युनिस्ट पार्टीमा भई नै रहन्छ। हुनुपर्छ भन्ने हो। मुद्दामा कहिले कोसँग कहिले कोसँग मिल्नु भनेको विचारको रूपान्तरण हो। कहिले म एक्लै हुँला, कहिले प्रचण्डजीसँग हुँला, कहिले बाबुरामजीसँग हुँला। त्यही हो अन्तर्संघर्षको नियम।

बाबुरामजी र तपाईँ नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने मुद्दामा एक ठाउँ हुनुभएको हो?

हैन, हामीले नेतृत्व फेर्ने भनेका छैनौं। यसबारे बैठकमा दुईवटा कुरा प्रष्ट भनेको छु। अत्यन्तै महत्वपूर्ण घट्नाक्रम पार्टीमा, राजनीतिमा देखा पर्छ। कुनै परिणाम महत्वपूर्ण देखा पर्छ। त्यसको जिम्मेवारी नेतृत्वले लिनुपर्दैन भन्ने यो बुर्जुवा पार्टीको भनाई हो। कम्युनिस्ट पार्टीमा त्यो चाहिँदैन भन्ने हुन्न। सामूहिक नेतृत्वभित्र पनि मूल नेतृत्व छ। मूल नेतृत्वले जिम्मेवारी नै लिनुपर्दैन भन्ने होइन। हामीले पनि आ–आफ्नो हैसियतअनुसार जिम्मेवारी लिनुपर्छ। मूल जिम्मेवारी मूल नेतृत्वले लिनैपर्छ। दोस्रो हामी कोही एक व्यक्तिबिना पार्टी नै चल्दैन भन्ने सोच गलत हो। त्यो कम्युनिस्ट सर्वहारावादी सोच होइन। कसैले म नभए पृथ्वी नै घुम्दैन भन्ने नसोचे हुन्छ। नेताहरूमध्ये कमरेड प्रचण्ड नेता हो भनेरै पार्टीमा मानिएकै हो। प्रचण्ड कमरेड हुनुभएन भने पार्टी समाप्त हुन्छ, कसैलाई लाग्ला कि बाबुराम कमरेड हुनुभएन भने पार्टी चल्दैन वा कसैलाई लाग्ला प्रकाश (नारायणकाजी) भएन भने पार्टी सिद्धिन्छ भन्ने। यो चिन्तन गलत छ।

एमालेकै हेर्नूस् न, माधव नेपाल १५ वर्ष महासचिव भएर पार्टी चलाउनुभयो। उहाँले राजीनामा दिनुभयो। पार्टी अघि बढेकै छ। झलनाथ खनाल भूमिगतकालमा सबभन्दा बढी ८ वर्ष महासचिव हुनुभएको थियो। पाँचौ महाधिवेशनमा केन्द्रीय सदस्य मात्रै बनाइयो। पोलिटब्युरोसम्म दिइएन। पार्टी चलेकै थियो। उहाँ फेरि पार्टी अध्यक्ष हुँदै प्रधान मन्त्रीसम्म बन्नुभयो। यसलाई पद्धतिमा लिएर चलाउने कुरा हुन्छ। कोही शाश्वत नेता हो र ऊबाहेक चल्दैन भन्ने गलत तर्क हो। हामीले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबाट समेत पाठ सिक्नुपर्छ। अहिले नै कमरेड प्रचण्ड हट्नुपर्छ भन्ने प्रस्ताव छैन तर एउटा सर्त हो– कमरेड प्रचण्ड रूपान्तरण हुनुपर्छ। हामी पनि रूपान्तरण हुनु आवश्यक छ। मुख्य नेतृत्व रूपान्तरण भएमात्रै नयाँ ढंगको पार्टी निर्माण हुन्छ भन्ने हो। त्यसले मात्रै क्रान्तिलाई सही ढंगले अघि बढाउँछ।

मूल नेतृत्व कुन/कुन विषयमा रूपान्तरण भएर सच्चिनुपर्ला एक, दुई, तीन गरी बुँदागतरूपमा भनिदिनूस् न?

अहिले केन्द्रीय समिति बैठकमा छलफल गरेर निष्कर्ष निकाल्ने। अझ घनिभूत छलफलका लागि संगठन सम्मेलनमा गएर टुंग्याउने प्रक्रियामा छौं। वर्ग विश्लेषणको दृष्टिकोणमा विचलन हुनुभएन। राष्ट्रियताप्रति निष्ठावान हुनुपर्‍यो। राष्ट्रियताप्रति चुकेको कुरा सच्चाउनुपर्‍यो। नेतृत्वको आचरण पद्धतिमा सच्चिनुपर्‍यो। पार्टी संस्थागत ढंगले नै सञ्चालन गर्नुपर्छ। कमिटी प्रणालीअन्तर्गत नै चलाउनुपर्छ। वैचारिक संघर्षलाई स्वाभाविकरूपमा लिनुपर्‍यो। वैचारिक संघर्षलाई निषेध गर्ने प्रवृत्ति त्याग्नुपर्छ। भिन्न मतलाई सम्मान गर्नुपर्छ। पार्टीमा वैचारिक संघर्ष, रूपान्तरण फेरि पार्टी एकता गरेर अघि लाने व्यवहारमै देखाउनुपर्छ। कतिपय कुरामा रूप पक्षमा ध्यान दिनुपर्छ। हाम्रो बसाइँ, उठाई, सम्पर्क, भेटघाट, संगत सबै कुरालाई समीक्षा गर्न जरूरी छ। कि हामी कति सर्वहारावादी भयौं? त्यो कुरामा हामीले ध्यान दिनुपर्छ।

तपाईंलाई एउटा मात्रै उदाहरण दिन्छु। हामी अर्थात् हाम्रो टीम। नेतृत्व भनौं। अध्यक्ष कमरेड, बाबुराम कमरेड र म। अध्यक्ष कमरेडलाई अगाडि लगाएर सँगै कहीँ बाहिर निस्कनुपर्‍यो भने पहिलाको राजा होइन, बादशाह जस्तो देखिन्छ त्यो हिँडाई। पहिला हाम्रा एक/दुई सय साथीहरू आउँछन्। त्यसपछि नवधनाढ्य आउँछन्। गाडी लिएर हाम्रा राज्य समितिका इन्चार्जहरू आउँछन्। को–को बस्ने हो सबै मिलाउँछन्। त्यसपछि सुरक्षाका गाडी आउँछन्। त्योसँगै राज्यबाट गाडी आउँछन्। त्यसपछि आफ्नै सुरक्षाका गाडी त छँदैछन्। त्यसपछि फेरि मोटर साइकल। त्यसपछि फेरि निजी गाडीहरू। त्यो हेर्दा त हामी पहिलेको राजाभन्दा अलिक माथि हौं कि? बादशाह जस्ता देखियौं। व्यवहारले हामीलाई उल्टो दिशातिर पो गइरहेका छौं भन्ने देखियो।

कम्युनिस्ट आचरण, व्यवहार देखाउन सकिएन। यो प्रसंगको कुरामात्रै गरिएको हो। थुप्रै कुरा यस्ता छन्। हामीले गरिब, निमुखा जनता, केन्द्रीय सदस्य, सहिद, बेपत्ता परिवारलाई भेट्छौं कि कमिशनखोर, काम पट्टाउने दलाललाई समय धेरै दिइरहेका हुन्छौं। हाम्रो संगत कतातिर गइरहेको छ भन्ने कुरामा बढी ध्यान दिनु जरूरी छ।

निर्वाचन परिणामले निरास भएका बेला नेतृत्व पंक्तिमा एकाएक यस्तो विवाद आउँदा आमकार्यकर्तालाई झन् निरास बनाउने काम भएन र?

मैले माथि भने नि दुःखी भएको छु, पीडित भएको छु भनेर। तपाईंले भनेको यो प्रश्न पनि एउटा हो। पार्टीले चुनावमा हारिसकेपछि पार्टी सच्चिने अन्तिम मौकाका रूपमा लिनुपर्थ्यो। हारबाट पाठ सिकेर नयाँ ढंगको पार्टी निर्माण गर्ने भन्ने सोचमा गयौं तर पार्टीमा जुन गतिविधि देखा पर्छ यसले पार्टी निर्माणतिर गम्भीर नभएको देखियो। दृष्टिकोणमा समस्या देखियो। विचार र गुटलाई एउटै तरिकाले हेरियो। वैचारिक संघर्ष सधैँ हुन्छ पार्टीभित्र। वैचारिक संघर्ष अलि व्यापकरूपमा भयो त्यसमा शृंखला मात्रै विचारमा मतभेद भयो भने विचारको बहस हुन्छ। विचारको संघर्ष वैचारिक संघर्षका लागि हो। गुट भनेको पार्टीको सत्ता संघर्षका लागि हो। गुट अपारदर्शी हुन्छ। त्यसको छुट्टै जनवादी केन्द्रीयता हुन्छ। त्यसले निहीत स्वार्थ पूरा गर्ने योजना बनाउँछ। यो योजनालाई पार्टी निर्णय गराउन पार्टीभित्र लाद्न खोज्छ। गुट र वैचारिक संघर्ष फरक हो भन्ने नबुझ्नु गलत हो।

विचार समूह भएपछि गुट बनाइहाल्ने भन्ने एउटा समस्या हो। दोस्रो समस्या के छ भने वैचारिक समस्या हुँदा पनि त्यसलाई आत्मसाथ नगर्ने। एउटा अंग्रेजी भनाई छ– 'को सही भन्ने महत्वपूर्ण कुरा होइन। के सही हो भन्ने महत्वपूर्ण कुरा हो।' त्यो कुरा आत्मसात गर्न नचहाने। सही हुनलाई पनि प्रचण्डले नै भन्नुपर्ने। अथवा प्रचण्डजीले गलत भने पनि सही हुने। मैलेचाहिँ हजार सही भने पनि गलत हुने। यस्तो प्रवृत्ति भएपछि के हुन्छ भन्दा नोकरशाही प्रवृत्ति हावी हुन्छ। त्यसले विचार समूहलाई गुटमा परिवर्तन गर्छ। सत्य अन्वेषण विधि नबनाउने। सत्य जहाँ भए पनि आत्मसात गर्नुपर्छ भन्नेतिर नजाने। अन्धा हुने र पार्टी सत्ताको दुरुपयोग गर्ने प्रवृत्ति खतरा हो। पार्टी बनाउँ भन्ने एउटा निष्कर्षमा पुगियो। पार्टी पुरानै प्रवृत्तिमा छ। त्यसले हुनेवाला मेसो देखिएन। अहिले पनि गम्भीर शंका उब्जाएको छ। कार्यकर्ता सबैमा निरासा आएको छ। सबै चिन्तित छन्। यस्तो बेलामा पनि पारदर्शी ढंगले अघि बढ््नुपर्ने हो। यो अवस्थामा को आफ्नो मान्छे, को अर्कोको मान्छे भन्ने हुँदैन। सबै पार्टीमा आएका साथीलाई मापदण्डभित्र पारेर जानुपर्थ्यो। समानुपातिक त हाम्रा लागि टेष्ट केस भयो।

अध्यक्ष दाहालले त आफ्ना गलत कुरालाई सही बनाउन खोजे। तपाईँंका हजार सही कुराचाहिँ के के थिए त?

मैले बैठकमा पनि भनेको छु। मैले भनेका कुरालाई गम्भीररूपले लिइन्न भने म यो पार्टीमा किन रूमिलिइरहेन त? भन्ने प्रश्न उठ्यो। त्यो सही कुरा मैले भनेको हुँ। त्यसलाई सुन्नु नपर्ने। सही भए पनि ग्रहण गर्नु नपर्ने। थोरै भए पनि पार्टीको नीतिमा ढाल्नु नपर्ने। भन्ने हो भने हाम्रो औचित्य के हुन्छ त पार्टीमा? जस्तो खिलराज रेग्मीको नेतृत्वमा सरकार नबनाउँ भनेको हुँ। राजनीतिक दलकै नेतृत्वमा सरकार। पहिले त हाम्रै पार्टीको नेतृत्वको सरकारले चुनाव गराउने प्रयत्न गरौं। सम्भव नभए अर्को दलको नेतृत्वमा हामी पनि संलग्न रहेर चुनाव गराऔं भनेको हुँ। अन्तिम दिन अरू स्थायी समितिका साथीहरुलाई समेत बोलाएर यो गलत छ भनेको हुँ। साथीहरू सहमत हुनुभयो। त्यसको सुनुवाई भएन। अहिले पार्टीले के निर्णय गर्‍यो भने खिलराज रेग्मी नेतृत्वको सरकार गठनमा फसेउँ। निर्वाचन आयोग गठनमा समेत प्रमुख नीलकण्ठ उप्रेती हुन्न भनेको हुँ। यो हुँदै हुन्न तपाईंहरुले बुझ्नुभएको छैन कि क्या हो भनेर अध्यक्षलाई धेरै भनेँ।

अर्को लोकमानसिं कार्कीलाई अख्तियार प्रमुख बनाउनुहुँदैन भनेको हुँ। अर्को चुनावमा सेना परिचालन गर्नुहुँदैन भनेको हुँ। मैले उच्चस्तरीय राजनीतिक समितिमा हुन्न भनेको हुँ। रघुजी पन्त माइनोट लेखक हुनुहुन्थ्यो। उहाँले मलाई डिक्टेट गर्ने भन्नुभयो। मैले तपाईंलाई होइन समितिमा सेना परिचालन गर्ने प्रस्ताव नराखौं भनेको हुँ भनेँ। सेना परिचालन नै गर्ने भएपछि संसदबाट अनुमोदन गर्नुपर्छ भन्ने नछुटाऔं है भनेँ। चौथो कुरा वैद्यजीहरुलाई जसरी पनि चुनावमा लिनुपर्छ भनेँ। त्यसको पनि सुनुवाई भएन। चार महिना चुनाव सार्दा केही हुँदैन भनेँ। प्रधान न्यायाधीशलाई राजीनामा गराएर चार महिना चुनाव सार्दा देशलाई केही फरक पर्ने थिएन। त्यो पनि मानिएन। वैद्य समूह पनि शान्ति प्रक्रियाको एउटा हिस्सा हो। उहाँहरु चुनावमा आउँदैनौं भनेको भए हुन्थ्यो। उहाँहरू आउँछु भनिराख्नुभएको थियो। त्यो मानिएन, यो एउटा ऐतिहासिक गम्भीर गल्ती हो। अहिले कांग्रेस, एमाले हाम्रै पार्टी वैद्य समूहलाई संविधान सभामा कसरी लिने होला भनेर छलफल गर्छन्। अहिले गर्ने छलफल पहिले गरेको भए के हुन्थ्यो? जुन अहिले गर्नुपरेको छ। धाँधली छानबिन गर्नुपर्छ भन्ने एउटा माग हो तर संविधान सभाको प्रक्रियामै जान्नौं भन्ने गलत निर्णय थियो।

समानुपातिकको विवाद र केन्द्रीय सदस्य घटाउने ऐजेन्डा पार नभए पार्टी विघटनतिर जान्छ भन्ने अध्यक्ष दाहालको भनाई छ नि?

गतिलो संकेत देखिएको छैन। नयाँ पार्टी निर्माणका लागि सबै नेता/कार्यकर्ताको संकल्प छ भन्ने थियो। अहिले त्यो देखिएन। बरु तल्लो तहमा के भयो भने यिनका कुरा सही रहेनछ भन्ने जस्तो पैदा भयो। यो नकरात्मक सन्देश हो। यदि पार्टीको बुद्धि छ भने हल गर्ने दिशातिर जानुपर्छ। यो त देश र जनताप्रति इमानदार हुने कि नहुने भन्ने प्रश्न हो। त्यसो होइन भने केका लागि क्रान्तिमा लाग्ने?

दोस्रो संविधान सभाको प्रारम्भिक नतिजा आउँदाआउँदै मतगणनाबाट बाहिरिने अध्यक्षको निर्णय आफ्नो पद सुरक्षित गर्न रचिएको खेल भन्ने आरोप छ नि? यसमा तपाईँ सहमत हुनुहुन्छ?

आफ्नो अध्यक्ष पद सुरक्षित राख्नका लागि त्यस्तो भन्नुभएको हो प्रचण्डले भन्नेमा म छैन। तर त्यो निर्णय गलत थियो। मैले पार्टीमा आफ्नो मत राखिसकेको छु। मतगणनाबाट बाहिरिनेदेखि संविधान सभाको प्रक्रियाबाट अलग हुन्छौं भन्ने कुरा गलत थिए। पछिल्लो पटक संविधान सभामा जाने पार्टीले जे निर्णय गरेको छ यो सही छ।

एकीकृत माओवादी संविधान सभामा जाने भएपछि सरकारमा पनि जान्छ वा कांग्रेसलाई निःसर्त समर्थन गर्छ?

हाम्रो पार्टीले सरकारलाई केन्द्रमा राखेर कुनै छलफलै गरेको छैन। पार्टी सरकारमा जाँदैन। औपचारिक निर्णयमा त पुगेका छैनौं। मेरो विचारमा अहिले सरकारमा जानुहुन्न भन्ने हो। औपचारिकताका लागि छलफल गरिरहेका छौं। जनताले हामीलाई दिएको जनादेश त्यो होइन। हाम्रो मुख्य ध्यान संविधान निर्माणमा केन्द्रित हुनुपर्छ। हामी सरकारमा जाने होइन, जनताको मत पनि त्यही हो। सरकार कांग्रेस र एमालेले चलाओस्।