Friday 23 Jestha, 2077 | June 05, 2020
Menu

अन्तर्वार्ता

सेना सिध्याउने चलखेल भएको थियो

(1 Vote)
सेना सिध्याउने चलखेल भएको थियो
प्रजातान्त्रिक शासन व्यवस्था भएका मुलुकमा सरकार प्रमुखले सेना प्रमुख फ्याँक्ने अधिकार राख्छ। तर नेपालमा भने सेना प्रमुख फ्याँक्न खोज्दा सरकार प्रमुख पुष्पकमल दाहाल नै पदबाट बाहिरिनुपर्‍यो। त्यसैबेलादेखि चर्चामा आएका रुक्मांगत कटवाल खरो र स्पष्ट बोलीका कारण बेलाबेला सार्वजनिक बहसको पात्र हुने गरेका छन्। आफ्नो पद र क्षमताअनुसारको कुनै पद पाए अहिले पनि पछि नहट्ने बताउने कटवाल दाहाल प्रधान मन्त्री भएका बेला सेना सिध्याउने चलखेल भएको आरोपसमेत लगाउन पछि पर्दैनन्। पृथ्वी जयन्ती मनाउने क्रममा सक्रिय कटवाल यही कारण अहिले फेरि चर्चामा छन्। प्रस्तुत छ, विविध विषयमा तिनै 'शक्तिशाली' कटवाल र नागरिकका विश्वमणि पोखरेलबीचको कुराकानी :


अवकाश प्राप्त दिनहरू कसरी बिताउँदै हुनुहुन्छ?

सामान्य तरिकाले। म प्रधानसेनापतिबाट अवकाश भएपछि मेरो बिदाइमा आयोजित कार्यक्रममा मैले 'जनरल नेभर रिटायर्डस्' भनेको थिएँ। यस भनाइले मिडियामा पनि चर्चा पाएको थियो त्यसबेला। म यसै पनि सधैँ व्यस्त भइरहन चाहने मान्छे। अहिले मेरो विभिन्न सामाजिक संघसंस्थामा संलग्नता छ। मेरा प्रशस्त मित्र छन्। उनीहरूसँग समसामयिक विषयमा कुराकानी भइरहन्छन्, भेटघाट भइरहन्छ। नेपालको लोकतन्त्रीकरणजस्ता विषयमा छिमेक र विश्वका विभिन्न मुलुकमा कार्यक्रम भइरहने कार्यक्रममा मलाई पनि निम्ता गरेका हुन्छन्। म त्यहाँ वक्तव्य दिन जाने गर्छु। वर्षको केही त समय विदेशमै बित्छ। विदेशमा औपचारिक, अनौपचारिक कुराकानीमा (प्रसंग उठ्छ) सेनाले कतै पनि प्रजातान्त्रिक पद्धतिको पक्ष लिएको उदाहरण छैन। एसिया, अफ्रिका, ल्याटिन अमेरिकामा सेनाले देखिने वा नदेखिने गरी प्रजातन्त्रको विरोधमै कदम चालेको देखिन्छ। तर नेपालका सन्दर्भमा भने सेनाले प्रजातन्त्रको पक्ष लिएको छ। जुन सेनालाई एउटा परिवारको, एउटा व्यक्तिको सेना भनिन्थ्यो त्यही नेपाली सेनाले प्रचलित कानुन र संविधानको पक्ष लिएर प्रजातन्त्रका पक्षमा अडान लियो। नेपाली सेनाले प्रजातान्त्रिक पक्षमा लिएको अडानको सन्दर्भमा धेरैको चासो हुँदोरहेछ। बेलाबेलामा सेनाको भूमिकाका बारेमा बोल्न भन्दा मैले गएर आफ्ना धारणा राख्ने गरेको छु ।

सामाजिक कार्यक्रममा सहभागिताको कुरा गर्नभयो, चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यका कार्यक्रम पनि देखिनुहुन्छ। यस्तै संलग्नतामात्र हो वा अन्य हिसाबले पनि सक्रिय हुुनुहुन्छ?

मलाई निम्ता गर्छन्, आइदिनुपर्‍यो, मन्त्यव्य राखिदिनुपर्‍यो, आतिथ्य गरिदिनुपर्‍यो भन्छन्। म सबैभन्दा पहिला त्यो संस्था राजनीतिक उद्देश्यले प्रेरित हो वा होइन भन्ने जानकारी लिने प्रयास गर्छु सोधखोज गर्दा निहित राजनीतिक उद्देश्यको होइन भन्ने लागेपछि भाग लिन्छु। व्यक्तिगत निम्तामा पनि जान्छु। राजनीतिक पार्टीको निम्तामा पनि जान्छु तर अहिलेसम्म मैले कुनै राजनीतिक पार्टीको पक्षमा बोलेको छैन। एकपटक मैले राजनीतिक पार्टी खोल्न लागेँ भनेर समाचार आयो, राजनीतिक पार्टीबारे चर्चा, परिचर्चा भए। कतिसम्म भन्ने पश्चिम नेपालमा मेरो फोटो छापेर राजनीतिक पार्टी खोल्ने भन्दै प्रचार पनि भएछ। एउटा टेलिभिजनले त मैले पार्टी खोल्ने भनेर विगतमा बोलेका फुटेजहरू राखेर कार्यक्रम नै बनाएछ। मैले यही चर्चाबीच मेरो कुनै राजनीतिक पार्टी खोल्ने उद्देश्य छैन भनेर भन्नुपर्‍यो। मैले अहिलेसम्म कुनै संघसंस्थाको सदस्य पनि बनेको छैन।

सामाजिक क्षेत्रमा सहभागिताको कुरा गर्दा आफै केही गर्ने कि अरुका कार्यक्रममा सहभागिता जनाउनेमात्र?

शिक्षाको क्षेत्रमा केही गर्ने इच्छा छ। मेरो केही जमिन छ, भक्तपुरमा त्यो बेचेर आएको पैसा बंैकमा राख्ने र त्यसबाट आएको ब्याजबाट शिक्षासम्बन्धी कार्यक्रम गर्ने संस्था चलाउने सोच बनाएको छु। दुई चार जना निष्पक्ष व्यक्ति रहेको संस्था बनाउने र चलाउने सोच छ। नेपालको सन्दर्भमा सबैभन्दा ठूलो समस्या भनेको शिक्षा हो भन्ने मलाई लाग्छ। गरिब र जेहेनदार विद्यार्थीका लागि काम गर्ने भनेको हो। नेपालजस्ता पछि परेका देश 'थर्ड वर्ल्ड' भनिन्छ नि त्यस्ता देशमा शिक्षाको अत्यन्तै ठूलो खाँचो छ।

आफ्नो सम्पत्ति बेचेर सामाजिक कार्यक्रममा लगाउने कस्तो योजना हो यो?

केही निष्पक्ष मानिसहरू मिलेर काम गर्न सकिन्छ भन्ने हो। त्यसमा अरुको सहयोग पनि हुनसक्छ, लिन सकिन्छ। कुनै स्कुल, कलेज चलाउनेभन्दा पनि गरिब, जेहेनदार विद्यार्थीका हितमा काम गर्ने हो। व्यक्ति शिक्षित भएपछि उसलाई यो हक, अधिकार हुन्छ भनिराख्नु पनि पर्दैन। उसलाई कोटा छुट्याइरहनु पर्दैन। ऊ संसारभर प्रतिस्पर्धा गर्नसक्ने हुन्छ।

नेपालको महत्वपूर्ण राजनीतिक कालखण्डमा चर्चामा आएको व्यक्तित्व, कतिपयले राजनीतिक महत्वाकांक्षीका अर्थमा पनि तपाईँलाई हेरेको पाइन्छ? तपाईँ आफू पनि सामाजिक क्षेत्रमा सक्रिय हुने योजना बनाउँदै हुनुहुन्छ? खास कुरा चाहिँ के हो?

धेरैले भनेका छन्, मलाई। धेरैले मनसुवा पनि गरेका छन्। तर मलाई के लाग्छ भने पार्टीका मानिसहरूसँग मेरो कुरा हुन्छ। तर मलाई पार्टीगत हिसावले कुनै पार्टी वा नेताले कुरा गरेका छैनन्। म अलिक अप्ठारो किसिमको मानिस। म त्यत्ति सजिलो छैन। मेरो आफ्नै सिद्धान्त छ, आफ्नै मान्यता छ, म जसले जे भन्यो त्यो मान्दिन। सतही कुरामा म सम्झौता गर्न सक्दिन। ऐन, नियम, राष्ट्रियता जस्ता विषयमा म सम्झौता गर्न सक्ने मानिस होइन। त्यसकारण पनि म सबैलाई सहज नहुन सक्छु। अहिले समानुपातिक सभासदको चर्चा छ। निर्वाचनमा पैसाको धेरै चलखेल हुन्छ भन्ने हामीले थाहा पाएकै कुरा हो। संसारमै राजनीतिका लागि पैसा चाहिन्छ भन्ने देखिन्छ। मलाई त्यतातिर लाग्न त्यति सजिलो छैन भन्ने लाग्छ। विगतकै राजनीति हेर्दा दलहरूले घाँस दाउरा गर्ने, गोठाला, भान्से जस्ता मानिस सभासद् बनाए। मलाई के लाग्छ भने त्यहाँ त संविधान बनाउन सक्ने मानिस जानुपर्ने हो। ठीक/बेठीक छुट्याउन सक्ने मानिस को छ, त्यस्तो मानिस जानुपर्छ। क्षमतावान मानिस जानुपर्छ त्यहाँ। राष्ट्रियताको सवालमा बोल्न सक्ने मानिस हुनुपर्छ त्यहाँ। आफ्ना कुरा राख्न, बहस गर्न सक्ने मानिस चाहिन्छ। नेतृत्व दिन सक्ने मानिस चाहिन्छ। संसारका जहाँसुकै पनि संविधान भनेको त २, ४ जना विज्ञ बसेर लेख्ने हो। त्यसैले म शिक्षा नै प्रमुख आधार हो भन्ने ठान्छु। शिक्षा भएपछि त्यसले धेरै कुरा निर्देशित गर्छ। कसैले ढाँट्ने, छल्ने पनि हुँदैन। हामीलाई संघीयता चाहिन्छ वा चाहिन्न, एक मधेस एक प्रदेश चाहिन्छ कि चाहिन्न? शिक्षा भयो भने त्यस्तो मानिसले आफँै निर्णय गर्दछ। शिक्षा भएपछि निर्णय गर्ने क्षमता हुन्छ भन्ने मेरो मान्यता छ।

राजनीतिक मुद्दामा चासो पनि राखेको देखिन्छ, त्यसबाट टाढिन खोजेको पनि देखिन्छ किन यस्तो?

अहिले त राजनीतिमा सामान्यभन्दा सामान्य मानिसको पनि चासो छ। रेडियो, टिभीले त्यही राजनीतिक कुरा गरिराखेका हुन्छन्। पत्रपत्रिकामा त्यही राजनीतिक कुरा हुन्छ। मानिसका कानकानमा मोबाइल छन्। घन्टाघन्टामा समाचार आउँछन्। नचाहँदा पनि राजनीतिक गतिविधिबाट मुक्त हुनसक्ने स्थिति छैन।

राजनीतिमा पैसा धेरै चाहिन्छ बरु सामाजिक क्षेत्रमै सक्रिय हुन ठीक भन्ने लागेको हो वा सामाजिक क्षेत्र नै तपाईँको रोजाइ हो?

राजनीतिबाट अहिले कोही नेपाली पनि अलग हुन सक्तैन। राजनीतिको कुरा गर्दा एउटा प्रतिबद्धताका साथ म के भन्छु भने नेपालीलाई एउटा मूल घर आवश्यक छ। त्यो मूल घर भनेको सार्वभौमसत्ता सम्पन्न घर हुनुपर्छ। हाम्रा नेताहरूले कसैको दबाबमा नपरी बोल्न सक्नुपर्छ। त्यो मूल घरमा सम्पूर्ण नेपाली अटाउन सक्नुपर्दछ। त्यो घरमा बराबरीको आधार, समताको आधारमा सबैको हक हुनुपर्दछ। त्यो मूल घरमा विभिन्न कोठा, चोटामा, विभिन्न विचारधारा भएका मानिस बस्न सक्छन्। हाम्रो पहिचान, हाम्रो मान्यता हामी सबैभन्दा पहिला नेपाली हौं। नेपालीको पहिलो परिचय नेपाली हुनु हो। हामी नेपालीपछि हाम्रो भाषा, हाम्रो भेषको कुरा हुन्छ। जुनसुकै भाषा, धर्म, जातको किन नहोस् सबैभन्दा पहिला ऊ नेपाली हो। मलाई के लाग्छ भने हामी छिमेकीका कतिपय नराम्रा कुरा गर्ने गछर्ौं तर छिमेकीबाट उनीहरूका राम्रा कुरा सिक्न चाहँदैनौं। भारत, चीनकै उदाहरण लिउँ। सरकारमा भएको दलको विरोधी दलका नेता नेपाल आए भने पनि आफ्नो देशको स्वार्थ के के हो भनेर सल्लाह गरेर आएको हुन्छ। कुनै विरोधी दलको नेता नेपाल आउने भयो भने उसले आफ्नो देशका प्रधान मन्त्री, परराष्ट्र मन्त्री, रक्षा मन्त्रीलगायत्लाई भेटेर नेपालमा के कुरा गरौं भनेर सल्लाह गरेर आउँछन्। नेपालमा भारतका मुद्दा के के हुन भनेर मुलुकको प्रतिनिधि भएर आउँछन्। पार्टीको नेता भएर आउँदैनन्। एउटा व्यक्ति भएर आउँछ। हामी भारत गयौं भने व्यक्ति भएर जान्छांै। राष्ट्रको प्रतिनिधि भएर जाँदैनौं। हामी व्यक्तिभन्दा माथि उठ्यो भने दलको नेता भएर जान्छौं। दलको पनि एउटा पक्षको नेता भएर जान्छौं, नेपाली भएर हामी जान सकेनौं।

जहाँसम्म राजनीतिक सक्रियताको कुरा छ। राजनीतिमा लाग्ने मानिस पनि शिक्षित हुनुपर्दछ भन्ने मेरो मान्यता हो। राष्ट्रिय सवाल र प्रजातान्त्रिक मूल्य/मान्यतामा अडान लिनसक्ने व्यक्ति हुनुपर्‍यो राजनीतिमा सक्रिय हुने मानिस। ठीक र बेठीक छुट्याउन सक्ने र कसैले झुक्याउन नसक्नेखालको हुनुपर्छ। मेरो मान्यता शिक्षालाई जोड दिनुपर्छ भन्ने हो। त्यसको साथसाथै निष्पक्षरूपमा राष्ट्रिय स्वार्थलाई माथि राखेर सरकारले मेरो पद, क्षमताअनुसारको जिम्मेवारी दियो भने म त्यो जिम्मेवारीबाट पछि हट्नेवाला पनि छैन।

नेपालको राजनीतिमा माओवादीको सत्ता उखेल्ने जर्नेलको रूपमा तपाईँको नाम आउँछ। त्यस्तो अवस्था कसरी आयो?

त्यसबेला संविधान मिच्न लागे, मैले नेतृत्व गरेको संस्था नेपाली सेनालाई सिध्याउने खेल/चलखेलहरू भए, कोही पनि यो कुरा गलत भयो भनेर निस्किएनन्। त्यो बेला नेपाल आमाको माटो शीरमा राखेर मैले यो कुरामा सम्झौता गर्नुहुँदैन भन्ने निर्णय गरेँ। मैले संविधान, मेरो संस्थाको पक्ष लिएर, कानुनको पक्ष लिएर अडान लिएँ।

त्यस्तो परिस्थिति कसरी आयो? तपार्इँलाई अवकाश दिने सरकारको नीति र तपाईँको पद नछाड्ने स्थितिपछाडिका कारण?

विस्तृतमा त्यो परिस्थितिबारेमा आउँदै गर्ला। पछिपछिसम्म पनि यसका बारेमा कुरा होला। त्यो परिस्थिति त्यत्तिकै आएको होइन। खास गरेर नेपाली सेनालाई यस्त्ाो परिस्थिति आउँछ भनेर पहिल्यैदेखि थाहा थियो। शान्तिवार्तापछि नै सरकारमा आउने क्रममा जुन किसिमका घटना, परिघटना हुँदै गए, खेल सञ्चालन हुँदै गए। त्यसै बेला सेनाविरुद्ध घटना हुनसक्छ भन्ने हामीलाई लागेको थियो र हामी तयार पनि थियौं। सेनालाई कमजोर बनाउने खेलअन्तर्गतको कुरा हो त्यो।

तपाईँको अवकाससँग जोडिएको मुद्दा नेपालको राजनीतिमा ठूलै अर्थ राख्ने भनिन्छ। विस्तारमा बताउनूस् न किन?

यो विषयमा देशी/विदेशीले धेरै चर्चा/परिचर्चा गर्छन्। इतिहास भन्ने तुरुन्तै लेखिने कुरा होइन। इतिहास तीन सय वर्षपछि पनि लेखिन्छ। हालसालै एउटा कार्यक्रममा राष्ट्रकवि माधव घिमिरेले मलाई देख्नेबित्तिकै 'उहाँ भनेको यो राष्ट्रको एउटा ठूलो मान्छे हो। यो देशको इतिहास अर्के मोडमा जान लागेको थियो। उहाँले उता होइन, यता भनेर देखाइदिनुभयो तर नेपालीले यस्ता कुरा छिट्टै बिर्सन्छन्' भन्नुभयो। कृष्णप्रसाद भट्टराईबारेको एउटा कार्यक्रममा राष्ट्रकविले यसो भन्नुभयो। एउटा सन्दर्भ कोट्याउनुभयो उहाँले।

कसरी जान सक्थ्यो यदि तपार्इँले अवकास लिएको थियो भने?

यो प्रश्नमा म के भन्न चाहन्छु भने हामीले शक्तिखोरको भिडियोलाई फेरि एक पटक हेर्‍यौं भने धेरै कुरा पत्ता लाग्छ। त्यसबेलामा सेनाले त्यो अडान नलिएको भए प्रजातन्त्रमा विश्वास राख्ने नागरिक समाज, व्यवसायिक व्यक्ति, पत्रकारले अडान नलिएको भए र राष्ट्रपतिले ठीक छ भनेर त्यत्तिकै छाडेको भए यो मुलुक अर्कै मोडमा जाने थियो। तपाईँ–हामी यसरी स्वतन्त्र बसेर कुराकानी गर्ने अवस्था हुन्नथ्यो होला। शक्तिखोरमा नेपाललाई माओवादीमय बनाउनुपर्छ भनिएको थियो। ती कुरा त्यसै आएका होइन। मैले कतिपय अवस्थामा नेतृत्वलाई यस्तो घटना हुनेबारे जानकारी गराएको थिएँ तर त्यसैबेला भिडियो सार्वजनिक भयो। त्यसले धेरै कुराको संकेत गर्‍यो।

तपाईँलाई अवकास दिन बालुवाटार बोलाएको अवस्थामा तपाईँले आफ्नो मातहतलाई एक घन्टा बढी बालुवाटारमा राखे भने बल प्रयोग गरेर रेस्क्यु गर्नु भन्ने आदेश दिनुभएको थियो भनिन्छ। के हो कुरा? कति समय बालुवाटारमा रहनुभयो?

करिव ४५ मिनेट, एक घन्टा त्यहाँ राखियो होला। हो, त्यस्तो आदेश थियो। त्यो सबैले बुझेकै कुरा हो। आफ्नो नेतृत्वलाई कहीँ लगेर संस्थाविरुद्ध केही हुँदै गरेका कुरा अवगत थियो। त्यसको तयारी पनि थियो।

त्यसबेलाका वार्तालाप केही भन्नूस् न!

विस्तारमा आउँछन् यस्ता कुरा। त्यहाँ के देखियो भने तीस वर्षे लगाएर उच्चपदस्थ सबै सेनाका अधिकारीलाई अवकाश दिने कुरा थिए। त्यस्तो गरेको अवस्थामा आर्मीको माथिल्लो तह सबै अवकाशमा जान्थ्यो अनि आफ्नो चाहनाअनुसार सेना परिचालित गर्ने सोच र चिन्तन थियो।

तपाईँ सेनाले लोकतान्त्रीकरणको पक्षमा अडान लिएको भन्नुहुन्छ तर नेपालको राजनीतिक घटना, २०१७ सालमा राजा महेन्द्र र पछि २०५९ मा राजा ज्ञानेन्द्रले सेनाकै बलमा सत्ता खोजेको पृष्ठभूभिमा कसरी सेनाले प्रजातन्त्रको पक्षमा अडान लियो भन्न सकिन्छ?

सान्दर्भिक प्रश्न्ा हो यो। मलाई धेरै मानिसले यसै भन्छन्, विदेशमा पनि भन्छन्। नेपालको सन्दर्भमा २०१७ को सन्दर्भमा सेनालाई जोड्छन। म यसमा के भन्छु भने नेपाली सेनाले नेपालको करिव ३ सय वर्षको इतिहासमा तत्कालीन कानुनको बर्खिलाप कहीँ गरेको छैन। सेनाले वैधाकिन सत्ताको पक्षमा काम गरेको छ। ज्ञानेन्द्रको सन्दर्भमा धारा १२७ लगाएर काम गरेको हो। राजा महेन्द्रले त्यसबेलाको संविधानको धारा ५५ अन्तर्गत सत्ता लिएको हो। संविधानमा भएका कुरा लागु गरेको हो। १७ साल भनौं, ४६ साल भनौं, वैधानिकता कसको हातमा छ त्यसैअन्तर्गत काम गरेको हो। २०६४ सालको संविधान सभा चुनावपछि माओवादी सत्तामा आयो, त्यसलाई हामीले स्वीकार गर्‍यौं। चुनाव कसरी भएको थियो, कसरी भोट आयो, त्यो सबैलाई थाहा छ। त्यो आफ्नो ठाउँमा छ। चुनावले वैधता पाएपछि हामीले स्वीकार्नुपर्छ भन्ने भयो। हामीले त्यसरी आएको सत्ताको आदेशमा काम गर्‍यौं। पद्धतिअनुसार भएको मानेर हामीले मान्यौं।

२०६२/६३ को आन्दोलनको सन्दर्भमा त्यसबेला दरबारको पनि अपेक्षा थियो होला? कसरी भूमिका खेल्यो सेनाले?

अपेक्षा मानिसको जे पनि हुनसक्छ। हामीले अपेक्षाको पछि लाग्न मिल्दैन। हामीले के विचार गर्‍यौं भने जनताको चाहना के छ? एउटा कुरा हामीले के बुझ्न आवश्यक छ भने परिवर्तन। हामी सबैले बुझेको परिवर्तनलाई कहिल्यै चुनौती दिन हुँदैन। परिवर्तनका शृंखलाहरूलाई बुझ्न आवश्यक हुन्छ, परिवर्तन आत्मसात गर्न सक्नुपर्दछ। संसारका कतिपय राष्ट्रिय संस्थाहरूले परिवर्तनलाई आत्तसात गरेकाले अहिलेसम्म अस्तित्वमा छन्। त्यसबेला सेनाले धेरै नै विचार विमर्श गर्‍यो। सल्लाह, सुझाव लियो, जनताको भावना बुझ्यो। राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिहरू आँकलन गर्‍यो। निश्चित सीमाभन्दा अगाडि बढ्न नसक्ने स्थितिको लेखाजोखा गर्‍यो। एउटा सीमाभन्दा सेना अगाडि बढ्दा जनतामा रक्तपात मच्चिने स्थिति आउने थियो। सेनाले गोली चलाउनैपर्ने अवस्था भयाबह हुन्थ्यो र नेपाली जनताको परिवर्तनको चाहनाको विरुद्धमा हुन्थ्यो। यिनै कुरा लिएर हामीले प्रजातन्त्रको पक्षमा अडान लियौं।

नेपालबाट राजतन्त्र बिदा भएको अवस्थालाई कसरी लिनुभएको छ?

म त के देख्छु भने राजा ज्ञानेन्द्रमा गजवको धेर्य, सहजता, साहस र ठूलो आदर्शको अवस्था देखेँ। उहाँले राजपाट गयो, कुलघरना, नेपालको एकताको प्रतीक भनिने संस्था सारा गयो, इतिहास मेटियो तर उहाँ हाँसेर कुनै पनि किसिमको पछुताउ नगरी जनताको चाहना यही छ भने ठीक छ भन्ने स्थितिमा पुगेको देखेँ। मैले छोड्दा नेपालमा प्रजातान्त्रिक व्यवस्था हुन्छ, नेपाली जनताले सुख पाउँछन् भन्ने हो भने किन नछोड्ने भन्ने अवस्थामा पुगेको पाएँ। त्यो एउटा ठूलो सद्बुद्धि प्राप्त भएको अवस्था हो। अद्वितीय शक्ति, साहस र धेर्यको अवस्था हो।

यो अवस्थालाई जनता विरोधमा उर्लिएको थियो र सबैभन्दा भरपर्दो सेनाले नसघाउने अवस्थामा लिइएको निर्णय भनेर बुझ्न मिल्दैन?

मानिसले आ–आफ्नो किसिमले व्याख्या गर्ने हो। नेपाली सेनाले नै दरबारको सुरक्षा दिएको थियो। त्यो भन्दा नागरिक समाजका अगुवाहरूको नेतृत्वमा नारायणहिटीमा मार्च पास गर्ने भनेर प्रचार गरिएको थियो। त्यो बेला सेनाले स्पष्ट अडान लियो। सेनाले राजनीतिक दलका नेताहरूलाई त्यस्तो काम नगर्न सल्लाह दिएको थियो। ड्युटीमा बसेको सेना बन्दुक छाडेर भाग्दैन भन्ने जानकारी मैले राजनीतिक नेतृत्वलाई गराएको थिएँ। हामीले त्यो मार्चपासको प्रचारसँगसँगै आवश्यक व्यवस्था गरेका थियौँ। बाटामा भिडियो खिच्ने व्यवस्था थियो। भोलि सेनाले कुन बेला गोली चलाएको भन्ने कुरा हुन सक्छ। अदालतमा प्रमाण पेश गर्नुपर्ने हुनसक्छ भनेर हामीले व्यवस्था गरेका थियौं। सेनाले गोली हान्यो, किन हान्यो भन्ने प्रमाण दिने व्यवस्था गरेका थियौँ। तत्कालीन प्रधान मन्त्री गिरिजाप्रसाद कोइराला, माओवादीलाई स्पष्ट शब्दमा त्यस्तो मार्च पास नगर्न भन्यौँ। मार्चपास भएन। झण्डा फेर्ने कुरा भयो। सेनाले झण्डा फेर्‍यो। दरबारमा राष्ट्रिय झण्डा फहरायो। मेरो बुझाइमा राजा ज्ञानेन्द्रले मैले छोडेर नेपाली जनताको उन्न्ाति/प्रगति हुन्छ भने छोड्छु भनेर छोडेको हो।

हालै पृथ्वी जयन्तीका कार्यक्रम भए। त्यसमा तपार्इँको सक्रियता पनि देखियो। पृथ्वीनारायण शाहबारे त्यसबेला गरिएका निर्णयबारे तपाईँको धारणा?

राजा रजौटाका तस्बिरहरू सरकारी कार्यालयबाट हटाउनू भन्ने क्याबिनेटको निर्देशन आयो। मेरो अफिसमा पनि आयो। मैले चिठी पढेर त्यो पन्छाएँ र सेनाले सेनाका कुनै पनि कार्यालयबाट पृथ्वीनारायण शाहका फोटा नझिक्ने निर्णय गर्‍यो। मेरो विचारमा इतिहास मेटेर मेटिँदैन। हामीले त्यसको लगत्तै आर्मी सभाकक्षमा पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक बनायौं। सबै आर्मी अफिसमा पृथ्वीनारायण शाहको फोटो छैन भने फोटो राख्नु भन्ने आदेश दिइयो।

त्यसो भए सरकारले हटाउन भन्यो, सेनाले बनाएर राख्ने आदेश दियो होइन?

हो, हामीले आदेश दियौं। सबै राजा रजौटाको हटाउने भन्ने थियो। मेरो पालासम्म कसैको पनि फोटो हटेन। हामी भारत, पाकिस्तानमै हेरौं न, इतिहास मेट्ने काम भएको छैन। ब्रिटेन, फ्रान्स, बेल्जियमले उपनिवेश बनाएका मुलुकमा पनि मैले देखे/थाहा पाएसम्म उनीहरूको इतिहास मेटाउने काम भएको छैन। त्यसबेलाका राजा रजौटाहरूका फोटो हटाएको छैन। जहाँ पनि ठूल्ठूला मानिसका नाममा सडकको नाम राखिएको छ। इतिहास हामीले मिच्न मिल्दैन। भारतमा राजा रजौटा सकिए पनि इतिहास जीवित राख्ने काम भएको छ। अशोका पिलरलाई राष्ट्रिय चिह्न बनाएका छन्। पृथ्वीनारायणले यो देश खडा गरे, यो राष्ट्र निर्माण गरे, नेपाली सेना खडा गरे,

त्यसकारण उनको फोटो रहन्छ, राखिरहनुपर्छ भन्ने नीति लिएको हो। पृथ्वीनारायण शाहलाई बिर्सनु भनेको आफनो बाबु/आमा/बाजेलाई बिर्सनु हो। आफ्नो संस्कार, आफ्नो पन, आफ्नो इतिहास बिर्सनु हो, यो मेरो अकाट्य मान्यता हो।

सरकारले दिएको निर्देशन सेनाबाट अवज्ञा हुनुलाई कसरी लिने?

यो तीतो पक्ष हो। त्यो निर्णय नेपाल विरोधी छ, नेपाली भावना विरोधी छ। त्यस मान्यतामा अवज्ञा भएको हो। त्यसको भोलिपल्टै प्रधान मन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटेर यो निर्णय गलत छ भनेँ। उहाँलाई निर्णय सच्याउन भनेँ। त्यसबेला उहाँले कसरी भयो त्यस्तो मलाई थाहा छैन भन्नुभयो। उहाँले पृथ्वी जयन्ती मनाइन्छ, राष्ट्रिय एकता दिवस मनाइन्छ भन्नुभयो तर पछि गजेटमा पो आयो।

सेनाले क्याबिनेट निर्णय अवज्ञा गरेको कुराबारे चर्चा चल्यो होला नि त्यसबेला, सोधीखोजी भएन?

मैले राष्ट्रपतिको समेत अधिकार लिएका गिरिजाप्रसाद कोइरालालाई जानकारी गराएँ। हामीले क्याबिनेट निर्णय कार्यान्वयन गरेनौं। मैले गिरिजाप्रसादले भनेजस्तै थाहा नपाएको होइन। क्याबिनेट निर्णय कोइरालाको जानकारी नभई हुने कुरा भएन। पछि माधव नेपाल नेतृत्वको सरकारका रक्षा मन्त्री अचानक आर्मी हेडक्वार्टर भ्रमणमा आउनुभयो। मैले मेरो कार्यकक्षमा बोलाएर राखेँ। उहाँले मेरो कार्यकक्ष नियालेर नम्र भाषामा, गम्भीर भएर सोध्नुभयो– चिफसाहेब पृथ्वीनारायण शाहका फोटा जताततै देखिन्छ, किन राख्नुभएका हो? म अवकाश हुन धेरै समय थिएन। मैले छत्रमान गुरूङलाई बोलाउन भनेँ। उनी आएपछि मैले मन्त्रीजीलाई सोधेँ– मन्त्रीजी तपाईँको पार्टी अफिसमा मार्क्स आदिको फोटो किन राख्नुभएको? उनीहरूले नेपाललाई के गरे? मन्त्री विद्याले 'हाम्रो सिद्धान्तको कुरा' भन्नुभयो। त्यसपछि मैले पृथ्वीनारायण शाहले यो राष्ट्र निर्माण गरे, नेपाली सेना निर्माण गरे, त्यसैले उनको फोटो राखेको हो भनेँ। मेलै त्यसैबेला छत्रमानलाई देखाउँदै उहाँले पनि राख्नुहुन्छ भनेँ। छत्रमानलाई नहटाउन भनेँ। त्यसपछि विद्याले 'तपाईँले ठीक कुरा गर्नुभयो, उहाँले राष्ट्र निर्माण गरेको हो, मलाई पनि श्रद्धा छ यो मानिसमा' भन्नुभयो।

अहिले आएर पृथ्वीनारायण शाहलाई फेरि सम्झन थालेको देखिन्छ। के अर्थ राख्छ उनलाई दिइएको महत्वले?

संसारमा जहाँ पनि राष्ट्रनिर्माताका कुरा हुन्छन्। हामी बिस्मार्कका कुरा गर्छौं, नेपोलियनका कुरा गछौं, जर्ज वासिङ्टनका कुरा गर्छौं। नेपालको सन्दर्भमा करिव ३ सय वर्षअघि पृथ्वीनारायण शाहले सानासाना राज्यलाई एकीकरण गरिएन भने नेपाल र नेपाली भन्ने चिज हुँदैन भन्ने लागेर एकीकरण सुरु गर्नुभयो। उहाँका छोराले एकीकरण अभियानलाई अघि बढाउनुभयो। त्यो बेला एकीकरण नभएको भए नेपाल हुने थिएन। त्यो नै नेपालको परिचय बनेर रहेको छ।

तपार्इँको विचारमा के गर्नुपर्छ पृथ्वीनारायण शाहबारे?

पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माताको नाममा, एकताको प्रतीकको नाममा लिनुपर्दछ। मलाई लाग्छ, नेपाली जनताले छोटो समयमै त्यसलाई स्वीकार गर्छन्। नेपाली जनताले पृथ्वीनारायण शाहलाई आफ्नै पहिचान, गौरव र इतिहासका रूपमा लिन्छन्। यो राष्ट्रिय आवश्यकता हो भन्ने मेरो मान्यता हो। यसका लागि लामो समय पनि लाग्दैन। नेपालमा चाँडै राष्ट्रिय एकता दिवश भव्यतासाथ मनाउने चलन सुरू हुन्छ। यो मेरो विश्वास हो।